असुरक्षित र जोखिमपूर्ण बन्दै गएको पत्रकारिता

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 124 Views   ||

– [अजयदीप शर्मा]

सञ्चारक्षेत्रलाई समाजको तेस्रो आखा भनेर बुझ्ने गरिन्छ । जनतालाई सूचनाले सू-सूचित गर्नु नै सञ्चार क्षेत्रको उद्देश्य हो भने राज्य र जनताका बीच पुलको भूमिका निर्वाह गर्नु यसको काम हो । राज्यका तीनवटै अङ्गका काम कार्वाहीबारे जनतालाई सूचित गर्ने र जनताका भावना ती अङ्गसमक्ष पुर्‍याउने र कमजोरी औल्याउने काम सञ्चार क्षेत्रले गर्ने भएकाले यो अङ्ग राज्यको चौथो अङ्गका रुपमा पनि स्थापित हुँदै आएको छ । तर मुलुक वा राज्यलाई झक्झकाउने जनतालाई चेतना, ज्ञान र विवेक प्रदान गर्ने सञ्चार वा पत्रकारिता क्षेत्र सबैभन्दा असुरक्षित र जोखिमपूर्ण बन्दै गइराखेको छ । पत्रकारिताको क्षेत्रमाथि आक्रमण हुनु भनेको राज्यलाई अपाङ्ग बनाउनु हो । अपाङ्ग बनेको राज्यबाट जनताले के आशा र के अपेक्षा गर्ने ? जहिले पनि पत्रकारिता क्षेत्र किन आक्रमणको निसाना बन्छ र राज्यबाट त्यो अङ्गमाथि किन कहिले पनि न्याय हुँदैन ? यी र यस्तै प्रश्नहरुको बीचमा सञ्चारक्षेत्रका सञ्चारकर्मीहरु असुरक्षित भयावह र अभावका पोकाहरु बोकेर २४ सै घण्टा सूचना दिने कार्यमा क्रियाशील बन्दै आइरहेका छन् ।

जनताका खबर वा सूचना सम्प्रेसित गर्ने सञ्चारकर्मीहरु सधैँ काम छाडेर आफ्नो सुरक्षाको आवाज ओराल्दै सडकमा उत्रिनुपर्ने बाध्यता रहि आएको छ । एकातिर पत्रकारहरु उचित पारिश्रमिक नपाएर पनि २४ सै घण्टा काम गरिरहनु पर्ने अवस्थामा छन् भने अर्कोतिर खबर सू-सुचित गरेवापत भौतिक आक्रमणको शिकार बन्नु परिरहेको छ । परिवर्तन वा आन्दोलनमा सधैँ अग्रगामी एजेण्डा बोकेर हिड्ने पत्रकारहरु सधैजसो र सबैभन्दा बढी जोखिम, अभाव र खतराको जीवन बाँच्नुपर्ने नियति जस्तै बनेको छ । एउटा पत्रकार आफ्नो जीवनका उर्जाशील र क्रियाशील समय पत्रकारिताका क्षेत्रमा लगाउँछ तर ऊ बिरामी पर्‍यो उपचारका लागि पैसा पाउँदैन । धेरै मेहेनत गरेपनि बाँच्ने आधारको पेशा पत्रकारिता हुन नसक्नु, सुरक्षा नहुनु, सरकारले आक्रमणका दोषीलाई कानूनको दायरामा ल्याउन नसक्नु यी सबै सञ्चारक्षेत्रलाई कमजोर र निरुत्साहित पार्ने खेल हुन् । अहिले पत्रकार क्षेत्रमाथि भइरहेका आक्रमणहरु कुनै नयाँ श्रृङ्खला भने होइनन् तर ती निरन्तर भइरहेका आक्रमणका श्रृङ्खलाहरुलाई रोक्ने काम भने हुन सकिरहेको छैन । पत्रकारमाथिको आक्रमण कुनै राजनीतिक व्यक्तिले गरेको होस् वा समूहले समाचार लेखेको वा बोलेको भरमा उसमाथि आक्रमण गरिनु त्यो अपराधी कार्य हो । सूचनाले सु-सुचित गर्ने पत्रकारलाई दबाएर वा पिटेर सञ्चार वा पत्रकारितालाई दबाउँछ भन्नु त्यो मूर्खता मात्रै हुन्छ । एउटा पत्रकारलाई धम्काएर वा पिटेर आफूले गरेको अपराधलाई लुकाउन सक्छु भन्नु अर्को मूर्खतापूर्ण कार्य हुन्छ । यो संक्रमणकालिन अवस्थामा समाजलाई विखण्डित र अराजकतातिर धकेल्ने शक्तिहरु राजनीतिको कभरमा रहेर समाजमा उत्पात मच्चाइरहेका हुन्छन् । कुनै राजनीतिक कभरमा बेरिएर कुनै व्यक्तिले अपराध गर्छ तर राज्यले उसलाई कानुनको दायरामा ल्याउन नसकेर आफ्नो निरिहता दर्शाउँछ । यसले गर्दा अपराधीले आफूलाई अपराध गर्न छुट दिएको ठान्छ र निरन्तर अपराध वा आक्रमणको श्रृङ्खलालाई बढाउँदै लगि त्यो क्षेत्रलाई आफ्नो प्रभाव वा दबावमा राख्न चाहन्छ । दण्डहिनता र अराजकताभित्र बढ्दै गएको अपराध र गलत व्यवहारलाई जनमानसमा ल्याइदिने काम सञ्चार क्षेत्रले गर्ने हुँदा उसलाई आक्रमणको तारो बनाइएको हुनसक्छ ।

जतिबेला राज्य कमजोर र अस्तव्यस्त बनिराखेको हुन्छ, त्यतिबेला पत्रकारिता क्षेत्रले जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिराखेको हुन्छ जसले गर्दा त्यसमाथि आक्रमण हुने गर्छ । सामान्यरुपमा हेर्दा त एउटा पत्रकार कुनै व्यक्ति वा समूहबाट पिटिएको वा मारिएको हुन्छ तर त्यसले सिङ्गो सञ्चार र समाजमाथि हमला गरिरहेको हुन्छ । यतिबेला विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण भएको छ र उनलाई आक्रमण गर्ने परशुराम बस्नेत राजनीतिक संरक्षणमा बसिरहेका छन् । युथफोर्सका कार्यकर्ता बस्नेतलाई युथफोर्सका केन्द्रीय अध्यक्ष महेश बस्नेतले आफूले संरक्षण गरिरहेको र सक्ने भए प्रहरीले उनीलाई पक्राउ गरेर देखाओस् भनेर राज्यलाई नै चुनौती दिएका छन् । दोषी ठहरिएका परशुरामलाई संरक्षण गरेको आरोपमा बिहीबार प्रहरीले महेश बस्नेतलाई इटहरीबाट पक्रेर साँझ छोडिदिएको थियो । दोषी परशुरामलाई भने सरकारले अहिलेसम्म समात्न सकिरहेको छैन । आफूविरुद्ध समाचार लेखेको भनेर ढकालमाथि कुटपिट हुनु र पिट्ने व्यक्ति सत्तापक्ष प्रभुत्व दलको उच्च नेतृत्वको संरक्षणमा रहेको खुलेआम स्वीकार्नुले के देखाउँछ भने अपराध र अपराधीहरु राजनीतिको वरिपरि घुमिरहेका छन् र राज्यलाई चुनौती दिइरहेका छन् ।

हिजो पत्रकारमाथि आक्रमण हुँदा आक्रमणकारी पत्ता नलागेको भनि पन्छिने राज्य अहिले दोषी पत्ता लागि सकेर पनि त्यसलाई संरक्षण गर्नेहरुलाई कार्वाही गर्न नसक्नु बिडम्बना नै मान्नुपर्छ । अहिले पनि पत्रकारहरुको साझा संगठन पत्रकार महासंघको यही माग छ कि पत्रकार खिलानाथमाथिका आक्रमणकारीलाई कानूनी दायरामा ल्याई कार्वाही गरियोस् । यसमा सरकार कति गम्भीर भएर लाग्छ त्यो त हेर्न बाँकी नै छ । तर पत्रकारका कुरा सुन्ने जस्तो गर्ने तर कार्यान्वयनमा नजाने सरकारको विगतदेखिको चरित्रका कारण दोषीहरु उपर कार्वाही हुनेमा शङ्का रहेको छ । पत्रकारहरु भौतिक सुरक्षा मात्र होइन पेशागतरुपमा पनि सुरक्षित हुन चाहन्छन् अर्थात् पत्रकारिताबाट आर्थिक निर्भर भरथेक हुन चाहन्छन् । राज्यले पत्रकारहरुलाई दिने सेवा सुविधाका साथै सुरक्षाका लागि अब पत्रकारहरु सडकमा कालो व्यानर मात्र बोकेर पुग्ने छैन आवश्यक परे सञ्चार माध्यामहरु नै बन्द गरेर राज्यलाई ठूलो दबाव सिर्जना गर्न आवश्यक छ । जुन दबावमा पाठक, श्रोताको रुपमा आम जनताले साथ र समर्थन दिन आवश्यक छ । महासंघले सुरक्षाको माग राखी पटक-पटक सडकमा गरिने आन्दोलनले मात्र राज्यको ध्यान आकृष्ट हुन नसकिरहेको स्थितिमा ठूलै दबाव दिएर पत्रकारिता क्षेत्रलाई सुरक्षित बलियो र सुनिश्चित आधारको खोजी गरिनुपर्छ । पत्रकारले सुरक्षाको माग गर्दै राज्यलाई दबाव दिइरहेका बेला पत्रकारहरुले आफूभित्रको समस्यालाई पनि हेर्नुपर्छ । पत्रकारितालाई मर्यादित, स्वस्थ र निष्पक्ष बनाउने जिम्मेवारी र कर्तव्य हामी पत्रकारको हो । पत्रकार नागरिक सरहको हैसियतमा रहनुपर्छ । राजनीति अपराध लुक्ने जालो बन्दै गएजस्तै अपराधले पत्रकारिता क्षेत्रलाई सुरक्षाको कभर त बनाइराखेका छैनन यसतर्फ सञ्चारकर्मीहरु सचेत हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *