विद्यार्थी आन्दोलनको मूल कार्यभार

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०६८       | 158 Views   ||

सन्दर्भ : ४६औँ विद्यार्थी एकता दिवस

– [रमेश मल्ल]

सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र जनवादी विद्यार्थीहरुको एकता र विजयको सन्देश प्रवाह गर्दै अखिल (क्रान्तिकारी) को एकताको १८ औँ राष्ट्रिय सम्मेलन भव्यताकासाथ सम्पन्न भएको केही समय बितेको छ । राष्ट्रिय स्वाधीनता, जनताको गणतन्त्र र जनशिक्षाको नारालाई निष्कर्षको रुपमा पेश गर्दै सम्मेलनले आफ्नो गन्तव्य स्पष्ट गरेको छ । आज हामी त्यही गन्तव्यतिर लम्किरहेका छौं ।

के नेपाली सर्वहारावर्गले आफ्नो राजनैतिक सत्ता प्राप्त गर्न सक्ला ? के नेपालका उत्पीडित वर्ग, जाती, क्षेत्र र लिङ्गका जनता मुक्त होलान् ? के हाम्रो मुलुकले पूर्ण स्वतन्त्रताको सास फेर्न पाउला ? के जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने महान् शहीदहरुका सपना साकार होलान् ? के नेपाली विद्यार्थीहरुको रोजाईको जनवादी शिक्षा प्राप्त होला ? समग्रतामा क्रान्तिले पूर्णता प्राप्त गर्ला ? आदि प्रश्नहरुले सम्मेलनमा मुख्य चर्चा पाए । जसमाथिको गम्भीर बहस र अन्तक्रिर्याको निष्कर्ष थियो- ‘सर्वहारावर्ग आफ्नो कुशल अग्रदस्ताको नेतृत्वमा वर्गसंघर्षका समस्या हल गर्न सक्षम छ । नेपाली सर्वहारावर्ग माक्र्सवादको वैज्ञानिक प्रयोगमार्फत् यसको रक्षा र विकास गर्न सक्षम छ । र, यो महान् अभियानमा क्रान्तिकारी युवा विद्यार्थीहरुको जुझारु र अविछिन्न सहभागिता अनिवार्य छ ।’ यो निष्कर्षले हामीलाई एकपटक फेरि क्रान्तिको निर्णायक परीक्षामा सामेल हुन उद्देलित गराएको छ । रुपान्तरणको अर्को नयाँ अभियानमा सरिक हुन प्रेरित गरेको छ र त्यसको लागि आवश्यक पर्ने संगठनात्मक एकता हासिल गर्न प्रोत्साहित गरेको छ । सम्मेलनका मूलभूत निष्कर्षका बारेमा संक्षेपमा चर्चा गरौ ।

विचारधारात्मक तथा राजनैतिक कार्यदिशाप्रतिको स्पष्टता : विचारधारात्मक तथा राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ । यदि यो सही छ भने सबै कुरा हाँसिल हुन्छन् र यो गलत भएमा हाँसिल भएका पनि गुम्न सक्छन्’ भन्ने क.माओका ऐतिहासिक शिक्षाहरुलाई गम्भीररुपमा आत्मसाथ गरेर नै नेपाली सर्वहारावर्गले जनयुद्धमार्फत् वर्गसंघर्षका समस्या हल गर्न पहल गर्‍यो । ०४८ मा तत्कालीन माओवादी मशालले एकातिर जनयुद्धको राजनैतिक तथा फौजी कार्यदिशा तर्जुमा गर्‍यो भने अर्कोतिर संसदीय व्यवस्थाको उपयोग र भण्डाफोरको कार्यनीति अवलम्वन गर्‍यो । त्यसबेला कतिपय मान्छेलाई लागेको थियो यो दक्षिणपन्थी भासमा जाँदैछ तर संसदीय व्यवस्थालाई खसीको टाउको झुण्डाएर कुकुरको मासु बिक्री गर्ने थलोका रुपमा नाङ्गेझार पार्दै पार्टीले जनवादी क्रान्तिको तयारीमा लाग्न जनसमुदायलाई अपील गर्‍यो । यसले जनयुद्धको ऐतिहासिक पहलकदमीको आधार तयार गर्‍यो । जनयुद्धमा जाने निर्णय कतिपय क्रान्तिकारी भन्नेहरुलाई नै आत्मघाती, वाम अतिवाद भन्ने लागेको थियो तर १० बर्षे जनयुद्धको सफलताले विचार र राजनैतिक कार्यदिशाको वैज्ञानिकतालाई पुष्टि मात्र गरेन यसले मुलुकलाई गणतान्त्रिक युगमा प्रवेश गराएको छ ।

आज मुलुकमा स्थापित गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्ने चुनौती हाम्रासामू देखा परिरहेका छन् । जनयुद्धका ऐतिहासिक प्रतिवद्धताहरु पूरा भएका छैनन् । तसर्थ हामीले क्रान्तिको पूर्णताको लागि अघि बढ्नु सर्वहारावर्गीय कार्यदिशाको सारतत्व हुन जान्छ ।

कार्यदिशाका मूलभूत तत्वहरु

क) राष्ट्रिय स्वाधीनता : राष्ट्र हाम्रो प्राण, शान, इज्जत र पहिचान हो । हामी आज नेपाली हुनुमा गौरव गर्दछौँ । सायद हाम्रा पुर्खाहरुले देशभक्तिका लागि बलिदान नगरेको भए आज हामी गोर्खाल्याण्डका लागि लडिरहेका हाम्रा बन्धुहरुजस्तै पराई मुलुकमा पराजित र अपहेलित दोश्रो दर्जाको नागरिक भएर जिइरहेका हुन्थ्यौँ होला । साम्राज्यवादी आक्रमणको प्रतिरोध गर्दागर्दै जब हामी सन् १८१६ को कुख्यात सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य भयौँ, हामी त्यही दिनदेखि अर्ध-औपनिवेशिक अवस्थामा बाच्न विवश छौँ । स्वतन्त्रता संग्रामपछि बि्रटिसहरुले भारत छोडे तर साना र कमजोर छिमेकीप्रतिको गिद्धे दृष्टिकोणले भारतीय शाषकहरुलाई छोडेन । हामी आजपर्यन्त पनि ती साम्राज्यवादी र विस्तारवादी डाँकाहरुद्वारा लुटिएकै छौँ ।

सन् १९५० मा लादिएको शान्ति तथा मैत्री सन्धि ठूलो राष्ट्रघात थियो । वि.सं. २००७ सातको त्रिपक्षीय दिल्ली सम्झौता जसका विरुद्ध जनता सडकमा उर्लिए र नेपाली विद्यार्थी आन्दोलनले संगठित विद्यार्थी आन्दोलनको पहिलो शहीदको रुपमा २००८ कार्तिक २० गते भुगोलपार्कमा चिनियाँमान काजीलाई गुमाउनु पर्‍यो । आजसम्म आउँदा हजारौँ क्रान्तिकारीले राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि आफूलाई समर्पण गरेका छन् । तर, मुलुकभित्रकै प्रतिक्रियावादी तत्वहरु जनवादी क्रान्तिको बढ्दो लहरलाई रोक्न विदेशी प्रभुहरुको नाङ्गो दलाली गरिरहेका छन्, दिल्लीलाई शक्तिकेन्द्र बनाएर परिचालित छन् । यतिबेला मुलुकभित्रका सबै आन्तरिक राष्ट्रियताको सम्वर्द्धन गर्दै राष्ट्रिय स्वाधीनताको झण्डालाई विजयसम्म पुर्‍याउन लागिपर्नु नेपाली विद्यार्थी आन्दोलनको मुख्य कार्यभार हो ।

ख) जनताको संघीय गणतन्त्र : साम्राज्यवाद तथा उत्पीडित राष्ट्र र जनताबीचको अन्तर्विरोध आजको विश्वको प्रमुख अन्तर्विरोध हो भने क्रान्ति आजको मुल प्रवृत्ति । आज नेपालमा पनि साम्राज्यवाद विशेषतः भारतीय विस्तारवाद र उसका दलालहरु एकातिर र नेपाल राष्ट्र र नेपाली जनताबीचको अन्तर्विरोध प्रमुख अन्तर्विरोधको रुपमा व्यक्त भएको छ । तसर्थ नेपाली क्रान्ति पनि वस्तुतः राष्ट्रिय जनवादी क्रान्तिको चरणबाट गुजि्ररहेको छ ।

आज यो संघर्ष शान्ति प्रक्रियामा र संविधान निर्माणको प्रक्रियामा देखापरेको छ । देशीविदेशी प्रतिक्रियावादीहरु शान्तिको नाममा जनमुक्ति सेनाको विघठन र संविधानको नाममा राजतन्त्र शब्द हटाइएको यथास्थितिवादको पक्षपोषण गर्ने एक थान दस्तावेज तयार गर्न चाहन्छन् भने क्रान्तिकारी र देशभक्तहरु नयाँ राष्ट्रिय सेना र सामन्तवाद तथा साम्राज्यवादविरोधी सारतत्व भएको जनताको संविधान निर्माण गर्न चाहन्छन् । जनवादी शिक्षाको लक्ष्यसहित अघि बढेको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको लागि स्थायी शान्ति र जनसंविधानसहितको जनताको संघीय गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनु अर्को प्रमुख कार्यभार हो ।

ग) जनशिक्षा : जनशिक्षा अर्थात् जनवादी शिक्षा । राज्यले दायित्वभार ग्रहण गरेको शिक्षा । जनताद्वारा जनताकै लागि तयार गरेको शिक्षा । शिक्षक, विद्यार्थी र समाजको त्रिकोणात्मक अन्तक्रिर्याबाट लिइने र दिने शिक्षा । अनिवार्य र निःशुल्क शिक्षा । बहुप्राविधिक र व्यवसायिक शिक्षा । आजको शताब्दीको राष्ट्रिय आवश्यकता पूरा गर्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट जनशक्ति पूरा गर्न सक्ने शिक्षा । असमानता र विभेदका विरुद्धको समानताको शिक्षा । श्रमप्रति आस्था र शोषणप्रति घृणा जगाउने शिक्षा । राष्ट्र र राष्ट्रियताप्रतिको वफादारीको शिक्षा । आफ्नै परिवेश, संस्कृति र मनोविज्ञानको संरक्षण, सम्वर्द्धन र सम्बोधन गर्ने शिक्षा । आज मानव जातीले विकास गरेको उत्कृष्ट ज्ञान र विज्ञानलाई सम्बोधन गर्ने, विकसित सञ्चार र प्रविधिको पहुँचसहितको शिक्षा । जसको लागि हामी संघर्षरत छौँ ।

राज्य, राजनैतिक सत्ता र शिक्षाका बीचको अन्योन्याश्रति सम्बन्धलाई बुझेरै हजारौँ युवाहरु शहीद हुन तयार भएका हुन्। राजनैतिक सत्ता परिवर्तनको लडाईमा विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र कलेजहरुलाई क्रान्तिकारी युवाहरुको व्यारेकमा बदल्ने संकल्प गरेका हुन् । हामीले सफा पानीको माग गर्ने तर फोहोर मुहान सफा गर्न नचाहने संशोधनवाद र अवसरवादका विरुद्ध विद्रोह बोल्दै मुहान सफा गर्ने अभियानमा सक्रिय सहभागीता जनाउँदै आएका छौा । तसर्थ, जनशिक्षा प्राप्तिको हाम्रो आन्दोलन जनताको संघीय गणतन्त्र संस्थागत गर्ने अभियानकै एक अभिन्न अंग बन्न पुगेको छ ।

क्रान्तिकारी मिसन-प्रतिरोधी संगठन : ‘सही विचारधारालाई व्यवहारमा प्रयोग गर्ने सही संगठनात्मक सिद्धान्त, संरचना र कार्यशैली विकास भएन भने विचारद्वारा अपेक्षित परिणाम हाँसिल गर्न सम्भव हुदैन’ भन्ने अध्यक्ष कमरेड प्रचण्डको यो भनाईलाई गहिरो गरी हेर्दा विचार र यसलाई लागू गर्ने भौतिक शक्ति संगठनलाई निरन्तर गतिको प्रवाहमा बुझ्नुपर्ने कुरा स्पष्ट गरिएको छ । संगठन सञ्चालनको विधि र मान्यताहरु विकासशील र गतिशील हुन आवश्यक छ भन्ने कुरालाई आत्मसाथ गर्दै सम्मेलनबाट क्रान्तिकारी मिसन-प्रतिरोधी संगठनको नारा अघि सारिएको हो । क्रान्तिको विकासले अनिवार्य र स्वभाविकरुपमा बलिया क्रान्तिकारी चिन्तन र तागतलाई जन्म दिइराखेको हुन्छ । यो विकासको द्वन्द्वात्मक नियम हो । विकासको यो द्वन्द्वात्मक गतिलाई आत्मसात गर्नु र अन्तर्विरोधको हल गर्न वैचारिक, संगठनात्मक र साँस्कृतिकरुपले तयार हुनुमा नै क्रान्तिकारीहरुको विजय निहित छ । आज विश्वविद्यालय र कलेजहरुमा प्रतिक्रान्तिकारी चिन्तन र तागत नयाँ ढंगले सल्बलाइरहेको छ । दस्ता, फोर्स भन्दै गुण्डागर्दी र अराजकता मच्चाइरहेका ती तत्वलाई प्रतिरोध गर्न पनि हाम्रो थप कार्यभार बन्न गएको छ ।

हाम्रो मिसनको बारेमा माथि नै चर्चा गरिसकेका छौँ । यहाँ उक्त मिसन पूरा गर्न आवश्यक पर्ने संगठन र संस्कृति निर्माण क्रान्तिकारी विद्यार्थी आन्दोलनको आजको चुनौती हो । हिजो संगठनमा एक सदस्य थप्नु शीला खोज्नुसरह थियो तर आज संगठन लाखौँ लाख विद्यार्थीहरुको साझा संगठन बनेको छ । कुनै शिक्षण संस्था बाँकी छैनन् जहाँ क्रान्तिकारी नहोस् तर त्यसको क्रान्तिकारी स्प्रीट, जुुझारुपन र लडाकुपनमा कतै न कतै ह्रास भएको देखिन्छ । क्रान्तिकारी संस्कृति र नैतिकतामा कतै न कतै स्खलन देखा पर्दैछ । संगठनात्मक अनुशासन पालना गर्नेमा कतै न कतै उदासिनता देखा पर्दैछ । व्यक्तिवादी सोच, गुटगत मानसिकता र स्वेच्छाचारीताले संगठनमा घर गर्न खोज्दैछ । जब हामी हाम्रो संगठनात्मक विधि र मान्यतामाथि प्रवाह गर्दैनौँ, हाम्रो नैतिकतामाथि खेलवाड गर्छौँ र व्यक्तिगत आकांक्षालाई केन्द्रमा राखेर संगठनात्मक एकतालाई कमजोर बनाउँछौँ भने हामी जित्दैनौँ बरु अवश्य हार्छौँ । यो संगठनात्मक चुनौतीलाई स्वीकार नगरी हामी अघि बढ्न सक्दैनथ्यौँ । सम्मेलनमार्फत् हामीले उक्त चुनौतीलाई स्वीकार गरेका छौँ । संगठनात्मक सिद्धान्तप्रतिको हाम्रो इमान्दारीता र आदर्शप्रतिको निष्ठाले हामी लाखौँ सदस्यहरुको भीमकाय संगठनात्मक संरचनालाई प्रतिरोधी दस्तामा बदल्ने छौँ ।

अन्तमा, विचारधारात्मक तथा राजनैतिक कार्यदिशाप्रतिको स्पष्टता, संगठनात्मक जुझारुपन र क्रान्तिकारी संस्कृतिको योगमा विद्यार्थी आन्दोलनले आफ्नो कार्यभार पूरा गर्न सक्दछ । नेपाली विद्यार्थी आन्दोलनको अग्रगामी धारा र नेता संगठन हुनुको नाताले अखिल -क्रान्तिकारी) सबै देशभक्त, वामपन्थी, प्रगतिशील र सच्चा लोकतन्त्रवादी शक्तिसँग मोर्चाबन्दी र सहकार्य तथा साम्राज्यवादविरोधी विश्वजनप्रतिरोध आन्दोलनसँग हातेमालो गर्दै नेपाली जनताको संघीय गणतन्त्र निमार्णको लागि संघर्षरत छ ।

२१ बैसाख, २०६८ काठमाण्डौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *