बन्दै बन्दको असर

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १८, २०६८       | 119 Views   ||

नेपालमा मौलाउँदै गएको बन्द संस्कृतिको खेतीले अराजकता र अस्थिरतालाई बढाइराखेको छ । जेठ १४ मा संविधान जारी हुनुपर्छ, संविधानसभाको म्याद थपिनुपर्छ वा थपिनु हुन्न, आफ्ना मागहरु पुरा हुनुपर्छ, संविधानसभा विघटन गरी नयाँ चुनाव गरिनुपर्छ यस्तै माग राखि विभिन्न समूहहरुले बैशाख अन्तिम सातादेखि हालसम्म दिनैपिच्छे बन्द गरिरहेका छन् । लगातारको बन्दबाट आयोजक पक्षलाई राजनीतिक रुपले के-कति फाइदा पुग्यो त्यो त थाहा छैन तर यसले देशको अर्थतन्त्र र जनताको दैनिक जीवनमा भने काफी असर पुर्‍याइराखेको छ ।

साँझ अबेरसम्म थाहा हुँदैन कि भोलि बन्द छ भन्ने कुरा । तर बिहान उठ्दा सडक सुनसान हुन्छ । टाढा-टाढाका यात्रुहरु बाटोमा अलपत्र परिरहेको अवस्थामा भेट्टिन्छन्, कामगरी खाने मजदुरहरु दैनिक जसो पेट मिचेर बन्दकर्ताहरुलाई सरापिरहेका हुन्छन् । संविधान निर्माणका लागि राजनीतिक दलहरुलाई दवाव र खबरदारी गर्नु नाजायज होइन । तर, समय ढिप्कीसकेको अन्तिम अवस्थामा आएर यही मितिमा संविधान बन्नुपर्छ भनेर गरिने बन्दले के उपलब्धि हाँसिल गर्न सक्छ ? जब कि आकाश खस्छ भने पनि यो जेठ १४ मा संविधान बन्ने सम्भावना थिएन । अहिले नामै नसुनिएका र अस्तित्वमै नरहेका समूहहरुले कुनै कुनाबाट एउटा विज्ञप्ती दिएर बन्दको घोषणा गरिरहेका छन् र बन्द सफल भएको आत्मरत्ति लिइरहेका छन् । तर, बन्दले जनतालाई पार्ने असरका बारेमा ती बन्दकर्ताहरुले कहिले सोच्न सकेका छन् ? सस्तो लोकपि्रयताका लागि आफू र आफ्नो समूहलाई स्थापित गराउने गरी गरिने यी बन्दहरुले जनताको सर्मथन पाउनेभन्दा बढी जनआक्रोशलाई बढाउने काम मात्र गरेका छन् । तर पनि उनी समूहहरुका बीच किन बन्द गर्ने र गराउने होडबाजी चलिरहेको छ बुझ्न सकिएको छैन ।

लगातार रुपमा हुने गरेका बन्दले जनताको जनजीवनलाई त कष्टकर बनाएकै छ । त्यो भन्दा बढी असर अर्थतन्त्रमा पुगेको छ । दैनिकजसो भइरहेका बन्दले यातायात, कलकारखाना र बजारबाट राज्यको आयस्रोत र जनताको जिविकाको बाटोसमेत अवरुद्ध हुन पुग्ोको छ । यो बीचको बन्दले पर्यटन क्षेत्रलाई निकैनै असर पुर्‍याइरहेको छ । बन्दका कारण यतिबेला पर्यटकहरु नेपाल आउन सकिरहेका छैनन् । बन्दले संक्रमणकालको जोखिम परिस्थितिलाई अझ कमजोर पारी मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजान्छ । यस्तो अराजकताले राज्यलाई कमजोर बनाई प्रतिगामी शक्तिलाई टाउको उठाउने ठाउँ दिन्छ । नियमितजसो बन्दले अहिले सर्वसाधारणहरु निरासमात्र होइन अब के हुन्छ भनेर भय र त्रासमा बाँचिरहेका छन् । जनताको अधिकारको कुरा उठाउने पक्षले जनतालाई पीडाका भारी बोकाइराख्ने यस्ता बन्दको विकल्पको खोजिनुपर्दछ । राजनीतिक मागका लागि दल वा  सरकारलाई दवाव दिनु छ भने पनि विकल्पको खोजी गरिन जरुरी छ । नागरिकहरुले पनि कसले के कारणले बन्द गरेको हो भन्ने कुरालाई बुझेर मात्रै यसलाई स्वीकार्न सक्नुपर्छ । जथाभावी हुने बन्दलाई जनस्तरबाटै बहिष्कृत गरिन जरुरी छ । साँच्चिकै देशलाई अग्रगति दिने हो र त्यही चाहना राख्ने हो भने यतिबेला बन्दै बन्द गरेर जनजीवनलाई अस्तव्यस्त पार्ने नभई सबैले जिम्मेवारपूर्ण नागरिकको भूमिका निर्वाह गर्न आवश्यक छ । राज्यले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ र जनताले उठाएका उचित मागहरुलाई सम्बोधन गर्न सक्नुपर्दछ । सानो कुरामा पनि बन्द गरि जनजीवनलाई अप्ठ्यारोमा पार्ने खेललाई सदाको लागि बन्द गर्न जनता जागरुक हुनैपर्दछ ।

 

One Comment

  • yo bandale ta hukka nai banayo ni…. Kahile ke ko banda kahile kasto? Hoina sabaile nai banda garera 1 yearma 365 din banda garera deslai bandi banaune ho ki kya ho yo chaalaa……………

Leave a Reply

Your email address will not be published. Required fields are marked *