ओढारमा रात बिताउँदै रोल्पाबाट डोल्पा पुग्यौँ

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 143 Views   ||

– [देवबहादुर बुढा ‘दिनेश’]

समय २०५२ साल साउन २६ गतेतिरको हो । हाम्रो पार्टी नेकपा माओवादीले पुरानो थोत्रिएको राज्यसत्ता ध्वंश गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यले जनयुद्ध थालनी गर्नको लागि जनयुद्धलाई आवश्यक पर्ने ४ तयारीअन्तर्गत राजनैतिक/वैचारिक, सांगठनिक, भौतिक तथा प्राविधिक र आर्थिक तयारी गर्नु थियो । पार्टी केन्द्रको निर्णय र पश्चिमाञ्चल क्षेत्रीय व्युरोको निर्देशनअनुसार डोल्पा जिल्लामा जाने र जडीबुटी खरीद-बिक्री गर्ने दलाललाई मनी एक्सन गर्ने र आर्थिक तयारीको कोटा पूरा गर्ने योजनामुताविक त्यस योजनामा सहभागी हुने अवसर मलाई प्राप्त भयो । त्यसको जानकारी तत्कालीन एरिया इन्चार्ज कमरेड बेहोसीबाट भएको थियो । त्यतिखेर जनमुक्ति सेना निर्माणका लागि वाइसीएलको रिहर्सल गराइन्थ्यो । म त्यो समयमा वाइसीएलमा थिएँ ।

त्यो योजनालाई पूरा गर्नका लागि रोल्पा जिल्लाबाट ३ जनाको कोटा तोकिएको रहेछ । समय अभावका कारण म र कमरेड गणेश मात्र पार्टीको योजनामा जान तयार भयौँ । साउन २६ गते कमरेड बेहोसीले रोल्पाको पाछावाङ्ग-२ बाग्तारेमा जसरी पनि योजना सफल बनाउन निर्देशन दिदै टीका लगाई विदाई गर्नुभयो । विदाई भएर हामी दुइजना हिड्यौँ । रुकुमको रुँघा गाविस सिम्रुतु विश्वेश्वरप्रसाद पोख्रेलको घरमा बास बस्न पुग्यौँ । राति आराम गरेर भोलिपल्ट त्यहाँबाट बिहानै उठेर बैरागीठाँटी, सिम्ली, गरायला हुँदै जाजरकोटको रिम्ना कुन्तबहादुर खड्का ‘क.श्याम’ को घरमा सेल्टर लिन पुग्यौँ । त्यसबेलासम्म हाम्रो टिमको कार्वाही कमाण्डर को हुनुहुन्छ र हाम्रो टिम कति जनाको छ कुनै थाहा थिएन । त्यहाँ पुगेपछि मात्र थाहा भयो कि कार्वाही कमाण्डर कमरेड श्याम नै हुनुहुँदो रहेछ । भोलिपल्ट कमरेड श्यामसहित डोल्पाको लागि यात्रा अगाडि बढायौँ । ठूली भेरीको खोचबाट माथितिर हेर्दा टोपी नै खस्ने असाध्यै अप्ठ्यारो छेकुवा बाटो हुँदै उकालो लाग्यौँ । तलतिर फर्केर हेर्दा आँखा रिङ्ने भीर, सानो डोरेटो बाटो स-साना बुट्यान समाएर मुटु कमाउँदै पसिनाले लुथ्रुक्क भिज्दै तीन/चार घण्टाको लामो उकालो चढेर जुरेली भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ जिल्लाको पार्टी प्रशिक्षण चलिरहेको रहेछ । त्यहाँबाट हामीलाई लिएर जानको लागि डोल्पा जिल्लाको सेक्रेटरी कमरेड नन्द न्यौपाने आउनुभएको थियो । त्यही स्थानबाट स-साना ग्रुपमा विभाजन भई डोल्पा जिल्लाको त्रिपुरा गाविसस्थित कमरेड नन्द न्यौपानेकै घरमा पुग्यौँ । रोल्पाबाट २ जना रुकुमबाट कमरेड तारा र ज्वालालागयत ४ जना, सल्यानबाट कमरेड प्रकाण्ड र जाजरकोटबाट कमरेड श्यामलगायत १० जना गरेर हाम्रो टिम २० जनाको जम्मा भइसकेको थियो । नजिकै पुलिस चौकी थियो । नन्द न्यौपानेका भाइ एमाले थिए । उनीबाट नजर छलेर बच्नु थियो । पार्टीको योजनालाई सुरक्षित गरेर सफल बनाउनु थियो ।

लामो समयसम्म केन्दि्रत भएर बस्न खानको लागि आर्थिकको पनि समस्या थियो । जाली, फटाहा र पुलिसको पनि आँखा छल्नुपर्ने, सुरक्षालाई पनि त्यतिकै ख्याल पुर्‍याउनुपर्ने भएकाले केही दिनका लागि टिम विकेन्दि्रत हुने निर्णय गर्‍यौँ । कमरेड श्यामको कमाण्डमा दलाललाई कार्वाही गर्नको लागि सर्वे गर्ने काममा केही कमरेडहरू लाग्नुभयो । कमरेड ज्वालाको कमाण्डमा स्थानीय कमरेड रामबहादुर चलाउनेसहित जुफाल एयरपोर्टमा काम गर्ने, समय पनि पास गर्ने र आर्थिक कमाएर खाना जुटाउने गरी टिम छुटियो । म पनि काम गर्ने ग्रुपसँग परेको थिएँ । हामीले योजनाको रक्षा गर्न गाउँको बाटो प्रयोग गरेनौ । सहायक बाटो र जङ्गलको बाटो प्रयोग गर्‍यौँ । हामी एकदिन त दिनभरि हिडेर पनि जंगल क्रस गर्न सकेनौँ । जंगलमै रात पर्‍यो । जंगलमै बास बस्यौँ । त्यो ठाउँ समुद्री सतहभन्दा धेरै उँचाइमा रहेको र वर्षायाम भएका कारणले वातावरण निकै चिसो थियो । खोज्दै जाँदा अप्ठ्यारो पहरामा एउटा ओडार भेटियो । त्यसैमा बास बसेर रात काट्ने निधो गर्‍यौँ । जौ र भटमास मिसाएको सातु र तुम्लेटमा बोकेको पानी खायौँ । आफूसँग भएका एक-एक वटा सल झोलाबाट निकाल्यौँ र ओढ्यौँ । ओडार अत्यन्त जोखिमपूर्ण ठाउँमा थियो । त्यहाँबाट फुस्क्यो भने बाँच्ने कुनै आशा नै थिएन ।

हामीले किन त्यस्तो दुःख कष्ट भोग्दै थियौँ भने पार्टीको योजना बचाएर क्रान्तिको जिम्मेवारी पूरा गर्नु थियो । पार्टीले निकट भविष्यमै जनयुद्धको थालनी गर्दै थियो । त्यसैले जनयुद्धमा होमिनको लागि पूर्वाभ्यास गर्नु थियो । त्याग, तपस्या, बलिदानको लागि मानसिक र भौतिकरूपमा तयारी हुनु थियो । त्यस समयमा भारत, फिलिपिन्स, टर्की, पेरुलगायत विश्वका दर्जनौँ मुलुकहरूमा सर्वहारा क्रान्तिको अर्थात् जनयुद्धको आँधीतुफान चलिरहेकाले हामीलाई जनयुद्ध थालनी गर्ने योजनाले निकै उत्साहित बनाएको थियो । ती गाउँ, ठाउँहरूमा हाम्रो लवाई, खवाई र बोलाई केही पनि मिल्दैनथ्यो । त्यसकारणले हामीलाई निकै समस्या परिरहेको थियो । तैपनि भइपरी आउने समस्यासँग संघर्ष गर्दै समस्यामाथि विजय हासिल गरी हामी जुफाल एयरपोर्टमा पुग्यौँ । ज्याला मजदुरीको लागि त्यहाँका ठेकेदारहरूसँग कुराकानी गर्‍यौँ । हामीसँग समयको अभाव थियो, एकहप्ताको लागि मात्र ज्याला मजदूरीको काममा जुट्ने योजना थियो । अफसोच काम लागिसकेपछि काम पूरा गर्ने हो भने लगाइन्छ बीचमा छोडेर जाने हो भने काम नलगाउने भन्ने कुरा ठेकेदारले गरिसकेपछि काम गरेर पैसा कमाएर हात मुख जोड्ने र समय पास गर्ने योजना असफल भयो । त्यसपछि हाम्रो टिम त्यहाँबाट फर्कियो । पुरानै ठाउँ त्रिपुरामा २ वटा टिम केन्दि्रत भयो । आकस्मिक बैठक बसी केही निर्णय गरी नयाँ योजना बनायौँ । हाम्रो नयाँ योजना गाउँ-गाउँमा जाने र जनसेवा कार्यक्रममार्फत जनतालाई सहयोग गर्ने, जनदिशा अपनाएर जनतामा निर्भर रहने बन्यो । त्यही योजनाअनुसार पालङ गाउँमा गयौँ । त्यस गाउँको प्राथमिक स्कूलको फिल्ड निर्माण गर्‍यौँ । अर्को एउटा गाउँमा दुईकोठे ट्वाइलेट निर्माण गर्‍यौँ । ८/१० स्थानमा साँस्कृतिक कार्यक्रम पनि गर्‍यौँ । साँस्कृतिक कार्यक्रम घरको छानामा हुने गर्दथ्यो । घरको छाना माटोका ढलानबाट बनेका थिए । हामी जनताकै बीचमा खायौँ, जनताकै बीचमा बस्याँ र जनतासँगै हास्यौँ, रमायौँ र जनताको बीचमा रहँदासम्म हामीलाई कुनै समस्या परेन । जनताको सहयोग अतुलनीय रहेको थियो ।

भदौ महिनाको लास्टतिर मनी एक्सनका लागि योजना फिक्स भयो । मुख्य दलाललाई फेला पार्ने सम्भावना नभएपछि सहायक दलाललाई एक्सन गर्ने योजना बनायौँ । हामी पालङ गाउँमा बसिरहेका थियौँ । ग्रुपको होल कमाण्डरबाट एक्सनको लागि हामीलाई खबर गर्नुभयो । हामी एक्सनको लागि पूरा तयारीका साथ सेलेक्ट भएर भेरी नदीको किनारै किनार रातारात हिडेर उज्यालो हुनुभन्दा अगाडि कार्वाही स्थलमा पुग्यौँ । आ-आफ्नो पोजिशन सेभ गरेर बस्यौँ । बिहान करिब ८ बजेतिर दलाल हाम्रो टार्गेट प्वाइन्टमा आइपुग्यो । त्यसलाई समात्यौँ समात्दा निकै कराएको थियो र मुखमा पट्टी लगाइदियौँ, हात-खुट्टा बाँधिदियौँ । ऊसँग भएको आवश्यक सरसामान कब्जामा लियौँ । दलाललाई सम्झाई बुझाई आफ्नै घरतिर पठाइदियौँ । हामी त्यही नजिकैको जंगलमा बसेर दिन बितायौँ । साँझ रात परेपछि रातारात हिडेर जाजरकोट जिल्लाको ध्यार गाउँमा आएर आराम गर्‍यौँ । त्यस गाउँमा पनि जनसेवा अभियान चलाएर गोरेटो बाटोलाई खनेर घोरेटो बाटो बनायौँ । त्यहाँका जनताले हामीलाई आफ्नै छोराछारीसरह माया गरेर पालन पोषण गरेका थिए । त्यहाँ धेरै गाई भैसी पाल्दा रहेछन् । हाम्रो ग्रुपलाई पेटभरि दूध, दही, खीर, खुवा खान दिएका थिए । त्यो मेरो मानसपटलमा कहिले नमेटिने गरी जरा गाडेर बसेको छ ।

अहिले पनि झलझल्ती सम्झिरहन्छु त्यहाँका जनताको अपार माया र ममता ।सानदाररूपमा पार्टीको योजना सफल पारेर हाम्रो टिम ४६ दिनपछि पुरानै रुट भएर विकेन्दि्रतरूपमा आ-आफ्नो घर फर्किएको थियो । त्यतिखेरको अवस्थामा त्यो योजना निकै ठूलो, परिणाममुखी र फलदायी थियो । त्यो परिणाममुखी योजनाले जनयुद्ध थालनी गर्नको लागि राजनैतिक र आर्थिकरूपमा आधार तयार गरेको थियो । एउटा मात्र कार्वाही भएपनि जनयुद्धको जग राख्न त्यतिखेरको समयमा हामीले साहस गरेकै हो । त्यसैले अहिले पनि मैले त्यो विगतलाई सम्झिदा गर्वले छाती फुल्ने गर्छ ।

हामी त्यहाँबाट हिडिसकेपछि हामीबाट कार्वाही परेको दलालले कमरेड नन्द न्यौपानेलाई चोरी डाँका मुद्दा लगाइदिएछ र उहाँलाई पुलिसले गिरप्तार गरेर जेलमा राख्यो । ५/६ महिनाको जेलजीवन बिताएर निस्किनुभयो । २०५२ साल मंसिरमा भएको पश्चिमाञ्चल क्षेत्रीय व्युरोको पाछावाङ्गमा भएको राजनैतिक प्रशिक्षणमा एकपटक मात्र नन्द न्यौपानेसँग भेट भएका थियौँ भने कमरेड श्यामसँग त्यही प्रशिक्षणमा एकपटक र जनयुद्ध थालनी भएपछि एकपटक भेट भएका थियौँ ।

त्यसपछि आदरणीय कमरेडहरूसँग भौतिकरूपमा भेट हुन सकिएन । उहाँहरू दुवै जनालाई जनयुद्ध अगाडि बढाउने क्रममा पुलिसको एक जत्थाले गिरप्तार गरी अमानवीय ढंगले हत्या गर्‍यो । कुन्तबहादुर खड्का ‘कमरेड श्याम’ र उहाँकी जीवन संगिनीलाई ती प्रहरीले गिरप्तार गरी सामुहिक बलात्कारपछि हत्या गरेका थिए । उहाँहरूले इतिहासमा आफ्नो नाम कहिले न मेटिने गरी रातो अक्षरले लेख्न सफल हुनुभएको छ । उहाँहरूलाई प्रतिक्रियावादीहरूका पाल्तु कुकुरहरूले विभिन्न किसिमका प्रलोभनहरू देखाएर झुक्न लगाउँदा पनि नझुकेर देश र जनताको लागि आफ्नो मृत्युलाई हाँसी-हाँसी स्वीकार्नुभयो । त्यतिखेर सहकार्य गरेका कमरेडहरू अधिकांश शहीद भइसक्नुभएको छ । उहाँहरूको अधुरा सपना पूरा गर्ने जिम्मेवारी बाँच्नेहरूको काँधमा आएको छ । जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा नपुग्दासम्म सहिदको सपना पूरा हुने छैन । सहिदहरूको सपना साकार पार्नको लागि निरन्तर क्रान्तिको मार्गमा अगाडि बढिरहने छौँ । उहाँहरूले क्रान्तिमा बगाएको रगत खेर जान दिने छैनौँ । उहाँहरूको रगत र बलिदानले क्रान्तिमा अगाडि बढ्ने हामीलाई ठूलो प्रेरणा मिलेको छ र ऊर्जा प्राप्त भएको छ । २०६२/६/८

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *