दाङ, दाङ जिल्लामा डेंगु संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मनसुन सक्रिय हुँदै गर्दा डेंगु संक्रमणको जोखिम समेत बढेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ भने घोराही र तुलसीपुर उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएका छन् ।
पानी परेसँगै डेंगु फैलाउने एडिस प्रजातिको लामखुट्टेले प्रजनन गर्न उपयुक्त वातावरण पाउँदा संक्रमण दर उच्च भएको देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल लगायतका स्वास्थ्य संस्थामा डेंगुका बिरामीको चाप बढेको छ । वैशाखमा एकजना मात्रै संक्रमित भेटिएकोमा असारमा आएर दैनिकजसो बिरामी देखिन थालेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।
संक्रमण नियन्त्रण गर्न स्वास्थ्य कार्यालय दाङ र स्थानीय तहहरू मिलेर सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरिरहेका छन् । तुलसीपुरको विद्युत कार्यालय क्षेत्र, टेलिकम क्षेत्र,बसपार्क क्षेत्र, त्रिसिद्धेश्वरी मन्दिर क्षेत्रलगायतका उच्च जोखिमयुक्त स्थानमा अभियान तीव्र पारिएको छ। यस्तै, घोराही र लमहीका बजार क्षेत्रमा पनि सफा पानी जम्न नदिने र लामखुट्टेका लार्भा नष्ट गर्ने काम भइरहेको छ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उज्वल पौडेलका अनुसार बजार क्षेत्र, गमला, पानी ट्याङ्की, टायर, टिन जस्ता स्थानहरू लामखुट्टेको प्रजननस्थल भएकाले विशेष सर्तकता अपनाउन सबैमा अनुरोध गरिएको छ।
डेंगु संक्रमणबाट बच्न समयमै सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगु लागेमा ज्वरो, जिउ दुख्ने, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, हड्डी दुख्नेजस्ता लक्षण देखिन्छन् । संक्रमण जटिल भएमा रक्तचाप घट्ने,सेतो रक्तकोषको मात्रा घट्ने जस्ता समस्या पनि आउन सक्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रमेश कँडेलले डेंगु लागेका बिरामीले डाक्टरको सल्लाह बिना औषधि नखान र पानी जम्न नदिन विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।


