तँ लाहुरे कि म लाहुरे

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 150 Views   ||

– [सूर्य सुवेदी पथिक]

एक जना लाहुरे विदामा आफ्नो घर पहाडतिर र्फकदै थियो । आफ्ना सामान बोक्ने भरिया पनि सँगै लिएर हिडेको थियो । उकालो बाटोमा भरियाले हिड्न अप्ठ्यारो भयो जुत्ता चाहियो भन्यो । लाहुरेले आफ्नो सैनिक जुत्ता फुकालेर दियो । अलि पर पुगेपछि बोक्न असजिलो भो कमिज चाहियो भन्यो त्यो पनि लाहुरेले दियो । अलि पर गएपछि पाइन्ट पनि भरियाले मागेर लियो । यसरी एक/एक सामान भरियाले माग्दै अन्तत गाउँ आउन लाग्दै गर्दा भरियाले एक्कासी लाहुरेलाई ‘तँ लाहुरे हैन, मै लाहुरे हुँ’ भन्दै हप्काएको कथा छ । नेपालको राजनीतिमा पनि यही लाहुरेको दुर्दशा जस्तै देखा पर्दै गएको छ ।

माओवादीले दश वर्षको भीषण वर्गयुद्धबाट नयाँ विचार नेपाली समाजमा स्थापित गरायो । यी नयाँ विचारहरू भनेका नेपाली समाजमा रहेका वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गकि विभेदको अन्त्य र समानतामुखी समाजको स्थापना नै प्रमुख हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षेता आदि यस बीचमा हामीले प्राप्त गरेका केही उपलब्धिहरू हुन् । बाँकी मुख्य उपलब्धि हासिल गर्न संविधानसभामा बहस केन्दि्रत भइरहेको छ । जीवन र मृत्युको दोसाँधमा अहिले संविधानसभा आफ्नो अन्तिम प्रसव पीडाबाट गुजि्ररहेको छ । यो संविधानसभाले जनताको अपेक्षाअनुसार श्रमजिवी जनताको हक अधिकार सुनिश्चित गरेको नयाँ संविधानरूपी बच्चा दिने हो कि, प्रतिक्रियावादी वर्गले इच्छाएको कुरूप मृत बच्चा जन्माउने हो त्यो प्रतिक्षाकै विषय बनिरहेको छ । यही बीचमा माथि उल्लेखित लाहुरेको कथा यहाँ दोहोर्‍याइदैछ । राजा ज्ञानेन्द्रको जोडदार लात खाएर एकाएक भरियामा विस्थापित र शरणार्थी भएका संसदवादी दलहरूलाई लाहुरेको रूपमा माओवादीले आश्रय दियो र सँगै जनताको बस्तीमा लिएर हिड्यो । कथामा झैँ विस्तारै विस्तारै लाहुरेसँग गणतन्त्ररूपी जुत्ता लियो, संघीयतारूपी पाइन्ट उतार्‍यो, धर्मनिरपेक्षरूपी सर्ट फुकालेर लाहुरेलाई नाङ्गो बनाउँदै अन्ततः लाहुरेजस्तो संसदवादीहरूले गरिरहेका छन् । नेपाली राजनीतिको अहिलेको कटु यथार्थ नै यही हो । अब अन्तिममा लाहुरेले लुकाएर बोकेको पेस्तोल पनि माग्दैछन् । यस बेलासम्म पनि हुस्सु लाहुरेको होस अझै खुलेको छैन । ऊ त्यो दिन पनि तयार भएर बसेको छ । अहिले खाली भरिया र पेस्तोलको के सम्बन्ध हुन्छ र यसले मागिरहेको छ भनेर लाहुरे गम्दैछ । फाटफुट गाउँले सहयात्रीले पनि यो संवाद सुनिरहेका छन् र लाहुरेले पेस्तोल नबुझाओस् भन्ने सल्लाह दिइरहेका छन् । यात्रा जारी छ, लाहुरे बडो दोधारमा परिरहेको छ । भन्न त घरसम्म पुगौँ म दिउँला भनिरहेको छ । बहस जारी छ र यो कथा अझ पूर्ण भएको छैन । हेर्दै जाउँ लाहुरेको हतियार के हुन्छ ?

यो लाहुरेको कथा बाहिर वर्गसंघर्षमा मात्र लागू भइरहेको छैन । हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा माओवादीभित्र अझ प्रखर रूपमा देखा पर्दै गइरहेको छ । अभाव, गरिबीबाट छट्पटिएको घरपरिवारलाई बचाउन लाहुरे बन्ने निधो गर्दा उसले आफ्ना भाइ-दाइ र वरपरकालई पनि अनुरोध गरेको थियो । जाउँ केही कमाई गरेर घर र गाउँको मुहार फेरौँ । केही जोखिम त थियो युद्धमा मारिने वा अङ्गभङ्ग हुने । तर सुन्दर गाउँ र घरको सपना त्यो हिम्मतिलो ठिटोले गर्दा आफ्ना सबै इष्टमित्रले स्वीकार गरे । कुलङ्घार घोषणा गरे र अब आइन्दा १२ हातको पनि साइनो छैन भन्ने सार्वजानिक घोषणा गरे । लाहुरेको विरुद्धको ज्यादती यतिमा मात्र सीमित भएन । केही लालबुझक्कडले भन्दै थिए ऊ लाहुरे बन्ने ल्याकतै राख्दैन । ऊ असफल बन्नेछ, जब ऊ लाहुरे बनि छाड्यो तब विरोध गर्नेहरूले उसको कष्टकर तालिमलाई खिसिटिउरी गरे । उसका लडाईका मोर्चाहरूप्रति नफरत गरे । कतिपयले त मोर्चामै ऊ ढलेको कामना र अपेक्षा गरे । लाहुरेको मृत्युमा उसले आर्जन गरेको सम्पति खाने सपना पनि देखे । जे-जे गर्दा लाहुरेलाई चोट र क्षति पुग्छ यी कष्टकर १० वर्षको लाहुरे कालमा त्यही गरे । तर जब अनेकौँ षड्यन्त्र र जालझेललाई परास्त गर्दै लाहुरे सफल भयो तब उसका आफन्त र वरपरकाले पुनः अर्को नाटक गरे । अन्तिम युद्ध लाहुरेले लड्न बाँकी नै थियो । यसका लागि आफ्ना साथीभाइ, इष्टमित्र र गाउँलेलाई लाहुर लिएर जान ऊ घर फर्किदै थियो । नेकपा माओवादी यहीरूपमा शान्ति प्रक्रियामा प्रवेश गरेको थियो । नयाँ विचार र नयाँ नेपालको सपनासहित उसले जनयुद्धका दौरानमा नेपालको कम्युनिष्ट आन्दोलनमा अनेकौँ नयाँ र समृद्ध अनुभव हासिल गरेको थियो । उसका यी नवीन र समृद्ध अनुभव अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत व्यापक प्रयोग र स्थापित हुँदै गएका थिए १० वर्षमा उसले चामत्कारिक विकास पनि गर्‍यो । क्रान्तिको अन्तिम चरण पूरा गर्न ऊ नेपाली जनताको व्यापक र अभेद्य किल्ला निर्माण गर्न जनतामा खुल्ला र शान्तिपूर्णरूपमा संविधानसभाको कार्यनीति अंगिकार गरी राजधानी र शहरमा आयो । यसै दौरानमा क्रान्तिकै इच्छासहित थुप्रै मतभेद र विगतको कटु इतिहास र धोकाधडीका बाबजूद कम्युनिस्ट क्रान्तिकारीहरूको एउटै केन्द्र निर्माण गर्ने उद्देश्यका साथ धमाधम पार्टी एकताहरू हुँदै गए ।

पार्टीहरू नेकपा माओवादीमा आउनु र एकीकृत हुनु अत्यन्त राम्रो हो । तर, नेकपा माओवादी अन्य पार्टीहरूमा जानु र गलत सम्झौता गर्नु अत्यन्त खतरनाक र क्रान्तिका लागि गद्धारीसरह बन्दै जान्छ । यी चार वर्षमा हामीले पछिल्लो प्रक्रिया बढी अबलम्बन गरेजस्तो देखिएको छ । यसको गम्भीर समीक्षा गर्नै पर्दछ, किन पार्टी आफ्नो उद्देश्यबाट क्रमशः कोशौं टाढा पर भागिरहेको छ ? सुदृढ एकतावद्ध रहेको यो पार्टी गुट उपगुटमा विभाजित भइरहेको छ । अवसरवादलाई एक इन्च पनि ठाउँ नरहेको यो पार्टीमा हेर्दाहेर्दै अवसरवादीहरू छाती खोलेर हिडिरहँदा पनि टुलुटुलु हेरिरहनपर्ने स्थिति किन पैदा भइरहेको छ ? सधैँ वर्गवैरीप्रति आक्रामक र सफल देखिएको हाम्रो पार्टी पछिल्लो कालखण्डमा रक्षात्मक र असफल बन्दै गएको छ । समीक्षा जरुरी छ । हाम्रो पार्टीमाथि वणिर्त लाहुरेको कथाजस्तै बन्दै गएको छ । भरियाको रूपमा सँगै लिएर हिडेका केही कम्युनिस्ट घटकहरूले माओवादरूपी टोपी मागे लाहुरेले दियो पार्टीकै नाम एकीकृत नेकपा माओवादी बनाएर जुत्ता उतार्‍यो । हुँदै नभएका जनताले नपत्याइएका र इतिहासले रद्दीमा मिल्काइएका मान्छेहरूलाई धमाधम केन्द्रदेखि तलसम्म उदारतापूर्वक भर्ति गर्ने रूपमा पाइन्ट मागे लाहुरेले कट्टुसमेत खोलेर दियो । युद्धमा हामीले पनि तँलाई गाउँमा बसेर नै सहयोग गरेका हौँ, तसर्थ तैले लडेको युद्धमा हाम्रो पनि ठूलो लगानी छ, हामीले नै बनाएको योजनामा ता हिडेको होस् भन्दा पनि लाहुरेले त्यो पनि मान्यो र जुत्ता सर्ट पाइन्ट र टोपी उतार्‍यो अहिले भरिया मख्ख छ । लाहुरेका जुत्ता सर्ट पाइन्ट र टोपी लगाइसकेपछि उसलाई लाहुरे नै भएको अनुभुत भएको छ । अब ऊ लाहुरेलाई भरिया बनाउन चाहन्छ । लाहुरेले आर्जन गरेको धनसम्पती मान सम्मान लुट्न र हडप्न षड्यन्त्र गरिरहेको छ । यसका लागि भरियाका कमि कमजोरी, बानी व्यवहारलाई उपयोग गर्ने दाउपेचमा लागिरहेको छ । के साँच्चिकै लाहुरेको दुःखद पतन नै हुन्छ त ? के नेपाली क्रान्तिको दर्दनाक विसर्जन नै हुने हो त ? के क्रान्तिको नायक हाम्रो पार्टीले आफ्नो क्रान्तिकारी इतिहासको विसर्जन गर्नै लागेको हो त ? बिल्कुलै होइन । हामी त्यस्तो कदापी हुन दिने छैनौँ । यो संघर्ष हो । यो एउटा घुम्ती र मोड हो । यो जंगलमा क्षणिकरूपमा बाटो विराएको यात्रुसरह मात्र हो । हामी अगाडि बढ्ने छौँ । अगाडि बढेमा यही पार्टी र नेतृत्वका साथ अगाडि बढ्ने छौँ यदि यही पार्टी र नेतृत्व नबढेमा पनि क्रान्ति जारी रहनेछ । राष्ट्र र जनताका सपना अझै पूरा भएका छैनन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *