लेखिन बाँकी महाकाव्यको एउटा अध्याय

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १८, २०६८       | 172 Views   ||

-[टीकाराम उदासी]

जन्मनेहरु सबै मर्छन् । यो एउटा विश्वजनीन सत्य हो । यो पनि सत्य हो- सबैको जीवन र मृत्यु एकैनासको हुँदैन । कसैको जीवन र मृत्युबारे कुनै परिवार, साथीभाइ र पारिवारिक आफन्त जमातले मात्रै चासो राख्छन् वा चिन्ता गर्छन् तर आम मानिसलाई त्यसको न कुनै चासो हुन्छ, न त चिन्ता नै । त्यसको विपरित कतिपय मानिसको जीवन र मृत्युका बारेमा धेरै धेरैलाई चासो हुन्छ । यसको अर्थ हो मानिसको जीवन र मृत्युको आयाम फरकफरक हुन्छ । कस्तो जीवन र मृत्यु रोज्ने भन्ने कुरा मानिस बाँचेको परिवेश, व्यक्तिको जीवनदर्शन र उसको भूमिकाले निर्धारण गर्दछ ।

कसैको जीवनयात्राका बारेमा युगयुगसम्म पनि चर्चा-परिचर्चा चलिरहन्छ भने कसैको जीवनयात्रा एउटा स्वाभाविक उपक्रमझैँ चर्चाविहीन रहन्छ । चर्चाका पनि दुई पाटाहरु छन्- सकारात्मक र नकारात्मक । विश्वप्रसिद्ध दार्शनिक, वैज्ञानिक, कलाकार, राजनेता, साहित्यकार, समाजसेवी आदि आदिको चर्चा सकारात्मक प्रकृतिको हुन्छ तर तानाशाही शासक, अत्याचारी मानिस, भ्रष्ट व्यापारी, मानवद्रोही आतङ्ककारी आदि आदिको चर्चा भने नकारात्मक प्रकृतिको हुन्छ । मेक्सिम गोर्की, निकोलाई अस्त्रोवस्की, लुसुनजस्ता व्यक्तिका बारेमा हुने चर्चा र इदि अमिन, हिटलर र चाउचेस्कुका बारेमा हुने चर्चा एउटै प्रकृतिका अवश्य होइनन् । नेपाली समाजमा पनि अनेकौँ छन् जीवनका सकारात्मक र नकारात्मक पाठ भएर अभिलिखित रहेका उदाहरणहरु । तीमध्ये साहित्यकार-पत्रकार कृष्ण सेन ‘इच्छुक’को जीवन र मुत्यु नेपालको आधुनिक इतिहासमा एउटा सकारात्मक चर्चा-परिचर्चाको विषय हो । मूलतः वर्तमान राजनीति, पत्रकारिता र साहित्यका क्षेत्रमा इच्छुकको चर्चा- प्रसङ्ग सधैँ आदरणीय, प्रेरक र खुला भइरहने अध्यायका रुपमा रहेको छ ।

दाङ भालुवाङका कृष्णबहादुर सेनको साहित्यिक नाम नै कृष्ण सेन ‘इच्छुक’ हो । नेपाली राजनीति, पत्रकारिता र साहित्यमा उनलाई इच्छुक भनेमात्र पनि सबैले चिन्छन् । उनका बुबा यमबहादुर सेन त्यतिबेला देहरादुनमा एक भारतीय सेनाका रुपमा कार्यरत थिए । आमा भीमकुमारी सेन पनि श्रीमान्सँगै देहरादुनमै बस्दै आएकी थिइन् । यसै परिप्रेक्ष्यमा वि.स.२०१३ साल कार्तिक ३ गते कृष्ण सेनको जन्म देहरादुनमा भएको हो । उनी सानै हुँदा आमाको मृत्यु भएकाले बुबाले कान्छी श्रीमती पनि बिहे गरे । यसरी उनले सौतेनी आमा पनि व्यहोरेका थिए । पछि फर्किएर दाङ-देउखुरीमै उनले आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाउनुका साथै राजनीतिक जीवन पनि प्रारम्भ गरेका हुन् । लामो समयसम्म विद्यार्थी राजनीति गरेका सेनले पछि पार्टी राजनीति पनि गरे । साथै पत्रकारिता र साहित्यलाई पनि उनले सँगसँगै अगाडि बढाउने काम गरे । उनले बी.ए.सम्मको औपचारिक अध्ययन पूरा गरी एम.ए.को परीक्षासमेत दिएका थिए । उनले २०४८ सालमा दाङ घोराहीकी तक्मा के.सी.सँग विवाह गरेका थिए । उनको एक मात्र सन्तानका रुपमा २०५० सालमा छोरी समीक्षाको जन्म भएको थियो । पञ्चायती कालमा सात बर्ष र बहुदलकालमा दुई बर्ष गरी उनले जीवनमा जम्मा ९ बर्ष कठोर जेलजीवन पनि व्यतीत गरेका थिए । उनी अन्तिम पटक तत्कालीन शासकहरुबाट २०५९ जेठ ६ गते गिरफ्तार भएका थिए । अन्ततः २०५९ साल जेष्ठ १३ गते जेलमै कायर शासकहरुले उनको निर्ममतापूर्वक हत्या पनि गरे ।

कृष्ण सेन ‘इच्छुक’ले २०२८ सालबाट कवितामार्फत् आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका हुन् । उनको प्रकाशित पहिलो रचना भने काठमाण्डौंबाट प्रकाशित हुने २०३२ सालको मातृभूमि साप्ताहिक पत्रिकामा प्रकाशित ‘भोलिप्रति’ शीर्षकको कविता हो । त्यस्तै उनको पहिलो वहुचर्चित कविता भने २०३८ सालको त्रिकोण पत्रिकामा प्रकाशित ‘त्यो प्यारो-प्यारो गाउँको नाम थवाङ हो’ शीर्षकको कविता मानिन्छ । त्यसपछि भने उनका दर्जनौँ चर्चित कविताहरु प्रकाशित भएका देखिन्छन् । कृतिगत रुपमा भने २०४८ सालमा प्रकाशित ‘शोकाञ्जलि’ -शोककाव्य) उनको पहिलो पुस्तकाकार कृति हो, जसको विमोचन २०४८ सालमा घोराहीमा सम्पन्न राप्ती साहित्य परिषद्को कार्यक्रममा भएको थियो । त्यसपछि २०५६ सालमा उनको  ‘इतिहासको यस घडीमा’ भन्ने कवितासङ्ग्रह प्रकाशित भएको छ भने २०५८ सालमा उनको ‘बन्दी र चन्द्रागिरि’ नामक काव्य पनि प्रकाशित भएको देखिन्छ । यसबाहेक उनका केही संस्मरण आदिसहित मृत्युपर्यन्त प्रकाशित इच्छुक रचनावलीका केही भागहरु प्रकाशित भएका छन् । साथै जनादेश साप्ताहिकको सम्पादक भएका बखत उनले मनास्लु उपनामबाट पनि धेरै कविताहरु लेखेका थिए । यी कृतिहरुबाहेक इच्छुकका धेरै कृतिहरु अझै अप्रकाशित छन् भने धेरैचाँहि जेलभित्रै हराइसकेका पनि देखिन्छन् । उनले प्रकाशनको तयारीमा राखेको ‘पर्खालभित्रका बन्द आवाजहरु’ नामक कवितासङ्ग्रह पनि उनको पछिल्लो गिरफ्तारी र हत्यासँगै हराएको बताइन्छ । साथै उनको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा सुरेश रानाभाटले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको नेपाली केन्द्रीय शिक्षण विभागअन्तर्गत स्नातकोत्तर तहमा एक दशकअघि नै शोधपत्र तयार गरेका छन् । अहिलेसम्म आउँदा धेरै व्यक्तिहरुले कृष्ण सेनका साहित्यिक योगदानको चर्चा गर्दै केही कृति र धेरै फुटकर रचनाहरु पनि लेखेका छन् । उनका नाममा स्मृति प्रतिष्ठान पनि स्थापना भएको छ भने सङ्ग्रहालय पनि बनाउने तयारी भइरहेको छ । यस अवस्थामा उनका सम्पूर्ण कृति र उनका बारेका लेखिएका सबै सामग्रीहरु रहने गरी एउटा गतिलो पुस्तकालयको खाँचो देखिएको छ, जसले भविष्यमा उनका बारेमा शोधखोज गर्न चाहने र उनलाई पढ्न खोज्ने पाठक सबैलाई सहयोग गर्नेछ ।

कृष्ण सेन ‘इच्छुक’ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी -माओवादी)को क्षेत्रीय ब्युरो सदस्य, अखिल नेपाल जनसाँस्कृतिक सङ्घको केन्द्रीय अध्यक्ष, प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य, मानवअधिकारवादी संस्था जनअधिकार सरोकार अभियानको केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् पनि थिए । त्यसैगरी जनादेश साप्ताहिक र कलम त्रैमासिकको सम्पादक, जनदिशा दैनिकको प्रधान सम्पादक-प्रकाशक भएर उनले साहित्यक पत्रकारिता एवं जनपक्षीय मिसन पत्रकारिता क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका थिए । राजनीति, पत्रकारिता र साहित्य आदि क्षेत्रसँग देखिएको समानान्तर संलग्नताबाट उनको सक्रिय व्यक्तित्वबारे स्पष्ट हुन सकिन्छ ।

नेपाली इतिहासमा निरङ्कुश शासनविरुद्धका लडाइँहरुमा धेरै लेखक कविहरु जेल परेका छन् । केही मारिएका पनि छन् । राणाशासनमा ‘मकैको खेती’ नामक कृषिसँग सम्बन्धित पुस्तक लेखेबाफत सुब्बा कृष्णलाल अधिकारी जेल परेका हुन् । उनको मृत्यु जेलमै भएको हो । यस हिसाबले उनी लेखेकै कारणले जेल पर्ने र जेलभित्रै मारिने पहिलो नेपाली लेखक हुन् । उनी नेपालका पहिला लेखक सहिद हुन् । तर उनी साहित्यकार थिएनन् । उनको मकैको खेती साहित्यिक पुस्तक पनि होइन । यस कारण नेपाली साहित्यकै इतिहासमा कृष्ण सेन ‘इच्छुक’ नै पहिलो साहित्यिक सहिद हुन् भन्ने कुरा निर्विवाद छ ।

लामो समय जेलजीवन बिताएका कृष्ण सेन ‘इच्छुक’ले अधिकांश रचनाहरु जेलभित्रै रचना गरेका थिए । उनले आफूलाई सबैभन्दा मनपर्ने विधाका रुपमा कवितालाई नै स्वीकार गरेका छन् । साथै साहित्यमा उनले कला र विचार दुवैलाई समान महत्व दिएका छन् । एउटा प्रगतिवादी स्रष्टा अधिकतम रुपमा राजनीतिक र साङ्गठनिक तथा न्यूनतम रुपमा वर्गीय र विचाराधारात्मक रुपमा प्रतिबद्ध बन्नैपर्ने उनको धारणा छ । साथै प्रगतिवादी लेखनलाई उनले पक्षधरता र प्रतिबद्धताको लेखनका रुपमा उल्लेख गर्दै त्यो चिन्तन, सिर्जन र कर्मको स्वरुपमा अभिव्यक्त हुने विचार इच्छुकको छ । त्यसैले उनी समकालीन नेपाली प्रगतिवादी कविताशिविरका सम्भवतः सबैभन्दा शक्तिशाली कविका रुपमा सम्मानित र स्थापित छन् । कला, समय र जीवनचेतनाले उनका कविताहरु ओतप्रोत देखिन्छन् । कवि इच्छुकले लेखेका छन्-

विजयको अन्तिम दिनसम्म
सबै रहौँला-नरहौँला पछि हामी
र, सायद यो खुसीको हषिर्त क्षण
हाम्रो सुखद् मिलनको अन्तिम क्षण पनि हुनसक्छ  र, पनि म रहिनँ भने
यस काव्यको अन्तिम अध्याय पनि लेखिँदा-लेखिँदै
भोलि अपूर्ण रहनसक्छ ……..।

कवि कृष्ण सेन ‘इच्छुक’को उज्यालो आस्था, विश्वास र सपनाको यात्रा अझै अधुरै रहेको छ । उनको सामाजिक न्याय, स्वतन्त्रता र समानताको यात्रा अझै सकिएको छैन । उनले खोजेको सुन्दर बिहानी र इन्द्रेणी गन्तव्य अझैँ भेटिएको छैन । इतिहासको पानामा इच्छुकहरुले लेख्न थालेको एउटा आमूल परिवर्तनको महाकाव्य अझैँ सकिएको छैन । निश्चय नै, इच्छुकहरुले लेख्न शुरु गरेको नेपाली इतिहासको एउटा अमूल्य महाकाव्यका केही अध्यायहरु त लेखिएकै हुन् तर धेरै अध्यायहरु लेखिन अझैँ बाँकी नै छन् । इतिहासकै एउटा सुन्दर महाकाव्यका अध्यायहरु लेख्दालेख्दै कवि इच्छुक स्वयं नै महाकाव्यको एउटा अमर अध्याय बनेका छन् । कतिपय उनका सहयात्रीहरु आफैले लेखिरहेको महाकाव्यलाई अँध्यारो कुनामा थन्काउन पनि खोज्दैछन् । यो समयमा क्रान्ति र चेतनाको एउटा उज्यालो बिम्ब कवि इच्छुकका परिवर्तनकामी उज्याला सपनाहरुबारे उनका इमान्दार सहयात्री र शुभेच्छुकहरु सबै सबैले एकपटक गम्भीर चिन्तन गर्नैपर्छ ।

2 Comments

  • Hari Barnet

    म यो पढ्दै गर्दा ईच्छूक को आगो लागेर भग्नावशेष भएको घर माथी छु । मोबाइलमा फेसबूक खोलेर बसिरहेको बेला डिल्ली जी ले जन उभार अनलाइन हेर्न अनुरो गरेपछी हेर्दा सेनबारे लेखिएको रचना हेर्दै गर्दा ,उनको घर देख्दा र पार्टि भित्रको झगडा सून्दा मन भीत्र अनेक कुरा खेल्छन र मन भन्छ कतै सेन का सपना हरु भताभुङ्ग त हूदैछैन ?

  • Sahayatri

    इतिहासकै एउटा सुन्दर महाकाव्यका अध्यायहरु लेख्दालेख्दै कवि इच्छुक स्वयं नै महाकाव्यको एउटा अमर अध्याय बनेका छन् । कतिपय उनका सहयात्रीहरु आफैले लेखिरहेको महाकाव्यलाई अँध्यारो कुनामा थन्काउन पनि खोज्दैछन् । यो समयमा क्रान्ति र चेतनाको एउटा उज्यालो बिम्ब कवि इच्छुकका परिवर्तनकामी उज्याला सपनाहरुबारे उनका इमान्दार सहयात्री र शुभेच्छुकहरु सबै सबैले एकपटक गम्भीर चिन्तन गर्नैपर्छ ।

    निश्चय नै उदासी सर, हामी बाँचिरहेको यो समयमा उभिएर विगतको त्यो महान् जनक्रान्तिलाई हेर्दा लाग्छ- कतै इच्छुकहरुको रगत खेर जाने त हैन । त्यसैले सबैले आ-आफ्नो ठाउँबाट सशक्त खबरदारी गर्नैपर्छ ।

Leave a Reply to Sahayatri Cancel reply

Your email address will not be published. Required fields are marked *