भुमि समस्या सम्वन्धि एक दिने कार्यशाला

घोराही– नेकपा माओवादी केन्द्र दाङको आयोजनामा भूमि समस्या सम्वन्धि एकदिने कार्यशाला शनिबार घोराहीमा सम्पन्न भएको छ । पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको अध्यक्षता र प्रतिनिधि सभा सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायणी शर्माले भुमि सम्बन्धि समस्या एउटा आयोगको मात्रै बिषय नभएर सरकार र सदनको बिषय रहेको बताउनु भयो ।

अहिलेसम्म भुमिको विषय राजनीतिक नारा मात्रै दलहरूले बनाएकाले अब वास्तविक रुपमा माओवादी पार्टीले एजेन्डा बनाएर अगाडि बढाउनुपर्नेमा उहाले जोड दिनुभयो । कुनै बिषय आयोगको भन्दा माथिको बिषय भएकोले सरकार र सदनले गर्नुपर्ने बिषय रहेकोले आफुले सदनमा बहस र समाधानको लागि उठाउने पनि शर्माले बताउनु भयो ।

कार्यक्रममा राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले राजनीतिक प्रतिशोधका कारणले पनि भुमि समस्या हल हुन नसकेको बताउनु भयो । स्थानीय सरकार गम्भीरतापूर्वक लागेको बताउदै उहाँले भुमि सम्वन्धि ऐन कानुनले समेत अप्ठ्यारो पारेको बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले भुमि समस्या हल गर्न आन्दोलन र दबाब सिर्जना आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय भुमि आयोग दाङका अध्यक्ष लेखराज सिहले हलमा उठेको प्रश्नको जवाफ दिदै आयोगको कार्यविधि अनुसार काम अगाडि बढेको बताउनुभयो । अहिले सक्रिय पालिकाहरुमा जग्गा नापजाँचको कार्य अगाडि बढिरहेको बताउदै उहाँले विभिन्न समस्याहरुका बीच आयोग अगाडि बढिरहेको बताउनुभयो । कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरीले आयोगले गरिरहेका बिषयमा प्रशिक्षक प्रशिक्षण दिनुभएको थियो ।