गणतन्त्र दिवसको औचित्य

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १८, २०६८       | 127 Views   ||

-[हुकुम बुढाथोकी]

नेपाली जनताले विगत साठी वर्षदेखिको संविधानसभामार्फत आफूले चाहेको राज्यव्यवस्था र संविधान निर्माण गर्ने आकाङ्क्षालाई प्राप्त गर्ने प्रक्रियाको थालनीले नेपाली जनतामा उत्साह, हौसला र उमङ्ग छाएको थियो । दश वर्षे जनयुद्धको जगमा र १२ बुँदे सहमतिको पृष्ठभूमिमा आधारित ०६२/६३ को जनआन्दोलनले मुलुकमा संविधानसभाको निर्वाचन र शान्ति प्रक्रियालाई निश्चित बनायो । दोस्रो जनआन्दोलनको पुरकको रुपमा सम्पन्न मधेश आन्दोलनले मुलुकलाई संघीय संरचनामा जान बाध्य पार्‍यो । थुप्रै आशङ्का र अन्यौलताका बीचमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको निर्वाचनमा कतिपय पुराना संसदवादी दलले अनपेक्षित परिणाम भोग्नुपरेकाले ती दलहरुले शुरुदेखि नै संविधानसभाप्रति गिद्धे दृष्टि लगाउँदै आएको पाइन्छ । सेरेमोनियल किङ, माइनर किङ र बेबी किङ भन्दै आफ्नो राजनीतिक आदर्शलाई यथावत राख्न खोज्ने दलहरुले समेत जनताको गणतन्त्रप्रतिको मोह र राजतन्त्रप्रतिको आक्रोशका कारण राजतन्त्रको विरुद्ध गणतन्त्रको घोषणा गर्न बाध्य भए । फलस्वरुप सार्वभौमसत्तासम्पन्न संविधानसभाले २०६५ जेठ १५ गते २ सय ३८ वर्षे पुरानो सामन्ती राजतन्त्रलाई विधिवत् रुपले अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रुपमा घोषणा गर्‍यो ।

नेपाली जनतालाई सदियौँदेखि शोषण, दमन, उत्पीडन र दोहन गर्दै आएको राजतन्त्रबाट मुक्त बनाई आफ्नो भाग्य र भविष्यको फैसला गर्ने, शासन व्यवस्था स्थापना गर्ने दिन जेठ १५ गते नेपाली राजनीतिक इतिहासमा युग युगसम्म चिरस्मरणीय बनिरहनेछ । यसो भनिरहादा संविधानसभाभित्रैबाट संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अनेक जाल, प्रपञ्च, षड्यन्त्रका कसरतहरु भइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनसक्दै संविधानसभा विघटन गर्ने, जातीय दङ्गा भड्काव सिर्जना गराई संघीयताका विरुद्ध जनमत तयार पार्ने, धार्मिक सहिष्णुता विथोली धर्मसापेक्ष मुलुक बनाउने, साम्प्रदायिक सद्भाव विथोली मुलुकमा अराजकता, अन्यौलता सिर्जना गर्ने र चरम निरासा एवम् गणतन्त्रप्रति चरम वितृष्णा पैदा गराई मुलुकलाई पुरानै शासनव्यवस्थामा फर्काउने अनि देश र जनतालाई आफ्नो विर्ता र रैती बनाएर लुटिरहने सपना बोकेकाहरुले आफ्ना चलखेलहरु बढाइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका सहयात्रीहरुमध्येबाटै संघीयताविरोधी, गणतन्त्रविरोधी, संविधान निर्माण र शान्ति प्रक्रियाविरोधी गतिविधि सञ्चालन भइरहेकाले गणतन्त्रको संस्थागत प्रक्रिया अन्यौलमा पर्ने देखिन्छ । गणतन्त्रलाई बीचमै अलपत्र पारेर आफ्नो यथास्थितिवादी राजनीतिक अ्भिष्ट पूरा गर्ने सपना बोकेका जनविरोधीहरु यतिखेर सल्बलाइरहेका छन् । देशभर बन्द, हड्ताल गरेर जनतालाई सास्ती, जोडजुलुम मच्चाइरहेका छन् ।

गणतन्त्र दिवसको स्मरण गर्दा नेपाली जनताले देश र जनताको पक्षमा वास्तविक रुपले संघीय गणतन्त्रप्रति कुन-कुन पार्टीहरु प्रतिबद्ध छन् ? कुन-कुन दलहरु शान्ति र संविधानप्रति सकारात्मक छन् ? कसले अग्रगामी परिवर्तनलाई आत्मसाथ गर्न खोजिरहेको छ ? कुन पार्टीले देश र जनताका विरुद्ध जाल जुलुम गरिरहेको छ ? कसले संघीय गणतन्त्रका विरुद्ध षड्यन्त्र मच्चाइरहेका छन् ? कसले देश र जनतालाई अनिर्णयको बन्धक बनाइरहेको छ ? कसले प्रतिगामी चलखेल मच्चाइरहेको छ ? भनी सुक्ष्मरुपले अवलोकन गर्नुपर्ने भएको छ । २०४६ सालको जनआन्दोलनपश्चात्को संवैधानिक राजतन्त्र र संसदीय शासनपद्धती पतन बनाउने प्रवृत्तिहरु संविधानसभामा पनि दोहोरिन लागेको आभाष मिल्न खोजिरहेको छ । संसद् खरिद विक्री गर्ने, सुरासुन्दरी भोगविलासमा लिप्त हुने, रातो पासपोर्ट विक्री गर्ने, प्राडो पजेरो खरिद विक्री, सत्ताका लागि पार्टी फुटाउनेजस्ता जुन-जुन विकृति र विसंगति हिजोको संसदीय शासन व्यवस्थामा मौलाएका थिए, तिनै विकृति र विसंगति आजको संविधानसभामा पनि देखिएका छन् । तर, यहाा स्मरण गर्नुपर्ने कुरा के छ भने हिजो जो व्यक्ति र पार्टीका सांसद् सुरा सुन्दरीमा लिप्त हुने गर्दथे, तिनै आजको संविधानसभाका बदनाम सभासद बनेका छन् । पुरानै अनुहारका सभासदहरु आज नयाा खोल ओढेर रातो पासपोर्ट काण्ड, सत्तालिप्सा तथा संविधान बन्न र संविधानसभालाई विघटन गर्नका लागि पार्टी फुटाउने प्रक्रियामा क्रियाशील छन् । पुरानै सडेगलेका संसदवादी राजनीतिक पार्टी र तिनका सभासदहरु नै जनविरोधी क्रियाकलापमा सक्रिय भएर सिङ्गो संविधानसभालाई बदनाम गराउने अभियानमा जुटिरहेका छन् । त्यसैले जनताले सिङ्गो संविधानसभालाई निकम्मा ठान्ने, संविधानसभाविरुद्ध सोच विचार गर्ने गरी कसले पुरानै रवैया दोहोर्‍याइरहेको छ ? को सच्चिन तयार छैन ? कसले देश र जनतालाई पुरानै अवस्था र स्थितिमा पुर्‍याउन खोजिरहेको छ ? ती जनविरोधीहरुलाई राम्रोसित चिन्नुपर्दछ र तिनलाई नाङ्गेझार पार्नुपर्दछ । गणतन्त्र दिवसको यस अवसरमा जनता सचेत नहुने हो भने प्रतिगामीहरुको षड्यन्त्रको शिकार बन्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । जसरी संविधानसभाको निर्वाचनताका प्रतिगामीहरु, यथास्थितिवादीहरु, परिवर्तनकामी र क्रान्तिकारीहरुको घेराबन्दीमा परेका थिए, सेरेमोनियल-सेरेमोनियल भन्दाभन्दै राजतन्त्र उन्मुलन गर्न बाध्य भएका थिए, आज तिनै प्रतिगामीहरुमध्ये कोही संविधानसभाभित्रै यसलाई निकम्मा बनाउने, बदनाम र विघटन गर्ने दिशामा क्रियाशील छन् भने कोही संविधानसभा, गणतन्त्र, संविधान निर्माण र शान्ति प्रक्रियाविरुद्ध सडकमा अराजकता मच्चाइरहेका छन् । तसर्थ वर्तमान प्रतिगामी पुनरुत्थानवादीहरुको घेराबन्दीमा गणतन्त्र र संविधानसभा परेका छन् ।

१२ बुँदे समझदारीको मर्म र भावनाअनुरुप संसदीय राजतन्त्रलाई आस्थाको धरोहर बनाउँदै आएका शक्तिहरुले केही अगाडि बढेर गणतन्त्रमा जाने, राज्यको पुनःर्संरचनामा जाने र माओवादीले नयाा जनवादी व्यवस्थालाई स्थगित गरेर लोकतान्त्रिक पद्दतिमा आउने, प्रतिस्पर्धालाई स्वीकार्ने, नयाँ मोडेलको प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यद्वारा अभिप्रेरित भएर नै जनआन्दोलन ०६२/६३ सम्पन्न भयो । आज दलहरुले १२ बुँदे समझदारीको मर्म र भावनाविपरित आफ्नो पूर्ववत् चिन्तनमा फर्किने आसययुक्त क्रियाकलापहरु गरेर जनतालाई निरास बनाइरहेका छन् । यसबेला जनताले १२ बुँदे समझदारी के थियो ? उक्त समझदारी विपरित कसले अर्घेलो गरिरहेको छ ? नयाँ मोडेलको प्रजातन्त्र स्थापना गर्ने प्रक्रियामा कसले बखेडा झिकिरहेको छ ? वर्तमान राजनैतिक निकासको बाधक को बनिरहेको छ ? राम्रोसँग अध्ययन गरेर दुधको दुध पानीको पानी छुट्याउनुपर्ने भइसकेको छ । जनता सचेत भएमात्र हालसम्मका उपलब्धिको रक्षा सम्भव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *