दाङ,दाङको घोराहीस्थित राप्ती अञ्चलकै सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उप–प्राध्यापक डा.नारायण पन्थी नियुक्त हुनुभएको छ ।
दाङ क्याम्पसमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट डा. पन्थी क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको हो । विगतमा सिधै उपकुलपतिले नियुक्तिको पत्र दिने प्रचलन भएपनि यसपटकदेखि खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गरिएको हो । क्याम्पस प्रमुखमा पाँच जनाले प्रतिस्पर्धा गर्नुभएको थियो ।
विश्वविद्यालयले प्रतिस्पर्धामा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउन सफल हुनुभएका पन्थीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले त्रिवि कार्यकारी परिषद्को निर्णय अनुरूप सोमबारदेखि कार्यान्वयन हुने गरी उहाँलाई क्याम्पस प्रमुख नियुक्त भएको पत्र उपलब्ध गराउनु भएको थियो ।
महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि सबै पक्षसँग सहकार्य गरेर काम गर्ने नवनियुक्त क्याम्पस प्रमुख डा.पन्थीले प्रतिक्रिया दिनुभयो ।