पार्टी नेतृत्वलाई शहीद परिवारका तर्फबाट खुल्ला-पत्र

  
  प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०६८       | 129 Views   ||

आदरणीय अध्यक्ष कमरेड प्रचण्ड तथा नेतृत्वपङ्तिका कमरेडहरु

सम्पूर्ण शहीदका परिवारजनको तर्फबाट क्रान्तिकारी लालसलाम

पुरानो सामन्तवादी राज्यसत्ताको अन्त्य गर्ने युगान्तकारी अभियान १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेपाली आमाका महान् सपुत-सुपुत्रीहरुले इतिहासमा गौरवपूर्ण मृत्युवरण गरेका छन् । साम्यवाद चुम्ने सपनासहित विद्यमान पुरानो राज्यसत्ताको अन्त्य गरेर नेपाली जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने सङ्कल्प र प्रतिवद्ध भई महान् जनयुद्धमा रोल्पामा शहीद भएका सम्पूर्ण शहीद परिवारका तर्फबाट पार्टी नेतृत्व अनि सिङ्गो पार्टीसमक्ष केही विचार र भावनाहरु पोख्ने जमर्को गर्दछौँ ।

नेपाली राजनीतिक इतिहासमा महान् जनयुद्ध परिवर्तन र मुक्तिको संवाहक बन्यो । दश बर्षे जनयद्धको जगमा संसदवादी दलहरुलाई राजतन्त्रको विरुद्धमा गोलबन्द गर्दै ऐतिहासिक १९ दिने जनआन्दोलन पनि सम्पन्न भयो । यो कुरा नेपाली जनता र सिंगो विश्वलाई छर्लङ्ग भएको कुरा हो । महान् जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा नेपालमा संघीय गणतन्त्र घोषणामात्र भएको छ तर नेपाली जनताले पूर्णअधिकार र मुक्ति प्राप्त गरेका छैनन् । जनयुद्ध र जनआन्दोलनमा आफन्त गुमाएका शहीद परिवार, इमान्दार कार्यकर्ता र उत्पीडित जनताहरुलाई अझैँ आशा छ कि सम्पूर्ण जनताको मुक्ति र अधिकारको लागि लड्ने पार्टी एकीकृत नेकपा (माओवादी)  मात्र हो । तर, अहिले पार्टीभित्र चल्ने गरेको अस्वस्थ अन्तरसंघर्षले हामी सम्पूर्ण जनयुद्धका शहीद परिवार, घाइते योद्धा र आम क्रान्तिकारी जनतालाई असाध्यै पीडाबोध बनाएको छ । हिजो पार्टीभित्र चल्ने गरेको अन्तरसङ्घर्ष पार्टी जीवन र क्रान्तिको लागि थियो । जहाँ पार्टी जीवन र क्रान्तिको उद्देश्यमा केन्द्रीत हुन्थ्यो । त्यही अन्तरसंघर्षले जनयुद्धका क्रममा पार्टीलाई सुदृढ र केन्द्रीत गर्दथ्यो र विजयका ढोकाहरु खोल्दै जनयुद्ध अगाडि बढेको इतिहास हाम्रो सामु छ ।

शान्ति प्रक्रियामा आएपछि खासगरी प्रारम्भिक चरणमा पार्टी जीवनमा चलेका अन्तरसंघर्षहरु पार्टी र क्रान्तिका  लागि केन्द्रीत थियो । तर, बिडवम्ना पछिल्ला चरणमा चल्दै गरेका अन्तरसंघर्षहरु पार्टी जीवन र क्रान्तिको उद्देश्यसँग जोडिएको देखिदैन । अहिले त अन्तरसंघर्ष सञ्चालनका विधि र प्रक्रियाहरु छताछुल्ल भएर चलेको  हामीलाई लागिरहेको छ । हिजो हाम्रो अन्तरसंघर्ष जनवादी क्रान्ति कसरी गर्ने ? जनवादबाट समाजवाद हुँदै साम्यवादमा कसरी पुग्ने भन्ने सैद्धान्तिक मुद्दामा केन्द्रीत हुन्थ्यो तर आजको अन्तरसंघर्ष को सरकारमा जाने, कसले बढी सेवा सुविधा लिने भन्नेमा केन्द्रीत देखिन्छ । हाम्रो पार्टीको घोषित नीति भनेको सामन्तवादी राज्यसत्ताको सम्पूर्णरुपले अन्त्य गरी नेपाली जनताको जनवादी राज्यसत्ता स्थापना गर्दै साम्यवादमा पुग्ने हो । तर, अहिले अन्तरसंघर्षको विधि र प्रक्रिया हेर्दा शङ्का लाग्ने धेरै कारणहरु छन् । यतिबेला हाम्रो नेतृत्वपङ्ित नेपाली क्रान्ति र विश्वक्रान्तिको नायक बन्ने कि खलनायक ? प्रश्न गम्भीर छ । रुसी क्रान्ति र चिनियाँ क्रान्तिको अन्तरसंघर्षको इतिहासलाई हेर्दा हाम्रो पार्टीभित्र चल्ने अन्तरसंघर्ष बढी अभिजात वर्गहरुको दबादबा बढ्न थालेको हो कि भन्ने शङ्काहरु पनि छन् । अन्तरसंघर्ष खराब प्रवृत्तिको विरुद्ध केन्द्रीत गर्नुभन्दा पनि इमान्दार कार्यकर्ता, शहीद परिवारलाई बढी निरास बनाउने हिसाबले चलिरहेको अनुभूति हुन्छ । तर, जेसुकै होस् पार्टीभित्र चल्ने गरेको अन्तरसंघर्ष विश्वक्रान्तिमा हुने अन्तरसंघर्षको सार्वभौम नियमभन्दा बाहिर गएर चल्नु हुँदैन ।

नेपाली इतिहासमा जनताले राजनीतिक दलहरुबाट धेरै पटक धोका पाएका छन् । झापामा क्रान्ति र मुक्तिको लागि दर्जनौँ क्रान्तिकारी योद्धाहरुले बलिदान गरेका थिए । ती शहीदहरुको भावनाविपरित एमाले आज विदेशी दलाल पार्टीको रुपमा पतन भएको छ । हाम्रो पार्टी माओवादी १० वर्ष लामो जनयुद्ध लडेको र त्यसमा खासगरी जनयुद्धमा बगेको थुप्रै रगत, पसिना, आँसुलाई नेताहरुले भुल्ने छैनन् भन्नेमा हामी अपेक्षा गर्दछौँ । हाम्रो पार्टीको नेतृत्वमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपनि उपेक्षित वर्ग, जाती, क्षेत्र र लिङ्गको भावनाअनुसार राज्यको आमुल परिवर्तन भएको छैन । नेपाली जनताको जनसंविधान बनेको छैन र त्यसअनुरुपको राजनीतिक सत्ता प्राप्त भएको छैन । यसर्थ पनि पार्टीले अन्तरसंघर्षमा मालेमावादी विधि र प्रक्रिया पुर्‍याउनुपर्छ । यसको मुख्य भूमिका नेतृत्वको हिसाबले अध्यक्ष कमरेड प्रचण्डले खेल्नुपर्छ । जनयुद्धमा आफन्तहरुको शहादतले टुक्रिएका मनहरु अझै शान्त भएका छैनन् । आफन्तको सम्झनामा टोलाइरहेका आँखाहरुमा आँसु अझै सुकेका छैनन् । परिवर्तनसहितको शान्ति र जनसंविधान निर्माणको काममा देशीविदेशी षड्यन्त्र तीव्र भइरहेको छ । विदेशी चलखेल कतिबेला पार्टीभित्र पनि प्रवेश गर्‍यो कि भन्ने हामीलाई लाग्ने गर्छ ।

अहिले पार्टीभित्र खराबीहरु अत्याधिक रुपमा मौलाउँदै गएको देखिन्छ । त्यसलाई निर्मूल पार्नुको साटो झन् बेलगाम भइरहेको देख्दा आफन्तको अभाव अरु खड्किएर आउँछ । अन्तरसंघर्ष क्रान्तिको कार्यनीति, कार्यदिशा र खराब प्रवृत्तिहरु विरुद्ध सञ्चालन हुनुभन्दा व्यक्ति स्वार्थमा केन्द्रीत भएको आभाष हुन्छ । जनयुद्धको मूल्य मान्यता र सोँचहरु, संगठन परिचालनका तरिका, संसदीय सोच र शैलीअनुसार चलिरहेको अनुभूति हुन्छ । पार्टीभित्रको अन्तरसंघर्ष सञ्चालन विधि गलत भएकै कारण मजदुर संगठनभित्र अराजकताले सीमा नाघेको सुनिएको छ । यो कुराले शहीद परिवार, घाइते, अपाङ्ग अनि क्रान्तिकारी जनतालाई गम्भीर र भावोद्देलित बनाउँछ । कहिलेकाँही कल्पना गर्छौँ गलत ढङ्गको अन्तरसंघर्षले पार्टीलाई गलत दिशातिर लगिदियो भने हामी शहीद परिवारको स्थिति के होला ? ती दश हजार बढी शहीदहरुको भागबण्डा होला कि के होला ? नेताहरु के गर्लान् ? निकै चिन्तित र भावुक बनाउँछ अस्वस्थ अन्तरसंघर्षको सवालले । हाम्रो मान्यता के हो भने अन्तरसंघर्ष सधै पार्टी जीवनलाई बलियो बनाउन चल्नुपर्छ । वर्गीय स्वार्थ र हित अनि राष्ट्र र जनताको हितमा चल्नुपर्दछ । अन्तरसंघर्ष उद्देश्यमा प्रतिवद्ध भई अगाडि बढाउनुपर्छ । व्यक्तिगत स्वार्थअनुसार चलेको अन्तरसंघर्षले टुटफुटको विरासत तोड्नेभन्दा पनि मोहनविक्रम मसालको विरासतलाई नै कायम राख्छ । यो अहिलेको सन्दर्भमा पार्टीको लागि निकै चुनौतिपूर्ण पहाड बनेर उभिएको छ ।

हामीलाई थाहा थियो- क्रान्तिमा कि परिवर्तन हुन्छ कि त मुक्ति हुन्छ । परिवर्तन, मुक्ति र इतिहासको आवश्यक्ता अनुसार हामीलाई त्याग, तपस्या, बलिदान, समर्पण र साहस चाहिन्छ । क्रान्तिमा पुरानो पारिवारिक सम्बन्धको ठाउँमा नयाँ सम्बन्धहरु स्थापित हुन्छन्, नयाँ आधारमा जीवनको शुरुवात हुन्छ, आफन्तहरुको बलिदान पनि हुन्छ । हामी पनि इतिहासको मागअनुसार शहीद बन्न तयार हुनुपर्छ । यही नयाँ विचारको आधारमा स्थापित भएको मूल्य मान्यताअनुसार महान् जनयुद्धमा सचेततापूर्वक साहस र सौर्यसहित क्रान्तिकारी जनता लामवद्ध भए र सचेत बलिदानको श्रृङ्खला बन्यो । बलिदान, त्याग, समर्पण र आँसुले क्रान्तिलाई उर्जा थप्यो । जनयुद्धले दुश्मनको विरुद्ध ठूल-ठूला फौजी लडाइँहरु सान्दाररुपमा सफलता हासिल गर्‍यो । विजयको शिखर चुम्दै जनयुद्ध अगाडि बढ्यो । अहिले पनि नेपाली क्रान्ति प्रत्याक्रमणको चरणमा छ । हामीलाई के थाहा छ भने यतिबेला हाम्रा अगाडि गम्भीर चुनौतीहरु छन् । चुनौतीसँग खेल्दै विजयको सम्भावनाको लागि निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टी अगाडि बढ्नुपर्छ ।

शहीद परिवार, घाइते, अपाङ्ग, इमान्दार कार्यकर्ता र नेपाली जनतालाई हाम्रो पार्टी र नेतृत्वले कहिल्यै धोका दिने छैन । एमालेले झापा आन्दोलन बिस्र्यो, कांग्रेसले ००७ सालको आन्दोलन बिस्र्यो । अहिले कांग्रेस-एमालेहरु विस्तारवादसामु नेपाली जनता र राष्ट्रलाई धोका दिएर जनताका सामु नाङ्गेझार भएका छन् । हाम्रो पार्टी र नेतृत्वपङ्ति एमाले र अरु राजनीतिक दलहरुजस्तै आफ्नो उद्देश्यबाट चिप्लिने छैन । पार्टीको नीति र सिद्धान्तमा प्रतिबद्ध भई भारतीय विस्तारवाद, देशीय सामन्तवाद र दलाल नोकरशाहविरुद्ध संघर्ष गर्न जनतालाई अपील गरिरहने छ । नेपालमा परिवर्तनसहितको शान्ति र जनसंविधान निर्माणको लागि राजनीतिक दलहरुसँग गरिएका सम्झौताहरु र सहमति कार्यान्वयन हुँदैनन् भने अर्को जनआन्दोलनको लागि जनतालाई सचेत पार्नुपर्छ ।

जनयुद्धमा कमरेड प्रचण्डले भन्नु भएझै ‘हामी हाँस्दा हाँस्दा रोएका छौँ, रुँदा रुँदै हाँसेका छौँ ।’ हाँस्नु र रुनु, विजय र बलिदानको संगम थियो जनयुद्धमा । जनयुद्धको ठूलो बलिदानबाट नेपाल आमाले मुहार फेर्दैर्छिन् । तर, पूर्णरुपमा फेरिएको छैन । यसबेला पार्टी र नेतृत्वअगाडि एकता, रुपान्तरण र प्रतिबद्धताको खाँचो छ । शहीदका रगतको मूल्य, शहीद परिवारको विचार र भावना, घाइते र अपाङ्गको पीडाअनुसार सम्पूर्ण पार्टीपङ्ति र नेतृत्वपङ्ति इतिहासको माग र आवश्यक्तालाई पूरा गर्न एकढिक्का हुन जरुरी छ । पार्टीभित्र अन्तरसंघर्ष चलिरहँदा नेतृत्वको मनहरु रोल्पामा पुग्नुपर्छ- जहाँ ०५८ चैत्र ४ गते गुम्चालमा तत्कालीन शाही जल्लादहरुले ४६ जनाको सामुहिक हत्या गरेका थिए । रोल्पाकै जेलवाङमा ६२ जना क्रान्तिकारी जनता र कार्यकर्ताहरुले बलिदान गरे । रोल्पामा मात्र बेपत्तासहित करिब १ हजारभन्दा बढी क्रान्तिकारी जनताले बलिदान गरेका छन् । यस्तै गरेर देशव्यापीरुपमा सामूहिक हत्याका श्रृङ्खलाहरु धेरै छन् । अनि कालिकोट पुग्नुपर्छ, जहाँ साहसपूर्वक महिलाहरुले दुश्मनको राइफल खोसेका थिए । नेपाली आमाका बहादुर छोरीहरुले गोरखा जेलब्रेक गरेको कुरालाई पनि सम्भिmनुपर्छ । यस्तै दोरम्बा, गौरलगायत सामूहिक हत्या भएका घटनाहरु सम्झिनुपर्छ । शहीद परिवार सामूहिकरुपले बलात्कृत भएका आमा-छोरी, दिदी-बहिनीहरु, इमान्दार कार्यकर्ता, घाइते अपाङ्ग, क्रान्तिकारी जनता, जनमुक्ति सेना सबैलाई सम्झनुपर्छ । अझै संकल्पित र प्रतिवद्ध छन् मनहरु । यस्तै दूरदराजमा रहेका बस्तीहरु सम्झनुहोस् जहाँ अझै गरिबी, बेरोजगारीका कारण उत्पीडित जनता छट्पटाइरहेका छन् हाम्रो मुक्ति हुन्छ भन्ने आशाको त्यान्द्रो बोकेर । अन्तरसंघर्ष शहरको आलिशान महलभित्र बसेर होइन भोका-नाङ्गा जनतालाई दिमागमा राखेर सञ्चालन गर्नुहोस् । वास्तविकताको धरातलमा टेकेर अन्तरसंघर्ष सञ्चालन गरियो भने मात्र वास्तविक क्रान्तिको मार्गचित्र कोर्न सकिन्छ । हामीलाई अझै आशा छ पार्टी नेतृत्वको टीम सम्पूर्ण पार्टीपङ्तिलाई एकताबद्ध गरी क्रान्तिको यात्रामा लम्किरहनेछ । सम्पूर्ण रोल्पाली शहीद परिवारका तर्फबाट यही अपेक्षा गर्दै कलम बन्द गर्दछु ।

सम्झना घर्तीमगर ‘असिना’ रोल्पा

(लेखक शहीद दिलकुमार पुनमगर ‘ज्वार’की जीवनसाथी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *