शान्तिनगरमा सिस्नोको पाउडर उद्योग

शान्तिनगर दाङ, शान्तिनगर गाउँपालिका–३ बस्तीखोलामा सिस्नोको पाउडर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ ।
गत वर्षदेखि आमा समूहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएको हो ।

गाउँघरमा रहेका दिदीबहिनीले सिस्नो टिपेर उद्योगमा ल्याउने र त्यसलाई पाउडर बनाउने गरेको आमा समूहकी अध्यक्ष नन्दिका स्वर्णकारले बताइन् । उनका अनुसार उनले अन्य उत्पादन गर्न उद्योगका लागि धेरै सामग्रीको अभाव रहेको भन्दै सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरेकी छन् ।‘गाउँघरमा खेर गइरहेको सिस्नोलाई हामीले पाउडर बनाएर आर्थिक उपार्जन गर्न खोजेका हौँ तर हामीलाई धेरै समस्या छन् । एक त विकट ठाउँ,त्यसमा पनि पर्याप्त मात्रामा सामाग्रीहरू छैनन्,जसोतसो उत्पादन गरे पनि बिक्री हुँदैन।’ नन्दिका स्वर्णकार भनिन । अहिले समूहमा ८ जना दिदीबहिनी आवद्ध रहेकाछन् । अहिले उद्योगले उत्पादन गरेको करिब २५ किलो सिस्नोको पाउडर रहेको र त्यस बजार नपाएको उनको गुनासो छ ।

एक केजी पाउडरको होलसेलमा ५ सय र फुटकर मूल्य ७ सय रहेकोछ । स्वर्णकारका उनका अनुसार गाउँमा सिस्नो प्रशस्त पाइन्छ तर उत्पादन भएको पाउडरले बजार नपाउँदा समस्या भएको छ । उनले बजार मूल्य पाएको खण्डमा मासिक १ सय केजी भन्दा बढी पाउडर उत्पादन गर्न सक्ने पनि बताइन् ।