महासंघको चुनाव : संक्षिप्त समीक्षा

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       | 130 Views   ||

-[हिरामणि दुःखी]

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर यही बैशाख २० र २१ गते नेपाल पत्रकार महासङ्घको तेइसौं महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले सङ्गठनको नेतृत्वमा एक सय असी डिग्रीको परिवर्तन ल्यायो । पत्रकार महासङ्घको इतिहासमा आइसब्रेक नै भयो । २०१२ सालमा स्थापना भएको सङ्घको मुख्य नेतृत्वमा यसअघिसम्म नेपाली काङ्गे्रससँग सम्बद्ध व्यक्ति रहँदै आएका थिए । पहिलो सभापतिमा काङ्ग्रेस नेता कृष्णप्रसाद भट्टराई थिए भने त्यसयता बाइसौं अधिवेशनबाट अध्यक्षमा धर्मेन्द्र झा निर्वाचित भएका थिए, जो काङ्ग्रेसकै पक्षबाट उम्मेद्वार बनेका थिए । यसरी किसुनदेखि धर्मेन्द्रसम्म आउँदा वाम पक्षधर व्यक्ति मुख्य नेतृत्वमा चुनिन सकेका थिएनन् । यसपटक भने मुख्य नेतृत्वमात्र नभई पदाधिकारीका चारजनासहित केन्द्रीय समितिमा वामपन्थीहरूको वर्चस्व कायम हुन पुग्यो । यो वर्चश्वले महासङ्घको रङ्ग र रूप नै बदलिन पुगेको छ । महासङ्घमा पुँजीवादपन्थीहरूको पकड कायम रहिरहनु भनेको यो संस्था श्रमजीवी पत्रकारहरूको नभई मालिक पत्रकारहरूको संस्था हुनु हो । यद्यपि नेपाली काङ्ग्रेस समर्थक पत्रकारहरू सबै पुँजीपतिवर्गका मात्र हुन्छन् भन्ने स्तम्भकारको आसय होइन । भनाइको अर्थ के हो भने नेपाली काङ्ग्रेसले प्रतिनिधित्व गर्ने विचार भनेको सामन्त, पुँजीपति एवम् उत्पीडक वर्गको विचार हो । महासङ्घको नेतृत्वमा पुग्नेहरू तिनै सम्भ्रान्तवर्गको आशिर्वादमा मात्र पुग्ने गरेका छन् । त्यसैले महासङ्घमा उनीहरूको पकड भयो भने स्वभावैले यो संस्थामा सञ्चार उद्योगमा लगानी गरेका सम्भ्रान्तवर्गको पकड रहन्छ । तसर्थ यो संस्थाले श्रमजीवी पत्रकारहरूको हकहितमा भन्दा मालिक वर्गको नाफा संरक्षणमा सहयोग पुर्‍याउने कुरा स्वाभाविक बन्न पुग्दछ । जो केही अपवादबाहेक अहिलेसम्मको महासङ्घको इतिहासले पुष्टि गरेको तथ्य हो । महासङ्घको चुनावमा विगमिडियाका लगानीकर्ताहरूले आˆनो वर्चस्व जमाउन गरेका हर्कत, तिगडमबाजी, घात-प्रतिघात र चुनावी खर्च गराइले त्यही कुराको पुष्टि गर्दछ ।

विगतमा महासङ्घको नेतृत्वमा रहेका सबै सभापति, पदाधिकारी वा समितिका सदस्यहरूले पुँजीपति वर्गको संरक्षण मात्र गरे भन्ने होइन । कयौँ अवस्थामा लोकतन्त्र वा प्रजातन्त्रको प्राप्ती र संरक्षण एवम् राष्ट्रियताका निम्ति पनि आन्दोलन गरेको महासङ्घको इतिहास छ । संसदवादी पार्टीहरूले संविधानसभा र गणतन्त्रमा जान नचाहदा नचाहदै पनि माओवादीइतर क्षेत्रबाट गणतन्त्र र संविधानसभाका लागि आन्दोलनको उठान गर्ने संस्थाको रूपमा पनि महासङ्घलाई लिन सकिन्छ । यो महासङ्घको प्रशंसनीय कार्य हो । यसअघि महासङ्घमा छिटफुट प्रतिनिधित्वका रूपमा प्रगतिशील क्षेत्रबाट पनि हुने गरेको थियो । तथापि महासङ्घको सिङ्गो पङ्क्तिले सञ्चार उद्यमीहरूको संरक्षण गरिरहेको अवस्थामा श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण गर्न सकेको थिएन । यसपटक महासङ्घमा अग्रगामी विचारसहितको प्रतिनिधित्व रहनुले महासङ्घ वास्तविक श्रमजीवी पत्रकारहरूको संस्था बन्न पुगेको अनुभूति दिलाएको छ ।

महासङ्घले आˆना ५६ वर्षको इतिहासमा नेपालको राजनीति र सत्ताको विभिन्न प्रकृतिको अनुभव प्राप्त गरेको छ । प्रेस स्वतन्त्रता जनताको मौलिक हक हो त भनिन्छ तर स्वतन्त्र प्रेसको दायित्व राष्ट्र र जनताका निम्ति के कस्तो हुनुपर्छ भनेर कहिल्यै पनि सोचिएन । पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्ग भनेर दावा गरिन्छ तर चौथो अङ्गले राष्ट्र र जनताका निम्ति के कस्तो भूमिका खेल्नुपर्छ भनेर कहिल्यै पनि समीक्षा गरिंदैन । अहिलेसम्म महासङ्घले केही अपवादबाहेक न त राष्ट्रका निम्ति सोच्यो न त जनताका निम्ति । बरू यसले पत्रकारहरूको हकहित भन्दै मालिकहरूको संरक्षणमा ५६ वर्ष बितायो । अझ ०४६ को परिवर्तनपछि त सञ्चारमा निजीक्षेत्रको लगानी हृवात्तै बढ्यो र यो सञ्चार उद्योगको रूपमा विकसित भयो । त्यसपछि महासङ्घलाई ती उद्यमीहरूले आˆना कर्तुतहरू ढाकछोप गर्ने रक्षाकवच बनाउँदै लगे । हामी तल्लो वर्गका पत्रकारहरू सञ्चार स्वतन्त्रताका कुरा गर्छौं तर मिडिया मालिकहरूले सम्पादकीय र समाचारहरूमा कैंची लगाउँछन् र सत्यतथ्य समाचारहरूमाथि छुरा धस्छन् । रिपोर्टरहरूले पठाएका तथ्यपूर्ण समाचारहरूको अपहरण गरिन्छ र हत्या गरिन्छ । सम्पादकहरू मालिकका गोटी बन्न बाध्य पारिन्छन् । अन्यथा उनीहरूले आˆनो पेसाबाट हात धुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पत्रकार महासङ्घ या त चुपचाप बस्ने गरेको छ या त मालिकहरूकै पक्षमा लाग्ने गरेको छ । किनकि महासङ्घ स्वयम्मा स्वतन्त्र र निश्पक्षरूपमा रहेर निर्भयतापूर्वक काम गर्ने अवस्थामा अहिलेसम्म पुग्न सकेको छैन ।

यसपटकको तेइसौं महाधिवेशनमा पत्रकार महासङ्घको विगत ५६ वर्षको इतिहास तोडिएको छ । यो अधिवेशनमा अग्रगामी विचारका एजेण्डासहित प्रगतिशील प्यानल विजयी बनेको छ । ५६ वर्षको इतिहासमा पहिलोपटक प्रगतिशील र श्रमजीवीवर्गका पत्रकारहरूले आˆनो छाता सङ्गठनको नेतृत्व गर्ने अवसर पाएका छन् । यो अवसर प्राप्त हुनुमा मुलतः देशको हरेक क्षेत्रमा आमूल परिवर्तनको नारा बोकेर राष्ट्र र जनताका निम्ति मिसन पत्रकारिता गरेका पत्रकारहरूको सङ्गठन क्रान्तिकारी पत्रकार सङ्घ र प्रेस चौतारी नेपालको संयुक्त प्रयासबाट सम्भव भएको हो । विगतमा क्रान्तिकारी पत्रकारहरूको महासङ्घमा उल्लेख्य उपस्थिति पनि नहुनु र प्रेस चौतारीमा व्यक्तिगत महत्वाकाङ्क्षी प्रवृत्तिका कारण आन्तरिक घात-प्रतिघात हुनुले प्रगतिशील पक्षले जित्न सकेको थिएन । यसपटक महासङ्घमा क्रान्तिकारी पत्रकारहरूको निणर्ायक उपस्थिति रहनु र सोही सङ्गठनको विशेष पहलमा प्रेस चौतारीसँग एकतावद्ध भएर चुनावमा जाने रणनीति तय हुनु, त्यसमा प्रेस चौतारीको संस्थापन नेतृत्व र उसको मातृ पार्टी नेकपा एमालेको संस्थापन पक्ष सकारात्मक हुनुले विजय सम्भव भएको हो । यद्यपि यो एकताभित्र केही मात्रामा विश्वासको सङ्कट देखापरेको छ, जसका कारण प्रगतिशील पक्षका केही उम्मेद्वारहरू पराजित भएका छन् । यसलाई आगामी दिनमा सकारात्मक सोचका साथ कमी कमजोरीहरूको समीक्षा गर्नु जरुरी छ । तथापि यो एकताले नेपालको वाम आन्दोलनलाई समेत सकारात्मक शिक्षा दिएको छ ।यसरी केही नकारात्मक सोच, चिन्तन, प्रवृत्ति र विगमिडियाहरूको प्रतिगामी खेलका बाबजुद मुख्यरूपमा अग्रगामी विचार, एजेण्डा र नेतृत्वको विजय भएको छ । अब शिव गाउँलेको नेतृत्वमा विजयी भएको यो क्रान्तिकारी र प्रेस चौतारीको संयुक्त टिमले चुनावका बेला उठाएका एजेण्डा लागू गराउन महासङ्घलाई भरपुर उपयोग गर्नुपर्छ । पत्रकार महासङ्घ साँच्चिकै आम श्रमजीवी पत्रकारहरूको छाता सङ्गठन हो र यसले श्रमजीवी पत्रकारहरूको हकहितका निम्ति सङ्घर्ष गर्छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।

वर्ष १३, अंक २४, २०६८ बैशाख २५ गते आइतबार प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *