राष्ट्रिय कविता महोत्सवको महत्व

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       | 170 Views   ||

‘पर्यटनका लागि साहित्य’ भन्ने आहृवानसँगै आजदेखि दाङमा राष्ट्रिय कविता महोत्सव-२०६८ को शुरु हुँदैछ । तीन दिनसम्म चल्ने राष्ट्रियस्तरको यति भव्य र ठूलो साहित्यिक कार्यक्रम दाङमा पहिलोपटक हुन लागेको हो । विशेषतः राप्ती क्षेत्रको कलासाहित्य देशव्यापीकरण गर्न र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन आयोजना गरिएको राष्ट्रिय कविता महोत्सवले निश्चय नै यहाँका पर्यटकीय सम्पदा, कलासाहित्य र संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निभाउनेछ । महोत्सवमा राष्ट्रियस्तरको कविता प्रतियोगिता, दाङलगायत प्यूठानको पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्वारीको अवलोकन भ्रमण एवम् कवि गोष्ठी, साहित्यिक अन्तरक्रियाको आयोजना गर्न पाउनु र देशकै वरिष्ठ साहित्यकारहरुलाई स्वागत गर्न पाउनु दाङलगायत सिङ्गो राप्तीबासीकै लागि महत्वपूर्ण अवसर र गर्वको विषय हो ।

पर्यटन वर्ष सन् २०११ को अवसरमा आयोजना गरिएको यस कविता महोत्सवले साहित्यिक क्षेत्रमा देशभरि नयाँ तरङ्ग र सन्देश त दिने छ नै । यसले यहाँको पर्यटकीय सम्भावना र पर्यटन प्रवर्द्धनमा पनि प्रचारप्रसारको निकै महत्व हुनेछ। कविता महोत्सवमा देशैभरिबाट सहभागी हुन आउने साहित्यकार-पत्रकारहरुको वौद्धिक जमघटले समग्र कलासाहित्य, देशको वर्तमान गम्भीर र चुनौतीपूर्ण अवस्था र राप्ती क्षेत्रको कलासंस्कृति, पर्यटकीय सम्भावनालगायतका सबै विषयमा गम्भीर चिन्तन मनन् गर्नेछ । महोत्सवको मुख्य आकर्षण रहेको राष्ट्रिय कविता प्रतियोगिताले साहित्यकारहरुलाई साहित्य साधनामा निरन्तर लागिरहन थप प्रेरणा मात्र दिने छैन, युवा प्रतिभा, नयाँ सर्जकका साथै आम जनमानसलाई पनि कलासाहित्यको महत्व र प्रभावलाई नजिकबाट चिन्न सघाउनुका साथै यसको विकास र सम्वर्द्धनमा लाग्न प्रेरित गर्नेछ ।

महोत्सवको महत्वपूर्ण पाटो हो- यहाँको कलासाहित्य, संस्कृति र पर्यटनको प्रचारप्रसार । राप्ती अञ्चल कलासाहित्य, संस्कृति र पर्यटकीय दृष्टिकोणका हिसाबले निकै उर्वर भूमि हो । यहाँको लोक कलासंस्कृति, विविध भाषा, भेषभुषा र प्राकृतिक सम्पदाहरुले यहाँको परिचयलाई आफै झल्काउँछन् । कविता महोत्सवमा भाग लिन राजधानीलगायत पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका पुराना तथा नयाँ साहित्यकारहरुले यहाँको कलासाहित्य र संस्कृतिका विषयमा अध्ययन गर्न, एकआपसमा कला सिर्जनामा मात्र परिचित साहित्यकारहरुका बीचमा प्रत्यक्ष साक्षात्कार हुनुका साथै यहाँ रहँदाका अनुभूतिहरु देशैभरिका साहित्यकारहरुको कलमले अभिव्यक्त गर्नेछन्, यसले यहाँको साहित्यिक, साँस्कृतिक, सामाजिक, राजनैतिक तथा भौगोलिक अवस्थाको देशव्यापी प्रचारप्रसारमा टेवा पुर्‍याउनेछ ।

यति भव्य र महत्वपूर्ण कार्यक्रमको आयोजना गरिसकेपछि त्यसलाई त्यत्तिकै प्रभावकारी र प्रेरणादायी बनाउनु आयोजकको मुख्य दायित्व हुन्छ । त्यस्तै, यसलाई सफल पार्न दाङलगायत सिङ्गो राप्तीबासी साहित्यकार, पत्रकार, कलाकार, सरकारी तथा गैरसरकारी निकायदेखि सबै सर्वसाधारणको आ-आप\mनो ठाउँमा उत्तिकै भूमिका रहन्छ । हामीले राष्ट्रियस्तरका वरिष्ठ साहित्यकारहरुदेखि साहित्यको क्षेत्रमा भर्खरै उदाउँदै गरेका युवा हस्ताक्षरहरुलाई दाङ आमन्त्रण गरेर के सन्देश दिने भन्ने विषयमा सबैले चिन्तन मनन गर्‍यौँ भने निश्चय नै आफ्नो भूमिका सहजै पूरा गर्न सक्नेछौँ । त्यसैले महोत्सवलाई चुस्त, प्रभावकारी र लक्ष्य उद्देश्यप्रति केन्द्रीत बनायौँ भने कविता महोत्सवले निश्चय नै राष्ट्रियस्तर कायम गर्नेछ । र, दाङको साहित्यिक क्षेत्रको गरिमा झनै उँचाईमा उठाउनेछ । त्यसैले दाङको साहित्यिक गरिमालाई देशव्यापी गराउन र पर्यटन प्रवर्द्धन गर्न सम्पूर्ण दाङबासी कम्मर कसेर लागौँ, दाङको साहित्यिक, साँस्कृतिक र पर्यटकीय पहिचान दिने बेला यही हो । यसले मोफसल र राजधानीको बीचमा रहेको खाडललाई केही हदसम्म भएपनि पुर्नेछ । त्यसैले साँस्कृतिक पर्यटनको एउटा महत्वपूर्ण अभिव्यक्तिको रुपमा रहेको यो महोत्सवलाई सबैले आ-आप\mनो क्षेत्रबाट सहयोग गरेर सफल बनाऔँ र राप्तीको साहित्यिक उँचाईलाई माथि उठाऔँ । यसमा नै कविता महोत्सवको महत्वले सार्थकता पाउनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *