दाङ,जिल्लामा स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको संख्या उल्लेखनीय रूपमा बढेको छ । स्वास्थ्य बीमा बोर्ड दाङका अनुसार हालसम्म ७१ हजार ७ सय १८ जना नागरिक बीमामा आबद्ध भएका छन्,जसमा महिला ३७ हजार ७ सय ९८ र पुरुष ३३ हजार ९ सय २० जना छन् ।
जिल्लाका सबै १० वटै स्थानीय तहमा बीमाको पहुँच विस्तार भएसँगै नागरिकको चासो बढेको हो । सबैभन्दा धेरै बीमित घोराही उपमहानगरपालिकामा छन भने तुलसीपुर, लमही, राप्ती लगायतका पालिकाहरूमा पनि उल्लेख्य सहभागिता देखिएको छ । लक्षित वर्गका लागि निःशुल्क बीमा सुविधा पनि विस्तार गरिएको छ । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एचआईभी संक्रमित, महिला स्वयंसेविकाका परिवार लगायत विभिन्न समूह यसबाट लाभान्वित भएका छन् । तर, सेवाग्राहीहरू भने बीमा सुविधा सबै स्वास्थ्य संस्थामा नपाइने, प्रक्रिया झन्झटिलो हुने र पहुँचमा समस्या हुने गुनासो गर्छन् । उनीहरूका अनुसार नजिकका स्वास्थ्य केन्द्रमै बीमा सेवा उपलब्ध गराउनु आवश्यक छ ।
जनस्वास्थ्यकर्मीहरूका अनुसार बीमा प्रभावकारी बनाउन सबै तह बीच समन्वय र सेवा प्रवाहमा सुधार जरुरी छ। सहभागिता उत्साहजनक भएपनि अब सेवा सहज,छरितो र नागरिक मैत्री बनाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।


