प्रगतिवादी साहित्यको प्रमुख चुनौती

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०६८       | 171 Views   ||

– [यज्ञबहादुर डाँगी]

प्रगतिको अर्थ अग्रगतिमा बढ्ने कार्य, अग्रसर हुने कार्यसित गाँसिएको छ । वादको अर्थ तत्वदर्शीहरुले निश्चित गरेको मत अर्थात् सिद्धान्तसित जोडिएको छ । प्रगतिवादको अर्थ कला-साहित्यमा माक्र्सवादी सौन्दर्यशास्त्रका आधारमा रचना सिर्जना गर्नुपर्छ भन्ने सिद्धान्तसित जोडिएको छ । यो सोझै माक्र्सवादसित जोडिएको छ । माक्र्सवाद सर्वहारावर्गको विश्वदृष्टिकोण भएकोले यो एउटा वैज्ञानिक विश्वदृष्टिकोण पनि हो । त्यसैले माक्र्सवाद सर्वहारा क्रान्तिको एउटा विज्ञान हो ।

प्रगतिवादी कला-साहित्य सर्वहारा क्रान्तिको कला र साहित्य हो अर्थात् सर्वहारावादी साहित्य हो । त्यसैले प्रगतिवादी साहित्य सुन्दर भविष्यको आमन्त्रण गर्दै त्यसमा सर्वहारावर्गलाई वास्तविक मालिक बनाएर उभ्याइदिन हुइकिएर अगाडि बढ्छ । भविष्यको प्रसव पीडासम्म चियाउनु, सम्भावना र क्षमताको क्षितिजसम्म टाढा-टाढा दृष्टि पुर्‍याउनु प्रगतिवादी कला-साहित्यको सार्थक विस्तार पनि हो । माक्र्सवादी साहित्य चिन्तनको फल यही हो । सचेत वर्गसंघर्षसँगै प्रगतिवादी साहित्य अगाडि बढ्दै जान्छ । सचेत वर्गसंघर्ष विकसित हुने क्रममा त्यसले जनक्रान्ति अर्थात् जनयुद्धको घनिभूत रुपधारण गर्न पुग्छ । त्यस अवस्थामा प्रगतिवादी साहित्य पनि क्रान्तिमय एवम् युद्धमय हुँदै जान्छ । सोभियत रुसमा अक्टोबर क्रान्तिसँगै माक्र्सवादी-लेनिनवादी कला-साहित्यचिन्तक र लेखकहरु उल्लेखनीय जमातमा जमजमाएर सर्वहारा कला-साहित्यमा देखा परे । चीनमा पनि नौलो जनवादी क्रान्तिसँगै त्यही अनुरुपमा सर्वहारा साहित्यको आयाम फराकिलो हुँदै गयो । नेपालको सन्दर्भमा पनि जनयुद्धको समयमा सर्वहारा साहित्यको सिर्जनाको आयाम सबैलाई चकित पार्ने खालको छ । यो क्रम जारी छ ।

संशोधनवादीहरु प्रगतिवादी कला-साहित्यलाई यसरी हेरेको पाइदैन । तिनीहरुले जनयुद्ध साहित्यलाई देख्दैनन् र चाहदैनन् । आज प्रतिक्रियावादसम्म पुगिसकेका संशोधनवादीहरुद्वारा सचेत वर्गसंघर्ष, जनक्रान्ति अर्थात् जनयुद्ध र जनसमुदायप्रतिको प्रतिवद्धताप्रति पूरै आँखा चिम्लेर विश्वासघात गर्न अग्रसर छन् । भ्रमको रुपमा माक्र्सवादको कुरा त गर्छन् तर त्यसको गुणात्मक विकास भएको कुरा स्वीकार गर्दैनन् । माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य भन्नुहुन्छ- ‘माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो ।’ र, अर्को ठाउँ भन्नुहुन्छ- ‘माक्र्सवाद-लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो ।’ (माक्र्सवाद र संस्कृति) यसबाट के बुझ्न जरुरी छ भने प्रगतिवादी साहित्य र कलाको क्षेत्रमा पथप्रदर्शनको कुरा गर्दा माक्र्सवादले मात्र पुग्दैन । आजसम्म विकसित भएको सर्वहारावादी वैज्ञानिक सिद्धान्त माक्र्सवाद-लेनिनवाद-माओवाद अपनाउनुपर्ने कुरा आउँछ । विचारधाराको कुरा गर्दा नौलो जनवाद, वैज्ञानिक  समाजवाद र साम्यवादसम्म पुग्ने कुरा आउँछ । सौन्दर्य चिन्तनको कुरा गर्दा सर्वहारा क्रान्तिमा त्याग, तपस्या, वीरता, बलिदान साथै वर्गीय विचार, अभिरुचि, आवेग, आल्हाद र संगतिको कुरा  आउँछ । यी सबैको सार्थक एकीकरण नै प्रगतिवादी साहित्य र कला हो । प्रगतिवादी साहित्य र कलाको सार्थक सार भनेको सचेत वर्गसंघर्ष र जनक्रान्तिप्रति प्रतिबद्धता हो ।

आज देख्नमा पाइन्छ पहिलेका कतिपय प्रगतिशील साहित्यकारहरु वर्गसमन्वयको रोगले ग्रसित छन् । यसबाट तिनीहरुमा निस्त्रिmयता, निरासा, पलायन र आत्मसमर्पणजस्ता रोगहरुले पनि सताइएका छन् । यस्ता रोगीहरुको लक्षण विभिन्न प्रकारका हुन्छन् । एउटा प्रमुख लक्षण गुलियोमा भुल्ने हुने भएकोले दुश्मनका अगाडि घुँडा टेक्न पुग्छन् । कतिपयको लक्षण चुपचाप लागेर बस्ने हुन्छ । कतिपय रोगीहरुको लक्षण बिस्तारै निदाउने र सुत्ने हुन्छ । कतिपयको लक्षण आफूलाई रुपान्तरणतिर होइन बरु मरणतिर धकेल्ने हुन्छ । कतिपय ती रोगीहरुको लक्षण माक्र्सवादी-लेनिनवादी-माओवादी प्रचण्ड ताप सहन गर्न नसक्ने हुन्छन् तर पनि जनता र क्रान्तिको नाम जपेर लुकिरहन खोज्छन् । यस्ता रोगीहरुबाट प्रगतिवादी साहित्यको विकास हुन सक्दैन । यस्ता रोगीहरुको आदर्श शोषित वर्गको आदर्शको विपरित हुन्छ । तिनीहरुको आदर्श मृत्युमुखी हुन्छ, जीवनमुखी हँुदैन । प्रगतिवादी कला र साहित्यको प्रमुख चुनौती यिनै हुन् ।

निष्कर्ष : क्रान्तिकारी साहित्यकारहरु सबै ऐतिहासिक नियमबाट बाँधिएका हुन्छन् । क्रान्तिकारीको विचार वर्गसंघर्षको चेतनाबाट स्वतन्त्र हुनै सक्दैन । त्यसैले कला र साहित्यमा प्रगतिवादी अर्थात् क्रान्तिकारी हुनुको अर्थ भविष्यको सुन्दर फल फलाउन भविष्यको बीउ वर्तमानको जमीनमा छर्नको लागि सार्थक सर्वहारावादी स्रष्टा बन्नु पनि हो । यसका लागि पनि सर्वप्रथम आफूसँग संघर्ष गर्नुपर्ने हुन्छ र निरोगी हुनुपर्छ । यसरी मात्रै समाजलाई अग्रगामी दिशामा हाँक्नका लागि हामीले वर्गसमन्वयका कारण विभिन्न प्रकारका रोगहरुले ग्रसित लक्षण, चिन्तन र प्रवृत्तिका विरुद्ध साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय र प्रचण्ड वैचारिक लडाई चलाउन सकिन्छ, जो नितान्त आवश्यक छ।

वर्ष १३, अंक २५, २०६८ जेठ १ गते आइतबार प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *