माओवादी सामु खडा भएका प्रश्नहरु

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ २२, २०६८       | 91 Views   ||

-[विश्वास शर्मा]

एकीकृत नेकपा माओवादीका अगाडि अहिले थुप्रै प्रश्नहरु खडा भएका छन् । ती प्रश्नहरुको जवाफ उसले कसरी दिन्छ भन्ने कुराले नेपालको कम्युनिष्ट आन्दोलनले कुन मोड लिन्छ भन्ने कुराको निर्धारण गर्नेछ । त्यति मात्र होइन उसले दिने जवाफले देश, जनता र स्वयम् माओवादी पार्टीको भाग्य र भविष्यको फैसला गर्नेछ ।

माओवादी पार्टी शान्ति प्रक्रिया हुँदै यहाँसम्म आउँदा मूलतः दुईकोण बाट ऊ प्रति प्रश्नहरु खडा भएका छन् । एउटा, जनता र पार्टी पंक्तिबाट अर्को, प्रतिक्रियावादी, साम्राज्यवादी शक्तिबाट । जनता र पार्टी पंक्तिबाट खडा भएको प्रश्न के हो भने पार्टीले कतै सर्वहारा आदर्श, मूल्य, मान्यता र क्रान्तिकारी कार्यदिशा परित्याग गर्दै गएको त होइन ? कतै पार्टी साम्राज्यवादी र विस्तारवादी शक्तिका अगाडि झुक्दै गएको त होइन ? पार्टीले कतै हिजो अगाडि सारेका जनपक्षीय नारा वा मुद्दाहरु परित्याग गर्ने त होइन ? भन्ने जस्ता थुप्रै प्रश्नहरुको चित्त बुझ्दो जवाफ पार्टीले तुरुन्त दिन जरुरी छ । त्यसैगरी प्रतिक्रियावादी एवम् साम्राज्यवादी शक्तिहरुका तर्फबाट माओवादी पार्टी आफूहरुले भनेको संसदीय मुलधारमा आउँछ कि आउँदैन ? माओवादी पार्टी सर्वहारा वर्गीय दृष्टिकोण र कार्यदिशालाई निरन्तरता दिने त होइन ? भन्ने शंका उनीहरुले व्यक्त गरिरहेका छन् । यी दुवै कोणबाट खडा भएका शंका वा प्रश्नहरुमा माओवादी पार्टीले दिने जवाफमा ऊ अब कस्तो पार्टी बन्ने, नेपालको राजनीतिले कुन मोड लिने र नेपालको कम्युनिष्ट आन्दोलनको दिशा कता जाने भन्ने कुराको निधो गर्नेछ । परिस्थिति पेचिलो बन्दै जाँदा माओवादी पार्टीका सामु अहिले दुईवटा विकल्प मात्र बाँकी छन् । एउटा प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिको दबावमा परेर उनीहरुका सामु घुँडा टेक्ने वा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट गिरेर साम्राज्यवादीहरुको स्वार्थसिद्ध गर्ने एउटा संशोधनवादी पार्टीमा गिर्ने र अर्को प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरुका सबैखाले षड्यन्त्र र घेराबन्दीलाई चकनाचुर पार्दै अगाडि बढ्ने । यी दुई विकल्पबाहेक अरु कुनै विकल्पको गुञ्जायस अहिले छैन ।

माओवादी पार्टीका पछिल्ला निर्णय र गतिविधिलाई हेर्दा ऊ कतै प्रतिक्रियावदी शक्तिसँग झुक्दै त छैन ? कतै सङ्घर्ष वा क्रान्तिको बाटोबाट भाग्दै त छैन ? भन्ने गम्भीर आशंका पैदा भएको छ । पछिल्लो समयमा सेना समायोजनसहितको शान्ति प्रक्रियालाई पहिले टुङ्ग्याएर त्यसपछि मात्र संविधान निर्माण गर्ने भन्ने साम्राज्यवादीहरुले अगाडि सार्दै आएको एजेण्डामा पार्टीले सहमति जनाउनुले यी आशंकाहरुलाई जन्माएको छ । सहमतिको नाममा ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरु गुमाउँदै जाँदा त्यसले क्रान्ति वा विद्रोहलाई धेरै पर धकेल्ने कुरा निश्चित छ । अहिले जसरी पार्टीले बिना कुनै उपलब्धि पार्टीको मेरुदण्ड जनमुक्ति सेनालाई विघटन गर्ने र पार्टीलाई निशस्त्रीकरण गर्ने कुरामा सहमति गरेको छ । यसले आम जनता र पार्टी पंक्तिमा निराशा पैदा गराएको छ । सहमतिहरु के का लागि ? उपलब्धिहरुको रक्षा र थप उपलब्धि प्राप्तिका लागि या सीमित उपलब्धिहरु पनि खोसाउनका लागि ? सहमति कसको हितका लागि ? जनपक्षीय शक्तिको हितका लागि या साम्राज्यवादी शक्तिको हितका लागि ? पार्टीका सम्पूर्ण क्रियाकलाप सुधारका लागि या क्रान्ति र त्यसको तयारीका लागि ? यी र यस्तै प्रकारका गम्भीर प्रश्नहरु पार्टी पंक्तिका सामु खडा भएका छन् ।

अहिले माओवादी पार्टीका निर्णय र गतिविधिहरु जनताले माओवादी पार्टीप्रति गरेका आशंका र अविश्वास मेटाउन होइन बरु प्रतिक्रियावादी एवम् साम्राज्यवादीहरुले ऊ प्रति गरेका आंशका मेटाउन र उनीहरुलाई विश्वास दिलाउन परिलक्षित छन् । प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुलाई माओवादी पार्टी सर्वहारा वर्गीय क्रान्तिकारी नारा वा मुद्दालाई छाडेर पूँजीवादी वा साम्राज्यवादी नारा वा मुद्दामा आउँदै छ भन्ने कुराको विश्वास बढ्दै छ भने जनता र पार्टी पंक्तिमा माओवादीले आफ्ना जनपक्षीय मुद्दालाई छाड्दैन, आफ्नो आदर्श, नीति र सिद्धान्तबाट विचलित हुँदैन र यसले जनतालाई धोका दिदैन भन्ने कुराको विश्वास घट्दैछ । माओवादी शान्ति प्रक्रियामा प्रवेश गर्दा शान्ति प्रक्रिया र संविधानसभा पार्टीको तत्कालीन कार्यनीति मात्र हो भन्ने थियो । तर, अहिले जसरी भएपनि शान्ति प्रक्रिया टुङ्गो लगाउने भनेर हतियार बुझाउने, जनमुक्ति सेनालाई अपमानजनक ढङ्गले समायोजन गर्ने, पार्टीलाई निशस्त्रीकरण गर्ने र साम्राज्यवादी योजनालाई स्वीकार गर्ने पार्टी निर्णयले शान्ति प्रक्रिया र संविधानसभा वा पार्टीले शान्ति प्रक्रियामा लिएको कार्यदिशा कतै कार्यनीति नभएर रणनीति नै त होइन भन्ने प्रश्न पनि यतिबेला गम्भीर रुपमा उठेको छ । संविधान जनताको पक्षमा बन्ने कुराको ग्यारेण्टी नहुँदै सेना समायोजनसहित शान्ति प्रक्रिया टुङ्ग्याइसक्ने सहमतिले संविधान जनताको पक्षमा नबन्ने निश्चित छ । त्यसले संविधान निर्माणमा माओवादीको बार्गेनिङ पावर हृवात्तै घट्ने कुरा पनि निश्चित छ । अहिले पार्टीले जनमुक्ति सेना र हतियारको विषयमा गरेको निर्णयले जनतालाई निराश बनाएको छ भन्ने जनविरोधी तत्वहरुलाई उत्साहित बनाएको छ । त्यसैले नयाँ संविधान निर्माण र सेना समायोजनसहित शान्ति प्रक्रियालाई सँगसँगै लैजानुपर्छ । पहिले शान्ति प्रक्रियालाई टुङ्ग्याउने र त्यसपछि संविधान बनाउने भन्ने निर्णयलाई पार्टीले पुनर्विचार गरी सच्याउनु पर्छ ।

हजारौँको त्याग, तपस्या र बलिदानले प्राप्त भएको जनसत्ता र जनअदालत विघटनपछि जनताले आशा गरेको एउटा मात्र शक्ति जनमुक्तिसेनालाई पनि आत्मसमर्पण वा विघटन गराउने तरिकाले समायोजन गर्दा जनताले आशा र विश्वास गर्ने एउटा पनि सशक्त शक्ति रहँदैन । अहिलेको अवस्थामा जनमुक्ति सेना बिनाको माओवादी पार्टी कति सशक्त र मजबुत होला ? कल्पना गरौँ । शान्ति प्रक्रिया र संविधानसभाको विषयमा पनि पार्टीले आफ्ना धारणा स्पष्ट पार्नुपर्छ । शान्तिपूर्ण तरिकाले नै सर्वहारावर्गको राज्यसत्ता प्राप्त हुन्छ भन्ने कुरालाई अन्तिम र एक मात्र सत्य मानेर पार्टी शान्ति प्रक्रियामा हाम फालेको हो ? माओवादी पार्टीका निम्ति संविधानसभा नै सर्वहारा वर्गका सबै मुद्दाहरु सम्बोधन गर्ने अन्तिम र एक मात्र साधन हो ? होइन भने वैकल्पिक बाटो र त्यो बाटोबाट अगाडि बढ्ने तयारी के हो ? माओवादी पार्टीले पार्टी पंक्ति र जनसमुदायलाई स्पष्ट पार्न जरुरी छ ।

केही समययता माओवादीभित्र चरम गुटबन्दी, अराजकता, अकर्मण्यताले सीमा नाघेको छ । संगठनहरु अस्तव्यस्त छन् । अन्तरसङ्घर्ष स्वस्थ, वैचारिक सङ्घर्षको रुपमा नभएर गुट सङ्घर्षमा परिणत भएको छ । जसले जे गरे पनि छुट हुने हुँदा दण्डहीनता पूरै पार्टीभित्र हावी भएको छ । यसको परिणाम पार्टीभित्र अपराधिक प्रवृत्ति मौलाउँदै गएको छ । यी सबै कुराहरु झाङ्गिदै जाँदा पार्टीभित्रको इमान्दार कार्यकर्ता पंक्ति क्रमशः साइड लाग्ने र चाकडी चाप्लुसी गर्न सिपालुहरु पार्टीमा हावी हुने स्थिति तयार हुँदैछ ।

यस्ता थुप्रै गम्भीर समस्याहरु पार्टीभित्र देखापर्दा पार्टी नेतृत्वले त्यसलाई हल गर्ने कुनै प्रभावकारी कदम नचाल्नुले कतै पार्टी विसर्जनवादमा फस्ने त होइन ? भन्ने प्रश्न उब्जिएको छ । यसरी पार्टीभित्र र बाहिर पैदा भएका थुप्रै प्रश्नहरुको जवाफ माओवादीले दिनुपर्छ । पार्टीले जनतालाई धोका दिदैन, यसले आफ्नो सर्वहारा वर्गीय आदर्श, मूल्यमान्यता छोड्दैन र क्रान्तिको बाटोबाट विचलित हुँदैन भन्ने कुराको ग्यारेण्टी गर्नु पर्दछ । त्यसो भयो भने मात्र जनताले माओवादी पार्टीलाई विश्वास गर्नेछन् र हरहमेसा उसलाई साथ दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *