– [टीकाराम उदासी]
अझैँ पुजिरहेछन् केही मूर्खहरु ढुङ्गा
र, मागिरहेछन् उसैसँग
समयले निरन्तर सोधिरहेको
एउटा अँध्यारो प्रश्नको उज्यालो जवाफ
तर बीच बाटोमै बसिरहेको ढुङ्गा
चुपचाप-चुपचाप छ
ढुङ्गासँग समयको जवाफ छैन
ढुङ्गा बोलेको कुनै इतिहास छैन
मधुरो-मधुरो बन्दैछ घामको पदचाप
अधुरो-अधुरो बन्दैछ कविताको पङ्क्ति
र, बढिरहेको छ उसैगरी
बेहिसाबसँग भाटहरुको जुलुस
इतिहासको कठघरामा उभिएर
फैसला मागिरहेछन् प्रमिथसहरु
र, केही मूर्खहरु
अझै पुँजीरहेछन् अनवरत ढुङ्गा
जानेहरु गइरहेछन् अनवरत
आफ्नै सपनाहरुको मलाम
बोल्नेहरु बोलिरहेछन् उसरी नै
आफ्नै इतिहास-यात्राविरुद्ध
यो बेला
बतासहरु पनि चुपचाप छन् एकनाससँग
पहाडहरु पनिआश्चर्यमग्न छन् एकनाससँग
नदी, जून र ताराहरु
सबै-सबै चिन्तामग्न छन् एकनाससँग
समयसँग बेखबर
केही महामूर्खहरु भने
ढोगिरहेछन् ढुङ्गा एकनाससँग
र, सोधिरहेछन् आफ्नै असुरक्षित वर्तमानको
निर्जन जङ्गलमा हराइरहेको
कुनै कपटी ज्योतिषीलाई जसरी
ढुङ्गासँग आफ्नो भविष्यवाणी
मानिस नै थियो कुनै बेला
एउटा उज्यालो घामको बाटो छेकेर
अहिले यसरी
बीच बाटैमा बसिरहेको ढुङ्गा
विचारको इन्द्रेणी पनि थियो ऊसँग कुनै बेला
समवेदनाको समुन्द्र पनि थियो ऊसँग कुनै बेला
अचानक भएर
एउटा कमजोर समयसँग पराजित
ऊ भएको छ फगत ढुङ्गा
तर पनि केही मूर्ख मानिसहरु
अझै पनि उसैमाथि चढाइरहेछन् सुन्दर विश्वास
र, अमूल्य आस्थाका रङहरु
उसैगरी पुजिरहेछन्
ईश्वरको कुनै प्रतिमाझैँ
घामको बाटो छेकेर
बीच बाटोमा बसिरहेको ढुङ्गा
र, मागिरहेछन् एकनाससँग
समयले निरन्तर सोधिरहेको
एउटा अँध्यारो प्रश्नको उज्यालो जवाफ
तर बीच बाटोमै बसिरहेको ढुङ्गा
चुपचाप-चुपचाप छ
ढुङ्गासँग समयको जवाफ छैन
ढुङ्गा बोलेको कुनै इतिहास छैन ।
२०६८ जेठ १३, दाङ
It was awesom…thanks alt Tikaram sir for those article..keep it up…..lved it alt….