रुकुमपूर्वमा स्याउबाट ‘रक्सी’ उत्पादन

दाङ,३० असार । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्मामा स्याउबाट वाइन (रक्सी) उत्पादन गर्न थालिएको छ । स्याउको वाइन (रक्सी) उद्योग सफल परीक्षण भएपछि स्याउको वाइन उत्पादन गर्न थालिएको हो ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वको ७५ प्रतिशत अनुदान र हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुथाउत्तरगङ्गा–२ पेल्माको २५ प्रतिशत लगानीमा स्याउको वाइन उत्पादन गर्न थालेको छ । हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा ब्रान्डबाट स्याउको वाइन बजारमा आउन थालेको हो ।
पुथाउत्तरगङ्गा–२ र १ मा स्याउ प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ ।

प्रशस्त स्याउ उत्पादन हुने पुथाउत्तरगङ्गा–२ पेल्मामा हाल सम्म सडक पुगेको छैन् । जसको कारण विगद देखि स्याउले बजार नपाएपछि कुहिएर खेर जाने गरेको थियो । हरेक वर्ष कुहिएर खेर जाने स्याउलाई वाइन गरी बिक्री गर्ने भएको छ । स्याउको वाइन उद्योग स्थापनाको लागि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको १९ लाख ५९ हजार एक सय २५ रुपियाँ र सहकारीको १० लाख रुपियाँ लगानी गरी २९ लाख ५९ हजार एक सय २५ रुपियाँ लगानीमा स्याउको वाइन उद्योग स्थापना गरी सञ्चालनमा ल्याइएको सहकारीका अध्यक्ष जिताराम कामीले बताउनु भयो ।
पेल्मासँगै यस आसपासका स्याउ खरिद गरी वाइन तयार गरिने अध्यक्ष कामीले बताउनु भयो ।

हाल स्याउको वाइन परीक्षण सफल भएकोले अब स्याउको वाइन बजारमा बिक्रीको लागि मूल्य निर्धारण गरिने कामीको भनाइ रहेको छ । जिल्लामै नयाँ प्रयासको काम सुरु गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो । बजार नपाएर खेर गइरहेको पेल्माको स्याउ अब वाइन तयार गरी बजारीकरण गर्न थालिएको बस्नेतले जानकारी दिनुभयो ।
सडकको पहुँच नपुगेको विकट बस्तीमा उत्पादित खेर गइरहेको स्याउको सदुपयोग तथा उद्यमशीलता विकास र स्थानीय आयआर्जन गरी रोजगारीको सिर्जना गर्ने बस्नेतको भनाइ रहेको छ । पुथाउत्तरगङ्गा–१ र २ मा स्याउ ब्लक क्षेत्र विकास कार्यक्रम मार्फत कृषकलाई सरकारले सहयोग गरिरहेको छ ।

पेल्माका डेढ सय घरधुरीमा घरैपिच्छे स्याउ लगाउनु भएको छ । बजारसम्म पु¥याउन उपयुक्त माध्यम वा ढुवानी गर्न महँगो पर्ने हुँदा किसान चिन्तित छन् । पेल्मा सडक नपुगेपछि खच्चड मार्फत स्याउ ढुवानी गर्दा महँगो हुने हुँदा स्याउ बिक्री नै नहुने समस्या किसानले झेलिरहेका छन् ।