नेपालको वैदेशिक व्यापारको गुरुत्वाकर्षण क्रमश: छिमेकी मुलुकतर्फ ढल्किंदै गएको छ। भन्सार विभागबाट प्रकाशित चालू आर्थिक वर्ष २०७८/७९ को प्रथम पाँच महीनाको तथ्यांकलाई केलाउने हो भने कुल आयातको ७५ प्रतिशत र निर्यातको ८२ प्रतिशत तीन वटा छिमेकी मुलुक; भारत, बांग्लादेश र चीनसँगको व्यापारले ओगटेको देखिन्छ। तथापि भारतसँग पाँच महीनामा भएको निर्यात व्यापार रु.८४ अर्ब भन्दा माथिको तुलनामा सोही अवधिमा चीनमा भएको करीब ३८ करोड र बांग्लादेशमा भएको करीब २९ करोड बराबरको निर्यातलाई सन्तोषजनक मान्न सकिंदैन।
यी दुई छिमेकी नेपालको वस्तु निर्यात हुने मुलुकको सूचीमा क्रमश: एघारौं र चौधौं स्थानमा पर्दछन्। नेपालले वस्तु आयात गर्ने मुलुकको सूचीमा भने भारत पछि चीन दोश्रो र बांग्लादेश दशौं स्थानमा पर्दछ। यसरी हेर्दा नेपालले छिमेकी मुलुकमा निकासी बढाई उपलब्ध बजारको खासै फाइदा लिन नसकेको तर उल्टै छिमेकी मुलुकको वस्तु र सेवा खपत गर्ने बजार बन्दै गैरहेको बुझ्न सकिन्छ।
नेपालमा व्यापार तथा लगानी अभिवृद्धि गर्नका लागि यी तीन वटै मुलुक सर्वाधिक महत्वका मानिएका छन्। सार्क र बिमस्टेकको मन्चमा साझेदारीको हिस्सा लिएका भारत बांग्लादेशको कुल जनसंख्या १ अर्ब ५२ करोड र उत्तरमा सिमाना जोडिएको चीनको कुल १ अर्ब ४० करोड जनसंख्या जोड्दा विश्वकै एक तिहाइ भन्दा बढी जनसंख्या भएको बजारलाई सानो मान्न सकिन्न। अझ यी तीनवटै मुलुकले गरिरहेको आर्थिक प्रगति र भौगोलिक निकटताका कारण पनि नेपालले अधिकतर फाइदा लिन सक्नुपर्ने हो। तर अवस्था त्यस्तो देखिन्न।
वैदेशिक लगानीका हिसाबले सार्क मुलुकहरुमध्ये नेपालको स्थान तल्लो कोटिमा पर्दछ। आठ सदस्य मुलुकमध्ये युद्धग्रस्त अफगानिस्तान र सानो अर्थतन्त्र भएको भूटान भन्दा मात्र वैदेशिक लगानीमा नेपाल अगाडि रहेको छ। संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास संस्था अंक्टाडबाट प्रकाशित तथ्यांक अनुसार पनि विगत ६ वर्षमा नेपालले वार्षिक सरदर १२ करोड डलर वैदेशिक लगानी प्राप्त गरेको थियो जबकि यही अवधिमा श्रीलंकाले ९६ करोड र माल्दिभ्सले ५२ करोड डलर वार्षिक लगानी भित्र्याएका थिए। सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउने भारत (झण्डै ४८ अर्ब डलर) पछि दोश्रोमा बांग्लादेश (२६ अर्ब डलर) पर्दछ। ठूलो पैमानामा विदेशमा लगानी गर्ने मुलुकको रुपमा स्थापित चीनसँग साँध–सिमाना जोडिए तापनि नेपालमा पर्याप्त लगानी भित्र्याउन नसकिनु विडम्बनापूर्ण नै मान्नुपर्दछ।