-[क्षितिज मगर]
फिस्टाका प्वाँख बोक्नेहरु
उडान रद्द गरे पनि
हाम्रो वेग रद्द हुन्न
स्यालका मुटु बोक्नेहरु
यात्रा त्यागे पनि
हाम्रो अभियान रोकिन्न
पसिनाका नाइल र मिसिसिपी पौडिदै
रगतका भोल्गा र अमेजनहरु तर्दै
लक्ष्यका एण्डिज उभ्याइरहन्छौँ
आशाका क्षितिज खुलाइरहन्छौँ
र, आस्थाका सगरमाथामा हामी
अथक आरोहण गरिरहन्छौँ, गरिरहन्छौँ ।
यसपटक रानीवनमा
काफल पाक्यो चरी कराओस् या नकराओस
न्याउली चरी गीत गाओस् या नगाओस
समयले करबट लिएपछि केही फरक पर्दैन
आखिर पाकेरै छाड्छ काफल
बसन्तमा फुलेरै छाड्छ गुराँस
केरा पातझैँ थर्थराउँदा केही मुठ्ठीहरु
हुरीभित्र खुकुलीरहे पनि के भो र ?
मात लागेको बुढोझैँ धर्मराउँदा केही पाइलाहरु
मूल बाटोदेखि बाहिरिए पनि के भो र ?
पूर्वको लाली छाएपछि केही फरक पर्दैन
आखिर चुलीमा झण्डा फहराएरै छाड्छ
आखिर विजयको नगरा बजेरै छाड्छ
हामी त्यो झण्डा बोकेर
हामी त्यो नगरा बजाएर
बारुदको बादलभित्र हिडिरहन्छौँ, हिडिरहन्छौँ ।
चट्याङको गोला वर्षाभित्र
ब्याधाको गोली पर्राभित्र
सधैँ अविचल र निर्भिक रहेपनि
कहिलेकाही कागहरु जानीजानी
वर्षातको कुहिरोभित्र हराउँदा रहेछन
कुरीतिको पहिरोभित्र पुरिदा रहेछन
फेरि पनि कागहरु आफ्नै गतिमा
नयाँ हुरीसँग कावा खान्छन
देखेका थियौँ-कुखुराहरु मात्र
माटोमा खेल्छन्-फुतफुती
तर, कहिलेकाहीँ चिलहरु पनि
कोट्याउँदा रहेछन् माटो
पल्टाउँदा रहेछन् ढुङ्गो
फरक यति हो
माटो कोट्याएर कुखुराले पाउँछ रछ्यान
ढुङ्गो पल्टाएर चिलले नाप्छ यात्रा वेग
त्यसैले चिलको यात्रा आकाशमै हुन्छ
हामी यो भुमरीमा, हामी यो आँधीहुरीमा
त्यो चिलको वेग लिएर
उही कागका आँखा बोकेर
कठोर यात्रा जारी राखिरहन्छौँ, राखिरहन्छौँ ।
१० मंसिर ०६२ जिनावाङ, रोल्पा
बाल कविता
हाम्रो नेपाल
जता हेरौँ हरियाली नेपालको वन छ
धेरै खुसी भए म त चङ्गासरि मन छ
नेपालमा विश्वकै अग्लो सगरमाथा छ
नेपालमा बस्छु म त नेपालीकै साथ छ
हिमालमा डाँफे मुनाल लालीगुराँस पाखामा
आउ साथी सँगै खेलौँ नेपालीकै काखमा
नेपालीकै गीत गाउँछु नेपालीकै धुन छ
पढीलेखी सीप सिकी ठूलो मान्छे हुनु छ
विद्यार्थी हो हाम्रो जीवन हामीले पढ्नुपर्छ
पढीलेखी ज्ञान सिकी अघि बढ्नुपर्छ ।
नाम : सविता वली
कक्षा : ८
ठेगाना : सहिद प्रस्ठान स्मृति छात्राबास दुधरास, दाङ
विद्यालय : श्री जनकल्याण उच्च माध्यमिक विद्यालय दुधरास, दाङ