खेमराज न्यौपाने, घोराही, दाङ महेन्द्र बहुमुखी क्याम्पस, दाङमा अध्ययनरत विद्यार्थीहरूका लागि अब फाराम भर्नेदेखि क्याम्पस सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार डिजिटल रूपमा इसेवा मार्फत गर्न सकिने भएको छ ।
क्याम्पस प्रशासनका अनुसार डिजिटल प्रणाली मार्फत कारोबार प्रक्रिया शुरु गर्न तयारी पूरा भइसकेको र आगामी दिनमा यो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइने छ । यो सुविधाले विद्यार्थीहरूलाई बैंकमा घन्टौँ लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्ति दिने विश्वास महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख नारायण पन्थीले बताउनु भयो । यस निर्णयसँगै महेन्द्र बहुमुखी क्याम्पस दाङ जिल्लाकै पहिलो क्याम्पसहरू मध्ये एक बन्ने छ,जसले ईसेवा जस्तो डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्ना शैक्षिक सेवा सञ्चालन गर्न थालेको स्ववियु उपाध्यक्ष प्रशान्त पोख्रेलले बताउनु भयो ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का उपसभापति तथा पूर्व अध्यक्ष पदका उम्मेदवार प्रशान्त पोखरेलले आफनो चुनावी घोषणापत्रमा राखिएको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न यो सेवा लागू गर्न पहल लिएको बताउनु भयो ।
यसअघि,विद्यार्थीहरूलाई भर्ना शुल्क, परीक्षा दस्तुर वा अन्य आर्थिक कारोबार गर्न बैंकमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । तर अब ईसेवा एप मार्फत क्याम्पसको खातामा सहज रूपमा भुक्तानी गर्न सकिने छ ।
विद्यार्थीहरू,अभिभावकहरू र स्थानीय समुदायले स्ववियु र क्याम्पस प्रशासनको यो कदमको खुलेर प्रशंसा गरेका छन्। प्रविधिको युगमा यस किसिमको सुविधा विद्यार्थीको हितमा रहेको भन्दै यस्ता सेवा अन्य क्याम्पसमा पनि विस्तार गर्नुपर्ने माग समेत उठ्न थालेको छ ।


