संविधानलाई च्यातेर होइन, बलियो बनाएर मात्रै निकास सम्भव ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनलाई संविधानसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्ने भन्दै सरकारको दमनलाई कडा शब्दमा आलोचना गर्नुभएको छ। विज्ञप्ति जारी गर्दै उहाँले आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा संवेदना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
प्रचण्डले भन्नुभयो, “सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलन उचित थियो तर त्यसलाई सरकारले पहिलो दिनमै नरसंहारमा परिणत गर्‍यो।” उहाँका अनुसार आन्दोलनको दोस्रो दिन भएका तोडफोड, आगजनी र लूटपाट जेन–जी युवाबाट नभई अवाञ्छित तत्वको घुसपैठका कारण भएको हो, जसको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग उहाँले गर्नुभएको छ।
उहाँले सरकार गठनको सुरुदेखि नै गलत बाटोमा हिँडेको चेतावनी दिइरहेको उल्लेख गर्दै,दुई तिहाइको दम्भले संवेदनहीन बनेको सरकारले निरंकुश दमन मात्र बढाएको आरोप लगाउनुभयो। उहाँले जनताले उठाएका भ्रष्टाचारविरोधी मुद्दा, प्रत्यक्ष कार्यकारी प्रणाली, सांसद मन्त्री नबन्ने व्यवस्था र सम्पत्ति छानबिन आयोगजस्ता एजेन्डा आफ्नो पार्टीले पहिलेदेखि उठाउँदै आएको स्मरण गराउनुभयो।
प्रचण्डले भन्नुभयो,“जेन–जी पुस्ताको आन्दोलन कुनै व्यवस्थाविरोधी वा संसद विघटनका पक्षमा होइन,बरु उन्नत लोकतन्त्र र सुशासनको लागि हो। लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो।”
उहाँले नेपालको इतिहासमा जनयुद्धदेखि शान्ति सम्झौता र संविधानसभासम्मका संघर्ष स्मरण गर्दै, प्राप्त उपलब्धिहरु उल्ट्याउने प्रतिगामी तत्वको गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो। साथै,अहिले देखिएको संकटको निकास संविधानलाई बलियो बनाएर मात्र सम्भव हुने उहाँको भनाइ छ।
अन्त्यमा प्रचण्डले राष्ट्रपति र सुरक्षाकर्मीको भूमिकाको सराहना गर्दै सबै पक्षलाई संयमता,संवाद र शान्तिपूर्ण उपायमार्फत समाधान खोज्न आह्वान गर्नुभयो।