दुध बेचेर मासिक डेढ लाख

राजपुरपालिका, दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवले दुध, दही र घ्यू बेचेर मासिक डेढ लाख आम्दानी गर्ने गरेकाछन । भैसीपालनलाई आफ्नो पुख्यौली पेशा नै बनाउँदै आएका यादवले अहिले ७२ वटा भैसी पालेर यसलाई व्यावसायिक रुप दिएकाछन ।

अहिले उनको फर्ममा साना,ठूला गरी ७२ वटा भैसी छन् । ती मध्ये १७ वटा भैसीले दूध दिन्छन् । त्यसबाट दैनिक ६० देखि ७० लिटर दूध बिक्री गर्ने टिकाराम बताउँछन् । सामूहिक रुपमा रहेको टीकारामको परिवार २३ जना रहेकाछन । ७२ वटा भैँसीको स्याहार, सुसार र दानापानीका लागि परिवारकै सदस्य खटिन्छन् । टीकाराम दूध दुहुन्छन र उनका भाई टेकबहादुर लमही बजारसम्म दूध लगेर बेच्ने गर्छन ।

दूध,दही, घिउ बेचेर आम्दानी हुने रकम मध्ये आधा भैसीकै दानापानीमा सक्किने भएपनि बचेको आधा रकमबाट उनले सजिलै घर खर्च चलाएर केही रकम बचत समेत गर्ने गरेकाछन । बचत गरेको रकमबाट उनले जग्गा,जमिन पनि जोडेकाछन । टीकाराम केही समय वैदेशिक रोजगारका लागि विदेश समेत पुगेका थिए। ‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०÷७० हजारसम्म कमाई हुन्थ्यो,त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ,’ उनले भने विदेशबाट फर्किएपछि भैसी थप गरेर त्यसकै हेरचाहमा खटिन थाले । उनी गाउँभरिमै सबैभन्दा बढी भैँसीपालन गर्ने किसान हुन् ।