‘जनयुद्धका घाइते भएर पछुताउनु नपरोस्’

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ २३, २०६८       | 147 Views   ||

-[डिल्ली मल्ल/दाङ]

शीर्ष नेताहरुले तीन महिनाभित्रै जनमुक्ति सेनाको समायोजन तथा पुनःस्र्थापनाको काम सिध्याउने निर्णय गरिरहँदा शिविरमा रहेका घाइते जनसेनाहरुलाई भने भविष्यको चिन्ताले सताउन थालेको छ । न त शारिरीक रुपमा सैन्य क्षेत्रमा काम गर्न सकिने न त घाइते/अपाङ्गहरुलाई राज्यले सम्मानपूर्वक जिउने आधार नै तयार पारेको अवस्थामा शिविरबाट बाहिरिएपछि के होला भन्ने विषयले घाइते जनसेनाहरुलाई चिन्ता परेको हो ।

दाङको संक्रामस्थित जनमुक्तिसेनाको घाइते शिविरमा रहेका घाइते/अपाङ्ग जनसेनाहरु

दाङको संक्रामस्थित जनसेनाको शिविरमा रहेका घाइते योद्धाहरु शिविरबाट बाहिरिएपछि के होला ? आफूहरुलाई राज्य र पार्टीले केही सहयोग गर्ला कि नगर्ला ? जस्ता विषयमा आजभोलि चिन्तन मनन् गरिरहेका भेटिन्छन् । उसो त माओवादीको नेतृत्वमा सरकार गठन भएको बेला होस् या अरु बेला नै । राज्यको तर्फबाट जनयुद्धका घाइते योद्धाहरुका लागि अपेक्षाकृत व्यवस्थापन र सम्मान हुन नसकेको उनीहरुको गुनासो छ । सल्यान घर भई हाल संक्रामस्थित शिविरमा बसिरहेका घाइते योद्धा सीपी शर्मा आफूहरुको बलिदानीले देशमा यति ठूलो परिवर्तन भएपनि राज्यले जनयुद्धका घाइते/अपाङ्गहरुलाई घोर उपेक्षा बताउँछन् । उनी भन्छन्- ‘हिजो ज्यानको बाजी थापेर लड्दै गर्दा हामी अङ्गभङ्ग भयौँ, हाम्रै बलिदानले देशमा गणतन्त्र र संविधानसभाका मुद्दा कार्यान्वयन भए । तर, हामीलाई अहिलेसम्म राज्यले सामान्य सम्बोधन पनि गर्न सकेको छैन ।’

दश वर्षे जनयुद्ध र ऐतिहासिक १९ दिने जनआन्दोलनले देशमा ठूलो परिवर्तन भएपनि त्यो नेता र टाँठाबाठाहरुका लागि मात्रै भएको घाइतेहरुको भनाई छ । जनयुद्धका बेला नेताहरुले जनतासँग गरेको प्रतिबद्धता, एजेण्डा र जनआन्दोलनका बेला जनतालाई देखाएको आशा अहिले निरासामा परिणत हुँदै गएको अर्का घाइते योद्धा स्वणिर्म बाँठामगर ‘आभाष’ले बताए । रुकुमको खारा आक्रमणका बेला घाइते भएका सल्यानका सीपी शर्माको ढाड नै फ्याक्चर भएको छ भने पूर्वी नेपालको भोजपुरस्थित तत्कालिन शाही सेनाको रिपिटर टावरमाथिको आक्रमणका बेला घाइते भएका रुकुम खाराका आभाषको वायाँ खुट्टा नै छैन । उसो त शिविरमा आभाषजस्तै सल्यानका विरवल, रुकुमका सुधीर र असलले पनि लडाइँका क्रममा एक/एकवटा खुट्टा गुमाएका छन् । हृवील चियर, रबरको खुट्टा र बैसाखीको सहारामा उनीहरुको दिनचर्या बितिरहेको छ । उनीहरुजस्तै शिविरमा दुश्मनको चरम यातनाका कारण दुवै आँखाको ज्योती गुमाएका सल्यान सुइकोटका सुरेश, टाउकोमा सिङ्गै गोली बोकेर प्यारालाइसिसबाट ग्रस्त रुकुम हुकामका विशेषलगायत २ दर्जन बढी घाइते अपाङ्ग योद्धाहरु राज्यको उचित सम्मान, उपचार र राहतको पर्खाइमा बसिरहेका छन् ।

सञ्चारमाध्यामबाट जनसेनाको समायोजन र पुनःस्र्थापनाको काम तीन महिनामै टुङ्ग्याउने राजनीतिक सहमति भएको सुनेपछि भने उनीहरुलाई आशा र आशंका दुवैले गाँजेको छ । शिविरको पट्यारलाग्दो बसाई टुङ्गिनेमा उनीहरु केही आशावादी देखिएपनि समाजमा पुनःस्र्थापना भइसकेपछि राज्य र पार्टीले उचित रेखदेख गर्छ कि गर्दैन भन्ने आशंकाले पनि उत्तिकै पिरोलिरहेको छ । ‘समायोजन र पुनःस्र्थापनाको काम शुरु भएपछि शिविरहरु खाली हुन्छन् होला, त्यसपछि फोर्समा जान इच्छुकहरु फोर्समा जालान्, कोही राजनीतिमा, कोही व्यवसायतिर फर्केलान्, तर आधा अङ्ग गुमाएर अपाङ्ग जीवन बिताइरहेका हामीलाई भरण पोषण र रेखदेख कसले गर्ने ?’ आफूहरुलाई राज्यले उचित भरण पोषण र जीवन जीउने आधार बनाइदिनुपर्ने उनीहरुको माग छ ।

जनयुद्धमा नलागेको भए ? खैँ उनीहरु के बन्ने थिए, के गर्ने थिए ? गाँस बासका लागि विदेशका सडक गल्ली चहार्थे कि बाँझो बारी फोड्थे वा अरु केही ? तर, उनीहरु जनयुद्धमा लागे- ज्यानको पर्वाह नगरी लडाईका मोर्चाहरुमा अग्रपंक्तिमा लडे र अहिले त्यही जनयुद्धको चिनो बोकेर घाइते जीवन बाँचिरहेका छन् । उनीहरुको चाहना छ- पार्टीका नेताहरुले बेला-बेलामा भेटघाट गरुन्, हिजोको सपना नभुलून् र सम्मानपूर्वक बाँच्ने आधार बनाइदिऊन् । तर, पछिल्लो समयमा माओवादी नेताहरुले हिजोको आदर्श, लक्ष्य उद्देश्य र प्रतिबद्धता बिर्सिदै गएको उनीहरुले महसुस गर्न थालेका छन् । ‘युद्धकालको अप्ठ्यारोमा पनि लड्दा सँगै, खाँदा सँगै हुने नेताहरुको शान्तिकालपछि अनुहारै देख्न गाह्रो भयो- घाइते योद्धाहरु भन्छन्- ‘हामीले देश र जनताका लागि भनेर आधा अङ्ग गुमायौँ, नेताहरु भने हिजो जनतासँग गरेको प्रतिबद्धता र सपना भुल्दैछन् र अहिले कहिले के निहुँमा त कहिले के निहुँमा पार्टीभित्रै मारामार गर्न थालेका छन्, आ-आफ्ना स्वार्थ अघि सार्दै गुट उपगुट बनाएर पार्टी फुटाउने कुरा गर्छन् ।’ रगतको खोला बगाएर, हजारौँको बलिदान गरेर पाएको उपलब्धि गुमाउने र पार्टी फुटाउने अधिकार कसैलाई नभएको भन्दै उनीहरुले त्यस्तो गर्ने नेतालाई कसैले पनि छुट नदिने चेतावनी समेत दिएका छन् ।

हजारौँ सहिदहरुको बलिदानी, लाखौँ जनताको त्याग, तपस्या र आफूहरुले आधा जीवन गुमाएर हुर्काएको पार्टी नबिगि्रयोस् भन्ने उनीहरुको चाहना छ । ‘हामीले आफ्नै शरीरका अंग गुमाउँदा त्यति दुःख मानेका छैनौं तर यदि हाम्रो पार्टी बिगि्रयो भने सबैभन्दा ठूलो अफसोच त्यही हुनेछ ।’ घाइतेहरु भन्छन्, ‘हामीले सुनेका छौँ, झापा विद्रोहका घाइतेहरु पछि-पछिसम्म सडकमा माग्दै हिड्नुपरेको थियो रे, हामीले पनि भविष्यमा सडक गल्लीमा माग्दै हिड्नु नपरोस् र जनयुद्धमा घाइते भएकोमा पछुताउनु नपरोस् ।’

इच्छुक, अभागी र आश्रतिको स्मृति प्रतिष्ठान खोलिने

काठमाण्डौँ/सरकारले प्रगतिवादी साहित्यकार एवम् पत्रकार शहीद कृष्ण सेन ‘इच्छुक’, दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा स्वर्गीय नेत्रलाल अभागी र एमाले नेता स्वर्गीय जीवराज आश्रतिको नाममा छुट्टाछुट्टै स्मृति प्रतिष्ठान गठन गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले इच्छुक, अभागी र आश्रतिको नाममा छुट्टाछुट्टै प्रतिष्ठान खोल्ने निर्णय गरेको हो ।ती प्रतिष्ठान स्थापनाका लागि हरेकलाई ५०/५० लाखका दरले रकम निकासा गर्न पनि अर्थमन्त्रालयलाई मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । यसअघि एकीकृत नेकपा (माओवादी)ले इच्छुक साँस्कृतिक प्रतिष्ठानको स्थापना गरेपनि सरकारी निकायबाट प्रतिष्ठानको स्थापना गरिएको यो पहिलो हो ।

त्यस्तै, सरकारले मुलुकमा जारी उर्जा संकट समाधानका लागि जलविद्युत विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागिसमेत लगानी गर्न ढोका खुल्ला राख्ने गरी जलविद्युत विकास बैंक खोल्ने निर्णय गरेको हो । बैठकले बैंक स्थापना गर्नेबारे गृहकार्य गर्न सूर्यनाथ उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समितिसमेत गठन गरेको उर्जा मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो । समितिमा अर्थ, उर्जा र कानुन मन्त्रालयका सचिवका साथै गभर्नर डा. युवराज खतिवडा सदस्य रहनुभएको छ । यसैगरी बैठकले आगामी कार्तिक दोस्रो साता साउदी अरबको मक्कामदिनामा हज गर्न जाने मुस्लिम समुदायका लागि भिसा शुल्क नलिने निर्णय गरेको छ ।

कहिले सुन्ला राज्यले सालघारीबासीको पीडा ?

-[दोर्ण केसी/तुलसीपुर]

न बाटो, न विजुली, न पानी नगरपालिकाभित्रका बासिन्दा भएर पनि हामीले कत्ति समयसम्म अभावै अभावमा बाँच्ने ? हाम्रा समस्या राज्यले कहिले सुन्ने ? तुलसीपुर नगरपालिका-१० स्थित सालघारीका बासिन्दा बिजुली, सडक यातायात र पिउने पानीको सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

बाटो र बिजुली सालघारीका बासिन्दाको पहिलो माग भएपनि अहिलेसम्म यहाँ बिजुलीको पोलबाहेक केही पुग्न सकेको छैन । अन्यत्र बिजुली बल्दा आफूहरु पोल हेरेर अँध्यारोमा रात काट्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । वरपरका गाउँहरु झिलिमिलि देखिन्छन् तर आफूहरु भने टुकीमाराको उज्यालोमै चित्त बुझाउनु परेको सालघारी टोल विकास संस्थाका कोषाध्यक्ष बालकृष्ण खरेलले बताउनुभयो । बत्तीका लागि टोलका २० घरधुरी उपभोक्ताले ४० हजार रकम उठाई पोल र तार खरिद गरेपनि बिजुली पाउन नसकिएको खरेलको भनाई छ । उपभोक्ताले गाउँको विकासका लागि सरकारी अड्डामा धेरै धाएपनि सम्बन्धित निकायले नसुनिदिएपछि राज्यबाट पाउनुपर्ने सेवा र विकासको सुविधाबाट पछाडि पारिदै आएका छन् ।

बिजुली बत्तीको मात्र नभई यहाँका बासिन्दाले पिउने पानीको समस्या पनि झेल्दै आएका छन् । पिउने पानीका लागि २ घण्टाको पैदल हिड्नुपर्ने बाध्यता त छँदैछ वर्षातमा धमिलो पानी पिएर अनाहकमै ज्यान गुमाउनुपर्ने खतरा पनि उनीहरुले मोल्दै आएका छन् । पिउने पानीका लागि झाँक्रीढुङ्गा खानेपानी संस्थामा पटक-पटक डेलिगेशन गएर पानीको माग गरेपनि संस्थाले कुनै सुनुवाई नगरेको स्थानीयबासीको गुनासो छ । खानेपानी संस्थाले तुलसीपुर-१० को डाँडाखुटी, दमारगाउँ, थर्कुडाँडा, गहतेलगायतका ठाउँमा पानी वितरण गरेपनि सालघारी गाउँमा भने पानी वितरण नगरी पक्षपात गरेको स्थानीय किरण बुढाले बताए । त्यस्तै, सो क्षेत्रमा यातायातको सुविधा नहुँदा दैनिक उपभोग्य वस्तुहरु बजार आयात र निर्यातमा पनि उस्तै समस्या रहदै आएको छ । केही समय अघि कृषि सडकअन्र्तगत बाटो निर्माणका लागि ३ लाख बजेट गाउँमा परेपनि केही व्यक्ति बाधक बनेपछि बाटो निर्माण कार्य रोकिएको उनीहरुले बताए । सालघारीका बासिन्दाले बिजुली र पानीका लागि भोग्दै आएको पीडाको सुनुवाई सम्बन्धित निकायले सुनिदिए सालघारी गाउँका बासिन्दाको दिनचर्या केही सहज बन्थ्यो कि ?

उपहार कार्यक्रमले बदलियो महिलाको जीवन

-[प्रकाश चौधरी/दाङ]

आयआर्जनका लागि बाख्रा र बङ्गुर उपहार दिने कार्यक्रमले दाङको लक्ष्मीपुर गाविसका महिलाहरुको जीवनस्तर फेरिएको छ । हेफर संस्था र सामूदायिक विकास संस्थाले स्थानीय महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बन्नका लागि बाख्रा र बङ्गुर उपहार दिने कार्यक्रम शुरु गरेपछि यहाका महिलाहरुको बदलिएको हो ।

महिलाहरुलाई सशक्तिकरण गर्ने उद्देश्यका साथ संस्थाले उपहार कार्यक्रमसागै विविध किसिमका सीपमूलक तालिम, तरकारी खेतीका बारेमा प्रशिक्षण दिदै आएको छ । संस्थाले यस वर्ष पशु उपहार प्रदान कार्यक्रम अन्तर्गत लक्ष्मीपुरको झिङ्नीमा बाख्रा ७८ वटा, बङगुर १५ वटा र बोका २ वटा, त्यसैगरी घोराही ८ बनगाउामा ७५ वटा बाख्रा, ४७ वटा बंगुर र एउटा बोका वितरण गरेको छ । त्यस्तै घोराही- ८ मंलेरीमा ९४ वटा बाख्रा, ८ वटा बंगुर र २ वटा बोका वितरण गरेको संस्थाकी अध्यक्ष विमला योगीले जानकारी दिनुभयो । महिलाहरुको आयआर्जनको काममा उत्साह थप्न तरकारी खेतीका लागि जग्गा भाडामा उपलब्ध गराइदिने, बाख्रा र बङ्गुरका लागि खोर निर्माण गरिदिनेलगायतका कामहरु पनि संस्थाले गर्दै आएको योगीले बताउनुभयो ।

संस्थाले महिलाहरुको सशक्तिकरणको लागि प्रौढ कक्षा सञ्चालन, महिला समूह विस्तार बाल क्लव गठनलाई पनि तीव्रता दिएको योगीले जानकारी दिनुभयो । संस्थाले उपहार कार्यक्रममार्फत् बाख्रा र बंगुर वितरण कार्य मात्र नगरी द्वन्द्वपीडित बालबालिकालाई शिक्षा प्रदान, चर्पी निर्माणमा सहयोग र सुधारिएको चुलो निर्माण कार्यमा पनि सहयोग पुर्‍याउँदै आइरहेको छ । जिविकोपार्जन कार्यक्रम अन्तर्गत १२ वटा समूहलाई हेफर आधारशीला समूह व्यवस्थापन, पशु व्यवस्थापन, घास व्यवस्थापन, करेसाबारी, महिला पुरुष समविकास लगायतका तालिम संस्थाले दिएको अध्यक्ष योगीले जानकारी दिनुभयो । संस्थाले दिएको बाख्रा, बंगुर लगायतका उपहारहरु १८ महिनापछि आफ्नो बहिनी समूहलाई दिने व्यवस्थाअनुसार कार्य गर्दै आएको लक्ष्मीपुर झिङ्नीमा रहेको सृजनशील समूहकी सदस्य निर्मला चौधरीले बताउनुभयो । संस्थाको सहयोगमा गरेको कार्यक्रमले महिला समूहलाई धेरै सहयोग मिलेको उहाले बताउनुभयो । चौधरीले भन्नुभयो- ‘संस्थाबाट सञ्चालित उपहार कार्यक्रमको प्रभावले हाम्रो जीवनस्तरमा सुधार ल्याउन गरिएको प्रयास सफल भइरहेको छ ।’

आम्दानीको गतिलो माध्याम व्यावसायिक बाख्रापालन

-[हिरालाल केसी/सल्यान]

सल्यान रिम गाविस-७  दैकोटका रुद्रवीर नेपालीले १० वर्षदेखि व्यवसायिकरुपमा बाख्रा पालन गर्दै आउनुभएको छ । उहाँले बाख्रा पालनबाट मात्रै अहिले वर्षमा ६० हजार रुपैयाँभन्दा बढी कमाई गर्नुहुन्छ । कुनैबेला भारतमा मजदूरी गरेर परिवार धान्न मुस्किल भएकोमा अहिले व्यावसायिक बाख्रापालनबाट घरको आर्थिक अवस्थामा निकै सुधार आएको नेपालीको भनाई छ ।

नेपालीले जस्तै सोही गाउँका गिरीराज केसीले पनि विगत ६ वर्षदेखि बाख्रा पालन गर्दै आउनुभएको छ । पहिले पैसा कमाउन अर्काको देशमा मजदूरी गर्न जानुभएका केसीले घर फर्केर व्यावसायिकरुपमै बाख्रा पालन सुरु गर्नुभयो । कुनै पनि काम आँटेपछि गर्न सकिन्छ भन्ने अठोटका साथ बाख्रा पालनमा जुट्नुभएका केसीले वर्षमा ४० हजारभन्दा बढी आम्दानी गरिरहेको बताउनुभयो ।उसो त सोही गाउँका अर्जुन परियारले पनि आफ्नो पुख्र्यौली पेशा सिलाई कटाई छोडेर बाख्रा पालनमा जुट्नुभएको छ । गाउँमै केही नयाँ काम गर्छु भन्ने हिम्मतका बाख्रा पालन व्यवसायमा लागेको परियारले बताउनुभयो । त्यस गाउँका किसानहरुलाई बाख्रा पालनका लागि पशुसेवा केन्द्र कपुरकोटले तालिमलगायत विभिन्न किसिमका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो चरणमा पशुहरुको नस्ल सुधार, रोगविरुद्धको औषधी र सुईका लागि किसानहरु पशुसेवा केन्द्रमा धाउने गरेका छन् । पशुपालनका लागि किसानहरुलाई आफूहरुको तर्फबाट उत्साह दिने काम भइरहेको केन्द्रका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मी बताउनुहुन्छ । दैकोटका किसानहरु विगत ३ वर्षदेखि समूहमार्फत् बाख्रापालन गर्दै आएका छन् । विकासे बाख्रा पालन समूहको हितकोषमा उनीहरुले बाख्रा बेचेर कमाएको केही पैसा जम्मा गर्छन् र गाउँमा निम्न आयश्रोत भएका अन्य किसानहरुलाई बाख्रापालनका लागि कम ब्याजमा ऋण उपलब्ध गराउँदै आएका छन् । यसले गर्दा गाउँका अन्य मानिसहरु पनि व्यावसायिक बाख्रा पालनप्रति आकषिर्त हुन थालेका छन् । पशुपालनमा यस्तै नयाँ-नयाँ प्रविधि र क्षमताको विकास गरी आत्मनिर्भर बन्न सके हामी नेपालीले घर छोडी टाढा किन भौतारिनुपथ्र्यो र ?

विद्यालय पुग्न ३ घण्टा जंगलको बाटो
खाजाका लागि विद्यार्थीहरु कटौरा बोकी स्कूल

-[गोविन्द खड्का/लोहारपानी]

लोहारपानी-६ घुस्राका बालबालिकालाई विद्यालय जानका लागि ३ घण्टा जंगल र भिरको बाटो पार गर्नुपर्ने बाध्यता छ । नजिकमा स्कूल नभएपछि पहरको कोखामा रहेको त्यस बस्तीका बालबालिकाहरु स्कूल जानबाट बञ्चित रहँदै आएका छन् । हिउदको समयमा ३ घण्टा हिडेर स्कूल गएपनि वर्षातको समयमा पानी र पहिरोका कारण उनीहरु स्कूल जान नसक्ने अभिभावक टुकमान रोकाले बताए ।

त्यस्तै लोहारपानी-६ कोलमा शिक्षा कार्यालयले प्राथमिक शिक्षा बिस्तार कार्यक्रम सञ्चालन गरेपछि बालबालिकाहरु हातमा  कटौरा र पिठ्यूँमा झोला बोकी पढ्न जान थालेका छन् । जापानको जाईका संस्थाको सहयोगमा सञ्चालित प्राथमिक शिक्षा विस्तार कार्यक्रममा खाजा कार्यक्रम पनि सञ्चालन गरिएपछि त्यहाका विद्यार्थीहरु झोलामा कापी, कलम र हातमा कटौरा बोकी स्कूल जाने गर्छन् । स्कूलमा खाजा पाइने भएपछि विद्यार्थीहरु घरबाट लगेका कटौरा कक्षा कोठाको झ्यालमा राख्ने गर्छन् र मध्यान्तर भएपछि कटौरा थापेर खाजा खाने गरेको छात्रा भिमा पुनले बताइन् ।तीन वर्ष अघिदेखि सञ्चालनमा आएको प्राथमिक शिक्षा बिस्तार कार्यक्रममा विद्यालयमा कक्षा कोठा र शिक्षक दरबन्दीको अभावका कारण १ देखि ३ सम्मका २० जना विद्यार्थीहरु एउटै कक्षामा बस्दै आइरहेका छन् ।

लोहारपानीलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिदै

लोहारपानी/दुर्गम पहाडी क्षेत्र मानिने लोहारपानी गाविसलाई एकसाताभित्र  खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ । करिव ११ सय घरधुरी उक्त गाविसमा ४० वटा शौचालय निर्माण गर्न बाकी रहेकाले एकसातापछि पूरै गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिन लागेको गाविस सरसफाई मुल समितिका उपाध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिनुभयो ।

घर-घरमा शौचालय निर्माण गर्नुलाई ‘अभियान’ नाम दिइएपछि त्यस गाविसका जनता अभियान पूरा गर्न कम्मर कसेर लागेका छन् । २ दिने अनुगमनका लागि लोहारपानी पुगेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक तिलक केसीका अनुसार दश फिट गहिराई भएका खाडलहरु खनेर त्यहाका बासिन्दाले आˆनो शौचालय निर्माण गरिरहेका छन् । घरमा शौचालय नहुदा बोतलमा पानी बोकेर बारीको काल्ना र जंगलतिर जानुपर्ने बाध्यताबाट मुक्ति आउने कुराले आफू निकै खुसी भएको मुर्कुटी बचैनीका कुन्ती महराले बताइन् । गाविस सचिव एवम् सरसफाईर् मुल समितिका अध्यक्ष यज्ञबहादुर भण्डारीले बैशाख १५ गतेसम्म खुल्ला दिसामुक्त घोषणा गरेका वडामध्ये २, ३,४,५ र ७ लाई प्रथम पुरस्कारको रुपमा रु ६० हजार प्रदान गरिने भएको छ भने त्यसैगरी बैशाख मसान्तसम्म घोषणा गर्नेहरुलाई दोश्रो पुरस्कारका रुपमा रु. ४० छुट्याइए पनि त्यो कसैले पाउन सकेनन् । जेष्ठ मसान्तसम्म घोषणा गर्नेलाई तेश्रो पुरस्कार ३० हजार छुट्याइको छ त्यस्तै असार मसान्तसम्म घोषणा गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरिएको जानकारी दिनुभयो ।

प्रेस चौतारीको अध्यक्षमा केसी

दाङ/प्रेस चौतारी नेपाल दाङ शाखाको शनिबार सम्पन्न जिल्ला भेलाले दुर्गालाल केसीको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समितिका पदाधिकारीहरुमा उपाध्यक्ष टिका बस्नेत, सचिव संगीत बस्याल, सह-सचिव रीता लामा र कोषाध्यक्ष विमल योगी रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा निमुसंगम घर्ती, सुनिता चौधरी, नवीन नेपाली, उज्ज्वल आचार्य, दशरथ घिमिरे, इन्द्रविवश डिसी, लोकराज साधक, शिव घर्ती, प्रेमविवश घर्ती, बसन्तविवश आचार्य, गोकर्ण पौडेल, ओपेन्द्र बस्नेत, प्रेमबहादुर राम्जा र पुरन चौधरी रहनुभएको छ ।भेलामा इन्द्रविवश डिसीलाई प्रेस चौतारी पुरस्कार-२०६८ र रिता लामालाई सविन पि्रयासनले स्थापना गर्नुभएको कृष्णजीत प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । दुवै पुरस्कारको राशी जनही २ हजार ५ सय र प्रशंसा-पत्र रहेको छ । त्यस्तै सो अवसरमा संस्थामा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने पद्यमप्रसाद शर्मा, नारायण तर्ताल र निरास पाण्डेलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

झण्डै डेढ करोडको औषधी निःशुल्क वितरण

हुमा कार्की, दाङ/जिल्ला जनस्वास्थ्य कार्यालय दाङले आर्थिक वर्ष ०६६/६७ मा १ करोड ३९ लाख ६२ हजार मूल्यको औषधी निःशुल्क वितरण गरेको जनाएको छ । उक्त औषधी जिल्लामा रहेका स्वास्थ्य चौकी, उप-स्वास्थ्य चौकी र प्राथमिक स्वास्थकेन्द्रमार्फत् स्थानीय जनतालाई निःशुल्क वितरण गरिएको हो ।आर्थिक वर्ष ०६७/६८ मा भने ५० लाख मूल्य बराबरको औषधि खरिद गरी वितरण गर्ने तयारी गरेको कार्यालयले जनाएको छ । क्षेत्रीय मेडिकल स्टोर, आपूर्ति व्यवस्थापन महाशाखा र खरिद प्रक्रियाबाट औषधि खरिद गरी निःशुल्करुपमा प्रदान गर्ने गरेको जिल्ला जनस्वास्थ कार्यालय दाङका औषधी किपर प्रमुख पूर्णचन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार अहिले जिल्ला जनस्वास्थ कार्यालयबाट ८० प्रकारका औषधी प्रदान गरिदै आएको छ ।

ग्रामीण क्षेत्रका जनतामा स्वास्थ्य पहुँच पुर्‍याउने उद्देश्यका साथ २०६३ सालदेखि निःशुल्क औषधी वितरण गर्न थालिएको पौडेलले बताउनुभयो । यसबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सहयोग पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख केशवराज पण्डितको भनाई छ । अहिले जिल्ला जनस्वास्थ्य कार्यालय दाङबाट झाडापखाला, म्यादे ज्वरो, क्षयरोग, परिवार नियोजनका साधन, बढी मात्रामा स्वास्थ्यकेन्द्रमा जाने गरेको बताइएको छ । कार्यालयले ३/३ महिनामा औषधि दिने नियम भएपनि स्वास्थ्यकेन्द्रको आवश्यकताअनुसार औषधी दिइने कार्यालयका प्रमुख पण्डितले जानकारी दिनुभयो ।कार्यालयले प्रदान गर्ने औषधी अन्य स्वास्थ्यकेन्द्रले बिक्री वितरण गरेको पाइएमा कार्वाही गर्ने प्रावधान रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट वितरित औषधीको अनुगमनका लागि प्रत्येक १/१ महिनामा अनुगमन गरिरहेको पनि पण्डितले बताउनुभयो ।

कृषि विकास बैंकद्वारा समुदायलाई सहयोग

घोराही/कृषि विकास बैङ्कले आफ्नो आम्दानीबाट देशभरि ३५ लाख रुपैयाँ बराबरको सामाजिक/सामुदायिक कार्यक्रम सञ्चालन गरी समुदायलाई सहयोग गरेको छ । बैङ्कले शुक्रबार राप्ती अञ्चलमा २ लाख ५० हजार बराबरको सहयोग वितरण गरेको छ ।

बैङ्कले स्वर्गद्धारी आश्रम प्युठानलाई ५० हजार रुपैयाँ बराबरको खानेपानी ट्याङ्की, राप्ती साहित्य परिषद्लाई ४० हजार बराबरको स्टिलको ग्लासडोर, बुककेश प्रदान गरेको छ । त्यसैगरी नेपाल अपाङ्ग संघ झिङ्गौरालाई ३० हजार बराबरको हृवील चियर, रोल्पाको सामुदायिक अल्लो धागो तथा कपडा उद्योगलाई २० हजार बराबरको कडाई मेसिन, गढवा बहुमुखी क्याम्पसलाई ३० हजार बराबरका पुस्तक, रोल्पाको शहीद देविग स्मृति जनकृषि सहकारी संस्थालाई ४० हजार बराबरको सिलाई मेसिन, एकता टोल विकास संस्था तुलसीपुरलाई १५ हजार बराबरको नगद र सल्यान खलङ्गामा खानेपानी धारा निर्माणका लागि २५ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कृषि विकास बैङ्कका क्षेत्रीय निर्देशक रेशमराज विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैङ्कका सूचना अधिकृत खिमबहादुर अधिकारीले गर्नुभएको थियो ।

द्वन्द्वपीडितलाई कम्प्युटर शिक्षा

दाङ/स्थानीय शान्ति समिति दाङले द्वन्द्वपीडितका परिवारलाई कम्प्युटर शिक्षा दिन थालेको छ । दैनिक जीवनमा कम्प्युटर अनिवार्य बन्दै जान थालेपछि द्वन्द्वमा परेका पीडित परिवारलाई शान्ति समितिले कम्प्युटर शिक्षा दिन थालेको हो ।शान्ति समितिले अहिले आभारभुत कोर्शका लागि १५ जनाको कोटा निर्धारण गरी कम्प्युटर शिक्षा दिन थालेको छ । कम्प्युटर सिक्नको लागि १७ जना द्वन्द्वपीडितको निवेदन आएपनि १५ जनाको मात्रै मन्त्रालयले कोटा निर्धारण गरेको शान्ति समितिले दाङले जानकारी दिएको छ । यही जेठ २२ गतेदेखि सञ्चालन गरिने कम्प्युटर शिक्षाका लागि मन्त्रालयबाट नै प्रशिक्षक आउने संयोजक केसीले बताउनुभयो ।

त्यसैगरी समितिले विभिन्न आयआर्जन र सीपमुलक तालिमअन्तर्गत २० जनालाई मैनबत्ती बनाउने ५ दिने तालिम, सोलार बत्ती जोड्नेलगायतका तालिम प्रशिक्षणहरु दिन थालेको समितिका संयोजक तुलसा केसीले जानकारी दिनुभयो । कम्प्युटर शिक्षा र सोलार बत्ती जडान गर्ने तालिमको बजेट मन्त्रालयबाट आउने भएपनि हाउस वाइरिङ तालिम जिल्लाको शान्ति समितिले दिने गरेको उहाले वताउनुभयो । हाउस वाइरिङका लागि ५० हजार रकम छुट्टाएर दिन थालेको शान्ति समितिले जानकारी दिएको छ । पिभी टेक्नीसियनको तालिममा २० जनाको सहभागी गराउने लक्ष्य भएपनि हालसम्म कसैको निवेदन नआइपुगेको पनि संयोजक केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *