सरकारको नेतृत्व गर्न माओवादीलाई एमालेको प्रस्ताव

  
  प्रकाशित मितिः सोमवार, जेष्ठ २३, २०६८       | 131 Views   ||

माओवादी र एमालेबीच छलफल

काठमाण्डौ/नेकपा एमालेले चक्रीय प्रणालीबाट सहमतीय सरकार गठन गर्न एकीकृत नेकपा माओवादीलाई प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी नेताहरुसँग सहमतिको सरकार बनाउनेबारे भएको छलफलमा एमालेले आलोपालो प्रणालीअन्तर्गत पहिलो चरणमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीलाई दिने प्रस्तावसहित पाँचबुँदे सहमति कार्यान्वयनको कार्ययोजना पेश गरेको छ ।

शनिबार भएको छलफलमा सहभागी एमाले नेता एवम् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले एमालेले गरेको निर्णयअनुसार शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनको खाका माओवादीसमक्ष पेश गरेको बताउनुभयो । प्रधानमन्त्रीका सल्लाहकार ज्वालाले एमालेले शान्ति प्रक्रियाका मुलभूत काम पूरा गरी संविधान जारी नहुँदासम्म असार १५ गतेभित्र माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गर्ने प्रस्ताव आफूहरुले गरेको बताउनुभयो । बैठकमा माओवादी र एमालेका नेताहरुले शान्ति प्रक्रियाका बारेमा आ-आफ्नो दलका धारणा राखेका थिए । सत्तारुढ दुई दलबीच सरकारका कामकाजलाई प्रभावकारी बनाउने र राष्ट्रिय सहमतिको वातावरण तयार पार्ने विषयमा सहमति भएको थियो ।

मंसिर १४ गते नयाँ संविधान घोषणा भइसकेपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने प्रस्ताव एमालेले राखेको छ । एमालेले एक साताभित्र सुरक्षा निकायमा समायोजन गर्ने लडाकूको संख्या, समायोजनको मोडालिटी र पुनःस्र्थापनाको टुङ्गो लगाउने, जेठ मसान्तभित्र लडाकुहरुको हातहतियार कन्टेनरहरुमा राखी साँचो विशेष समितिलाई बुझाउने, माओवादी नेताहरुको दोहोरो सुरक्षा अन्त्य गर्ने र ५ हजार लडाकूलाई समायोजन गर्ने प्रस्ताव तयार पारेको छ । यसैगरी भदौ १४ गतेपछि तीन महिना संविधानसभाको म्याद थपी मंसिर १४ गतेभित्र नयाँ संविधान जारी गर्ने एमालेको प्रस्ताव रहेको छ । बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई, महासचिव रामबहादुर थापा ‘बादल’ र अनन्त सहभागी थिए भने एमालेबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनाल, नेताहरु प्रकाश ज्वाला, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *