अजयदीप शर्मा
दाङ– थारु समुदायमा माघलाई नयाँ वर्षको रुपमा मनाउने चलन छ । थारु समुदायमा माघ महिनामा घरको निर्णयदेखि समाजको निर्णय गने गरिन्छ । आर्थिक कारोबारदेखि महत्वपूर्ण निर्णय गर्ने महिना भएकाले माघलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहेको छ । खानपिन, नाचगान र मनोरन्जनका साथै आफना परम्परागत कला, संस्कृतिलाई उजागर गर्ने भएकाले पनि माघी थारुहरुका लागि महान पर्वको रुपमा मानिदै आएको छ ।
अन्य जातीका लागि माघीको महत्व माघ १ गतेलाई मात्र हुने भएपनि थारु जाति समुदायमा भने पूरै माघ महीना विशेष महत्वको रहन्छ । माघ १ बाट संवत्को नयाँ वर्ष शुरू हुने थारू समुदायले यसलाई खानपिन, सरसफाइ, आशीर्वाद आदानप्रदान, वर्ष दिनको समीक्षा, वार्षिक ऐन–नियम र नीतिनिर्माणसँगै नयाँ कामको शुरूआत गर्ने र योजना बनाउने महीनाका रूपमा माघ महिनालाई लिने गर्छन । परम्परा देखि मतहवा नेतृत्वमा संन्चालित हुने थारु समुदायको यो प्रचलन सामाजीक सतmाको रुपमा विकसित विकसित भएको छ ।
कामबाट मुक्त भएर स्वतन्त्र रूपमा मनाइने भएकाले थारुहरुले माघीलाई मुक्ति दिवसका रूपमा पनि लिने गरेकाछन । यस अवसरमा थारु बस्तीमा नयाँ योजना छनोट हुने, नीति–नियम निर्माण गरिन्छ । गाउँका अगुवा, चौकीदार, भलमन्सा चुनिने,वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने,घरको मूली को बन्ने भन्ने लगायत विषयमा छलफल हुने भएकाले माघ थारु समुदायका लागि एक पर्व मात्र नभई जीवनको आधार तय गर्ने योजनाको बर्षको रुपमा रहेको हुन्छ।
थारु समुदायको माघी पुसको अन्तिम दिनबाट शुरू भई २ माघसम्म मनाइन्छ । माघ महीनामा मनाइने भएकाले माघ नै नाम दिएको हुनुपर्छ । यसलाई कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकाले मुक्ति दिवसका रूपमा पनि लिने गरिन्छ ।
यस अवसरमा गाउँका नयाँ योजना छनोट हुने, नीति–नियम निर्माण गरिन्छ । गाउँका अगुवा, चौकीदार, भलमन्सा चुनिने,वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने भन्ने लगायत विषयमा पनि छलफल हुन्छ ।
पुसको अन्तिम दिन मीठोमसिनो खानेकुरा,माछा–मासुको परिकार खाने र मघौटा नाच नाचिन्छ । यसलाई पुस महीनाको बिदाइका रूपमा पनि लिइन्छ । रातभर सबै एक ठाउँमा भेला भएर गीत गाउने प्रचलन छ । विशेष गरी भलमन्साको घरमा जाग्राम बस्रुछन् । त्यहींबाट सामूहिक रूपमा नजिकैको नदी, तलाउ, खोलामा गएर नुहाइ धुवाइ गरी १ माघलाई स्वागत गरिन्छ ।
यसरी स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ । नुहाउन ुअघि जलदेवतालाई पैसा चढाउने प्रचलन छ । पानी खरीद नगरी नुहाउनु हुँदैन भन्ने मान्यता छ । त्यसपछि ठूलाबडा तथा मान्यजनको आशीर्वाद लिने र इष्टमित्र तथा आफन्तलाई भेटघाट गर्ने चलन छ ।
त्यस्तै,छोरीचेलीलाई कोसेली दिने गरिन्छ । यसलाई ‘निसराउ’ भनिन्छ । घरमूलीले दाल,चामल,पैसा, नून, तेल आदि सामग्री छुट्टै भाँडोमा छुट्याएर राख्छन्। नुहाइसकेपछि परिवारका सबै सदस्यले त्यसलाई छुने गर्छन् ।
यो पर्वमा सुंगुरको मासु र ढिक्करी अनिवार्य हुन्छ । त्यस्तै, सेवा ढोग गरी माघबाटै नयाँ सम्बन्धको विस्तार पनि गरिन्छ । पहिले पहिले माघदेखि फागुनसम्म विवाह हुने चलन थियो । अहिले त्यो केही कम भएको छ । अन्य महीनामा पनि विवाह हुन थालेको छ ।
त्यस्तै, थारू गाउँलाई विधिवत् रूपले सञ्चालन गर्न बडघर, भलमन्सा, चौकीदार, अघरिया, देश बन्धिया, गुरुवा आदि चुनिने गर्छन् । सबैको सहमतिमा यिनको चयन गर्ने परम्परा छ । माघ पर्वमा मघौता, हुरदुंग्वा, झुमरा लगायत नाचहरू नाचिन्छन् । सामूहिक रूपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारू समुदाय बीचको मेलमिलाप, भ्रातृभाव र सामूहिकतालाई थप मजबूत बनाउन सहयोग गर्छ ।
दाङ, बाँके, बर्दिया, कलाली, कञ्चनपुर सहित तराईका थारु बाहुल्य जिल्लामा माघीको उल्लास एक साता सम्म रहिरहने गर्छ । आजभोलि धेरै ठाउँहरुमा अन्य समुदायले पनि झाँकी, उत्सव, नाचगान गरेर माघलाई स्वागत गरिरहेको देखिन्छ ।