सेना समायोजनसँगै स्वास्थ्यकर्मीहरुको व्यवस्थापन जरुरी

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 131 Views   ||

– [दिपेन्द्र घर्ती प्रभाकर]

नेपाली जनयुद्धको आवश्यकताले थुप्रै सीप, क्षमता, कला र प्रतिभाहरुको विकास गर्‍यो । यसकै एउटा रुप स्वास्थ्य क्षेत्रमा भएको विकास र प्रगति एउटा महत्वपूर्ण सीप हो । जनयुद्ध थालनीको शुरुवातमा यस्ता दक्ष स्वास्थ्यकर्मी नभएकाले घाइते योद्धाहरुको पीडा निकै करुणादायी बन्ने गर्दथ्यो, जसले पूरै लडाकु टिमको मनोभावना थिलोथिलो र आहात हुने गर्दा आँसु चुहिने गर्दथे । यसो हुँदासमेत कुनै उपाय नभएपछि आँसु पिएर टुलुटुलु हेर्नुसिवाय केही गर्न सकिदैनथ्यो । उपचारको लागि बजारमा पठाउनु दुश्मनको पञ्जामा परि शिकार हुने खतरा हुनाले त्यसो गर्न पनि नसकिने अवस्था थियो । यस्तै पीडादायी दिन बित्दै गए र क्रमशः आवश्यकताले माग गर्‍यो र एक/दुई जना स्वास्थ्यकर्मीहरुको सहभागीता जनसेनाको टिममा हुन थाल्यो । जनसेनाको संरचना र संख्या बढ्दै गएपछि एक/दुई जना स्वास्थ्यकर्मीको संख्याले पुग्ने कुरा भएन । थप आवश्यकताको परिपूर्ति गर्न समय-समयमा जनसेनाका योद्धाहरुलाई स्वास्थ्य सम्बन्धी तालिम तथा प्रशिक्षण गर्दै नाङ्गा खुटे डाक्टर विकासको अवधारणा अनुसार स्वास्थ्यकर्मीहरुको उत्पादन संख्या बढ्दै गएर आफ्नो टिमको लागि आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको सापेक्षित रुपले पूर्ति हुँदै गयो ।

यस्ता खालका स्वास्थ्यकर्मीहरुको तालिम र प्रशिक्षण औपचारिक शिक्षाको जस्तो कुनै भव्य भवनहरुमा तथा किताबहरुको अध्ययनबाट नभई सहयोद्धा घाइते कमरेडहरुको शरिरमा लागेको गोलीको उपचार गर्दै र सिक्दै गरेर नै सक्षम जनडाक्टर निर्माण हुँदै गए । जनयुद्धको लामो अवधिभर कैयौँ यस्ता तालिम प्रशिक्षण भए, त्यही अनुपातमा जनडाक्टरको निर्माण पनि हुँदै आयो । त्यही क्रममा ठूलाठूला लडाइमा भएका घाइतेहरु जसका भयावह र क्षतविक्षत घाउहरुमा उपचार गर्ने, अप्रेसन गर्ने कार्यसमेत गर्न सफल भए । र, गर्नु नै पथ्र्यो पनि । यस्ता अपे्रसन वा उपचार कुनै भवनभित्र वा सुविधासम्पन्न अस्पतालमा नभएर जङ्गलका बीच रुखका बोटमुनि सोत्तरहरु बिछ्याएर हुने गर्दथे । यस्ता कयौँ आपतविपत भोगे जून कुरा भोगेकालाई भन्दा अरुलाई त केवल कथा र कहानीमात्रै बन्न सक्छ । यसरी हरप्रकारका दु.ख र कष्टलाई सहजै पचाउँदै आफ्नो काम र कर्तव्यप्रति अडिग र निष्ठावान् भएर राम्रो र जोखिमपूर्ण सीप आर्जन गरेर जनयुद्धका घाइतेहरुको उपचारलाई थेग्न सक्यो । दुःख कष्टसँगै खेलेर सिकेको यस्तो ज्ञान, सीप र क्षमता निकै परिष्कृत र सक्षम छ । जुन सीप ठूला र भव्य सुबिधासम्पन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले समेत सिक्न सकेका हुँदैनन् । भलै किताबी सैद्दान्तिक ज्ञान प्राप्त गरेका हुन्छन् तर स्वास्थ्य विज्ञानजस्तो क्षेत्रमा सिद्दान्त मात्रै केवल खोक्रो र कागजी ज्ञान बन्छ यदि व्यवहारिकरुपले थप परिमार्जन गर्न सकिएन भने । यस्तै हाम्रा यी जनडाक्टरहरुको पनि सैद्दान्तिक ज्ञानमा अपूर्ण रहन्छ यसलाई पूति गर्नुपर्छ ।

अहिले शान्ति प्रक्रियामा आएपछि यो जनशक्ति कम कामयावी भएर बसेको छ । अहिले क्याम्पमा रहेको स्वास्थ्य उपचार केन्द्रहरुमा नियमित उपचार गरिरहेको छ । तर, युद्धकालको तुलनामा यो अत्यन्तै कम हो । यस्तो जनशक्ति देशभर करिब हजारको संख्यामा रहेको छ । शान्ति प्रक्रियासँगै जनमुक्ति सेना समायोजन प्रक्रियालाई अगाडि बढाउँदा सम्बन्धित सरोकार वालाले यो स्वास्थ्य जनशक्तिलाई पनि उचित किसिमले व्यवस्थापन गर्नुपर्दछ । ता कि उसको सीप र क्षमतालाई सही प्रयोजन र सदुपयोग गर्न सकियोस । जनमुक्ति सेनामा कार्यरत स्वास्थ्यकर्मीहरु मुख्यरुपले सेना नै हो सेनाको नम्सअनुसार समायोजन त हुनु नै पर्दछ तर त्यसभित्रबाट उसको सीप र क्षमतालाई सही ठाउँमा प्रयोग गरि देश विकासको लागि उपयुक्त कामको अवसर दिनुपर्दछ । यदाकदा सुन्ने गरिन्छ, जनमुक्ति सेनाभित्रका स्वास्थ्यकर्मीहरु हिजोको आवश्यकताले जन्मिएको अहिले काम छैन भनेर युद्धकालमा आर्जित सीप क्षमतालाई अबमूल्यन र अवहेलना गर्ने खालका कुराहरु सुन्ने गरिन्छ । यदि यसो भयो भने जनयुद्धको जगबाट देश यो विकास प्रक्रियासँग आइपुगेको कुरालाई लत्याउने कुरा मात्र हो । यसले भीषण युद्धको रापबाट निर्माण भएको स्वास्थ्य पूँजीलाई अवहेलना गरेको नै ठहरिन्छ ।

अबको दिनमा नेपालको शान्ति प्रक्रियाको टुङ्गोसँगै जनयुद्धको क्रममा निर्माण भएको स्वास्थ्यकर्मीहरुलाई व्यवस्थापन गर्ने कुरालाई योजनावद्ध रुपले सोचिनुपर्दछ । यसको लागि पहिलो कुरा, युद्धकालमा हाँसिल गरेको व्यवहारिक स्वास्थ्य ज्ञान जो सैद्दान्तिक रुपमा अपूर्ण छ यसको पूर्णताको लागि सरकार वा राज्यले देशभर रहेको स्वास्थ्य जनशक्तिलाई वृज कोर्षको अवधारणा निर्माण गरि सैद्दान्तिक ज्ञान दिनुपर्दछ । जसले उनीहरुले व्यवहारिकरुपले आर्जन गरेको ज्ञान पुरक बनोस । जहाँ युद्धकालीन स्वास्थ्य ज्ञानको प्रारम्भदेखि विशेषखाले सीपसमेत आर्जन गरेका छन्, यसलाई सोहीअनुरुप ग्रामीण स्वास्थ्य कार्यकर्तादेखि विभिन्न तह हुँदै डाक्टरसम्म तह निर्धारण गर्नु पर्दछ । अब व्यवस्थापन प्रक्रियासँगै यो स्वास्थ्य जनशक्तिलाई सेना समायोजनपछि आफ्नो क्याम्पभित्र निर्माण हुने स्वास्थ्य संस्था वा अस्पतालहरुमा सेटिङ गरिनुपर्दछ । साथै अहिले अस्थायीरुपमा क्याम्प रहेका ठाउँहरुमा जनताले हाल पाइरहेको स्वास्थ्य सेवालाई निरन्तर दिइरहनलाई ती ठाउँहरुमा स्वास्थ्य संस्था खडा गरि यी स्वास्थ्य जनशक्तिलाई व्यवस्थापन गर्नुपर्दछ ।
(लेखक जनमुक्ति सेना नेपाल पाँचौँ डिभिजनका स्वास्थ्य विभाग प्रमुख हुनुहुन्छ ।)

छाडा चौपाया र भाते बमको नियन्त्रण हुन्छ त ?

– [गोविन्द खड्का]

छाडा चौपाया र कालो प्लाष्टिकमा पोका पारी बीच सडकमा फालिएको भातका कारण घोराहीमा दुर्घटना बढेको नगरपालिका, ट्राफिक र सरोकारवालाहरुको निष्कर्ष निस्कियो । अहिले प्रहरी र नगरपालिकाका कर्मचारीहरु माइकिङ गर्दै बजारमा दौडिन्छन् त्यसमा दलहरुले पनि हौसला दिएका छन् । हुन त हाम्रो बानी त्यति राम्रो छैन । कसैले अफिस कोठामा कार्पेट लगाएर चिटिक्क पारेको छ भने हामी जुत्ता खोल्न जान्दैनौँ र जुत्तैसँग भित्र पसिदिन्छौँ । फलफूल खान पायौँ भने बोक्रा फाल्न कसैले कार्टुन थापेको छ भने पनि बाहिर फालिदिन्छौँ । हामीलाई अरुभन्दा सफा र फरक बन्न रहर छ र त्यसो गर्दा मजा पनि लाग्छ तर अरुको फोहरले आफूलाई असर गर्ने, आफ्नो तडकभडकले समाजमा पार्ने प्रभावका बारेमा हामी कहिल्यै सोच्नेसम्म पनि आँट गर्दैनौँ । हामी जे गर्छौँ अरु कसैका लागि गरिदिएको महशुस गर्ने चलन छ । कसैले वृक्षारोपण भन्यो आयोजकका लागि, कुलोपानी बनायो गाउँलेका लागि, सडक बाटो सरसफाई गर्‍यो बटुवाहरुका लागि, शौचालय बनायो अभियान चलाउनेहरुका लागि, गाडी कन्ट्रोल हुन नसक्ने गरी स्पिडमा दौडायो ट्राफिक प्रहरीका लागि, छाडा चौपाया बजारमा छाड्यो, फोहर फाल्यो, बाटो मिचेर पसल राख्यो, घरटहरा बनायो नगरपालिकाका लागि, जथाभावी ठेला राख्यो, निर्माणका सामाग्री थुपार्‍यो प्रहरीका लागि भनिन्छ । सडकमा बेवारिसे छाडेका पशुहरु दुर्घटनामा मरे भने क्षतिपूर्ति माग्दै मान्छे सडकमा सुत्नसमेत बेर लाउदैन ।

घोराही नगरपालिका कार्यालयले जेठ १७ गते आयोजना गरेको छाडा चौपाया र दुर्घटना न्यूनीकरण विषयक छलफल कार्यक्रममा रिपोर्ट पेश गर्दै जिल्ला प्रहरी कार्यालयका सई तुला अधिकारीले अँध्यारोमा गाडी हाँक्दा बाटोमा प्लाष्टिकभित्र भातका पोका भेटाएपछि विष्फोटक पदार्थ हुन सक्ने आशङ्कामा गाडि मोड्नु परेको अनुभूति सुनाए । त्यसैगरी उनले बाटोमा जथाभावी छोडिएका चौपायाका कारण घटनास्थलमा समयमा पुग्न नसकिएको उदाहरण पनि पेश गरे । त्यस्तै तोकिएको ठाउँमा गाडि नराखी चोक वरपर मकै, काफल, माछा, मासु, फलफूल लगायतका वस्तुहरु ठेलामा राखी विक्री गर्दा सडक साँघुरो भएको छ । बीच सडकमा निर्माण सामग्री, मोटरसाइकलका ग्यारेज र बैंक र वित्तीय संस्थालगायतका संघ संस्था, सरकारी र गैरसरकारी कार्यालयहरु सडक अवरोधका कारक बनिरहेका छन् । उनीहरुले गाडि पार्किङको व्यवस्था नगरेकाले सेवाग्राहीले बाटोमै गाडि रोक्छ र आवागमनमा समस्या पार्छ । हेर्दा शिक्षित तर काम बिगारिरहेका हुन्छन् । केही भन्न खोज्यो आँखा लगाउँछन् । बीच बाटोमा गाडि राखिएको हुन्छ प्रहरीले आफ्नो निरिहता र वाध्यता एकैसाथ पोखे । यसैगरी नगरपालिकाले सरसफाई शुल्क असुल गर्ने नाममा सार्वजनिक स्थलमा जथाभावी घरटहरा बनाउनेलाई वैधानिकता दिएकाले पनि सुरक्षा व्यवस्थामा समस्या उब्जिएको छ । टोलबासीले सामाजिक वातावरण विगार्ने गतिविधि खुलेआम गर्दा पनि नियन्त्रणमा चासो दिदैनन् ।

व्यापारीहरुले घडेरीको लागि भनेर जमीन खरीद गर्ने तर घर बनाउनुभन्दा ढ्याब्ली राख्नेलाई भाडामा दिएर फाइदा असुल्ने कामले सडक अतिक्रमण हुँदै गएको छ । धनीले धेरै ठेला र रिक्सा खरीद गर्ने र भाडा असुल्ने प्रतिष्पर्धाका कारण यसको सङ्ख्यामा हृवात्तै बढेको भनाई छ । एक सयको हाराहारीमा रहेका ठेला हृवात्तै ढाईसय कसरी नाघे स्वीकृति कसले दियो ? तरकारी फलफूलदेखि कष्मेटिक सामान पनि ठेलामा राखिएको छ । खास सब्जिमण्डीबाहेकको क्षेत्रमा बाँस गाडेर अतिक्रमण छ । बजारमा पसलबाट परसम्म पाल टाँगेर फिजाएका सामान प्रहरीले उठाउन लगाउँदै हिड्छ पछिबाट पसलेले फिज्दै आउँछ । पेट्रोल पम्पहरु गाडिले बाटो बन्द गर्ने गरी राखिएका छन् । जसले गर्दा तेल हाल्नको लागि पुरै सडक बजार जाम हुने गर्छ । यस्ता सामानका पसलहरु सडकबाट टाढा हुनुपर्छ । मान्छेहरु सार्वजनिक जग्गामा जथाभावी बसेको छ उठाउनका लागि प्रहरी गयो भने तथानाम गाली गर्छ, आन्दोलनको घोषणा गरेर लडाईमा उत्रन्छ । सडक मिचिने गरी छाप्रो हालेर भूमिहीन भनेर बसिदिन्छ । भूमिहिनको प्रमाण के हो ? व्यवस्थित गर्ने निकाय कुन हो ?

मासु पूरै दुषित छ । मरेका काटेपनि, रोगी काटेर खुवाएपनि चेक जाँच छैन । हो, पनि कसैले गुणस्तर जाँचेर गल्ती पत्ता लगाउला भन्नु छैन । सबैभन्दा रोगी ब्रोइलर हुन्छ तर मर्न लाग्यो भने त्यो कतिले खाडलमा फाल्छन् कतिले छिटोछिटो काटेर fraje मा हाल्छन् । मासुको गुणस्तर जाँच गर्ने निकाय कुन हो ? प्राविधिक ज्ञान नभई नगरपालिकाले सिफारिस दिएर वैध र स्वस्थ हुने हो भने पैसाले चोखो पारेर ट्याक्सको मुख मात्रै ताकेर कहिलेसम्म नगरबासीको जिन्दगी घिसार्दै लैजाने हो ? पानी, ढल र फोहर उठाउनमा समस्या छ, पैसा आउँछ आयश्रोत बढ्छ भन्दैमा मानव स्वास्थ्यमा हानी पुर्‍याउने कुरालाई वैधता दिनु त भएन नि ? नगरपालिकाले यसअघि शहर व्यवस्थित गर्न कब्जा गरिएका छाडा पशु ठेला रिक्साको उल्टो क्षतिपूर्ति दिने र उनिहरु समक्ष माफी माग्ने जस्तो गलत काम गरेकाले उनीहरुको अराजकता बढेको बैठकमा निश्कर्ष निकाले । अबका दिनमा नियमानुसार जरिवाना गर्न नगरपालिकालाई सल्लाह दिए । नियम पुर्‍याएर लिलाम गर्न सुझाव दिए । छलफल राजनैतिक दलका वोर्ड प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, प्रहरी प्रमुख ठाकुर ज्ञवाली, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, टोलविकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा भएको थियो । अब सक्छन् ? नगरबासीले सुधार अरु कसैको लागि होईन हाम्रो हो भनेर नियमको पालना गर्न तयार छन् ? नगरपालिका, प्रहरी, राजनैतिक दल र सरोकारवालाहरुले एक मुख भएर एक हप्ताभित्र फुटपाथ व्यापार हटाई सडकलाई व्यवस्थित गर्ने, अहिले अस्थायी र १५ दिनभित्र स्थायी कान्जिहाउसको निर्माण गर्ने छाडा पशु चौपाया थुन्ने, तीन दिनभित्र निर्माण सामग्री नहटाउनेलाई जरिवाना गर्ने तथा बैंकलगायतका संघ संस्था एवम् कार्यालयहरुलाई पार्किङको व्यवस्था गर्न सल्लाह दिने लगायतका निर्णय गरेको छ । कार्यान्वयनमा हामी साथ दिन सक्छौँ या सक्दैनौँ ? यसैमा नगरको सुन्दर वा कुरुप भविष्य अडिएको छ ।

जनयुद्ध, परिवर्तन र मधेशी समुदाय

– [बसन्तकुमार गुप्ता]

जनता इतिहासका निर्माता हुन् भन्ने कुरामा दुईमत छैन । २०५२ साल फागुन १ गतेका दिन तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको शुरुवात गरियो । जनताले एउटा सानो खुकुरी, कोदालोबाट शुरु गरेको युद्धले यति ठूलो गति लियो कि गाउँ, बस्ती र जिल्लामा सामाजिक जागरणको लहर चल्यो । सामन्तावाद दिन प्रतिदिन ध्वस्त हुँदै गयो, जनयुद्धको रापले र तापले सामन्तवादको जग हल्लिन थाल्यो । त्यतिबेला जनयुद्धमा मधेशी समूदायको उपस्थिति पातलो थियो । मधेशी समुदायमा वामपन्थी विचारधाराको इतिहास जति नै लामो भएपनि वामपन्थीहरुको उपस्थिति केही खास क्षेत्रमा मात्र रहेको थियो । २०५६/०५७ सालतिर पहाडी क्षेत्रमा जनयुद्धले सफलता पाउँदै गएपछि नेकपा माओवादी पार्टीले मधेश रणनीतिमा जोड दिएको पाइन्छ । त्यसैक्रममा नेकपा माओवादीले गरीब, किसान, मजदूर तप्काका सम्पूर्ण आम मधेशी र विशेष गरी मधेशी युवायुवतीहरुमा आफ्नो ध्यान केन्दि्रत गरेर तत्कालीन नेकपा माओवादी पार्टीले २०५७ सालमा पार्टी अध्यक्ष प्रचण्डको प्रमुख उपस्थितिमा मधेशी राष्ट्रिय मुक्तिमोर्चा नेपालको गठन गरियो ।

नेकपा माओवादी पार्टीले राष्ट्रिय रुपमा मधेश र मधेशी समूदायहरुमा राजनैतिक र वैचारिक चेतना प्रदान गरेर एक किसिमको मुक्तिको बाटो पार्टीले प्रदान गरेको हो । माओवादी पार्टी मात्र एउटा यस्तो राष्ट्रिय पार्टी हो जसले मधेशी समूदायका मुश्लिम समूदायका, दलित समूदायका मुलभूत समस्याहरुलाई सैद्धान्तिक रुपमा स्वीकार गर्दै धेरै हदसम्म व्यवहारमा उतार्ने कोशिस समेत गरेको छ । देशमा विद्यमान उत्पीडन, विभेद, अशिक्षा, गरीबी, बेरोजगारी र धनी गरीब बीचको ठूलो खाडललाई सम्याउने काम गर्‍यो । नेकपा माओवादी पार्टीले सम्पूर्ण नेपाली जनताका माझमा वर्गसंघर्ष लगायतका वर्गीय विचार, वर्गीय नाता, वर्गीय चिन्तन जस्ता कुराहरुलाई जनयुद्ध मार्फत् अघि बढाउदै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, समानता र  संघीयताको कुरा उठाउँदै २ सय ४० वर्षको सामन्ती एकात्मक राज्य प्रणालीको अन्त्य गर्दै सामन्ती राजतन्त्रलाई घुँडा टेकायो । माओवादी पार्टीले सञ्चालन गरेको जनयुद्धको जगमा २०६५ जेठ १५ गतेका दिन हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्‍यो । इतिहासबाटै राजा ज्ञानेन्द्र नारायणहिटीबाट बहिर्गमन हुँदै सामान्य नागरिकमा रुपान्तरित हुन पुग्यो र देशको सबैभन्दा ठूलो र विशाल राजनीतिक शक्तिको रुपमा एकीकृत नेकपा माओवादी उदायो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री अध्यक्ष प्रचण्ड भए । अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछि राम्रा राम्रा कामहरुको शुरुवात भएकै हुन् । तर देशीय प्रतिक्रियावाद र विदेशी शक्तिकेन्द्रहरुले माओवादी नेतृत्वको सरकारलाई अघि बढ्न दिएनन् । परिणामतः प्रधान सेनापति प्रकरणको विषयबाट प्रचण्ड नेतृत्वको सरकार स्वतः हटन पुग्यो ।

पछिल्लोचरण पार्टीभित्र देखिएको अन्तरसंर्घष र मतभेदले पार्टीका नेता, कार्यकर्तामा निरास बढाउँदै लगेको छ । पार्टीभित्रको आन्तरिक विवादले गर्दा देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेल पनि ज्यादै बढ्दै गइरहेको छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादी तत्वहरु पनि पार्टीभित्र पसेर चलखेल गर्ने र पार्टीलाई कमजोर बनाउने कोशिसमा सक्रियतापूर्वक लागेका छन् । तर हाम्रो पार्टी राष्ट्रियता बोकेको र १३ हजार वीरगति प्राप्त गरेका सहिदहरुको पार्टी हो भनेर ती देशी विदेशी प्रतिक्रियावादीहरुले बुझ्न जरुरी छ । माओवादी पार्टी जनताको गरीब किसान मजदूर लगायत सम्पूर्ण शोषित उत्पीडित नेपाली जनताको पार्टी हो । यद्यपी पार्टीभित्रका शिर्ष नेताहरुको आपसी मतभेद दलभित्रको आन्तरिक विवादलाई अन्त्य गर्ने नेतृत्व वर्गको दायित्व र धर्म पनि हो । सम्पूर्ण नेतृत्व वर्गले आफूलाई संयमित र धैर्यवान बनाउन अत्यन्तै जरुरी छ । किनभने मधेशी समूदाय लगायत सम्पूर्ण शोषित उत्पीडित, गरीब निमुखाहरुको आशा र भरोसाको केन्द्रविन्दु भनेको एकीकृत नेकपा माओवादी पार्टी नै हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *