अञ्जुलीमा भात बाँड्दै हिडेका ती क्षणहरु

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 147 Views   ||

– [मोहित श्रेष्ठ]

नीलो र स्वच्छ आकाश, चराचुरुङ्गीका हुलहरु चिसो हावामा कावा खेल्दै उडिरहेछन् । सूर्यको पहिलो किरणले बिस्तारै धर्ती चुम्न थाल्छ । समय बित्दै जाँदा घाम चर्किन्छ । बैशाख महिनाको चर्को तापसँगै स्वतन्त्र उडिरहेका चराहरु ओझेलमा परिसकेछन् । त्यो अग्लो रोल्पा र प्यूठानको सिमानामा ठडिएको लिस्ने पहाडको जंगल । आक्कल झुक्कल चिसो हावा चलिरहेछ । त्यो दिन एउटा ऐतिहासिक दिन । हामी अत्यन्तै नौलो-नौलो अनुभूति गरिरहेका थियौँ । पहाडको शीरमा जनमुक्ति सेनाले छोपेका छन् । निश्चल हावामा कावा खाँदै चराहरु दायाँ बायाँ गरिरहेछन् । अनि कहिले आकाशिदै त कहिले होचिदै बाजहरु पङ्खा फिजाएर उडिरहेछन् । पटक-पटक झम्टन खोज्दैछन् बाजहरु ।

त्यो बसन्त ऋतुको प्रचण्ड गर्मीको बीचमा पनि वातावरण हरियाली र नयाँ पालुवाहरु झुमिरहेको देख्दा रमाइलो अनुभूति हुन्थ्यो तर मनहरु स्वतन्त्र थिएनन् । केही पर्खाइमा झैँ कुनै ठूलै अनर्थ घटना हुने आशङ्का झैँ मान्छेहरु चुपचाप थिए । जङ्गलका स्याउला सोत्तरमा हिड्दा मान्छेहरुको खस्य्राक-खुस्रुकले एकातिर ध्यान भङ्ग गरिरहेको थियो भने अर्कोतिर बाजहरु फूली र तक्माको प्रलोभनमा र्‍याल चुहाउँदै मान्छे मार्ने अभियान बोकेर हिडिरहेका थिए । ती उनै हुन् जसले मुठ्ठीभर दलाल, नोकरशाही शासकहरुको रक्षार्थ जीवनलाई अपमानित ढङ्गले खेर फाल्दैछन् । मानवरुपी बाजहरु उनै हुन् जसले दुनियाँका बहुसङ्ख्यक उत्पीडित वर्गलाई शोषण, दमन गर्दै सुन्दर बस्तीलाई मसानघाटमा परिणत गर्न खुसी मनाउ गर्दछन् । तिनै बाजहरु पहाडको अर्कोतिर गाउँमा बलात्कार, हत्या, लुटपाट, आगजनीजस्ता जघन्य अपराध बोकेर आइरहेछन् । मानव आकृतिविहीन हुने गरी कत्तिको शरीरमा खुकुरीको धार उध्याएर । अमेरिकाले विश्वमा छोडेका अपराधी युद्धमा झैँ मान्छेहरु जङ्गलको शरणमा दौडिरहेका छन् । वातावरण स्तब्ध छ, मनहरु आक्रोशको ज्वाला बनिरहेछन् ।

समय बित्दै गयो । चर्को घामको रापसँगै जनमुक्ति सेनालाई तिर्खाले सताइरहेको थियो । भोको पेटलाई ठूला-ठूला झोलाका फित्ताहरुले कस्दै उनीहरु एकटकले त्यो तलको बाटो चियाइरहेका छन् । उनीहरुको अनुहारमा भोक र प्यासलाई बिर्सने कोशिस गरिरहेझैँ देखिन्थ्यो । हामी सबै मोर्चाका लागि तयार थियौँ । त्यो जङ्गलको बीच खोल्सामा ठूला-ठूला भाडामा खाना पकाइएको छ । बाफिरहेको थियो भात, मासु तर कसैलाई त्यतातिर ध्यान थिएन । बस, लडाई कतिखेर सुरु हुन्छ ? सबैको ध्यान त्यतै थियो । हामी त कलाकार, हाम्रा सिपाहीहरु कुनै अर्को मोर्चाको लागि आवश्यक तयारीमा जुटेका थिए । त्यसबेला हामी साँस्कृतिक कार्यक्रम दिनका लागि त्यहाँ आइपुगेका थियौँ । अघिल्लो रातको अनिदो र थकाईले हामी बिहानपख मात्र तिनै सिपाहीहरुको सम्पर्कमा पुगेका थियौँ । हाम्रो यात्राको जानकारी पाएर यसरी दुश्मन हाम्रो पिछा गरिरहेको थियो । हामी उसको आगमनको प्रतिक्षामा छिपेर युद्ध लड्ने तयारीमा थियौँ । सिपाहीहरुको अवस्था देखेर हामी मादल र गितारलाई अर्कोतिर थन्क्याएर खोलातिर झर्‍यौँ । हामीसँग दर्जनौ स्वयंसेवकहरु छन् । ओरालोतिर झाडीमा झुण्डिदै हुत्तियौँ । केही क्षणमा पानीका गाग्राहरु त्यो अग्लो पहाडमा पुर्‍याइयो । पाकिसकेको भातलाई प्लास्टिकका ठूल-ठूला थैलामा खन्याइयो । अनि त्यो पनि सिपाहीका लागि भनेर पहाडमा पुर्‍याइयो । अनुभूत गथ्र्यौ हामी मोर्चाबन्दी लडाईको पहिलो रिहर्सल गर्दैछौँ । अझैसम्म लडाईको कुनै सङ्केत छैन । कहाँबाट बम पड्कन्छ, थाहा छैन । केवल प्रतिक्षाका कान ठड्याउँदै हरेक सिपाहीहरुलाई एक-एक अञ्जुली पानी बाड्यौँ । एक-एक अञ्जुली सुख्खा भात बाँडिरह्यौँ । सिपाहीहरु दोहोरो तल माथि दौड्दै आफ्नो फर्मेसन मिलाइरहेका छन् । निपूण देखिन्छन् उनीहरु । बल्ल चाल पाइयो दुश्मनहरु पहाड उक्लदैछन् ।

घडिले दिनको तीन बजेको सङ्केत दियो । अकस्मात बमका धमाकाले पहाड थर्कन थाल्यो । त्यो पारी पाखा प्रतिध्वनिमा सुसाउन थाल्यो । बम, गोलीका आवाजसँगै रुखका हाँगाहरु भुइँमा र्झन थाले । पात र विरुवाका बोक्राहरु लगातार भुइँमा खस्न थाले । सिपाहीहरु एकहातमा बासी भातका डल्ला उठाउँदै मोर्चातिर कुदिरहेका छन् । क्षणभरमै त्यो शान्त र सुन्दर जङ्गल रणमैदानमा परिणत भयो । मान्छेको कोलाहल र चहलपहल त्यत्तिकै बढ्न थाल्यो । गोलीहरु आपसमा बाझाबाझ गरेझैँ बर्षन थाले । एल.एम.जी., जी.पी.एम.जी., एस.एल.आर.जस्ता अत्याधुनिक हतियारसँग सु-सज्जित श्वेत शाही सेनाहरुले वर्षाइरहे गोलीहरु, तर अन्धाधुन्ध । हाम्रा सिपाहीहरुको कोर्डिनेशनका आवाजहरु टड्कारो सुनिन थाल्यो । कतैबाट कसैको उत्साहित र उत्तेजित भावमा आवाज आयो । माछाले ढडिया खोज्दै आएको जस्तो छ, उनीहरु हाम्रो घेराउमा छन् र अगाडि बढ्न सकेका छैनन् । अझै दोहोरो भिडन्त जारी छ । मुठ्ठीहरु कसिएर माथि-माथि उठ्न थाले ।

वनभरि बारुदको धूँवा उडेको छ । बारुदको गन्धले वन ढाकेको छ । तर मन बैरीको विरुद्ध जाइलाग्न हतार छ । हतियारको बलमा मोर्चामा हार्ने श्वेत सेनाको कथा त हामीले पढेकै थियौँ । जहाँसुकै होस् जनतामाथि उत्पीडन मच्चाउने र जनतामै शरण लिदै भागेको दुश्मनको खबर पनि हामीले सुन्यौँ । त्यो उसको लज्जास्पद हारले एकपटक जनतालाई खुसी तुल्यायो । ०५९/१/९ को त्यो मोर्चा सुन्दर समाज निर्माणको लक्ष्य लिएर भिडिरहेका हाम्रा कुशल नायकहरुले मञ्चन गरेको नयाँ सत्य नाटक थियो । करिब २-३ घण्टाजतिको लडाईपछि दिनले हतार गरिरहेको थियो । हतारमा पश्चिम क्षितिज चुम्न बढिरहेको थियो सूर्य । सूर्यको लाल आकृतिले अर्को बिहानी आगमनको आशामा त्यसदिन बिदा लिदै थियो । अब अँध्यारो रातले घर्तीलाई चुम्न थाल्यो । बमका धमाका विस्तारै मत्थर हुँदै गएको आभाष पाइयो । दुश्मन कब्जा भयो कि ? हैन लखेटिन सक्छ । आँकलन सत्य रहेछ । कति दुश्मन मोर्चामा टिक्न नसकेर भागेछन् । कतिको मोर्चामा मृत्यु, कतिपयले हतियार नै छोडेर भागेछन् । हाम्रा कमरेडहरु ५ जनाको सहादत भएछ । मोर्चाबन्दी लडाई केही क्षतिका बाबजुद मोर्चा जितिएछ । गरिबका छोरा मानिएका गरीबमाराहरुलाई अमेरिकी आर्मीले तालिम दिएपनि आखिर उसको हार निश्चित भएछ । उनीहरु त्यहाँबाट फर्किसकेका थिए । त्यस साँझ लडाईको समय पनि सकियो ।

हामी सबै अर्को दिन मात्र जम्मा भयौं । अघिल्लो दिनको लडाईको अनुभूतिहरु पनि ती महान् जनमुक्ति सेनाहरुका मुखबाट व्यक्त भइरहेका थिए । लडाई जित्यौँ, दुश्मनलाई गाउँबाट मात्रै हैन जङ्गलबाटै लखेट्यौँ । ३ वटा एल.एम.जी., १ वटा टू इन्च मोर्टार, १६ थान एस.एल.आर. कब्जा भएछन् । अर्कोतिर हाम्रा सिपाहीबाट जङ्गल सर्च भइरहेको थियो । हामी अरु खबर सुन्न आतुर थियौं । हाम्रा पि्रय कमरेहरु, आमाका सच्चा छोराछोरीको सहादतको खबरले अनायासै आँखा रसाएका थिए । सँगै एकै मोर्चामा लड्दा-लड्दै छोड्नुपरेका उनको पार्थिव शरीरलाई सम्झिएर फेरि एकपटक श्रद्धाले शिर झुकायौँ । कल्पनाको सागरमा डुबुल्की मार्दा ती पि्रय योद्धाहरु जसले ऐतिहासिक महत्वको मोर्चा लडेर जीवनको अन्तिम ढुकढुकीसम्म बारुदसँग लुकामारी खेल्दै अघि बढिरहे, उनै पि्रय कमरेडहरु रगतले लत्पतिएको राइफल माथि-माथि उठाउन खोजिरहेका हुँदा हुन् । आफ्नो रिक्त स्थानमा अर्को सिपाही सहयोद्धालाई बोलाइरहेका हुँदा हुन् । यिनै सम्झनाका पानाहरु फैलाउँदै आँसु पुछ्ने साहस र हिम्मत पनि बटुल्यौं । अझ अगाडि बढ्दै धेरै उच्चताको लडाई लड्न र क्रान्तिलाई विजय विन्दु पुर्‍याउने कसम खान प्रेरित गर्ने ती महान् सहिदहरुलाई अन्तिम सलामी चढाउँदै फेरि अर्को मोर्चामा भेट हुने आशाका साथ सबै योद्धाहरुसँग विदाईको हात मिलाएर हामी आ-आफ्नो मोर्चा सम्हाल्न कार्यक्षेत्रतिर लाग्यौँ ।

२०५९/१/२५, रोल्पा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *