संविधानसभाको म्याद ३ महिना थप

  
  प्रकाशित मितिः बुधबार, जेष्ठ १८, २०६८       | 707 Views   ||

संविधान निर्माणका लागि दोस्रो चरणमा अरु ३ महिना थपिने

काठमाण्डौँ/संविधानसभा रहने हो कि नरहने हो भन्ने आम चासो, चिन्ता र म्याद नथपिएमा हुनसक्ने सम्भावित खतरालाई टार्दै अन्ततः संविधानसभाको म्याद थपिएको छ । शान्ति प्रक्रियालाई टुङ्ग्याउन तत्काल संविधानसभाको ३ महिना म्याद थप्ने र त्यसपछि संविधान निर्माणका लागि दोस्रो चरणमा ३ महिना समय थप्न दलहरु सहमत भएपछि संविधानसभाले फेरि ३ महिनाका लागि पुनर्जीवन पाएको हो ।

शनिबार राती करिब तीन बजेसम्मको लामो र सघन छलफलपछि दलहरु संविधान सभाको म्याद थप गर्न सहमत भएका हुन् । यो समाचार तयार पार्दासम्म दलहरु सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले मार्गप्रसस्त गर्ने, शान्ति प्रक्रिया टुङ्ग्याउने गरी पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थप्ने, उक्त समयमै संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने र दोस्रो चरणमा फेरि तीन महिना म्याद थपी संविधान निर्माणका बााकी काम पूरा गर्ने चार बुँदे सहमति हुने बुझिएको छ । संविधानसभाको म्याद थप्ने दलीय सहमति भइसकेपछि लगत्तै बसेको व्यवस्थापिका संसद्को बैठकले म्याद थपको सरकारी प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । सरकारले संविधानसभाको म्याद १ वर्ष थप्नुपर्ने प्रस्ताव पेश गरेको थियो ।

नेपाली कांग्रेसको बखेडा, मधेशवादी दलहरुको आफ्ना माग पूरा गराउने बार्गेनिङ र एमालेको मझधारको नीतिले गर्दा संविधानसभाको म्याद थप गराएर देशलाई सम्भावित खतराबाट जोगाउन माओवादीले निकै कसरत गर्नुपरेको छ । त्यसका लागि माओवादीले निकै लचक भएर आगामी १ महिनाभित्र जनमुक्ति सेनाको समायोजन हुने र पुनःस्र्थापित हुन चाहने लडाकुहरुको वर्गीकरण गर्ने, तीन महिनाभित्र शान्ति प्रक्रियाको काम पूरा गर्ने, माओवादी नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने लगायतका कांग्रेसका सर्तहरुमा सहमति जनाएको बुझिएको छ । यसले पनि माओवादी शान्ति प्रक्रिया, संविधान निर्माण र देशको भविष्यप्रति कति जिम्मेवार छ भन्ने कुरालाई थप पुष्टि गर्ने विश्लेषकहरु बताउँछन् । उसो त कांग्रेसले संविधानसभाको म्याद थप्न सहमत भइसकेपनि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, जनसेनाका हतियार सरकारलाई बुझाउनुपर्ने, कब्जा घरजग्गा फिर्ता लगायतका सर्तहरु राखिरहेको छ ।

संविधानसभाको समय सकिन ४५ मिनेट मात्रै बाँकी रहादा शनिबार राती सवा ११ बजे व्यवस्थापिका संसद्को बैठक शुरु भएपनि आधा घण्टापछि १५ मिनेटसम्मका लागि भन्दै स्थगित भएको थियो । राती सवा ११ बजेदेखि शुरु भएको संविधानसभाको बैठकमा संविधान संशोधन गरी संविधानसभाको म्याद थप्न संविधान संशोधन विधेयक  पेश गरिएको थियो । बैठकले संविधानसभाको म्याद थप गर्नका लागि संविधान संशोधन विधेयक पास गरेपछि कानूनमन्त्री प्रभु साहले अन्तरिम संविधानको नवौँ संशोधनको विधेयक प्रस्तुत गरेका थिए । त्यसपछि १५ मिनेटका लागि भन्दै स्थगित भएको बैठक एकैपटक राती ३ बजेतिर बसेको थियो । र, संविधानसभाको म्याद थपको प्रस्ताव पारित गरेको थियो ।  दिनभर विभिन्न तह र पार्टी-पार्टीबीचको वार्ता, छलफल र बैठकमै बितेपनि राती अबेर माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको निणर्ायक छलफलले अन्ततः म्याद थप गर्ने सहमति गरेको थियो । सहमति हुनुअघि शीर्ष नेताहरुको बैठक चलिरहेकै बेला एमाले नेता माधव नेपाल, केपी ओली र विष्णु पौडेल संविधानसभाबाट बाहिरिएका थिए । झण्डै पौने घण्टा बाहिर बिताएर पुनः शीर्ष नेताहरुको बैठकमा भाग लिन आएका नेपाल-ओलीले थप बखेडा झिकेको स्रोतको दावी छ । त्यस्तै, मधेशवादी दलहरुले भने संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्रीको राजीनामा अनिवार्य हुनुपर्ने, १० हजार मधेशी युवाहरुलाई सामूहिक सेनामा समायोजन गरिनुपर्ने लगायतका माग राखेको छ । अन्ततः जे जस्तो भएपनि दलहरुले गत वर्ष जेठ १४ गते मध्यरातजस्तै पुरानै परम्परा कायम गरी ३ महिना भएपनि संविधानसभाको म्याद थपेर देशलाई संवैधानिक संकट उत्पन्न हुनबाट जोगाएका छन् । र, अनिश्चित र खतरनाक दिशामा मोडिएको देशलाई फेरि एकपटक सही गोरेटोमा फर्काउन सफल भएका छन् ।

सेनको नवौँ स्मृति दिवस मनाइयो

इच्छुक स्मृति पुरस्कारबाट दुःखी र उदासी सम्मानित

दाङ/पत्रकार एवम् साहित्यकार महान् शहीद कृष्ण सेन ‘इच्छुक’को नवौँ स्मृति दिवस शुक्रबार घोराहीमा भव्य रुपमा मनाइएको छ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङ र एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङको संयुक्त आयोजनामा एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको हो । क्रान्तिकारी पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य अजयदीप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले इच्छुकको साहित्यिक, राजनीतिक र पत्रकारिता क्षेत्रको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गर्दै इच्छुकको वर्गप्रेम, निष्ठा र इमान्दारीताको बाटो अंगालेर मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

स्मृति दिवसमा बोल्दै प्रमुख अतिथि एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य जीवन गौतमले इच्छुक जीवन व्यवहारमा निकै सरल, विचारमा दृढ र प्रतिबद्ध एवम् कुशल नेतृत्वकर्ताका साथै पेशागत हिसाबले पत्रकार र साहित्यकार भएपनि बढ्ता कुशल राजनीतिज्ञ भएको बताउनु भएको थियो । इच्छुकको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै प्रमुख अतिथि गौतमले उहाको विचार, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध भएर लाग्नु नै इच्छुकप्रतिको साँचो सम्मान हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार सुशील गौतमले इच्छुकको जीवनवृत्तका विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा इच्छुक साँस्कृतिक प्रतिष्ठानका सदस्य, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य हिरामणि दुःखी, एकीकृत नेकपा माओवादी दाङका सह-इन्चार्ज सागर, एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य सुशील क्षेत्री, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य यज्ञबहादुर डाँगी, साहित्यकारहरु गिरीराज शर्मा, भुवन देवकोटा, डा.कृष्णराज डिसी, पद्मप्रसाद शर्मा, सूर्यनाथ सापकोटाले इच्छुकको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभएको थियो । त्यसैगरी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित, पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप रेग्मी, पत्रकार महिला मञ्चका अध्यक्ष सुशीला आचार्य, प्रगतिशील पत्रकार संघका केन्द्रीय महासचिव उदय जीएम, प्रेस चौतारी दाङका अध्यक्ष सविन पि्रयासन, अनेम संघ -क्रान्तिकारी) दाङका अध्यक्ष लक्ष्मी चौधरी लगायतले इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष हुमप्रसाद बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीले गर्नुभएको थियो भने पुरस्कृत प्रतिभाहरुको क्रान्तिकारी पत्रकार संघका सचिव डिल्ली मल्लले संक्षिप्त चिनारी प्रस्तुत गर्नुभएको थियो ।

दुःखी र उदासी सम्मानित

यसैबीच सेनको ९औँ स्मृति दिवसको अवसरमा पत्रकार हिरामणि दुःखी र साहित्यकार टीकाराम उदासी सम्मानित हुनुभएको छ । क्रान्तिकारी पत्रकार संघ, नेपाल दाङले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०६८ बाट पत्रकार दुःखी र एकीकृत अखिल नेपाल जनसास्कृतिक महासंघ दाङले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार २०६८ बाट साहित्यकार उदासी पुरस्कृत हुनुभएको हो । दुवै पुरस्कारको राशी नगद ५/५ हजार नगद र सम्मान पत्र रहेको छ ।

०४२ सालदेखि पत्रकारिता शुरु गर्नुभएका तुलसीपुर दाङनिबासी पत्रकार दुःखी क्रान्तिकारी पत्रकार संघ, नेपालका केन्द्रीय सचिवालय सदस्य, इच्छुक स्मृति प्रतिष्ठानका सदस्य रहनुका साथै जनादेश, नौलो जनउभार, नवचेतना,  दायित्वबोध लगायतका पत्रिकाको सम्पादन गरिसक्नुभएको छ भने झण्डै साढे दुईदशक पहिलेदेखि निरन्तर साहित्यका क्षेत्रमा क्रियाशील साहित्यकार सौडियार दाङनिवासी उदासीले दुईवटा गजल संग्रह, दुईवटा कविता संग्रह र एउटा समालोचना संग्रहका साथै फुटकररुपमा थुप्रै कविता, गजल र समालोचनाहरु प्रकाशित गरिसक्नुभएको छ । गत वर्ष इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार मौसम रोकालाई र साहित्यिक पुरस्कार साहित्यकार यज्ञबहादुर डाँगीलाई प्रदान गरिएको थियो ।

कृष्णसेन स्मृति पत्रकारिता अक्षयकोष स्थापना

दाङ/नेपाल पत्रकार महासंघ दाङ शाखाले शहीद पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ । कृष्णसेन इच्छुकको नवौँ स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अक्षयकोष घोषणा गरिएको छ ।

अक्षयकोषका लागि सेनका परिवारजन, आफन्त र शुभेच्छुकहरुले सहयोग गरेका छन् भने अक्षयकोष घोषणा भएकै दिन विभिन्न व्यक्तिहरुबाट झण्डै दुई लाख सहयोग प्राप्त भएको महासंघले जनाएको छ । जसमा सबैभन्दा धेरै सेनकी श्रीमती तक्मा केसीबाट  ५० हजार, जेठान चुनचुन केसीबाट २५ हजार, नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सूर्यमणि गौतमबाट ७ हजार ७ सय ७७, सहसंयोजक प्रभात चलाउनेबाट ७ हजार ७ सय ७७, सभासद्द्वय इन्द्रजीत थारु र दामा शर्माबाट ७/७ हजार, महासंघका अध्यक्ष केएल पीडितबाट ५ हजार १ सय एक र सचिव सविन पि्रयासनबाट ५ हजार १ सय एक रुपैयाँ प्राप्त भएको महासंघले जनाएको छ ।

त्यस्तै अन्य व्यक्तिहरुले पनि कोषमा सहयोग गरेका छन् । अक्षयकोषका लागि सहयोग घोषणा हुने क्रम जारी रहेकाले सम्पूर्ण दाताहरुको सहयोग विवरण केही दिनभित्रै सार्वजनिक गरिने महासंघ दाङका अध्यक्ष केएल पीडितले जानकारी दिनुभयो । अक्षयकोषबाट महासंघले प्रत्येक बर्ष कृष्णसेनस्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने र आर्थिक हिसाबले सो पुरस्कारलाई राष्ट्रियस्तरकै बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले सेन जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र बाम आन्दोलनका त्रिवेणी भएको बताउँदै उहाँको हत्याले देशलाई ठूलो क्षति भएको बताएका थिए । इच्छुक भौतिकरुपमा नभए पनि उहाँले सिकाएको निष्ठा र आदर्शको संस्कृतिलाई अनुशरण गर्नुपर्नेमा वक्ताहरुले जोड दिए । महासंघ दाङका अध्यक्ष पीडितको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा माओवादी दाङका सह-इञ्चार्ज सागर, कांग्रेसका जिल्ला सदस्य विपुल पोख्रेल, एमाले घोराही नगर कमिटी अध्यक्ष केशव न्यौपानेलगायत साहित्यकार, पत्रकारहरुले इच्छुकको दृढ प्रतिबद्धता र निष्ठाबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

धन कमाउन लागे पाटनतिर

मेगराज खड्का, वीरबहादुर मल्ल, रुकुम/सदाको बर्षझैं यसवर्ष पनि जिल्लाका पूर्वी गाविसका स्थानीय वासिन्दाहरु यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । रुकुमका हुकाम, रन्मामैकोट, जाङ, तकसेरा, महत, काँक्रीलगायत पूर्वका एक दर्जन गाविसका वासिन्दाहरु जेठको पहिलो सातादेखि यार्सागुम्बा टिप्न डोल्पा र रुकुमकै बुकी लेकतिर लागेका छन् । यार्सा टिपेर धन कमाउनका लागि अघिल्लो वर्षमाझैँ यसवर्ष पनि उनीहरु यार्सागुम्वा पाइने ठाउँ रन्मामैकोटको पाटन बुकीतिर गएका हुन ।

यार्सा सिजनमा त्यहाँका स्थानीय बासिन्दाहरुसँगै जिल्लाका अन्य गाविस तथा छिमेकी जिल्ला सल्यान, रोल्पा, वाग्लुङ्ग, म्याग्दी, डोल्पा र जाजरेकाटवासीहरुसमेत त्यसतर्फ जाने गरेका छन् । बालकदेखि बृद्धासमेत आ-आˆनो कामलाई थाति राखेर यार्सास्थलतिर लागेका छन् । यार्सा सिजनमा त्यहाँका स्थानीय विद्यालयहरुसमेत बन्द गरेर शिक्षक तथा विद्यार्थीहरुसमेत यार्सा टिप्न बुकी पाटनतिर लाग्ने गरेका छन् । सो क्षेत्रका वासिन्दाहरु हरेक वर्ष यार्सा सिजनमा परिवारका सबै सदस्यहरु यार्सा टिप्न जाने र त्यसबाट आउँने पैसाले बालबालिकालाई पढाउनुका साथै वर्षभरीको घरायसी खर्चको जोहो गर्ने गरेका छन् । गाउँका एकदुई जनालाई पैसा दिएर घरगोठ र गाईवस्तु हेर्ने जिम्मा दिएर उनीहरु यार्सा टिप्न लेकतिर लाग्ने गरेका छन् ।

यार्सागुम्बाबाट राम्रो कमाइ भएमा एकजनाले एक महिनामा दुई लाखसम्म कमाउने महतका स्थानीय काशीराम पुनले जानकारी दिए । तर कहिलेकाँही यार्सार् नपाइएपछि महिनैभरि लेकमा बसेर रित्तो हात घर र्फकनुपर्ने अवस्था पनि आउने  पुनले वताए । बालबालिकाले छिटो यार्चागुम्बा देख्न सक्ने भएकाले प्रायः अविभावकले बुकी लेकतिर जाँदा आˆना बालबालिकालाई पनि सँगै लिएर जाने गर्छन् । आˆना बालबालिकाहरु सबै डोल्पा, मुगु रुकुमकै बुकीलेकतिर गएपछि विद्यालय बन्द नै गर्नुपर्ने अवस्था आएको स्थानीयवासीको भनाई छ । धेरै धन नल्याएपनि थोरै उनीहरु आˆनो पढाई खर्चसम्म ल्याउने अभिभावकहरुको आशा छ ।

गत वर्ष बहुमुल्य जडिबुटी यार्सागुम्बाको मुल्य अहिलेसम्मकै सबैभन्दा बढि रहेको थियो । सुरुमा एउटा बुटीको मुल्य ३ सयसम्म परेको भएपनि सरदरमा ७० देखि एक सय रुपैयाँसम्म कहिल्यै नघटेको स्थानीय बताउँछन् । यार्सा महंगो हुने भएकाले यार्सा टिप्ने स्थानमै व्यापारको पनि प्रतिष्पर्धा हुने गर्छ । विगतका बर्षहरुमा यार्सा टिप्न प्रवेशसँगै सुशासन तथा मर्यादित बनाउन स्थानीय समितिले यार्सा संकलन गर्ने सर्वसाधारणलाई ५ सय ५० र खरीद गर्ने व्यापारीलाई ५ हजारसम्मको कर लगाइने गरिएको रन्मामैकोट निवासी जितेन्द्र पुनमगरले जानकारी दिए । उनका अनुसार गत वर्ष यार्सार्को  सरदर सात ७ करोड बराबरको कारोबार भएपनि यसपटक भने दश करोडभन्दा बढिको कारोबार हुन सक्ने सम्भावना देखिएको समेत उनले बताए । यार्चा जेठको दोस्रो सातादेखि असारको पहिलो सातासम्म संकलन गर्ने गरिएको छ ।

यार्सा टिप्न जाँदा डेढ दर्जन विद्यालय बन्द

रुकुमको सदरमुकाम खलंगा देखि पूर्वी क्षेत्रमा अवस्थित गाविसका विद्यालयहरु धमाधम रुपमा बन्द भएका छन् । करिब डेढ दर्जन भन्दा बढी विद्यालयका विद्यार्थीर्हरु यार्सागुम्बा -जीवनबुटी) टिप्न बुकी पाटनको लेकतिर हिडेपछि गएको दुई सातादेखि त्यसक्षेत्रका विद्यालयहरु बन्द भएका हुन् ।

सदरमुकाम मुसिकोट खलंगादेखि तीन दिनको पैदलबाटो हिंडेर पुग्न सकिने रन्मामैकोट गाविसका १० ओटा प्रावि, १ ओटा मावि र हुकाम गाविसका ४ ओटा प्रावि र १ ओटा मावि गरि दुई गाविसका १६ ओटा विद्यालयहरु पूर्ण रुपमा बन्द भएका छन् । यसरी नै जाङ, कोल, सिस्ने, तकसेरा लगायतका गाविसमा रहेका विद्यालयका विद्यार्थीहरु पनि यार्चागुम्बा टिप्न बुंकीमा गएपछि त्यस गाविसका पनि चार भन्दा बढि विद्यालयहरु बन्द हुन पुगेका छन । रुकुमका पूर्वी गाविसमा रहेका मानिसहरुको प्रमुख आयस्रोतको रुपमा मानिने यार्सागुम्बा टिप्ने सिजन शुरु भएपछि त्यहाका विद्यालयहरु बन्द हुन पुगेका हुन् ।

पौने दुई करोडको लगानीमा सौडियार खुला दिसामुक्त

गोविन्द खड्का, सौडियार/समुदायको शौचालय निर्माणमा १ करोड ७० लाख ४० हजार बराबरको लगानीमा सौडियार गाविस खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको छ । कसैको सहयोग नलिने बरु आवश्यक परे अरुलाई सहयोग दिने योजनाका साथ शौचालय बनाउने अभियानमा जुटेको गाविसले ७ महिनाको मेहनतपछि गत जेठ १० गते खुला दिसामुक्त गाविस घोषणा गर्न सफल भएको हो ।

यस अवधिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट २ लाख ५ हजारमात्रै बाहिरको सहयोग लिइएको गाविस सचिव सूर्यप्रसाद वेल्वासेले जानकारी दिनुभयो । आफ्नै कला कौशलको प्रयोगबाट स्थानीय बासिन्दा एवम् छिमेकी गाविस, खानेपानीका कर्मचारी लगायतको व्यक्तिगत खर्चबाट दानविर कार्यक्रम चलाएर ६९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग उठाइएको र बाँकी रकम समुदाय आफैले लगानी गरेको वेल्वासेले बताउनुभयो ।

अहिले सौडियार गाविसका ९ वडामा रहेका २७ टोलका २ दुई ३ सय ३ घरधुरीमा पक्की शौचालय बनिसकेका छन् । पक्की शौचालय बनाउने पहिलो गाविसको रुपमा दावी गरेको सौडियारमा अहिले १३ हजार २१ जनसंख्या रहेको छ । उक्त गाविसमा गत वर्ष असार मसान्तसम्म २६ प्रतिशत घरमा मात्रै शौचालय सुविधा थियो । गत वर्ष असोज २१ गते गाविस खानेपानी तथा सरसफाई समन्वय समिति गठन गरेर खुला दिसामुक्त गाविस घोषणा अभियान शुरु गरेको सौडियारले एक वर्ष नपुग्दै अभियानलाई पूरा गरेको छ ।

अभियानका क्रममा पूर्ण सरसफाईसम्बन्धी तालिम, गोष्ठी, अभिमुखीकरण, अन्तरकृया, जागरण र्‍यालीका साथै सरसफाई कमाण्डो समेत निर्माण गरी काममा खटिएको थियो । गत जेठ १० गते प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले सौडियारलाई खुला दिसामुक्त गाविस घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रममा प्रतियोगितात्मक र्‍यालीसहितका झाँकी र नृत्य प्रदर्शन गरिएको थियो । सो अवसरमा प्रथम, दोश्रो, तेश्रो हुने विभिन्न टोल र दानवीरहरुलाई सम्मान गरिएको थियो भने पत्रकारहरु गोविन्द खड्का, देविका जीएम र विमल योगी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इञ्जिनियर तिलक न्यौपाने, प्राविधिक गजेन्द्र बहकरी, गाविस सचिव सूर्यप्रसाद वेल्वासेलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ३ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

आकाशे पानी संकलन गर्न ड्याम निर्माण

प्रकाश चौधरी, घोराही/सिमसार क्षेत्रको संरक्षण र सदुपयोग गर्दै घोराही-३ स्थित आरोग्य टोलका वासिन्दाले सिंचाईका लागि आकाशे पानी संकलन गर्न ड्याम निर्माण गर्न थालेका छन । ऐलानी प्रति ८ नं को करिब ढाई विगाह क्षेत्रफलको सार्वजनिक जग्गामा उनीहरुले ड्याम निर्माण गर्न थालेका हुन् ।

घोराही नगरपालिकाले आर्थिक वर्ष ०६७/६८ का लागि दिएको २ लाख ५० हजार र त्यसको १० प्रतिशत रकम उपभोक्ताहरुले उठाएर उक्त ड्याम निर्माण कार्यको थालनी गरेका हुन् । सिंचाई पानीका लागि बनाइन थालिएको उक्त ड्यामको उचाई ५ मिटर, चौडाई १५ मिटर र लम्वाई ४० मिटर रहेको छ । करिव ५० घरधुरीको संख्यामा रहेका त्यहाका उपभोक्ताहरुको पहिलो प्राथमिकता भने सिमसार क्षेत्रको संरक्षण र सदुपयोग गर्ने रहेको छ भने ड्याममा जम्मा गरिएको पानीबाट सामुहिक माछापालन पालन गर्ने योजना रहेको छ । यसैहप्ता ड्याम निर्माण कार्य सकिने र त्यस वरिपरिको क्षेत्रमा सरसफाई गरी वर्षाको पानी जम्मा गर्न शुरु गरिने ड्याम निर्माण उपभोक्ता समितिका अध्यक्ष फनिन्द्र घिमिरेले जानकारी दिनुभयो ।

आफूहरुले ड्याम निर्माण गर्न थालेपछि सिंचाई सुविधाको समस्या झेल्दै आएका अन्य टोलका उपभोक्ताहरु पनि सिंचाईका लागि ड्याम निर्माण कार्यमा लाग्न थालेको घिमिरेले बताउनुभयो । सधैँभरि वर्षाको पानीमा निर्भर हुनुपर्ने अवस्था थियो । अहिले ड्याम निर्माण गर्न थालेपछि सिंचाई सुविधामा धेरै आशा जगाएको स्थानीय देवा डिसीले बताईन् ।

त्यसो त आरोग्य टोलका उपभोक्ताहरु पानी सिमसार क्षेत्रको संरक्षण र संकलनका लागि ड्याम निर्माण कार्यमा मात्र नभई आˆनो ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि पनि कम्मर कसेर लागेका छन् ।आˆनो ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पिकनिक स्थल निर्माण गर्ने र ठुलो पोखरी बनाई डुङ्गा संचालन गर्ने योजना पनि बनाएको स्थानिय रमेश घिमिरेले बताउनुभयो ।

सोलार जडान भएपछि गाउँ उज्यालो

शिव रावत, दाङ/घोराही नगरपालिका ६ हात्तीखर्क टोलमा सोलार जडान भएपछि गाउँ उज्यालो भएको छ । नगरपालिकाको विकट क्षेत्र मानिने हात्तीखर्क टोलमा बिजुली नपुगेपछि त्यहाँका स्थानीयवासीले घर-घरमा सोलार जडान गर्न थालेपछि गाउँमै उज्यालो छाएको छ ।

लामो समयसम्म विद्युतको माग गर्दा  पनि त्यहाँ अहिलेसम्म बिजुली पुग्न सकिरहेको छैन । घोराही नगरपालिकाले दिएको ३ लाख रकमबाट हात्तीखर्कका ३१ घरधुरीले अहिले सोलार जडान गरी बिजुलीबत्ती बालिरहेका छन् भने करीब ५० घरधुरीमध्ये अझैँ १४ घरधुरीले सोलार बाल्न सकेका छैनन् ।

आर्थिक अभावका कारण सोलार जडान गर्न नसकेको उनीहरुले बताएका छन् । केही रकम नगरपालिकाले दिने र केही रकम उपभोक्ता आफैले व्यहोर्ने भएपछि आफूहरुले अहिले सोलार जडान गर्न नसकेको उनीहरुले बताए । व्यक्तिगत रुपमा ३ घरले भने पहिले नै सोलार बत्ती जडान गरिसकेको उपभोक्ता समितिका सदस्य झकबहादुर बुढाले बताउनुभयो ।

२१ घरले केही रकम थपेर २० वाटको सोलार र १० घरले साढे १३ हजार रकम थपेर ४० वाटको सोलार जडान गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सार्कीले जानकारी दिनुभयो । अहिले सोलार बत्ती प्राप्त भएपछि बिजुलीबत्तीको विषयमा उपभोक्तालाई धेरै सहज भएको उहाँको भनाई छ । नगरपालिकाले विकट क्षेत्रको वासिन्दालाई मध्येनजर गरी सोलार बत्ती दिएर धेरै ठूलो गुण लगाएको पनि अध्यक्ष सार्कीले बताउनुभयो ।

तत्काल पानीको अति समस्या भएकोले २ सय वाटको सोलार उपलब्ध भएमा पानीको समस्या पनि हटेर जाने त्यहाँका उपभोक्ताहरुको भनाई छ । नगरपालिका कार्यालयले भर्खरै राखेको नगरस्तरीय सार्वजनिक सुनुवाईमा आफूहरुले मागपत्र पनि पेश गरिसकेको उपभोक्ता समितिका अध्यक्ष सार्कीले जानकारी दिनुभयो । ‘अहिले ७ लाखको स्टिमेट तयार पारेर पेश गरेका छौँ पूरा हुन्छ हुँदैन, आशा गरेर बसेका छौँ’- उहाँले भन्नुभयो । कतैबाट ७ लाख रकम सहयोग प्राप्त हुन सके सिंचाई सुविधासँगै पानीको हाहाकारबाट केही सहुलियत मिल्ने छ । नगरपालिकाभित्रको पहाडी क्षेत्र भएकोले थुप्रै समस्या पनि छन् क्रमशः समाधान हँदै गएपनि तत्काल प्रत्येक घरधुरीलाई चर्पीको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *