जिल्लाको समग्र अर्थतन्त्रलाई माथि उठाउन अध्यक्षमा मेरो उम्मेद्वारी हो

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 137 Views   ||

यहाँ दाङ उद्योग वाणिज्य संघको महासचिव हुनुहुन्छ, जिल्लामा रहेका उद्योग व्यवसायहरुको अवस्थाको बारेमा बताइदिनुहोस् न ?

२०२७ बैसाख ४ गते प्यूठानको खैरामा बुवा शशीधर वैद्य र आमा जानका वैद्यको कोखबाट जन्मनुभएका मधुसूदन वैद्य अहिले दाङ उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्छ । २०४६ सालदेखि नै व्यापार, व्यवसायमा लाग्नुभएका वैद्यले लामो समयदेखि उद्योगी व्यवसायीहरुको साझा संगठन उद्योग वाणिज्य संघका विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको छ । शैक्षिक रुपमा एम.ए, वि.कम. र वि.एड. गरिसक्नुभएका उहाँ व्यापार व्यवसायका साथै विगत दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । पछिल्लो चरणमा पत्रकारिताभन्दा बढी उद्योग व्यवसायीहरुको संगठन उद्योग वाणिज्य संघमा क्रियाशील वैद्यसँग जिल्लाको उद्योग व्यवसायको अवस्था, अर्थतन्त्र र नजिकै आइरहेको दाङ उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।”]
– [मधुसूदन वैद्य (महासचिव), दाङ उद्योग वाणिज्य संघ

पछिल्ला वर्षहरुमा दाङ जिल्लामा उद्योगहरु खुल्ने क्रम अलि बढी छ । जिल्लामा सञ्चालनमा आएका उद्योगहरुमा इट्टाभट्टा, कोइला, फर्निचर, पोल्ट्री, डेरी, चामल तथा तेल मिल, प्रेस, मसला जस्ता उद्योगहरुको अवस्था सन्तोषजनक देखिन्छ । सिमेन्ट उद्योगहरु सञ्चालन प्रक्रिया शुरु हुन लागिरहेकाले अझैँ मूल्याङ्कन गरिसक्ने अवस्था आइसकेको छैन । यो वर्ष मात्रै दाङमा ४ वटा मिनरल वाटर उद्योग सञ्चालनमा आएका छन् भने ३ वटा ग्याँस उद्योगहरु सञ्चालनका लागि कानूनी प्रक्रियामा छन् । तुलसीपुरमा ठूलो स्केलको फ्लोर मिल सञ्चालन प्रक्रियामा छ । दाङ र राप्ती अञ्चलको अवस्था मूल्याङ्कन गर्दा मह प्रशोधन केन्द्र र जडिबुटीसँग सम्बन्धित उद्योगको आवश्यकता अत्यन्तै खड्केको छ ।

उद्योग वाणिज्य संघको नेतृत्वमा रहि यहाँहरुले ३ वर्षमा गरेको कामकाजको बारेमा पनि छोटकरीमा बताइदिनुहोस् न ?

यस कार्यकालको सरसर्ती मूल्याङ्कन गर्दा त्यति ठूला उल्लेखनीय कार्यहरु नभएपनि सामान्य रुपमा जिल्लाको आर्थिक विकास र सामरिक सरोकारका विषयमा उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका बहन गर्दै आएको छ । पहिलो वर्ष तत्कालीन नेपाल सरकारले ल्याएको युवा स्वरोजगारको तालिम छोटो समयमा अत्यन्त प्रभावकारी ढङ्गले करिब ८ हजार व्यक्तिलाई १२ दिनको अवधिमा दिइएको थियो । दाङ-सुर्खेत सडकलाई अविलम्ब निर्माण गरि गाडी सञ्चालन गर्न दाङ, सुर्खेत र सल्यानका सरोकारवालालाई हापुरेमा बोलाई बृहत सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरियो । दाङ जिल्ला अस्पतालको स्तर वृद्धि गरि राप्ती उपक्षेत्रीय अस्पताल निर्माण गर्न उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैगरी लामो समयदेखि दाङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्न पाएको थिएन । यसपटकको महासंघको राप्ती अञ्चल प्रतिनिधि तथा केन्द्रीय सदस्यमा सर्वसम्मत रुपमा दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षलाई निर्वाचित गराउन सफल भइयो । त्यसैगरी सन् २०११ लाई नेपाल पर्यटन वर्ष मनाउने क्रममा जिल्ला विकास समिति लगायतका ५ वटा विभिन्न संघ संस्थासँग सहकार्य गरि राप्ती पर्यटन महोत्सव घोराहीमा सम्पन्न गरियो ।

जिल्लाको अर्थतन्त्रलाई माथि उठाउनमा उद्योग वाणिज्य संघले खेल्नसक्ने भूमिकाको बारेमा अलि प्रष्टयाइदिनुहोस न् ?

जिल्लाको अर्थतन्त्रलाई माथि उठाउन उद्योग वाणिज्य संघको अत्यन्त ठूलो भूमिका रहन्छ । जिल्लामा खुलेका उद्योगहरुको औद्योगिक वातावरण निर्माण गर्ने, बजारीकरण गर्ने तथा लामो समयसम्म सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गर्ने र सञ्चालनमा आउन लागेका उद्योगहरुको पूर्वाधार निर्माण गर्न सरोकारवालालाई घच्घच्याउने काम उद्योग वाणिज्य संघले गर्दछ । जिल्लाको आर्थिक विकासका लागि सम्भाव्य क्षेत्रको पहिचान गरी राज्य पक्ष र निजी क्षेत्रलाई संयोजन गरी बजेट विनियोजन गर्न लगाउने, दाङको आर्थिक विकासको आधार कृषि, पर्यटन र साना उद्योग भएकाले सो क्षेत्रमा राज्य र निजी पक्षलाई लगानी गर्न उपयुक्त वातावरण निर्माण गराउने भूमिका खेल्दछ ।

अब चुनावी प्रसङ्गतिर लागौँ,  तपाईहरुको चुनाव नजिकिदैछ तयारी कस्तो  भइरहेको छ ?

दाङ उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि यही आउँदो असार ४ गते निर्वाचन हुँदैछ । निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अगाडि बढाइरहेको छ । यसपटकको नेतृत्वलाई सर्वसम्वत रुपमा चयन गर्नलाई सम्बन्धित पक्षहरुसँग पटक-पटक छलफल चलाइरहेका छौँ । पहिलो प्राथमिकता समिति र दोस्रोमा निर्वाचन हो । मैले व्यक्तिगतरुपमा भन्नुपर्दा हाम्रा अग्रज उद्योगी, व्यापारी साथीहरुसँग भेटघाट, सरसल्लाह, सुझाव लिने र आगामी कार्यसमितिका लागि उपयुक्त टिम निर्माण गर्नका लागि आवश्यक पहल गरिरहेका छौँ ।

तपाईको उद्योग वाणिज्य संघमा दर्ता गराइएका व्यवसायीहरुको सङ्ख्या कति छ ?

दाङ उद्योग वाणिज्य संघ जिल्लास्तरीय उद्योग वाणिज्य संघ हो । यसका देउखुरी उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ भालुवाङ र हापुरे उद्योग वाणिज्य संघ शाखाको रुपमा क्रियाशील छन् । सो क्षेत्रका उद्योगी र व्यापारीहरुलाई हाम्रा शाखाहरुले संगठित गरि परिचालन गरिराखेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघ नगरस्तरीय उद्योग वाणिज्य संघ भएकाले सो बाहेक सम्पूर्ण क्षेत्रका उद्योगी, व्यापारीको नेतृत्वदायी भूमिका दाङ उद्योग वाणिज्य संघले गर्दै आएको छ । दाङ उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा मतदाता संख्या १ हजार १४ रहेको छ ।

यहाँ उद्योग वाणिज्य संघको महासचिव पदमा २ कार्यकाल बिताइसक्नुभएको छ र अहिले अध्यक्ष उम्मेदवारको रुपमा मैदानमा खडा हुनुभएको छ । अर्थतन्त्रलाई टेवा पुग्ने गरी व्यवसायिक क्षेत्रलाई माथि उठाउन यहाँले के-कस्ता योजनाहरु बनाउनु भएको छ ?

दाङ उद्योग वाणिज्य संघको अब आउने कार्यसमितिका लागि मैले अध्यक्ष पदको लागि उम्मेदवारी दिदैछु । एक कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल सचिव र दुई कार्यकाल महासचिवको जिम्मेवारी बहन गरेकाले अबको अध्यक्ष हुने पालो मेरो हो । यस जिल्लाको समग्र अर्थतन्त्रलाई माथि उठाई यस जिल्लाका उद्योगी, व्यापारीहरुको व्यवसायिक सुरक्षा, हक अधिकारको संरक्षण, जिम्मेवारी र दायित्वको वहन मेरो पहिलो प्राथमिकता हो । स्थानीय निकाय र सरोकारवाला संस्थासँग सहकार्य गरी जिल्लाको आर्थिक, भौतिक र सामाजिक विकासको लागि विशेष कार्ययोजना बनाइ अगाडि बढ्ने, दाङ जिल्लामा रहेका सम्पूर्ण राजनैतिक पार्टी स्थानीय प्रशासन, आन्तरिक राजश्व कार्यालय विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी तथा नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी यस क्षेत्रको आर्थिक विकासको लागि लागिपर्ने छु ।

यहाँ अन्य सामाजिक संघ संस्थासँग पनि जोडिनुभएको छ । तर, एउटा व्यवसायिक संस्थाको नेतृत्वको हैसियतबाट हेर्दा हाम्रो समाज आर्थिकरुपले पछाडि परिराख्नुको खास कारण के देख्नुहुन्छ यहाँले ?

हाम्रो समाज आर्थिकरुपमा पछाडि पर्नुको मूल कारण राज्य सञ्चालन, राज्यका विभिन्न निकायमा आसिन भएका व्यक्तिहरुमा रहेको परम्परागत र रुढिग्रस्त चिन्तन नै हो । विश्वको आर्थिक बजारमा देखिएका नयाँ प्रविधिलाई आत्मसात गर्न नसक्नु र निर्वाहमुखी अर्थतन्त्र लागू गर्नु हो । देशको अर्थतन्त्र परनिर्भर भएका कारण विश्वबजारको प्रत्यक्ष हस्तक्षेप भएको छ । त्यसैको चेपुवामा नेपालको अर्थतन्त्र र नेपाली समाज परेको छ ।

साना उद्योग, व्यवसायहरु फष्टाउन नसक्नुको कारण ठूला उद्योग, व्यवसायीहरुले साना उद्योग व्यवसायीहरुलाई दबाउनुले हो भनिन्छ नि यो कुरालाई यहाँले कसरी हेर्नुहुन्छ ?

नेपालमा साना उद्योग फष्टाउन नसक्नुको मूल कारण बहुराष्ट्रिय कम्पनी र विदेशी ठूला लगानीकर्ताद्वारा उत्पादित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु हो । निजीकरणको नाममा सरकार जिम्मेवारीबाट पन्छने, देशमा रहेका अथवा खुल्न लागेका साना उद्योगलाई संरक्षण, सम्वर्द्धन र बजारीकरण गर्ने उपयुक्त कार्ययोजना सरकारसँग नहुँदा साना उद्योग संकटमा परेका छन् ।

अहिले जति पनि व्यापार व्यवसायहरु खुल्दै गएका छन् ती व्यवस्थित हुन सकिरहेका छैनन् भने बेला-बेलामा बजार मूल्यमा अनियमितता र वस्तुको कृत्रिम अभाव सिर्जना हुने गर्छ यो समस्याको हल गर्ने बारेमा यहाँले के सोच बनाउनु भएको छ ?

नेपालको बजार प्रत्यक्ष रुपमा भारतीय बजार र केही मात्रामा भारतबाहेकको अन्तर्राष्ट्रिय बजारमा निर्भर छ । खुला अर्थतन्त्रमा भारत र अन्तर्राष्ट्रिय बजारको प्रभावबाट नेपाली बजारलाई मुक्त गर्न सम्भव छैन । नेपालभित्रै पनि लोडसेडिङ र लगातारको बन्द, हडताल मजदूर र उद्योगीबीचको अन्तरविरोध, औद्योगिक सुरक्षाको प्रभाव नेपाली बजारमा पर्ने गरेको छ । अर्कोतर्फ सरकारले उद्योगी, व्यापारीलाई कुनै सेवा सुविधा नदिने, राज्यका अन्य अङ्गहरुमा सुधारात्मक कुनै काम नगर्ने, केवल उद्योगी व्यापारीसँग राजश्व असुल्ने कुरामा मात्र भएभरका नियम कानूनको भारी बोकाउने परिपाटीले पनि उद्योगी व्यापारीहरुलाई उद्योग र व्यापार सञ्चालन गर्न अप्ठ्यारो परिराखेको छ । साँच्चिकै कृत्रिम अभाव सिर्जना गरेको हो भने त्यस्ता उद्योगी, व्यापारीहरुलाई कानूनी दायरामा ल्याई कार्वाही गर्नुपर्दछ ।

अलिकति फरक प्रसङ्गमा जाऔँ । राजनीति र अर्थतन्त्रलाई सँगै जोडेर हेर्दा अहिले हामी कुन अवस्थामा पुगेका छौँ जस्तो लाग्छ यहाँलाई ?

सामन्तवादी उत्पादन प्रणालीलाई क्रमशः छोड्दै पूँजीवादी राज्यव्यवस्था र उत्पादन प्रणालीलाई आत्मसाथ गर्दै नेपाल अगाडि बढ्न कोशिस गरिरहेको छ । देशको अर्थतन्त्रलाई उकास्न कस्तो किसिमको राजनीतिक प्रणालीको आवश्यकता देख्नुहुन्छ यहाँले ? आर्थिक सम्वृद्धिका लागि राजनैतिक स्थिरता भएको आम उद्योगी व्यापारी जनताको सहभागिता रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासले मात्र नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ र प्रत्येक नेपाली आर्थिकरुपमा सम्बृद्ध बन्न सक्नेछ ।

र, अन्त्यमा चुनाव नजिक आइपुगेका बेला व्यवसायीहरुलाई पत्रिकामार्फत् भन्नुपर्ने केही कुरा छ भने …..?

विभिन्न साधनस्रोत र सम्भाव्य हुँदाहुँदै पनि हाम्रो जिल्लाको समग्र आर्थिक विकास हुन सकिरहेको छैन । यस क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका हामी आफैले बहन गर्नुपर्दछ । म लामो समयदेखि दाङ उद्योग वाणिज्य संघको विभिन्न पदमा जिम्मेवारी बहन गर्दै आइरहेको छु । यसपटकको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएको हुनाले सम्पूर्ण उद्योगी व्यापारी साथीहरुले आफ्नो मतको पूर्ण सदुपयोग गर्नुहुनेछ भन्ने कुरामा पूर्ण आशावादी छु । अन्त्यमा मेरा र दाङ उद्योग वाणिज्य संघका विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा नौलो जनउभार साप्ताहिक टिमका सम्पूर्ण साथीहरुलाई विशेष धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *