मध्यपश्चिममा ऐन कार्यान्वयनको अवस्था दयनीय

  
  प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३१, २०६८       | 114 Views   ||

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनसम्बन्धी बृहत छलफल

दाङ/श्रमजीवी पत्रकार ऐन लागू भएको दुईबर्ष बितिसक्दा पनि मध्यपश्चिम क्षेत्रमा यसको कार्यान्वयनको अवस्था दयनीय रहेको मध्यपश्चिमका पत्रकारहरुले बताएका छन् । सरकारले लागू गरेपनि त्यसको कार्यान्वयनमा कोही पनि गम्भीर नभएकाले श्रमजीवी पत्रकारहरुको स्थिति नाजुक हुँदै गएको समेत उनीहरुले बताएका छन् । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहयोगमा नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार घोराहीमा गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सम्बन्धी मध्यपश्चिम क्षेत्रस्तरीय गोष्ठीमा सहभागी राप्ती र भेरी अञ्चलका अगुवा पत्रकारहरुले यस्तो धारणा राखेका हुन् ।

गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिमका १० जिल्लाका अध्यक्ष र सचिवहरुको  सहभागिता रहेको थियो ।गोष्ठीले मध्यपश्चिमभरि नै श्रमजीवी ऐन पूर्णरुपमा कही पनि कार्यान्वयन नभएको, पहाडी जिल्लाहरुको अवस्था झनै संकटग्रस्त रहेको, अन्य जिल्लाको सापेक्षतामा दाङ र बाँकेमा केही कार्यान्वयन भएपनि ऐन पूर्णरुपमा पालना नभएको, राष्ट्रियस्तरका ठूला सञ्चारमाध्यमका जिल्ला प्रतिनिधिहरु सबैभन्दा बढी पीडित रहेको, सञ्चारमाध्यमबाट आउने रकम लाखौँ पुग्दा पनि नपाएको र बाध्य भएर पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । राज्यले बनाएको ऐन कानून अन्य सबै क्षेत्रमा पालना हुने तर सञ्चार क्षेत्रमा पालना नहुनु विडम्बनापूर्ण भन्दै गोष्ठीले श्रमजीवी पत्रकार ऐन कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छ ।

सञ्चालकले मिडिया स्थापना गर्दा र पत्रकारहरु मिडियामा प्रवेश गर्दा दूरदर्शी हिसाबले सम्झौता नगर्दा पनि ऐन कार्यान्वयनमा समस्या आएको गोष्ठीको निष्कर्ष रहेको निचोड प्रस्तुतकर्ता नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवं सल्लाहकार सुशील गौतमले बताउनुभयो । ऐन कार्यान्वयनको अनुगमन गर्ने पाटो पनि कमजोर रहेकाले यस्तो अवस्था आएको र अनुगमनका लागि अब जिल्लास्तरीय संंयन्त्रसमेत तयार पारेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले ऐन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको बताउनुभयो । अहिलेसम्म देशभरि ५० प्रतिशत पत्रकारले नियुक्ति नपाएको उल्लेख गर्दै उहाँले पत्रकारलाई चौबीसै घण्टा काममा लगाउने तर तलब नदिने प्रवृत्ति व्याप्त रहेको बताउनु भयो । समितिले न्यूनतम पारिश्रमिकसम्बन्धी केही प्रावधान पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरिसकेको जनाउँदै असारसम्म पुनरावलोकन गरेर साउनदेखि लागु गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । समितिको नाम पनि परिवर्तन गरेर मिडिया पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड राख्न सरकारलाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।

ऐन कार्यान्वयनको अवस्था अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्य रमेश विष्टले मध्यपश्चिम क्षेत्रका ४५.९ प्रतिशत पत्रकारहरुले ऐनले तोकेको न्यूनतम पारिश्रमिक मासिक ५ हजार २ भन्दा कम तलबमा काम गरिरहेको जानकारी दिनुभयो । सो प्रतिवेदनअनुसार मध्यपश्चिमका ३४.४ प्रतिशत पत्रकारले न्यूनतम पारिश्रमिक पाएका छन् भने न्यूनतमभन्दा बढी पारिश्रमिक पाउनेको संख्या १९ प्रतिशत मात्र छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य डिआर घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम क्षेत्रीय संयोजक सूर्यमणि गौतम, सह-संयोजक प्रभात चलाउने, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, पूर्वकेन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्युठान शाखा अध्यक्ष सुशील पोख्रेल, सल्यान शाखा अध्यक्ष रमेश गौतम, रोल्पा शाखा अध्यक्ष मौसम रोका, जाजरकोट शाखा अध्यक्ष राजेन्द्र कार्की, दैलेख शाखा अध्यक्ष पुष्कर थापा, सुर्खेत शाखा अध्यक्ष दुर्गा थापा, बर्दिया शाखा अध्यक्ष राजेन्द्र धिताल र बाँके शाखा अध्यक्ष शुक्रऋषि चौलागाईले बोल्नुभएको थियो ।

त्यस्तै जिल्लास्थित सञ्चारमाध्यम र सञ्चार संस्थाका करिब एकदर्जन प्रतिनिधिहरुले सञ्चारमाध्यामको अवस्थाका बारेमा बोल्नुभएको थियो । पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव सविन पि्रयासनले गर्नुभएको थियो ।

यसैबीच शनिबार घोराहीमा बसेको महासंघको मध्यपश्चिम क्षेत्रीय समन्वय समितिको बैठकले ६ सदस्यीय सचिवालय समिति गठन गरेको छ । समितिमा क्षेत्रीय संयोजक सूर्यमणि गौतम, सह-संयोजक प्रभात चलाउने, दाङ शाखा अध्यक्ष के.एल. पीडित, बाँके शाखा अध्यक्ष शुक्रऋषि चौलागाई, सुर्खेत शाखा अध्यक्ष दुर्गा थापा र दैलेख शाखा अध्यक्ष पुस्कर थापा रहनुभएको छ । क्षेत्रीय संयोजक सूर्यमणि गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघको क्षेत्रीय कार्यालय सुर्खेतमा राख्ने, प्रत्येक ४/४ महिनामा बैठक बस्ने, क्षेत्रीय स्तरको पुरस्कार स्थापनाका लागि पहल गर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने र पत्रकार सहिदहरु कृष्ण सेन ‘इच्छुक’, डेकेन्द्र थापालगायतका हत्याराहरुलाई कार्बाही गर्न दबाब दिनेलगायतका निर्णय गरेको छ ।

पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ/नेपाल पत्रकार महासंघले विराटनगर लगायत देशभर पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघको शनिबार बसेको आकस्मिक बैठकले सरकारले दोषीमाथि कार्बाही गर्ने प्रतिवद्धता जनाएपनि व्यवहारमा नदेखिएको भन्दै आन्दोलन घोषणा गरेको हो ।

विराटनगरमा पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्नेलाई कारबाही नभए थप आन्दोलन घोषणा गरिने महासंघका अध्यक्ष शिव गाउलेले बताउनु भयो । पत्रकार महासंघले जेठ २९, ३० र ३१ गते आफू कार्यरत सञ्चारमाध्यममा कालोपट्टी बाधेर प्रेसमाथि भएको आक्रमणको विरोधमा काम गर्ने कार्यक्रम तय गरिएको गाउँलले जानकारी दिनुभयो । यसैगरी असार १ गते काठमाडौँको माइतीघर मण्डलामा र देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामग्रीसहित धर्ना दिने, २ गते राजधानी तथा जिल्लामा सम्पादकहरुसाग अन्तरक्रिया गर्ने, ३ गते ट्रेड युनियनसग अन्तरक्रिया गर्ने र ४ गते संविधानसभा भवनदेखि माइतीघर मण्डलासम्म र प्रत्येक जिल्ला सदरमुकाममा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने महासंघद्वारा घोषित कार्यक्रममा जनाइएको छ ।

यसबीचमा विराटनगरमा भएको पत्रकारमाथिको आक्रमणको घटनाका बारेमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगलाई जानकारी गराउने र सो घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न एमालेलाई ज्ञापन पत्र दिने कार्यक्रम पनि तय गरिएको छ ।

मिसन प्रतिवेदन सार्वजनिक

यसैबीच महासंघले विराटनगर घटनाबारे आˆनो मिसनले तयार पारेको प्रतिवेदन शनिबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । महासंघले महासचिव ओम शर्माको संयोजकत्वमा केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने र मोरङ शाखा अध्यक्ष विक्रम निरौला सदस्य रहेको मिसन टोली गठन गरेको थियो । मिसनको प्रारम्भिक प्रतिवेदनमा पत्रकार ढकालमाथि युथफोर्स मोरङका नेता पर्शुराम बस्नेतको निर्देशनमा विराटनगर अध्यक्ष रोहित कोइराला र सदस्य मनोज राइर् सहित दर्जनौँको संलग्नतामा आक्रमण भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा युथफोर्स नेता बस्नेतलाई एमाले जिल्ला समिति मोरङसहित युवा संघ नेपाल र युथ फोर्सले संरक्षण गरेको पनि उल्लेख गरिएको छ । समाचार लेखेको विषयलाई लिएर युथफोर्सका कार्यकर्ताहरुले पत्रकार ढकालमाथि मरणासन्न हुने गरी कुटपीट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *