अपराधीको मनोबल गिराउँदै प्रहरी

  
  प्रकाशित मितिः बुधबार, साउन १८, २०७४       | 419 Views   ||

अघिल्लो आ.व.भन्दा दुई गुणा बढी फरार अभियुक्त पक्राउ

– पाण्डव शर्मा

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लामा अपराधिहरुको ‘मनोबल’ गिराउन सफल भएको छ ।

प्रहरी अप्रेशन बढाएसँगै जिल्लामा अपराधीहरुको मनोबल ह्वात्तै गिरेको दाङ प्रहरीको निष्कर्ष छ । गत आर्थिक वर्ष २०७३/०७४ मा मात्रै प्रहरीले एक सय ४८ वटा फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । अघिल्लो आवको भन्दा यो दुई गुणा बढी हो ।

अघिल्लो आव २०७२/०७३ मा प्रहरीले ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो । २०७१/०७२ मा १४ जना फरार अभियुक्त पक्राउ परेका थिए ।

पछिल्लो समय पुराना–पुराना फरार अपराधीहरु पक्राउ पर्न थालेपछि अपराधीको मनोबल गिराउन सफल भएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंह बताउँछन् । उनी भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) मा बढुवा भएका छन् । तर, यस अवधिमा चर्चामा आउने गरी केही जघन्य अपराधहरु भएका छन् ।

तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्नहरुलाई पक्राउ गर्नुलाई दाङ प्रहरीले ठूलो उपलब्धिको रुपमा लिएको छ । ‘यसले संगठित अपराध गर्नेहरुको मनोबल गिरेको छ’ सिंहले भने, ‘अपराध गरेपछि जसरी भए पनि प्रहरीले पक्राउ गरिहाल्छ भन्ने कुरा अपराधीहरुले राम्रोसँग बुझेका छन् ।’

विगतका वर्षहरुको तुलनामा अपराधको संख्या निकै घटे पनि केही प्रतिष्ठित व्यक्तिहरुको हत्या भएकाले समाजमा बढी चर्चा पाएको प्रहरीको बुझाई छ ।

अपराध नियन्त्रणमा दाङ प्रहरीले शून्य सहनशीलता अपनाएको सिंहले बताए । ‘हामीले कुनै दबाब र प्रभावमा परेर अनुसन्धान रोकेका छैनौं,’ उनले भने, ‘विशेषतः मेरो कार्यकालमा दाङमा गुण्डागर्दी पूर्ण नियन्त्रण भएको निष्कर्ष निकालेको छु ।’

दाङमा पछिल्लो दशक आर्थिक गतिविधिसँगै अपराधीहरुको गतिविधि पनि बढेको सिंह बताउँछन् । ‘दाङमा अपराध प्रश्रयको प्रमुख कारण आर्थिक विकास हो, यहाँ आर्थिक विकाससँगै अपराधीहरुको गतिविधि पनि बढ्दै गएको छ,’ सिंहले भने, ‘यसलाई रोक्न प्रहरी निकै चनाखो भएर लागेको छ ।’ यस अवधिमा सिण्डिकेट रोक्न सफल भएको प्रहरीको निष्कर्ष छ ।

अहिले दाङमा ग्याङ फाइटका घटनाहरु पनि पूर्ण रुपमा रोकिएको सिंहले जानकारी दिए । ‘टोले गुण्डाहरु अहिले यत्रतत्र छरिएका छन्,’ उनले भने, ‘दाङमा जुवातास पूर्ण रुपमा रोकिएको छ ।’

तर, दाङमा पछिल्लो समय आत्महत्या विकराल रुपमा बढिरहेको छ । आत्महत्या गर्नेहरु दाङमा नेपालमै धेरै भएको सिंहले जानकारी दिए । प्रहरीले चाहेर मात्र आत्महत्या रोक्न नसक्ने उनी बताउँछन् । यसका लागि समाजमा सचेतनाका लागि सबै पक्षहरुबीच सहकार्य आवश्यक छ । त्यसैगरी ट्राफिक व्यवस्थापनमा अपेक्षाकृत सुधार गर्न नसकिएको दाङ प्रहरीको निष्कर्ष छ । यसमा प्रहरीले निकै प्रयास गरे पनि जनचेतना र यहाँको सडक पूर्वाधारले गर्दा दुर्घटना रोक्न नसकिएको उनले बताए ।

प्रहरी सक्रिय भएर मात्र अपराध नघट्ने सिंह बताउँछन् । यसका लागि समाजका हरेक पक्षले प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाई छ । दाङमा जुवा तास नियन्त्रणका लागि प्रहरीले आमा समूहको सहयोग लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *