सेना समायोजन वा आत्मसमर्पण

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ २२, २०६८       | 138 Views   ||

-[हिरामणि दुःखी’]

विचारधारा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ । यदि सही विचार छ भने आफूसँग नभएको चीज पनि प्राप्त हुन्छ । सही विचार छैन भने भएका कुराहरू पनि गुम्दै जान्छन् ।’ यो भनाइ हामी युद्धकालमा सयौं त के हजारौंपटक दोहोर्‍याउने गथ्र्यौं । हामी यो पनि भन्ने गथ्र्यौं कि नेकपा एमाले गलत विचारमा हिडेकाले समाप्त हुँदै गएको छ र माओवादीले सही विचार लिएको हुनाले जनयुद्ध एकपछि अर्को सफलताको उचाइमा पुग्दैछ । माओवादी पार्टी विशाल शक्तिमा रूपान्तरित भइरहेको छ । हामी अर्को दृष्टान्तलाई पनि निकै महत्वका साथ उठाउने गथ्र्यौं- विचार र संगठनलाई परिशुद्धतामा ढाल्न खोज्दा, यान्त्रिक भौतिकवादी र जडसूत्रीय कोणबाट विश्लेषण गर्दा मोहनविक्रमको मसाल जस्तो खिया लाग्दै जान्छ र पातलिन्छ ।

२०३७ सालको जनमत संग्रहपछि माओ विचारधारा छोड्दै गएकाले नै एमाले संशोधनवादी बन्यो भन्ने कुरा हामीले भुल्नु हुँदैन । माओवादी मूल नेतृत्वबाट भएको माओवादलाई धरापमा पार्ने र प्रचण्डपथ निलम्बन गर्ने निर्णय र तत्कालीन मालेको माओ विचार परित्याग गर्ने उस्तै हुन् भन्ने कुरालाई भुल्नु हुँदैन । जब जनमत संग्रहमा जनताले पराजय भोग्नुपर्‍यो, तब नेकपा मालेले दुश्मन शक्तिलाई बलियो र जनतालाई कमजोर ठान्ने गल्ती गर्‍यो, जसका कारण पञ्चायतमा प्रवेश गर्ने नीतिअन्तर्गत अघि बढ्यो । त्यहीबाट उसको पतनको सुरुवात भयो । २०४७ सालमा राजा-कांग्रेस र संयुक्त ‘वाम’ बीचको घोषित सहमतिबाट बनेको संविधानलाई ३७ बुँदामा असहमति जाहेर गर्दै आलोचनात्मक समर्थन गरेको एमालेले माओवादीले जनयुद्ध सुरु गरेपछि २०४७ सालको संविधानलाई सही देख्न थाल्यो र पछिल्लो चरणमा त विश्वकै उत्कृष्ट संविधान भन्न समेत पछि परेन । त्यही संविधानलाई प्रयोग गरेर राजा ज्ञानेन्द्रले साही कू गर्दा जिल्ल परेको एमाले पछि प्रतिगमन आधा सच्चियो भन्दै राजाकहाँ बिन्तीपत्र हाल्दै प्रधानमन्त्रीको भीख माग्न थाल्यो । उता जनयुद्धलाई आतंककारी क्रियाकलाप भन्दै संकटकाल लगाउन सिफारिस समेत गर्‍यो । यसरी जनयुद्धको अन्तिम दिनसम्म आउँदा नेकपा एमाले पूराका पूरा प्रतिक्रियावादमा पतन भइसकेको थियो । २०६२ साल मंसिरमा भएको १२ बुँदे समझदारीद्वारा माओवादीले सञ्जीवनी ख्वाएर बचायो । बैगुनी एमालेलाई गुण लगाएर मित्र बनाउने कोसिस गर्‍यो ।

यो प्रसंग यहाँ उठाएर विचारधारा समाप्त भएपछि कम्युनिस्टहरू कसरी पतनको पराकाष्टामा पुग्दा रहेछन् भन्ने कुरालाई पुनस्मरण गराउन खोजिएको मात्र हो । विचारधारा सही हुँदासम्म मात्र कम्युनिस्टहरूले सर्वहारावर्ग सम्झन्छन् । राष्ट्र र राष्ट्रियता सम्झन्छन् । स्वाधीनता र सार्वभौम अखण्डता सम्झन्छन् । राष्ट्रका असली निर्माता जनता हुन् र जनताले नै इतिहासको निर्माण गर्छन् भनेर भन्ने गर्छन् । एउटा सानो झल्िकोले सारा जंगलमा डढेलो लगाउन सक्छ भन्ने माओवादी मान्यतालाई आफ्नो आदर्श बनाउने गर्छन् । जब विचारमा स्खलन पैदा हुन थाल्छ, तब ‘सिर्जनात्मक’ माक्र्सवादको व्याख्या गर्न थाल्छन् । माक्र्स, लेनिन, माओ अहिलेसम्म बाँचेका भए अहिलेको विश्वलाई कसरी हेर्थे होला भन्दै हाइपोथेटिक कुरा गर्न थाल्छन् । यसो भन्नुको तात्पर्य माक्र्स, लेनिन र माओहरूले पनि आफ्नो सिद्धान्तलाई परिमार्जन गर्थे, वर्ग र सत्तालाई फरक गरी हेर्थे होलान् भन्ने आसयको भाव व्यक्त हुन्छ ।

माओवादीले जनयुद्ध सुरु गर्दा एमाले र अन्य भुरेटाकुरे कम्युनिस्टहरूले उसलाई सत्तोसराप गर्थे । गुलेली चलाउन नजान्नेले शक्तिशाली बन्दुकसँग लड्न खोज्ने ? भारतले नुन दिएन भने नुन खान नपाएर नेपालीहरू मर्छन् । यस्तो बेला भारतको विरोध गर्ने ? अमेरिकाले चाहृयो भने प्रशान्त महासागरबाट हानेको क्षेप्यास्त्र माओवादी लुकेको ठाउँमा खसाल्न सक्छ । अनि बीसौं शताब्दीमा समाप्त भइसकेको विचार बोकेर जनयुद्ध लड्ने ? कम्युनिस्टहरूका लागि संसार नै प्रतिकूल भएका बेला जनयुद्ध लडेर कसरी जित्न सकिन्छ ? गाउँका सोझा सीधा मान्छे मारेर पनि जनयुद्ध हुन्छ ? राजासँग यत्रो सेना भएको बेला दुईचार सय उग्र कार्यकर्ता बनाएर सत्ता कब्जा गर्छु भन्ने ? इस् माओवादी, गर्छौ सत्ता कब्जा । यस्तैयस्तै गालीगलौज र बेतुकका खुराफाती कुरा गरेर माओवादीका विरुद्ध न्वारानदेखिको बल लगाउँदै जनतालाई भड्काउन खोज्थे । माओवादी लुकेको ठाउँ र माओवादीलाई समर्थन गर्ने जनतासमेतलाई सरकारले दूरबिन लगाएर हेर्छ र ठ्याक्कै चिन्छ भन्दै बचकाना र कपोलकल्पित टिप्पणी गरेर जनतालाई बेबकुफ बनाउँदै दिमाग खराब गर्ने कोसिस गर्थे । आज तिनै स्वघोषित कम्युनिस्टहरूसँग माओवादीले सहकार्य गर्दैछ र एकताका प्रक्रियामा कतिपय विजातीय तत्वलाई हुलेर आफूलाई मास पार्टीमा रूपान्तरण गर्दैछ ।

यी सबै घटना-परिघटना, टीकाटिप्पणी र क्षुद्र मूल्यांकनलाई चिर्दै माओवादीले जनयुद्धको रथलाई निरन्तर अघि बढाउँदै लग्यो । साँच्चिकै गुलेली, खुकुरी, भाला, बर्छा र भरुवा बन्दुकका आधारमा जनयुद्धको अग्नियात्रामा होमिएको पार्टीले दसौं हजार जनमुक्ति सेना बनायो । लाखौँ जनमिलिसिया र त्यसको दोब्बर-तेब्बर संख्यामा संगठित कार्यकर्ता निर्माण गर्‍यो । नेताहरूको निर्माण आगोमा फलाम खारेर स्टिल बनाएजस्तै गरेर गर्‍यो । कुशल कमान्डरहरू, फौजी विशेषज्ञ र वैज्ञानिकहरू उत्पादन गर्‍यो । हजारौं वर्षदेखि दबिएर रहेका जाति-जनजाति, मधेसी जनता र चुलोचौघेरोमा सीमित भएका महिलाहरूलाई पुरुषसरह र कथित उच्च जातिका नेता-कार्यकर्तासरहका स्तरमा राजनीतिक चेतनाको जागरण पैदा गर्‍यो । यो सबै कुरा सही विचारधारा, सही राजनीतिक कार्यदिशा समात्नु र जनतामा विश्वास गर्नुको परिणाम थियो ।

जब माओवादी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो, तब उसले लाखौं कार्यकार्ता, तीस हजारको संख्यामा रहेको जनमुक्ति सेना र करोडौं जनताको भावना, मर्म र विश्वासमा बज्र प्रहार गर्दै बृहत शान्ति सम्झौतामार्फत जनयुद्ध समाप्त भएको घोषणा गर्दै पतनको मृत्युपत्रमा ल्याप्चे ठोक्यो । यो निर्णयले चुनवाङको कार्यनीतिलाई रणनीतिमा रूपान्तरण गर्‍यो । माओवादीको मूल नेतृत्वमा विचारको स्खलनको घोषित सुरुवात त्यहीबाट भयो । मुख्य नेतृत्वबाट भएको यो धोकापूर्ण सम्झौतालाई आफ्नै कमिटीका सहयोद्धा नेताहरूदेखि लाखौं कार्यकर्ता र जनमुक्ति सेनाले आँखा चिम्लेर नेतृत्वप्रति विश्वास गरे, जसरी चीनमा देङमण्डलीलाई त्यहाँका जनता, कार्यकर्ता र जनमुक्ति सेनाहरूले गरेका थिए । त्यतिबेला देङमण्डलीले प्रतिक्रान्ति गरिरहेको कुरा त्यहाँका क्रान्तिकारीहरूले थाहा पाउन नसकेझैं नेपालमा पनि माओवादीभित्र त्यस्तै भयो ।

शान्तिप्रक्रियामा आएपछि नेपाली जनताका अगाडि पहिला दुईवटा मुख्य कार्यभार पूरा गर्नु थियो : पहिलो, जनमुक्ति सेनालाई संयुक्त राष्ट्रसंघको मध्यस्थतामा क्यान्टोनमेन्टमा केन्दि्रत गर्दै भरणपोषणको व्यवस्था गर्ने र दोस्रो, संविधानसभाको चुनाव गर्ने । यी दुवै प्रक्रिया ढिलोचाँडो सम्पन्न भए पनि । त्यसपछि फेरि तीनवटा कार्यभार पूरा गर्नुपर्ने नया जिम्मेवारी आयो : एक, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने, दुई, राजतन्त्रलाई बिदा गरी गणतन्त्रलाई संस्थागत गर्ने र तीन, संविधान निर्माण गर्ने । यी तीनवटा मुख्य एजेन्डाभित्र दर्जनौं उप-एजेण्डाहरू पूरा गर्नुपर्ने कार्यभार राजनीतिक दलहरूको जिम्मामा थियो । यसभित्र माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि आफ्ना कार्यकर्ता, जनमुक्ति सेना र जनतालाई के भनेर आश्वस्त पार्दै आयो भने हामीले शान्ति र संविधानका नाममा सहरिया जनविद्रोह संगठित गर्ने, वातावारण निर्माण गर्ने र तताउँदै लगेर सम्पूर्ण तागत एक ठाउँमा केन्दि्रत भएपछि सत्ता कब्जा गर्ने हो । पार्टीका नेता, कार्यकर्ता, जनमुक्ति सेना र जनतासम्मलाई यही कुरामा विश्वास पैदा भयो, भइरहृयो । परन्तु पार्टी नेतृत्वले पार्टीमा एउटा कुरा गर्ने र संसद्वादी दलहरूसँग अर्को सहमति र सम्झौता गर्दै जाँदा पार्टी दिनप्रतिदिन सम्झौतावादमा फस्न बाध्य हुँदै गयो ।

संविधानसभाको तीन वषर्ीय कार्यकाल समाप्त हुँदासम्म न संविधान बन्न सक्यो, न त शान्तिप्रक्रिया नै टुङ्गोमा पुग्न सक्यो । अहिले कांग्रेस, एमाले र माओवादीका बीचमा सेना समायोजनको प्रक्रिया अघि बढाउने र प्रधानमन्त्रीले राजीनामा दिने मुख्य सर्तसहित पाँचबुँदे सहमति भएपछि तीन महिनाका लागि संविधानसभाको म्याद थपियो । माओवादी नेतृत्व तहको बहुमत पक्ष सेना समायोजनका नाममा जनमुक्ति सेना विघटन गर्ने र एक थान संविधान लेख्ने वातावरण बनाएर बुर्जुवाहरू, देशीविदेशी प्रतिक्रियावादी वर्गबाट स्याबासी पाउने र शान्तिपि्रय भएको जस लिने होडबाजीमा रहेको छ । माओवादीको मुख्य नेतृत्व पङ्क्ति नेपाली कांग्रेस र एमाले र नेपाली सेनाले अघि सारेको मोडालिटीमा सेना समायोजन (वास्तवमा विघटन) गराउने पक्षमा रहेको कुरा अध्यक्ष प्रचण्डले स्थायी समितिमा पेश गरेको प्रस्तावबाटै पुष्टि हुन्छ । पटकपटक बसेका स्थायी समितिका बैठक र पदाधिकारीहरूका बैठकमा बहुमतले पारित गरेका निर्णयहरूमा लचिलो हुने र प्रतिक्रियावादीहरूलाई विश्वास दिलाउनु पर्छ भन्ने नाममा क्रमशः आत्मसमर्पण गरिदैछ । अध्यक्षले प्रस्तुत गरेको शान्ति र संविधान निर्माणसम्बन्धी प्रस्तावको १ नं. बुँदाको उपबुँदा ‘क’ देखि ‘ठ’ सम्मका बुँदाहरूमा प्रकारान्तरले जनमुक्ति सेना विघटनका कुरालाई स्वीकार गरिएको छ । जस्तो १ नं. को ‘ख’ मा भनिएको छ, ‘समायोजन र पुनस्र्थापनका लागि नेपाली सेनाअन्तर्गत मिश्रति महानिर्देशनालयको प्रारूप (modality) अनुसार अघि बढ्न आवश्यक विधि, प्रक्रिया, संख्या, संरचना र समायोजन मापदण्ड जेठ २० गतेसम्म निर्धारण गर्ने ।’ यो जेठ १४ गते बसेको पार्टीको स्थायी समितिको बैठकमा बहुमतले पारित गरेको निर्णय हो । यसैका आधारमा सोही राति तीन दलबीच पाँचबुँदे सहमति निर्माण हुन पुगेको हो । त्यसैगरी जेठ १८ गते बसेको स्थायी समितिको बैठकमा माओवादी नेताहरूसँग रहेका जनमुक्ति सेना शिविरमा फिर्ता पठाई हतियार कन्टेनरमा राख्ने निर्णय पनि बहुमतद्वारा पारित गरिसकिएको छ ।

यसरी हिजोका दिनमा माओवादी नेतृत्व आफैंले हामी नेपाली कांग्रेसले २००७ सालमा गरेको गल्ती दोहोर्‍याउने पक्षमा छैनौं, जनताका अधिकार सुनिश्चित नभएसम्म दसौं हजार जनताको बलिदानबाट आर्जित सेना र रगतले साटेका हतियार बुझाउने पक्षमा छैनौं भन्दै चिल्लाइचिल्लाइ चर्का भाषण गर्ने, पार्टीभित्र कार्यकर्ताहरूलाई प्रशिक्षण दिदा जनविद्रोहको तयारीका लागि मुखमुखमा शान्ति र मनमनमा क्रान्तिको तयारी गर्नुपर्छ भन्ने नेतामा आज भोक र निद्राको पर्वाह नगरेर सेना विघटन गर्ने हुटहुटी किन पैदा भइरहेको छ ? हुँदाहुँदा अहिले त पार्टीका दस्तावेजमा समेत जनमुक्ति सेना भन्ने आँट समाप्त भएर बुर्जुवाहरूकै भाषाशैलीमा ‘माओवादी सेनाका लडाका’ भन्ने पदावली प्रयोग हुन थालेका छन् । क्रान्ति र विद्रोहको विकल्प मुर्दा शान्ति र बुर्जुवा लोकतन्त्र भन्ने कुरा कुन माक्र्सवादी दर्शन हो ? विचारमा खिया लागेपछि क्रान्तिका कुरा गर्नेहरू उग्रवादी, जडसूत्रवादी बन्न पुग्छन् । जुन कुरा जनयुद्ध सुरु गर्दा र जनयुद्धकालभरि एमालेलगायतका संशोधनवादीहरूले माओवादीलाई लगाउने गर्थे । भन्ने बेला माओवादी जनमुक्ति सेना भनेको २१ औं शताब्दीको प्रतिक्रान्ति रोक्ने शक्ति हो भन्ने तर व्यवहारमा क्रान्ति सम्पन्न नहुँदै प्रतिक्रान्तिका बलिका बोका बनाउने कुन सिर्जनात्मक माक्र्सवाद हो ? अब जनमुक्ति सेनाका सबै तहका कमान्डरहरू, जो पार्टी, संगठन र विचारबाट दीक्षित छन्, उनीहरूले सोच्ने बेला आएको छ । चीनमा जस्तै विश्वासै विश्वासमा देङमण्डलीको पछि लागेर प्रतिक्रान्तिका साधन बनेजस्तै हुने वा जनयुद्धको स्पिरिटलाई पक्डेर नेपाल र नेपाली जनताको मुक्ति गर्न नयाा क्रान्तिका लागि विद्रोहको झन्डा बोक्ने ? आगे जनमुक्ति सेना जानून ।

One Comment

  • Yo kura ta hamra netritwa harule bhujhnai parchha. katai purai jana yudhda dharap ma parera sansodhan ma ta bilaune hoina ? janata ka asha bharosha haur bilaune ta hoinan bhanne shanka ubjana laagekaa chhan!!!! yo kura senior level leaders le manan garna parchha jasto malai lagchha .

Leave a Reply

Your email address will not be published. Required fields are marked *