२००४ साल श्रावण २३ गते दाङको घोरदौरामा जन्मनुभएका पुरुषोत्तम खनाल हाल राप्ती साहित्य परिषद्को अध्यक्ष हुनुहुन्छ । साहित्य र शिक्षण पेशालाई सँगसँगै अघि बढाउनुभएका खनालले ‘स्मृतिका तरङ्गहरु’ (कविता संग्रह)-२०६४ का साथै स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरुमा दर्जनौँ कथा, कविताहरु प्रकाशित गरिसक्नुभएको छ । चार दशकभन्दा बढी शिक्षण पेशामा बिताउनुभएका खनाल राप्ती साहित्य परिषद्को अध्यक्षका साथै प्रलेस दाङका सल्लाहकार, सर्वोदय पुस्तकालयका अध्यक्षलगायत थुप्रै सामाजिक संघ, संस्थामा क्रियाशील रहदै आउनुभएको छ । परिषद्का अध्यक्ष खनालसँग राप्ती साहित्य परिषद्को गतिविधि र समग्र राप्तीको साहित्यिक क्षेत्रका विषयमा केन्द्रीत रहेर सह-सम्पादक डिल्ली मल्लले गर्नुभएको कुराकानी । “]
-[पुरुषोत्तम खनाल (अध्यक्ष), राप्ती साहित्य परिषद्]
यही साता दाङमा राष्ट्रिय कविता महोत्सव हुँदैछ, यहाँहरुले दाङमै राष्ट्रिय महोत्सवको आयोजना किन गर्नुभयो ?
नेपाल पर्यटन वर्ष सन् २०११ मूल समिति दाङको मुख्य आयोजना तथा राष्ट्रिय कविता महोत्सव- २०६८ मूलसमितिको आयोजनामा ‘पर्यटनका लागि साहित्य’ अन्तर्गत यही बैशाख २५, २६ र २७ गते दाङको घोराहीमा राष्ट्रिय कविता महोत्सव हुन गइरहेको छ । दाङमा क्रियाशील साहित्यिक संस्थाहरुले अघिदेखि राष्ट्रियस्तरमा विभिन्न गोष्ठीहरु आयोजना गर्दै आइरहेका छन् । अहिले साहित्य पनि पर्यटन प्रवर्द्दनको माध्यम बन्न सक्छ । दाङ नेपाली र संस्कृत वाङ्मयका दृष्टिले महत्वपूर्ण ठाउँ मानिन्छ । यहाँ धेरै साहित्यिक संघ संस्थाहरु अघिदेखि क्रियाशील हुँदै आएका छन् । पर्यटन वर्षमा दाङका विभिन्न प्राकृतिक, साँस्कृतिक, साहित्यिक स्थानहरुको परिचय स्थानहरुको परिचय राष्ट्रभरि गराउनुपर्छ भन्ने सोच भइरहेको बेला संयोग मान्नुपर्छ दाङका स्थानीय विकास अधिकारी रमेश क्षितिज साहित्यकारसमेत हुनुभएकाले यो राष्ट्रिय कविता महोत्सव दाङले नै पहिलो आयोजना गर्यो यो अत्यन्त गौरवको विषय बन्न गएको छ जस्तो लाग्छ ।
महोत्सवका लागि के कस्ता कार्यक्रमहरु तय गर्नुभएको छ र तयारी के कस्तो भएको छ नि ?
हामीले यो राष्ट्रिय कविता महोत्सव भव्यरुपले सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरेर कामलाई अघि बढाएका छौँ । यस समयमा हामीले राष्ट्रिय स्तरका कविता प्रतियोगिता गराउँदैछौँ । यस अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाज्यूको प्रमुख आतिथ्यमा विशिष्ट साहित्यकार ज्यूहरुका कविता, विचार सुन्नेछौँ । साहित्यिक अन्तरक्रिया गर्ने छौँ साथै दाङका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराउनेछौँ र दाङका पर्यटकीय क्षेत्रहरुको वृत्तचित्र प्रदर्शन गराएर समग्र दाङको परिचय दिनेछौँ ।
यहाँ राप्ती साहित्य परिषद्को अध्यक्ष हुनुहुन्छ, राप्ती अञ्चलको समग्र साहित्यिक अवस्था र गतिविधिका बारेमा बताइदिनुहोस् न ।
राप्ती साहित्य परिषद्ले जिल्लाहरुमा शाखा गठन गरेर साहित्यिक गतिविधिहरु अगाडि बढाउँदै लगेको सर्वविदितै छ । राप्ती अञ्चल साहित्यिक विकासमा तीव्ररुपले अगाडि बढिरहेको छ । हाम्रा अग्रज साहित्यकारहरुले देखाएको मार्गर्लाई अझ फराकिलो बनाउँदै युवा जमातलाई संगठित गर्दै क्रियाशील बनाउँदै लगिरहेका छौँ । प्रकाशनका दृष्टिले पनि अहिले वाषिर्क मुखपत्र राप्तीदुत साहित्यिक त्रैमासिक पत्रिका अन्तध्र्वनी नियमित प्रकाशन गरेर स्रष्टाहरुको खोजी तथा पहिचान स्थापित गर्दै गएका छौँ । यसका साथै राप्तीबाट प्रकाशन हुने विभिन्न कृति तथा पत्रपत्रिकाले साहित्यिक गतिविधि अगाडि बढाइरहेका छन् । त्यस्तै साहित्यिक क्षेत्रमा क्रियाशील विभिन्न संघ, संगठनहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
राप्तीमा विभिन्न जातजाती, क्षेत्र र समुदायविशेषका थुप्रै लोककलासंस्कृति रहेका छन्, ती सबै कलासंस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासका लागि परिषद्को तर्फबाट के– कस्तो पहल गरिरहनुभएको छ ?
राप्ती भाषा, कला, संस्कृतिमा विविधता रहेको अञ्चल हो । विविधताभित्र एकताको लागि हामी जुटिरहेका छौँ । सबै भाषाको संरक्षण हुनुपर्छ भन्ने मान्यताका साथ राप्तीका भाषा विशेषाङ्क पनि हामीले अन्तध्र्वनीको एउटा अङ्कमा देखाइसकेका छौँ । लोककला, संस्कृतिका विकासमा लाग्नुहुने व्यक्तिको पहिचान गरी सम्मान तथा पुरस्कृत गर्ने परिपाटीको थालनी पनि हामीले गरेका छौँ । अझ यसको समग्र विकासका निम्ति सबैको सहयोगको अपेक्षा हामीले राखेका छौँ ।
राप्ती साहित्य परिषद् राप्ती अञ्चलकै सबैभन्दा जेठो साहित्यिक संस्था हो । संस्थामा सबै विचार, क्षेत्र र समुदायका स्रष्टाहरुलाई समेटेर लैजान र संस्थालाई अझै समृद्ध गरेर लैजान के कस्ता कार्ययोजनाहरु बनाउनु भएको छ नि ?
राप्ती साहित्य परिषद् सबै विचारको साझा साहित्यिक चौतारी हो । यहाँ सबै आस्था विचार बोकेका साहित्यकार, साहित्यप्रेमी व्यक्तिहरु आजीवन सदस्य बन्नुभएको छ । बन्दै पनि हुनुहुन्छ । यसको विकासका लागि हामीले विभिन्न उपसमितिहरु निर्माण गरेर भावनात्मक एकताका लागि छलफल, बहस, अन्तरक्रिया गर्दै आएका छौँ । अझ यसलाई व्यवस्थित गर्न सबैको सल्लाह सुझावको खाँचो महसुस गरिरहेका छौँ ।
संस्थाले हरेक वर्ष वाषिर्कोत्सवका अवसरमा साहित्यका विभिन्न क्षेत्रमा कलम चलाएका स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ, अहिले संस्थाको मातहतमा के-कति पुरस्कारहरु रहेका छन् ?
राप्ती साहित्य परिषद्ले हरेक वर्ष विभिन्न पुरस्कारले साहित्यकारहरुलाई पुरस्कृत गर्ने गरेको छ । अहिलेसम्म राप्ती साहित्य परिषद्मा १६ वटा पुरस्कारहरु स्थापना गरिएका छन् । यस वर्षदेखि वर्ष दिनभित्र स्रष्टाहरुका प्रकाशित कृतिमध्ये उत्कृष्ट एउटा कृतिलाई पुरस्कृत गर्ने थालनी पनि भएको छ ।
साहित्य के का लागि भन्ने विषयमा प्राज्ञिक तहदेखि सर्वसाधारणसम्म निकै बहस छ, तपाईको बुझाईमा साहित्य के का लागि ?
साहित्य समाज रुपान्तरणका लागि । साहित्य समाजमा देखिएका विकृति विसंगति हटाएर उन्नत समाज निर्माणका लागि जनचेतना जगाउने गुरु हो ।
साहित्य र राजनीतिलाई यहाँले कसरी हेर्नुभएको छ ? साहित्य र राजनीतिको एक अर्कामा कस्तो सम्बन्ध रहन्छ ?
मान्छे सामाजिक प्राणी हो, समाज राजनीतिसँग सापेक्ष हुन्छ त्यसैले साहित्यकार र उसद्वारा लेखिने साहित्य पनि राजनीतिदेखि निरपेक्ष हुन्छ/हुनुपर्छ भन्नु बेइमानी हुनेछ ।
अलिकति फरक प्रसंगमा जाऔँ, संविधान जारी गर्ने मिति सकिन अब तीन हप्ता पनि बाँकी छैन । तर, दलका नेताहरु जेठ १४ भित्र संविधान जारी हुन नसक्ने बताइरहेका छन् र जेठ १४ पछि देशमा के हुने हो अहिले नै भन्न सकिने अवस्था छैन । देशको यस्तो जोखिमपूर्ण अवस्थामा शान्ति र संविधानका लागि स्रष्टाहरुको के भूमिका हुन सक्छ ?
जति-जति संविधान बनिसक्नुपर्ने दिन नजिकिदै छ देश अन्यौलको भुमरीमा रुमल्लिदै जान थालेको छ । यो जटील परिस्थितिबाट देशलाई जोगाइराख्नु हाम्रो दायित्व पनि हो । यो बेला देशका सम्पूर्ण नागरिक दबाबका निम्ति अगाडि बढ्नु जरुरी छ । यसमा स्रष्टाहरु अझ सशक्त किसिमले आˆनो लेखनीका माध्यमबाट चेतनाको विगुल फुक्दै अग्रपंक्तिमा उभिन जरुरी छ । जसले शान्ति स्थापनाका साथै संविधान निर्माणमा बल पुग्नेछ ।
अन्त्यमा, यहाँले नौलो जनउभार साप्ताहिकमार्फत् केही भन्न चाहनुहुन्छ कि ?
देशको यो जटील परिस्थितिमा स्रष्टाहरुले कलमको माध्यामबाट शान्ति स्थापना र संविधान निर्माणका सहयोग र दबाब पुग्ने गरी कलम चलाउन अनुरोध गर्दछु साथै यी विचारहरु राख्न दिनुभएकोमा नौलो जनउभार साप्ताहिक परिवारलाई पनि धन्यवाद ।
वर्ष १३, अंक २४, २०६८ बैशाख २५ गते आइतबार प्रकाशित