घोराही, दाङ —
राप्ती इञ्जिनियरिङ कलेज, घोराही–१६, दाङले शैक्षिक सत्र २०८२ देखि ‘बिई इन इन्फर्मेसन एण्ड कम्युनिकेशन इञ्जिनियरिङ’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस चारवर्षे कार्यक्रमको औपचारिक जानकारी कलेजले पत्रकार सम्मेलन मार्फत गराएको छ।
कलेजका अध्यक्ष एवं कार्यकारी निर्देशक डा.शैलेन्द्र गिरीका अनुसार,यो कार्यक्रमले सूचना प्रविधि,इलेक्ट्रोनिक्स तथा दूरसञ्चार इञ्जिनियरिङका विविध पक्ष समेट्ने छ। नवप्रवर्तन, औद्योगिक सहकार्य र व्यावहारिक शिक्षामा जोड दिँदै,यसले विद्यार्थीलाई प्रविधि र सञ्चार क्षेत्रका चुनौती समाधान गर्न सक्षम बनाउने लक्ष्य राखेको उनले बताए।
२०६४ सालमा प्राविधिक शिक्षाको प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनको उद्देश्यले स्थापना गरिएको राप्ती इञ्जिनियरिङ कलेजले नयाँ कार्यक्रमअन्तर्गत ४८ सिटमा भर्ना खुला गरेको छ। त्यसमा ५ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ। यस्तै,कलेजका अन्य कार्यक्रमहरू— बीबीए,बीसीए, बीई कम्प्युटरमा पनि ४८,४८ सिट र ५,५ छात्रवृत्तिको प्रावधान रहेको छ भने बीई सिभिलमा ९६ सिट र १० छात्रवृत्ति उपलब्ध छन् ।
कलेजले प्रत्येक वर्ष ब्याचलर तहका ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइएको थियो। कलेजका प्रिन्सिपल रेशम गिरीले पत्रकार सम्मेलन सञ्चालन गरेका थिए।


