नेपालमा सबैभन्दा बढी शोषण हुने ठाउँमध्ये मिडिया पनि एक हो

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 167 Views   ||


२०३० सालमा प्यूठानको तिराममा जन्मनुभएका गोविन्द आचार्य अहिले नेपाल सरकार मातहत रहेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष हुनुहुन्छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आउनुभएका आचार्यले जनादेश साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । बी.ए.सम्मको अध्ययन गर्नुभएका पत्रकार आचार्य जनदिशा दैनिकको प्रधान सम्पादक रहनुका साथै यसअघि जनादेश, महिमा, नेपालतारा, मातृभूमि, समीक्षालगायतका दर्जनौँ पत्रपत्रिकाहरु सम्पादन गरिसक्नुभएको छ ।जनपक्षीय पत्रकारिता क्षेत्रको एउटा सशक्त नेताको रुपमा चिनिएका आचार्य पत्रकार शहीद कृष्ण सेन ‘इच्छुक’सँग सहकार्य गर्नुभएको थियो ।पत्रकार महासंघका केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएका आचार्य अहिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको आवाज उठाउँदै श्रमजीवी पत्रकारहरुका लागि लडिरहनुभएको छ । भर्खरै मात्र सो समितिको अध्यक्ष हुनुभएका आचार्यसँग श्रमजीवी पत्रकारहरुको हक, हित अधिकार र त्यसका लागि भइरहेको पहलका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।-सम्पादक”]
– [गोविन्द आचार्य (अध्यक्ष) न्यूनतम पारिश्रमिक निर्धारण समिति

भर्खरै मात्र तपाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष हुनुभएको छ, देशभरमा कस्तो देख्नुहुन्छ श्रमजिवी पत्रकारहरुको अवस्था ?

यतिखेर नेपालका आधाभन्दा बढी श्रमजिवी पत्रकारहरु न्यूनतम पारिश्रमिक र नियुक्ति-पत्रबिना नै काम गर्न वाध्ये भइरहेका छन् ।श्रमजिवी पत्रकारहरुको वास्तविक अवस्थाबारे कुरा गर्ने हो भने त नेपालमा सबैभन्दा बढी शोषण हुने ठाउँमध्ये मिडिया पनि एक हो । राज्यको चौथो अंगका रुपमा सम्मानित सञ्चार क्षेत्रमा श्रमजिवीहरुमाथि यति चर्को शोषण भइरहँदा पनि पत्रकार, कामदार र कर्मचारीहरु संगठित ढंगले अघि बढ्न नसक्नु उनीहरुको कमजोरी हो । श्रमजिवी पत्रकारहरुले चौविसै घण्टा जस्तो काम गर्दा पनि उनीहरुले जीवन निर्वाह गर्न सक्ने गरि पारिश्रमिक पाएका छैनन् । श्रमजिवीहरुका समस्या प्रति राज्य पनि गम्भीर बन्न सकेको छैन ।

पारिश्रमिक निर्धारण समिति बनेपनि श्रमजिवी पत्रकार ऐन लागू हुन नसक्नुको कारण यहाँले के देख्नुहुन्छ ?

श्रमजिवी पत्रकार ऐन लागू हुन नसक्नुका पछाडि मुख्यतः ३ वटा कारण छन् भन्ने मलाई लाग्छ । पहिलो, सरकार नै ऐन कार्यान्वयन प्रति उदासिन बन्नु र ऐन कार्यान्वयन नगर्नेहरु उपर कुनै कार्वाही नगर्नु । दोस्रो, मिडिया सञ्चालकहरुबाटै ऐन लागू नगर्न र उनीहरुमा हामीले जतिसुकै श्रमको शोषण गरेपनि केही फरक पर्दैन भन्ने मानसिकता हुनु । तेस्रो, श्रमजिवी सञ्चारकर्मी आफै ऐन कार्यान्वयन गराउन संगठित ढंगले अघि बढ्न नसक्नु । यी ३ वटा प्रमुख कारण बाहेक यो ऐनलाई राजधानी र मोफसल एवम् ठूला मिडिया र साना लगानीका मिडियामा एकै ढंगले लागू गर्न खोज्नाले पनि केही समस्याहरु देखा परेका छन् ।

तपाई पारिश्रमिक निर्धारण समितिमा आइसकेपछि के-कस्ता कामगर्ने योजना बनाउनुभएके छ र तपाई अध्यक्ष रहेको समितिले गर्ने खास कामको बारेमा पनि बताइदिनुहोस न् ?

यो समितिको काम भनेको सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको तहगत वर्गीकरण र न्यूनतम ज्याला तोक्ने, त्यस्तो ज्याला (पारिश्रमिक) मा बेला-बेलामा पुनरावलोकन गर्ने, श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्ने, वाषिर्क प्रतिवेदन तयार पार्ने तथा नेपाल सरकारले तोकेका अन्य कामहरु गर्ने रहेका छन् । म यो समितिमा आएको जेठ ६ गतेबाट हो । म एकपटक देशभरका साथीहरुको सुझाव लिने, त्यसैगरी समितिका साथीहरुसँग पनि छलफल गरेर श्रमजिवीहरुको हकहितको पक्षमा योजनाबद्ध ढंगले अघि बढ्ने सोचेको छु । अहिले श्रमजिवी पत्रकार, कामदार र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकण गरेर बढाउने छु । मोफसल र साना लगानीमा पत्रकारहरु आफै चलाएका मिडियालाई विशेष राहत र सुविधा दिलाउन पहल हुनेछ ।

तपाई नेपाल पत्रकार महासंघको केन्द्रको उपाध्यक्ष समेत भइ सक्नुभएको छ, त्यहाँ रहेर काम गर्दा संगालेका अनुभूतिका बारेमा छोटकरीमा बताइदिनुहोस् न ?

नेपाल पत्रकार महासंघ भनेको नेपालभरका सबै पत्रकारहरुको साझा संस्था हो । यो कुनै राजनीतिक दल वा संस्थाको प्रभावमा रहेको वा रहने संस्था होइन । म, यसको केन्द्रीय उपाध्यक्ष रहेर ३ वर्षसम्म काम गर्दै यसको स्वरुप र गरिमा बढाउन लागि परे । महासंघमा रहँदासम्म म आफूले श्रमजिवी पत्रकारको हित, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति पत्रकार सुरक्षा, जनअधिकारको रक्षा एवम् सञ्चार क्षेत्रका तमाम समस्या समाधानका लागि सक्दो प्रयत्न गरे भन्ने लाग्छ । यस्ता साझा संस्थामा सबैको सामूहिक प्रयत्न हुने हो र सिंगो नेतृत्व र तल्लो पंक्ति एकढिक्का भएर अघि बढ्ने हो भने धेरै उपलब्धिहरु हासिल गर्न सक्दा रहेछौँ भन्ने अनुभव मलाई भएको छ ।

महासंघको नेतृत्व तहमा रहेर पत्रकारका समस्याहरुका बारेमा त आवाजहरु उठाउँदै आएको कुरा भइहाल्यो तर पत्रकारिताभित्र के-कस्ता समस्याहरु रहेको यहाँले देख्नुभयो ?

हाम्रो पत्रकारिता क्षेत्र समस्या रहित छैन । अहिले पनि हामीले विभिन्न समस्याहरुसँग जुधिरहनुपरेको छ । पत्रकारिता क्षेत्रमा संरचनात्मक विकास त अवश्य भएको छ तर यसको गुणात्मक  विकासतर्फ प्रयाप्त ध्यान जान सकेको छैन । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नहुनु, गणतन्त्रात्मक नेपालको सञ्चार नीति बन्न नसक्नु, पुराना ऐन कानुन र संरचनाहरु यथावतै रहनु, मोफसल र साना लगानीका अखबारहरुलाई राज्यले विभेद् जारी राख्नु, समानुपातिक विज्ञापन नीति लागू हुन नसक्नु । पत्रकारको भौतिक सुरक्षा थप जटिल बन्दै जानु तथा पत्रकारिता क्षेत्रमा विदेशी हस्तक्षेप र प्रभाव बढ्नुलगायतका तमाम समस्या छन् । यसैगरी पत्रकार आचारसंहिताको पालना हुन नसक्दा स्वयम् पत्रकारिता क्षेत्रमा थुप्रै विसंगति देखिन पुगेको छ ।

तपाई पनि दाङकै बासिन्दा भएकाले यहाँको पत्रकारितालाई कसरी हेर्नुहुन्छ ?

हाम्रो सिंगो देशको अवस्थालाई हेर्ने हो भने दाङमा पत्रकारिताको विकास गतिवान दिशामा अघि बढिरहेको देखिन्छ । साथै दाङले जिम्मेवार र मर्यादित पत्रकारिता गरिहेको छ भन्ने मलाई लाग्छ । यहाँका पत्रकारहरुबीचको एकताबाट अन्य क्षेत्रले पनि सिक्नुपर्दछ भन्ने मलाई लाग्दछ ।

पत्रकारिता गर्दै जादा यहाँले विभिन्न कठिनाई, जेल, भूमिगत जीवन, युद्ध पत्रकारिता हुँदै आज सिंगो देशको पत्रकारिताको नेतृत्व गर्ने हैसियतमा उभिन पुग्नुभएको छ, यहाँसम्म आइपुग्दा के पाएको र के गुमाएको जस्तो लाग्छ यहाँलाई ?

व्यक्तिगत रुपमा मैले के पाएँ र के गुमाएँ भनेर हिसाव गर्नुभन्दा पनि मैले यो क्षेत्रबाट देश र जनताको पक्षमा भूमिका निर्वाह गर्न सकेको छु वा छैन भनेर हाम्रो समाजले मूल्याङ्कन गर्ने कुरा हो । यतिखेर हाम्रो मूल्याङ्कन गर्ने बेला भएको छैन । किनकि हामी सबै परीक्षामै छौँ । हामीले देश र जनताको पक्षमा भूमिका खेल्यौँ वा खेलेनौ भन्ने अन्तिम मूल्याङ्कन हुन बाकी नै छ ।

यहाँ क्रान्तिकारी पत्रकार संघको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ, अहिलेको सन्दर्भमा जनपक्षीय पत्रकारिताको महत्वलाई यहाँले कसरी दर्शाउनुहुन्छ ?

पत्रकारिता भनेको विचारप्रवाहको सशक्त माध्याम हो । मान्छेहरुको चेतना निर्माणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । यतिखेर जनविरोधी, प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिहरुले जनतामा भ्रमपूर्ण प्रचारको वाढी चलाउन पत्रकारिता क्षेत्रलाई प्रयोग गरिहेका छन् । उनीहरुले झुठ कुरालाई हजार पटक दोहोर्‍याए भने सत्य बनाउन सकिन्छ भन्ने मान्यता राख्दछन् । जनतालाई गुमराहमा पार्न सकियो भने मात्रै उनीहरुको प्रतिकृयावादी व्यवस्था टिकाउन सकिन्छ र लुटको शासन सञ्चालन गर्न पाइन्छ भन्ने उनीहरुको सोचाई छ । यस प्रकारको प्रवृत्ति विरुद्ध सही सूचनाप्रवाह गर्ने र जनताको वास्तविक आवाजलाई सार्वजनिक गर्ने उद्घोषसहित अहिले जनपक्षीय पत्रकारहरुले आनो मिसन चलाइरहेका छन् । राष्ट्र, जनताको पक्षमा पत्रकारिता गर्नु जनपक्षीय पत्रकारहरुको यतिबेलाको कर्तव्य बनेको छ । जनपक्षीय पत्रकारिताको महत्व हिजोभन्दा आज झन् बढेको छ ।

पत्रकारिताको क्षेत्रबाट अहिलेको राजनीतिलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?

यतिबेला देशको राजनीतिबारे चर्चा गर्ने हो भने मुख्यतः दुईथरी शक्तिहरुबीच भिषण टकराव भइरहेको देखिन्छ । नेपाली काँग्रेससहित यथास्थितिवादी शक्तिहरु देशलाई २०४६ सालमाझैँ संसदीय पूँजीवादी व्यवस्थामै अड्याएर राख्न चाहन्छन् भने माओवादी क्रान्तिकारीहरु देशमा जनताको संघीय गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न लागिपरेका छन् । देशलाई यथास्थितिमै राख्ने वा आमूल परिवर्तनसहित अग्रगामी रुपान्तरण गर्ने यो नै अहिलेको राजनीतिक द्वन्द्वको परिदृश्य हो । यही द्वन्द्वकै कारण शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सकिरहेको छैन र जनपक्षीय संविधान निर्माण हुन सकेको छैन । यथास्थितिवादीहरु जनताको अधिकार स्थापित हुने गरी संविधान बनोस् भन्ने चाहदैनन् । तर आफूलाई प्रगतिवादी र वामपन्थी भन्ने कतिपय शक्तिहरुको ढुलमुले र मध्यपन्थी चरित्रका कारण फेरि पनि जनताको परिवर्तनको चाहना पूरा हुँदैन कि भन्ने चिन्ता देखा परिरहेको छ । यो अवस्थामा अग्रगामी परिवर्तन चाहने जनसमु्दायले एकपटक बृहत दबावको भूमिका खेल्न आवश्यक भइसकेको छ ।

के जनताका अग्रगामी परिवर्तनका सपनाहरु यही अवस्थामा पूरा होलान् यहाँलाई के लाग्छ ?

नेपाली जनताको अग्रगामी परिवर्तनको चाहना  पूरा गर्नका लागि अहिले अत्यन्तै अनुकूल परिस्थिति सिर्जना भएको छ । तर हाम्रा राजनीतिक दलका नेताहरुमा दृढ इच्छाशक्ति र सही कार्ययोजना भएन भने यो परिस्थिति त्यत्तिकै गुम्न पनि सक्छ । नेपाली जनताको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा जनताले पटक-पटक धोका पाएको इतिहास छ । अब फेरि त्यो अवस्था आउन नदिन हामी सबैको खबरदारी आवश्यक छ ।

र, अन्त्यमा हाम्रो जनपक्षीय पत्रिका जनउभार साप्ताहिकबाट भन्न छुटेका केही कुरा भए …. ?

लोकपि्रय जनपक्षीय पत्रिका जनउभार साप्ताहिकमा मेरा भनाईहरु राख्ने मौका दिनुभएकोमा यसप्रति हार्दिक आभार व्यक्त गर्दै, पत्रिकाको अझ उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दछु, धन्यवाद ।

 

One Comment

  • Sujan

    Kina thula kura garnuhun6 Acharya jeu. Aafai sampadak vayeko patrika le patrakar haru lai parisramik dina nasakera alapatra parnuvayeko 6.

Leave a Reply to Sujan Cancel reply

Your email address will not be published. Required fields are marked *