दाङको महाभारत श्रृंखलामा रहेका स्युजा, काभ्रे, लोहारपानी,हाँसीपुर समेतका पहाडी श्रृंखला बंगलाचुलीमा पर्दछ । पहाडी जनजीवन, कोट, लेक र उच्च श्रृंखला, सुन्दर हिमाल र तराईको मैदानी भाग अवलोकन गर्न सकिने बंगलाचुली पर्यटनको क्षेत्रमा संभावना भएर पनि पूर्वाधार नहुँदा पछाडी परेको छ । बंगलाचुलीको भूगोलमा हाँसीपुरको अर्खलेडाँडा, ऐतिहासिक जुम्लेपानीको गढीलेक धिमधिमे पहाड र बंगलाचुली जस्ता रमणीय सम्पदा पर्दछन । यी सबै सम्पदा प्राकृतिक हुन ।
बंगलाचुली पहाड माथि मैदानी भाग र त्यसबाट फेरि पहाडको चुचुरो उठेको छ । यो पहाडको चुलीमा पुग्नको लागि अहिले मुर्कुटीबाट मोटर मार्ग समेत बनेको छ । पैदल यात्रामा रमाउनेका लागि लोहारपानी र प्युठानको तिराम र मर्कावाङ गाउँहरुबाट पनि बंगलाचुली पुग्न सकिन्छ । बगंलाचुलीको चुचुरोमा पुगेपछि भ्युटावरबाट देखिने प्राकृतिक डाँडाकाडा,मैदानी भू–भाग र हिमाली दृष्यावलोकन गर्न पाउँदा पर्यटकहरु रमाउँछन ।
अर्को तर्फ जुम्लेपानीको गढीलेक ऐतिहासिक महत्व फरकछ । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व रहेको गढीलेक इतिहासकार,प्रकृतिप्रेमी र गढीटाकुराको बारेमा अनुसन्धान गर्ने पर्यटकहरुका लागि पुग्नैपर्ने स्थल रहेको छ । गढीलेकको उत्तरतिर एक किलोमिटरको दूरीमा मौवालेक रहेको छ । मौवालेखको घना जंगलमा चैत, बैशाख महिनामा पुग्ने पर्यटकले रमणीय दृश्यावलोकन गर्न सक्दछन । मौवा लेकको जंगलमा प्राकृतिक रुपमा रहेको चुत्रो र गुराँसको फूलले वातावरणलाई मनमोहक बनाइदिएको हुन्छ ।
बंगलाचुलीको अर्को प्राकृतिक सम्पदा हो स्युजामा रहेको धिमधिमे लेक ।
समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको धिमधिमे लेक विगतमा नेपालको नक्सा बनाउने क्रममा भूगोलविद्हरुले प्वाइट राखेको स्थल हो । त्यस्तै अर्को लेख हो, अर्खले पहाड । यो दाङ जिल्लाको सबैभन्दा अग्लो स्थान पनि हो । उच्चस्थानमा रहेको अर्खले पहाड सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अर्खले डाँडाबाट खुला आँखाले तराई,पहाड र हिमाल सजिलै अवलोकन गर्न सकिन्छ । बंगलाचुली गाउँपालिका क्षेत्रमा बाह्रै महिना चिसो अनुभव गर्न सकिने हावापानी पाइन्छ । फागुन, चैत महिनामा पुग्ने ग्रामीण पर्यटकहरुले पहाडभरी फुलेका लालीगुराँसका फूलको दृष्यावलोकन र काफलको स्वाद समेत लिन पाउँछन । स्वच्छ हावापानी शान्त वातावरण भएकै कारण यहाँ ग्रामीण पर्यटकको आकर्षण बढ्न थालेको छ ।