भारतमा कठमुल्लावाद

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 129 Views   ||

– [सर्जन गौतम]

१. भारतीय इतिहासमा सम्भवतः हालसम्मकै सर्वाधिक चर्चित चित्रकार एमएफ हुसैनको मृत्यु भएको छ । प्रारम्भमा बलिउड फिल्मको होर्डिङ्स बनाउने काम गरेका यी पेन्टर पछि गएर चर्चित र महङ्गा बन्न पुगे । उनले बनाएका पेन्टिङहरु २० लाख अमेरिकी डलरसम्ममा बिक्री भएका थिए । प्रारम्भमा घोडाका चित्रहरु (सम्भवतः यौनको प्रतिकका रुपमा) बनाएर चर्चित भएका यी कलाकारको विवादास्पद कृति बन्यो हिन्दु ‘आइकन’ सरस्वतीको नग्न चित्र । तर उनको सबैभन्दा विवादास्पद चित्र बन्यो भारतको सम्पूर्ण भूगोल समेट्ने गरी उनले बनाएको नग्न युवतीको चित्र ।

२. हुसेनले प्रष्टिकरण दिइरहे उनले अश्लीलता पस्किन नग्न नारीको चित्र बनाएका होइनन्, भारत माताको सिर्जनात्मकता देखाउन नग्न युवतीको चित्र बनाएको हो -निश्चय नै युवती आमाको रुपमा सिर्जनाको प्रतीक हुन्) । उनको स्पष्टिकरण जेसुकै भएतापनि उनले हिन्दुवादी ग्रुपहरुबाट हिन्दु धर्म र भारतलाई नग्न र अभद्ररुपमा प्रस्तुत गरेको आरोप सहनुपर्‍यो । हिन्दुवादीहरुको यो आरोपसँगै उनले कैयौ कानूनी केसहरु मात्रै होइन, ज्यान मार्ने धम्कीहरु समेत सहनुपर्‍यो ।

३. अन्ततः ज्यानमाथि ठूलै खतरा आएपछि सधैँभरि भारतलाई कर्मभूमि बनाएका, नाङ्गा खुट्टाले हिड्ने र सेतो दारी पाल्ने यी पेन्टर दुबईतिर भासिए । अन्ततः ९५ वर्षको उमेरमा यी पेन्टरको लण्डनमा मृत्यु भयो । हुसेनको पलायनलाई तसलिमा नसरीनको पलायनसँग तुलना गर्ने हो भने के भन्न सकिन्छ भने मुस्लिम कट्टरपन्थीभन्दा सेक्युलर भारतका हिन्दु कठमुल्लावादीहरु पनि कम रुढीग्रस्त छैनन् । धार्मिक कट्टरपन्थले रोपेको साम्प्रदायिकताले भारतलाई भित्रभित्रै खुकुलो बनाएको छ । त्यसैले पटक-पटक बाबरी मस्जिद वा गुजरात दङ्गाहरु भड्किन्छन्, ‘लोकतान्त्रिक’ र ‘सेक्युलर’ भारतमा । अझ यसो भन्न सकिन्छ- साम्प्रदायिकताका बीजहरु धर्ममै अन्तरनिहित छन् ।

४. के भारतमा नग्न चित्रहरु बनाउने हुसैन पहिलो चित्रकार हुन् ? सम्भवतः संसारकै पहिलो कोकशास्त्र लेख्ने वात्स्यायन ऋषिको देश भारत हो । भारतका पुराना मन्दिरहरुका टुडालहरुमा अहिले पनि अनेकन यौन आकृतिहरु भेटिन्छन् । भनिन्छ, बुद्ध धर्मको तीव्र प्रसारलाई रोक्न ती आकृतिहरु बनाइएका थिए । मानिसमा रहेको कामभावलाई प्रयोग गरेर भारतमा हिन्दु धर्मको पुनरुत्थान सम्भव भएको थियो । अहिलेका हिन्दु धर्मका मठाधिसहरुमध्ये अत्याधिक यौनकाण्डमा मुछिने गरेका छन् ।

५. हुसैनमाथि आक्रमण यस कारणले गरियो कि उनी एक मुस्लिम थिए । एक मुस्लिमले हिन्दु देवीहरुका नग्न चित्र बनाउँदा त्यसलाई कलाका दृष्टिबाट होइन, हिन्दु धर्ममाथिको आक्रमणका रुपमा लिइयो । जब कि उनका अत्यधिक पेन्टिङहरु महाभारतबाट प्रभावित देखिन्छन् । त्यसैकारण आˆना अन्तरवार्ताहरुमा भारतमा मर्ने इच्छा व्यक्त गरेका ‘गजगामिनी’, ‘मिनाक्षी’, ‘अ टेल अफ थ्री सिटी’ र ‘थ्रु द आइज अफ पेन्टर’जस्ता वलिउड फिल्मका निर्माता हुसैन भारत आउन सकेनन् । यसले भारत कठमुल्लाहरुको देश हो भन्ने प्रमाणित गर्छ ।

६. रामदेव प्रकरणबाट पनि भारतमा रहेको धार्मिक कट्टरपन अगाडि आएको छ । भारतमा भ्रष्टाचारविरोधी आवाज उठाउन राजनीतिक विचारधारामा आधारित संगठन वा प्रगतिशील नागरिक समाज अगाडि आएन, जोगीहरुको दल अगाडि आयो । भारतीय जनता पार्टी जसले विगतमा अयोध्याकाण्डको राजनीतिक फाइदा उठाउँदै सरकार सम्हाल्ने अवसर पायो, एउटा हिन्दुवादी पार्टी हो । उसले विगत केही समयदेखि नै सत्ता बाहिर रहनुको पीडा भोगिरहेको छ । उसलाई राजनीतिक संघर्षको आधारमा आगामी चुनावमा जित्ने आँट छैन । त्यसैले ऊ रामदेवजस्ता जोगीहरुको आडमा सत्तामा चढ्न चाहन्छ । रामदेवको भोक हड्तालमा भारतीय जनता पार्टी र आरएसएसको संलग्नताको एकमात्र कारण यही हो । रामदेवमाथिको सत्ताको दमनलाई धार्मिक दङ्गा फैलने अवसरको रुपमा प्रयोग गर्नु नै भारतीय जनता पार्टीको चालबाजी हो । रामदेवको कथित सेना निर्माण गर्ने धम्की यही दङ्गा फैलाउने वातावरणको खोजी हो ।

७. यसको अर्थ रामदेवले उठाएका भ्रष्टाचारका मुद्दाहरु गलत छन् भन्ने होइन । तर, उनले उठाएका कतिपय मागहरु युगभन्दा पछिल्ला खालका छन् । संसारबाट नै उन्मुलन हुने तरखरमा रहेको मृत्युदण्डको सजाय दिनुपर्ने माग, एलोपेथिक औषधीहरुलाई प्रतिबन्ध लगाउनुपर्ने माग उनका त्यसप्रकारका पिछडिएका मागहरु हुन् । त्यसभन्दा पनि प्रमुख कुरा उनको आन्दोलनमा राजनीतिक महत्वाकांक्षा प्रकटरुपमा देखिन्छ ।

८. रामदेवले राजनीति गर्न मिल्दैन भन्ने होइन । तर, धार्मिक मागका आधारमा गरिने राजनीतिले समाजलाई जोड्दैन, तोड्छ । बाबरी मस्जिदकाण्ड र गोधरा काण्डले भारतले के कस्ता क्षतिहरु ब्यहोर्नु पर्‍यो सर्वविदितै छ । त्यसरी धार्मिक आधारमा अन्य धर्मलाई होच्याउने, साम्प्रदायिक सद्भाव बिथोल्ने जस्ता कार्यहरु हुन थाले भने त्यसका गम्भीर दुश्परिणामहरु प्राप्त हुन्छन्, राज्यसत्ताले त्यस प्रकारका गतिविधिहरु नियन्त्रित गर्नु स्वभाविक ठहर्छ ।

९. काङ्ग्रेस आई एउटा भ्रष्टहरुको पार्टी हो । वर्तमान मनमोहन सिंहको सरकार त झन खेलदेखि टेलिकमसम्मका अनेकन भ्रष्टचारका प्रकरणहरुमा मुछिएको छ । तर त्यो पार्टीको सकारात्मक विशेषता के छ भने ऊ जन्मेदेखि नै सेक्युलर पार्टी हो । उसले धार्मिक उन्माद फैलाउने खालको राजनीति गर्दैन । तर, चुनावी रणनीतिको रुपमा उसले दुई प्रकारको दाउपेच अपनाउने गरेको छ । प्रथम, हिन्दु कठमुल्लावादीहरु बीचको एकतालाई तोड्ने । द्वितीय, मुस्लिम सन्तुष्टिकरणको नीति सार्वजनिक गर्ने ।

१०. यसै रणनीतिअन्तर्गत उसले रामदेवको आन्दोलनमाथि दमन गरेको हो । यसको उद्देश्य के देखिन्छ भने रामदेवमाथि समर्थन र सहानभूति बढाएर उनको महत्वाकांक्षा बढाउने । ता कि उनी नयाँ राजनीतिक पार्टी खोल्न उद्यत होऊन् । त्यसो भयो भने भारतीय जनता पार्टी र रामदेवको पार्टीको बीचमा भोटहरु काटिन्छन् । जसको सोझो काइदा काङ्ग्रेसलाई हुन्छ । किनकि रामदेव र भारतीय जनता पार्टी दुवैको भोट बैंक कट्टर हिन्दुहरु हुन् ।

११. भारतीय काङ्ग्रेसको भ्रष्टाचार कन्ट्रोल गर्ने कुनै उद्देश्य रहेको छैन । र, हुन पनि सक्दैन । तथापी अन्ना हजारेलगायतले आन्दोलनलाई थामथुम पार्न भ्रष्टाचारविरोधी विधेयक प्रस्तुत गरिन सक्छ । तर पनि काङ्ग्रेसको रणनीति सफल भयो भने भारतीय समाजलाई कठमुल्लावादको आक्रमणबाट चाहिँ रोक्न सक्नेछ । भ्रष्टाचार भारतीय लोकतन्त्रमाथिको खतरा हो । तर, भ्रष्टाचारभन्दा पनि ठूलो खतरा कठमुल्लावादको विकास हो । भ्रष्टाचारको विरुद्ध लड्न नसकेपनि निःशन्देह कठमुल्लावादको विरुद्ध भने भारतीय काङ्ग्रेस नै लड्न सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *