झुठा प्रचार रोक्न वाइसीएल र अखिल क्रान्तिकारीको चेतावनी

दाङ, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गरिएको भ्रामक प्रचार प्रति आपति जनाउँदै वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी) दाङले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल र मिडिया मार्फत ‘घर जलाइनु अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लुकाइयो’ भन्ने झुठो प्रचार गर्दै राजनीतिक प्रतिशोधका आधारमा पार्टी नेतृत्वको चरित्रहत्या गर्ने नियोजित प्रयास गरिएको ज्ञापन पत्रमा उल्लेख गरेकाछन ।
उतm ज्ञापन पत्र मार्फत यस प्रकारको प्रचारले देशमा भ्रम र अस्थिरता फैलाउने उद्देश्य बोकेको भन्दै यसले जनमत भड्काउने जोखिम बढाएको बताइएको छ। पार्टी संयोजकको सचिवालयले यस अघि नै सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गरी डिजिटल माध्यमबाट गरिएको यस्तो गलत प्रचार साइबर अपराध अन्तर्गत पर्ने भन्दै कानूनी अनुसन्धान र कारबाहीको माग गरिएको छ। तर,भ्रम फैलाउने माथि कारबाही गर्नुको सट्टा वाइसीएलका केन्द्रीय अध्यक्ष सहितका युवा माथि पक्राऊ प्रयास भएको भन्दै दुवै संगठनले त्यसलाई निन्दनीय भन्दै अन्यायपूर्ण कदम भनेका छन।

ज्ञापन पत्रमा सरकारले संगठन र नेतृत्व माथि राजनीतिक दमन नगर्न चेतावनी दिँदै यदि अन्यायपूर्ण गतिविधि जारी रहे युवा विद्यार्थीहरू आन्दोलन र प्रतिरोधमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ। उनीहरूले भनेकाछन ‘सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास अब सह्य हुने छैन।’