मेरो सम्झनामा कृष्ण सेन ‘इच्छुक’

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ २२, २०६८       | 146 Views   ||

-[गिरीराज शर्मा]

संसारमा जन्म र मृत्यु निरन्तर चलिरहने प्रक्रिया हुन् । यो क्रम दिनहुँ चलिरहन्छ पनि । फरक यत्ति हो कसैको मृत्यु सामान्य हुन्छ, जो टोल छिमेक र आफन्तमा मात्र सीमित हुन्छ भने कसैको मृत्यु युगौँ युगसम्म खड्किरहने चस्किरहने र सम्झनाका तरेलीहरुमा जाज्वल्यमान ज्योति बनेर राष्ट्र, समाज र जनताका लागि प्रेरणादायी र स्थापित रहने हुन्छ ।

त्यस्तै निरन्तर हृदयका पत्र-पत्रमा स्थापित भएका प्रगतिवादी वरिष्ठ स्रष्टा हुनुहुन्छ- कवि कृष्ण सेन ‘इच्छुक’ । यो सानो आलेखमा इच्छुकको राजनीतिक गतिवधिभन्दा साहित्यिक गतिविधितिर नै मेरो ध्यान केन्दि्रत रहनेछ । कृष्ण सेन ‘इच्छुक’को जन्म २०१३ कार्तिक महिनामा छिमेकी मुलुक भारतको देहरादुनमा भएको हो ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि नम्र स्वभाव र तीक्ष्ण बुद्धिका हुनुहुन्थ्यो उहाँ । त्यो नम्रता जीवनपर्यन्त कायम रहृयो । त्यसैले त इच्छुक सबैका आँखाका नानी बन्नुभयो । उहाँ साहित्यकार र राजनीतिक दौरानमा रहँदा मसँग पनि राम्रै बसउठ भयो र उहाँको साहित्यिक व्यक्तित्वले म निकै आकषिर्त भएँ । साहित्यप्रतिको धारणा उहाँको र मेरो मिल्ने भएकाले पनि हामी धेरै नजिक हुँदै गयौँ । एक आपसमा आतेजाते बढ्न थाल्यो । विविध विषयमा छलफल र रचनाहरु आदानप्रदान हुन थाले ।

यसैक्रममा शोकाञ्जली (शोककाव्य) प्रकाशन भएपछि तात्कालीन समयमा विक्री वितरण गर्नु निकै कठिनाई थियो । सामान्य कवि गोष्ठी, अन्तरक्रिया, सम्वाद, छलफल गर्न पनि निषेध गरिएको त्यो भयावह परिस्थितिमा शोकाञ्जली कृति विक्री वितरण गर्न कहाँ सक्थ्यौँ र हामीहरु ? को आफ्नो को पराई छुट्याउनै धौ-धौ हुन्थ्यो त्यो समयमा । त्यसैले ठेलीका ठेली ती कृति हाम्रै घरमा थन्कायौँ लामो समयसम्म । त्यस्तै-त्यस्तै परिस्थितिमा ममाथि पनि प्रशासनको बक्रदृष्टि पर्‍यो । त्यसैले शोकाञ्जलीका धेरै प्रतिहरु कता-कता परे थाहा भएन ।

आफूले मात्र लेख्ने पढ्ने नगरेर अरुलाई लेख्न पढ्न प्रेरणा गर्ने, प्रकाशनको लागि रचनाहरु माग्ने, अन्यायको विरुद्ध जुध्न प्रेरित गर्ने उहासग रहेका व्यक्तिगत गुणहरु हुन् । त्यसपछि ‘बन्दी र चन्द्रागिरी’ ‘इतिहासको यस घडीमा’ कृतिहरु प्रकाशित भए । फुटकर कविताहरु दर्जनौँ हुन सक्छन् । यस सम्बन्धमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले निकै सोधखोज गरी इच्छुक रचनावली भाग-१, २ र ३ गरी क्रमशः उहाँका रचनाहरु प्रकाशन गरेर देश, जनता र समाजका लागि महत्वपूर्ण काम गरेको छ । प्रयास निरन्तर रहोस् भनि हामी पाठकहरु शुभेच्छा प्रकट गर्दछौ ।

उहाँका रचनाहरु अध्ययन गर्दा नयाँ सोच, नयाँ विचार, वर्गचेत, बिम्व र अलङ्कारयुक्त भावहरु इच्छुकका रचनाहरुमा पाइने विशेषता हुन् । यसैले पनि उहाँका रचना साँच्चै सशक्त भएर उभिएका छन् र युगयुगान्तरसम्म उभिरहने छन् । त्यतिमात्र नभएर गाउँ-ठाउँको सुन्दर चित्रण, प्रकृति वर्णन, नयाँ बिहानीको आकांक्षा र जेलका अनुभूतिहरुसमेत सेनजीका कविताहरुमा पाइन्छन् ।

सौम्य, शालीन व्यक्तित्वको हृदय भने विद्रोहात्मक थियो । त्यसैले त प्रजातन्त्रको खोल ओढेका जल्लादहरुलाई पाच्य भएन । स्पातलाई गलाउने धृष्टता गरे । डराए कलमदेखि, विचारदेखि र कृष्ण सेन इच्छुकको स्वाभिमानदेखि र त अमानुसिक यातना दिएर हत्या गरे-यस युगका कलङ्कहरुले । आफ्नो पञ्जामा परिसकेकालाई नृशंस हत्या गर्ने आफ्नो बहादुरी सम्झे कायरहरुले । तर पनि उनका सृजना र विचारले इच्छुक जीवित छन्, अमर छन् । यस युगको होनहार प्रगतिवादी वरिष्ठ स्रष्टाले २०५९ साल जेठ १३ गते सहादत प्राप्त गरे ।

अन्तमा, शहीद शीर्षक दिएर शहीदप्रति सम्मान गरिएको इच्छुकका कविताका केही हरफहरु उद्धृत गर्दै सम्मानस्वरुप उहाँको स्मृतिमा लेखिएको संक्षिप्त लेखाई यहीँ अन्त गर्दछु ।
तिमी असङ्ख्य ज्योतिहरुमध्ये
चम्किरहने ज्योति महाज्योति हौ
पि्रय सहिद तिमी महान छौ,
श्रद्धेय छौ
अमर छौ
र, युगयुग सदा सर्वदा अमर रहिरहनेछौ
इच्छुक रचनावली भाग-२ बाट
भावपूर्ण श्रद्धाञ्जली युगस्रष्टा कवि कृष्ण सेन ‘इच्छुक’लाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *