खानेपानीको वैकल्पिक मुहानको खोजी आवश्यक–नगर प्रमुख खडका

दुधरास । तुल्सीपुर उपमहानगरपालिका—१८ स्थित जुरपानीया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आठौं साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष रामकुमार डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा संपन्न साधारण सभामा प्रमुख अतिथि खडकाले खानेपानी पछिल्लो समयमा चुनौतिपुर्ण भएकाले अब खानेपानीको मुहानको वैकल्पिक खोजी गर्न आवश्यक रहेको बताउनु भयो ।

खानेपानीलाई नेपालको संविधानले पनि मौलिकहकका रुपमा स्थापित गरेको उल्लेख गर्दै मेयर खड्काले नेपाल सरकारले अघि सारेको एक घर एक धाराको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि संस्थालाई आग्रह गरे । ‘सहज रुपमा उपभोक्तालाई पानी उपलव्ध गराउने सन्दर्भमा विभिन्न चुनौतिहरुछन्, यद्धपि उपभोक्तालाई सहज रुपमा पानी उपलव्ध गराउन हरतरहले प्रयन्त गर्नुपर्ने छ’,प्रमुख अतिथि खड्काले भने–त्यसका लागी मुहानको संरक्षण तथा नयाँ श्रोतको खोजीलाई पनि अघि बढाउन नयां नेतृत्वलाइ आग्रह गर्दछु । उनले भने– अब हामी पुरानै शैलीबाट मुहान खोज्ने होइन,सिचाइ तथा खानेपानीको लागि उत्तरी भेगमा पानी सन्चयका लागि ड्याम बनाउनुपर्ने बेला आएको छ ।
अब यतातिर पनि स्थानीय सरकारले चासो दिइरहेको छ ।

त्यसो त प्रमुख अतिथि खड्का पनि सो संस्थाको उपभोक्ता मात्र होइनन्, सोहि संस्थाका निवर्तमान अध्यक्ष पनि हुन् । उनकै विशेष पहलमा जुरपनिया मैनातारा खानेपानी अहिलेको अवस्थामा पुगेको हो । ‘म उपभोक्ता मात्र नभएर यो संस्थाको नेतृत्वमा पनि बसिसकेको छु,अहिले स्थानिय सरकारको प्रमुखको हैसियतले संस्थालाई थप सहयोग गर्नु मेरो दायित्व हुने छ’, प्रमुख अतिथि खड्काले भने संस्थाले ८ सय ३० धारा उपभोक्तालाई वितरण गरिसकेको छ भने भावि दिनमा १४ हजार उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी उपलव्ध गराउने तयारी गरेको बताउनु भयो ।
खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शेषमणि कुंवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सचिव दामोदर बस्नेत (राकेश) ले संस्थाको बार्षिक साँगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष याम बहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका— १८ का अध्यक्ष माधव वली, वडा नंवर १९ का अध्यक्ष प्रेमनाथ योगि,नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१८ का सभापति विरेन्द्र खड्का,नेकपा एमालेका तुलसीपुर–१८ का अध्यक्ष मुकेश वली, नेकपा माओवादी केन्द्रका लोकबहादुर बहकरी, संस्थाका सल्लाहकार हिमबहादुर डांगी, वेलझुण्डी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव शंकर नेपाली,संस्थाका विधान मस्यौदा समितिका संयोजक लालमणि पौडेल,शेवन पौडेल लगायतकाले शुभकामना व्यक्त गरेका थिए । साधारणसभाको सहजीकरण समितिका सचिव राकेश बस्नेतले गरेका थिए