काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने गरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनु भयो ।
कांग्रेस–एमालेका सांसदहरूले मंगलबार बिहानैबाट उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएको छ ।
उक्त अभियानको विरोध गर्दै प्रतिपक्षी दलहरूले सशक्त प्रतिवाद गर्ने बताएको हो । ‘विपक्षी दलको हिसाबले हामी माथि भएको आक्रमण बेठिक छ । यस्तो प्रक्रिया पहिला पनि भएको थियो,’पाण्डेले भन्नुभयो–‘संवैधानिक परिषद्को अवस्थालाई लिएर जुन प्रयास भइरहेको छ त्यसको सशक्त विरोध गरेर जान्छौं । विपक्षीहरू सशक्त विरोध गरेर जाने निष्कर्ष निस्कियो ।’
पाण्डेका अनुसार अनुसार,यो विषय भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पनि उठाइने भएको छ । यो कुरा भोलि सदनमा पनि उठाउँछौं,’ उहाँले भन्न्ुभयो ।
आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यस विषयमा केहीबेर ब्रिफिङ गर्नु भएको थियो । ब्रिफिङका क्रममा उहाँले वर्तमान सरकार निरंकुशतावाद तर्फ अग्रसर भएको र विपक्षीको घाँटी निमोठ्ने गरी अघि बढेको बताउनु भएको थियो ।
