किसानलाई चाहिएजति मल आपूर्तिमा ध्यान देऊ

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 113 Views   ||

वर्षायामको समय शुरु हुन थाल्दा किसानहरुलाई उही पुरानै समस्याले गाँज्न थाल्छ । खेतीका लागि रासायनिक मलको अभाव हुन नदिन दाङका किसानहरुले पर्याप्त मलको व्यवस्था गर्न सरोकारवालाहरुलाई दबाब दिन थालेका छन् । कृषि सामग्री संस्थानमार्फत्  जिल्लास्थित सबै सहकारी संस्थाहरुले सहुलियत दरमा समानुपातिक हिसाबले किसानलाई मल वितरण गर्न थालेपछि किसानले त्यसप्रति आपत्ति प्रकट गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघले गत मंगलबार सौडियारमा किसानहरुलाई जुटाएर अहिले देखिएको मलको अभावका बारेमा सरोकारवालाहरुको ध्यान आर्कषण गराउने काम गर्‍यो । खेतको आलीमा बसेर गरिएको अन्तरक्रिया कार्यक्रममा किसानहरुले औँला उठाउँदै सरोकारवालाहरुलाई समानुपातिक हिसाबले होइन खेतीका लागि चाहिने जति मलको व्यवस्था गरिदिनुपर्ने दबाब दिइरहेका बेला जिल्लास्थित राजनीतिक दलहरुले त्यसमा प्रतिबद्धता जनाए । सरकारले किसानहरुका लागि चाहिएको मात्रामा मलको व्यवस्था गर्न नसके व्यापारीहरुलाई मल ल्याउने बाटो खुल्ला गरिदिनुपर्ने माग राखेका थिए । किसानहरुले यति भनेपछि सरोकारवाला निकायका कर्मचारीहरुले पर्याप्त मल आपूर्तिका लागि तुरुन्तै माथि पहल गर्ने बचनबद्धता किसानहरुलाई दिएर फर्किएका थिए ।

दाङमा धेरै खेतीयोग्य जमीन रहेको छ । यहाँका किसानहरुको जग्गा समान अनुपातमा छैन । यहाँ ५ कठ्ठादेखि ५ विघा खेत भएका किसानसम्मले आफै खेती गरेर जीविकोपार्जन गर्छन् । उनीहरुलाई अनुदानको मल भनि २५ किलो मल दिएर अन्य व्यापारीलाई मल ल्याउनबाट बन्देज गरिनु हुँदैन । व्यापारीलाई मल बिक्री गर्न नदिने भए सरकारले हरेक किसानलाई चाहेजतिको मल उपलब्ध गराउन सक्नुपर्छ । किसानलाई मलको अभाव हुन नदिन पहिले नै पर्याप्त मलको आपूर्ति गरेर सहजता प्रदान गर्ने काममा यहााको कृषि सामग्री संस्थान र अन्य सरोकारवाला निकायको कमजोरी र गैरजिम्मेवारपन देखिदै आएको छ । करिब २२ मेटि्रकटन मलको आवश्यकता पर्ने जिल्लामा चिनी वितरण गरेजस्तो गरी किलोको दरले वितरण गरिएको मलबाट किसानहरुले के राहत पाउँछन् ? जब कि त्यो मलबाट २ कठ्ठा खेतमा हाल्न पुग्दैन । यी सबै कुरा जान्दाजान्दै र बुझ्दा बुझ्दै पनि सम्बन्धित निकायले केही थाहा नपाएझैँ गरी किलोको दरमा समानुपातिक तरिकाले मल बाँड्नु लज्जास्पद काम मात्र हुन जान्छ । देशभर खपत हुने मलको आँकडा निकालेर बाहिरबाट पर्याप्त मल भित्र्याउने कुरामा सरकारको त्यति गम्भीरता र जिम्मेवारीता देखिएको छैन । कृषिप्रधान भनिएर चिनिने देशमा खेतीका लागि राज्यले पर्याप्त मलको व्यवस्था गर्न नसक्नु र स्वदेशमै एउटा मल उत्पादन कम्पनी खोल्न नसक्नुले पनि हाम्रो देशको कृषि अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा बुझ्नलाई गाह्रो छैन ।

बाहिरबाट भनेजति मल भित्र्याउन नसकेपनि खेतीपातीका बेला किसानहरुलाई पर्याप्त मल, बीउ र औषधीको व्यवस्था मिलाइदिने दायित्व र जिम्मेवारी सरकारकै हुन्छ । किसानलाई चाहिने मल, बीउको आपूर्तिमा मात्र होइन बर्षातको समयमा लाग्ने झाडापखालाजस्तो महामारी रोग निवारणका लागि सरकारी पक्ष पहिले नै सजक र तयारी रहनु बुद्धिमानी ठहर्छ जुन एकीकृत जनस्वास्थ्य अभियानमार्फत् सरकारले भाडापखालाको महामारीलाई नियन्त्रण गर्ने कामको थालनी जाजरकोट जिल्लाबाट गरिसकेको छ । यसलाई राम्रो कदमका रुपमा लिन सकिन्छ । स्वास्थ्यमा सजगता अपनाए जसरी खेती शुरु हुनुअघि नै किसानलाई आवश्यकताअनुसार मलको आपूर्ति व्यवस्था सरकारले गरिदिएर उनीहरुलाई राहत प्रदान गर्न आवश्यक छ । सरकारले पर्याप्त मलको व्यवस्था गर्न नसके किसानलाई बाहिरबाट मल ल्याउने छुट सरकारले दिनुपर्दछ । खेतीका बेला किसानहरुले सधैँ मलका लागि आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न यहाँका सरोकारवाला निकाय बेलैमा सजग भई जिल्लामा आवश्यकता अनुसारको मल भित्र्याउन दबाबमूलक पहल बढाउन आवश्यक छ । ता कि यसपटक मलका लागि किसानहरुले सडकमा टाउको फुटाउनु नपरोस् । किसानको आवाजलाई बेलैमा सम्बोधन गर्न सबैले ध्यान केन्दि्रत गरौँ र जिल्लामा मलको अभाव खड्किन नदिन समय अगावै मल आपूर्तिको काममा सबैले जोड दिऔँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *