फागुन १९, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ ।
शनिबार दिउँसो दाङको भालुवाङमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन,सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले
समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिने छ । त्यसले देशमा नयाँ वातावरण बनाउने छ ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।
अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।