एकीकृत नेकपा (माओवादी)भित्रको बहसको वास्तविकता

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 126 Views   ||

– [निर्मल आचार्य]

एकीकृत नेकपा माओवादीभित्र अहिले गम्भीर ढङ्गले बहसको शुरुवात भएको छ । कम्युनिष्ट पार्टीभित्र बहस शुरु हुने कुरालाई नराम्रो मान्न सकिन्न । बहस, छलफल र अन्तरसंघर्षबाटै सही विचार, नेतृत्व र कार्यदिशा स्थापित हुने हो । तर, बहसलाई व्यक्तिगत गालीगलौज र तुच्छपनबाट जोगाउनचाहिँ पर्दछ । विगतमा कम्युनिष्टहरुमाथि लाग्ने गरेको ‘कम्युनिष्टहरु फर्सीजस्ता हुन् कुहिएपछि कामै लाग्दैनन्’ भन्ने आरोपलाई असत्य सावित गर्दै क्रान्तिको कार्यभार पूरा गर्ने गरी नै बहसलाई केन्दि्रत गर्नुपर्दछ । अहिले बहसमा वैचारिकभन्दा भावनात्मकताले बढ्ता स्थान पाएको छ । यो भएन र त्यो भएन भनेर पूराका पूरा शक्तिलाई निरासाको अँध्यारो सुरुङमा धकेल्नुभन्दा के हुनुपर्दछ भनेर बहसलाई सञ्चालन गर्दै सिङ्गो पंक्तिलाई क्रान्तिकारी बनाइराख्ने कुरामा क्रान्तिकारीहरु सिपालु हुनुपर्दछ ।

अहिले हाम्रो पार्टीमा देखिएको बहस नेपालमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्नेमा केन्दि्रत गर्न जरुरी छ । क्रान्तिसम्बन्धी आ-आफ्ना धारणा हुँदाहुँदै त्यो धारणालाई कार्यकर्तामाझ नराखेर भावनात्मक रुपमा केही झुण्ड तयार गरेर समानान्तरवादको अभ्यास गरिदैछ । समानान्तरवाद बहुलवाद हो । सिद्धान्तमा बहुलवादको सबैभन्दा धुरन्धर व्याख्याताहरु नै व्यवहारमा समानान्तरवादलाई लागू गरेकाले वर्तमान परिस्थिति अराजकतापूर्ण हुन पुगेको छ । पार्टीले तयार गरेको क्रान्तिको खाकालाई पूरै नकार्ने, आफ्नो प्रष्ट खाका पनि प्रस्तुत नगर्ने र तल तलसम्म भावनात्मक लविङ गर्दै जाने प्रवृत्ति अहिले नेपाली क्रान्तिको ठूलो समस्याको रुपमा देखापरेको छ । यस सानो आलेखमा भावनात्मक होइन क्रान्तिका मोडेल र सोचहरुको बारेमा केही छलफल चलाउन चाहन्छु ।

एक पक्ष अहिले प्रचण्ड र सिङ्गो पार्टी दक्षिणपन्थी भासमा डुबिसक्यो भन्दै पूरै तलैसम्म व्यक्तिगत लान्छना र गालीगलौजमा उत्रिएको छ । त्यो पक्षले भावनात्मक कुरालाई बढ्ता उठाएको छ । पार्टीले अहिले लिएको कार्यदिशा दक्षिणपन्थी सुधारवादी भएको आरोप त लगाएको छ तर क्रान्तिकारी कार्यदिशा के हो भन्ने कुरामा मौन छ । तर्कहरु सुन्दै जाँदा त्यो पक्ष चीनमा सम्पन्न जनवादी क्रान्तिको मोडलबाट मात्रै क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्दछ । चुनवाङबाट लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पूरैका पूरै गलत थियो भन्दछ । भन्दै जाँदा दोस्रो राष्ट्रिय सम्मेलनबाट तय गरिएको गोलमेच सम्मेलन, अन्तरिम संविधान, संविधान सभाको निर्वाचनसम्बन्धी निर्णयलाई पनि गलत ठान्न पुग्दछ । त्यतिमात्रै होइन कमरेड किरणले ‘नेपाली क्रान्तिका समस्या भाग-२’ मा कमरेड प्रचण्डसम्बन्धी गरेको संश्लेषणप्रति पूरै पछुताव व्यक्त गर्दछ । र, २०४५ सालमै कमरेड प्रचण्डलाई महामन्त्री बनाउनु नै गलत पो भयो कि भनेर बहस शुरु हुँदैछ । यो भन्दा पश्चगामी सोच के हुन सक्छ ? यस्ता तर्कहरु मात्र आग्रह या पूर्वाग्रह अथवा बदला लिने हिसाबले मात्र भएका हुन् ? त्यो पनि हुन सक्ला तर मूल कारण अर्कै हो । त्यो भनेको नेपालमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने सोच नै हो । माओले २०औँ शताब्दीमा चीनमा सम्पन्न गर्दाको क्रान्तिको चित्र नै दिमागमा बसिरहेको छ । बराबर सेना निर्माण गर्ने, बराबर भू-भाग  कब्जा गर्ने, दुश्मनरहित आधारइलाका हुँदै सन्तुलनमा पुग्ने अनि राज्यसत्तामा हमला गर्ने तरिकालाई नै दिमागमा सजाएको देखिन्छ । यो आरोप नभएर तथ्यसङ्गत कुरा हो । हिजो तेस्रो विस्तारित बैठकमा, जनयुद्धको शुरुवातमा भएका बहसहरु, आधारइलाका निर्माणका सन्दर्भबाट भएका बहसहरु र अहिले अल्भिmएको बहसलाई सेटमा जोडेर हेर्दा त्यो प्रष्ट नै हुन्छ । अहिले प्रचण्ड र सिङ्गो पार्टी दक्षिणपन्थी भयो भनेर भन्ने तप्काले माओकै तरिकाले नेपालमा क्रान्ति हुन्छ भनेर मानेकै हुन् त ? यति त्यसो हो भने त्यस्तो कार्यक्रम खोई ? होइन भने नयाँ के हो त ? वास्तविक कुरालाई अन्तर्यमा लुकाएर जसरी हुन्छ ‘प्रचण्डलाई हटाउने’ जुन तरिका अबलम्वन गरिएको छ त्यो क्रान्ति हो कि प्रतिक्रान्ति राम्रोसँग ठम्याउनुपर्ने भएको छ ।

यो प्रसङ्गमा एउटा दिलचस्पी कुरा के रहेको छ भने भित्रबाट प्रचण्ड भारतसँग झुक्यो भनेर प्रचार गरिदिने र भारतले पनि कमरेड प्रचण्ड र एकीकृत नेकपा माओवादीलाई सबैभन्दा ठूलो दुश्मन देख्ने यो कागताली कसरी मिल्न गएको छ ? यसलाई बुझ्नै नसकिने पनि भन्न सकिएला तर बुझ्नै नसकिने भन्दा प्रष्ट बुझिने नै बढी छ ।

अर्को पक्ष छ- उसले पनि प्रचण्डले क्रान्ति भड्खालोमा हाल्दैछ भन्दैछ । त्यो समूहको बुझाई प्रचण्डले उग्रवामपन्थी गल्ती गर्दैछन् र क्रान्ति समाप्त गर्दैछन् भन्ने रहेको छ । यो समूहले आफ्ना कुरा प्रस्ट राखेको छ । उसको बुझाईमा क्रान्ति रुसको तरिकाले नै हुन्छ भन्ने रहेको छ । दलालहरुलाई भित्राएर सामन्तवादलाई समाप्त गर्ने अनि पूँजी र मजदूरको विकास सँगसँगै हुन्छ त्यस बीचबाट पैदा हुने सङ्कटले नै क्रान्ति हुन्छ भन्ने बुझाई त्यो समूहको रहेको छ । उसले आधारभूतरुपमै समेत पहलकदमी र बल प्रयोगको विरोध गरेको देखिन्छ ।

के हामी नेपालमा क्रान्ति गर्न रुसजस्तो विद्रोह हुने परिस्थिति आउँछ भनेर पचासौँ वर्ष कुर्न सक्छौँ ? अथवा पूराका पूरा माओका तरिकाहरुलाई लागू गरेर जान सक्दछौँ ? वा वर्तमान विश्व परिस्थिति अनुसार नेपालकै तरिकाले क्रान्ति गर्न सक्छौँ ? यो प्रश्नमा विचार गर्दा हामी पचासौँ वर्ष पर्खिन पनि सक्दैनौँ र पचासौँ वर्षपछि फर्किन पनि सक्दैनौँ । अहिलेको परिस्थितिबाटै, यही टेकेर अगाडि बढ्नुको विकल्प छैन । पर्खने अथवा र्फकने कुरा सोच्दा क्रान्ति नगर्ने भन्ने तथ्य नै बढी हावी हुन्छ । यही तथ्यलाई आत्मसाथ गरेर कमरेड प्रचण्डको नेतृत्वमा एकीकृत नेकपा माओवादीले नेपालमा क्रान्तिको नेतृत्व गर्दैछ ।

पूँजीवादीहरुले एउटा गजबको तर्क निकालेका छन् कम्युनिष्टहरुको र खासगरी माक्र्सको सन्दर्भमा । उनीहरुले माक्र्सलाई टुक्रा-टुक्रा पारेर व्याख्या गर्दैछन् । युवा माक्र्स, प्रौढ माक्र्स, वृद्ध माक्र्स भनेर । मान्छेको जीवनको चिन्तन प्रणालीलाई एउटा उमेरदेखि अर्को उमेरबाट कटाएर व्याख्या गर्ने कुरा कति ठिक हो कति बेठिक हो त्यो त बहसमै छ तर पूँजीपतिहरुलाई फाइदा भयो माक्र्सलाई टुक्राइदिए । अहिले विडम्बना आˆनैभित्रबाट प्रचण्डलाई टुक्राउने प्रक्रिया शुरु हुँदैछ । यो अवधिसम्म ठीक थियो, यहाँबाट बिगि्रयो । कुनै कालखण्डमा सही भएको मानिस कुनै कालखण्डमा गलत हुनै सक्दैन भन्ने मान्यता पनि ठिक होइन, त्यो अधिभूतवाद हो । तर, विचार श्रृङ्खला, व्यक्तित्व निर्माण र नेतृत्व क्षमतालाई कसैको चाहनामा टुक्रा-टुक्रा पारेर बुझ्नु र व्याख्या गर्नु त्यो विज्ञान होइन । त्यो वितण्डता हो । हामी द्वन्द्ववादी हुनुपर्दछ तर ऐतिहासिक भौतिकवादी पनि हुन भुल्नु हुँदैन । द्वन्द्ववाद र ऐतिहासिक भौतिकवाद मिलेर नै माक्र्सवादी दर्शन बन्छ ।

२०४२ सालमा मोहन विक्रमसँग सम्बन्धविच्छेद गरेर एकीकृत नेकपा माओवादी बनेदेखि हालसम्म यो या त्यो रुपमा कमरेड प्रचण्डकै नेतृत्वमा हामी अघि बढिरहेका छौँ । कमरेड प्रचण्ड महामन्त्री चुनिएदेखि २०५२ सालसम्मको अवधि पनि उथलपुथलको अवधि रहृयो । एकताकेन्द्रको निर्माण, संसदीय चुनावको उपयोगका घटनालाई त्यतिबेला पार्टीभित्र या बाहिर खासगरी ँरिम’मा उठ्ने गरेका बहसलाई हामीले बिर्सन सक्दैनौँ । त्यतिबेला पनि हामीलाई ँरिम’ले आˆनो संगठनबाट निस्काशन गरेको थियो । र, भित्रबाट पनि एकथरी युवाहरु यो नेतृत्व र यो पार्टीले गरि खाँदैन भनेर बहस तीव्र ढङ्गले चलेको थियो । तर, ती सब प्रश्नहरुको जवाफ २०५२ सालमा मिलेको थियो ।

जनयुद्धमा हामी कहिले पनि परम्परागत र सिधा बाटोमा हिडेनौँ । चाहे त्यो जनयुद्धको सुरुवातको प्रकृति होस्, चाहे सेना निर्माणको प्रक्रिया होस्, चाहे आधारइलाका निर्माणको चरण होस् हामीले परम्परागत बाटो अबलम्वन गर्दै गरेनौँ । हामी मौलिक तरिकाले नै अगाडि बढ्यौँ ।

जनयुद्धको शुरुवातमा भएको तेस्रो बिस्तारित बैठक, त्यसपछि चौथो बिस्तारित बैठक अनि दोस्रो राष्ट्रिय सम्मेलन, चुनवाङ बैठक हुँदै हामी अगाडि बढेर आयौँ । लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र त्यसपछिका युगान्तकारी परिवर्तनबाट पनि हामी अनभिज्ञ छैनौँ । अहिले हामी लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समाप्त भयो भनिरहेका छौँ । र, जनताको संघीय गणतन्त्रको दिशामा अघि बढिरहेका छौँ । जनताको संघीय गणतन्त्र कसरी प्राप्त हुन्छ ? अहिलेको मुख्य बहस यही हुनुपर्ने हो । तर, अग्रज नेतृत्वहरुबाट यसमा बहस भन्दा जसरी हुन्छ प्रचण्डलाई हटाऊ’ भन्ने रणनीति अवलम्बन गर्दा नै अहिलेको अराजकताको स्थिति तयार भएको हो ।

माथि नै चर्चा गरियो जनताको संघीय गणतन्त्र प्रष्ट गर्ने दुइवटा सोचको बारेमा । एउटा चीनको तरिकाबाट र अर्को रुसको तरिकाबाट । हाम्रो पार्टीले भनिरहेको छ- हामी नेपालमा हाम्रै मौलिक ढङ्गले क्रान्ति गर्न चाहन्छौँ । केही नयाँ तरिकाले क्रान्ति गर्न चाहन्छौँ । त्यो नयाँ भनेको के हो ? कम्युनिष्टहरुले नयाँ गर्ने भनेको के मा हो ? के-के गरेमा नयाँ हुन्छ त ? भन्ने सवालमा हामीले छलफललाई केन्दि्रत गर्नुपर्दछ । कम्युनिष्टहरुले नयाँ गर्ने भनेको अरु कुनै चीजमा नभएर पार्टी, सेना र मोर्चामै हो ।

अहिले हाम्रो पार्टीमा पार्टी बनाउनुपर्‍यो भन्ने खुबै चर्चा हुने गरेको छ । के हो पार्टी बनाउने भनेको ? मेरो विचारमा पार्टी बनाउने भनेको उत्तराधिकारी बनाउने भनेको हो । कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको प्रश्न निकै पेचिलो बनेको छ । लेनिनले स्टालिनलाई उत्तराधिकारी नियुक्त गर्नुभयो, स्टालिनले जबर्जस्तरुपमा आˆनो कार्यकाल चलाउनुभयो । तर, उहाँपछि क्रान्तिकारी उत्तराधिकारी भएनन् अनि प्रतिक्रान्ति भयो । चीनमा कमरेड माओले युवाहरुबाट छानेर लिनप्याओलाई उत्तराधिकारी बनाउनुभयो, उसलाई हतारो पर्‍यो र माओलाई नै मार्न तम्सिएपछि उ पनि समाप्त भयो । पेरुमा कमरेड गोञ्जालो गिरप्तार पर्नुभयो । त्यहाँ पनि उत्तराधिकारीको चर्को खडेरी पर्‍यो र त्यहाँ पनि हामी पूरै पछि हट्नुपर्‍यो । हामीले विश्व कम्युनिस्टको इतिहास हेर्दा जति पनि प्रतिक्रान्तिकारीहरु भए, यही प्रश्नलाई ठिक ढङ्गले निराकरण गर्न नसक्दा नै भएका हुन् ।

अहिले हाम्रो पार्टीमा पार्टी बनाउनुपर्‍यो भनेर खुब बहस चलेको छ । त्यो पार्टी बनाउने भनेको के हो भन्ने वास्तविक कुरा नल्याई भावनात्मक तर्कहरु राखेर कार्यकर्ताको दिमाग खराब गर्ने काम भइराखेको छ । वास्तवमा पार्टी बनाउने भनेको उत्तराधिकारी बनाउने नै हो । नेपालमा पनि प्रचण्ड पछि को ? यो प्रश्न बडो पेचिलो बनेको छ । कमरेड आलोकको प्रश्न उत्तराधिकारी-सँगै जोडिएको हो । उनले आफूलाई प्रचण्डपछिको नेता मान्ने गल्ती गरे र गलत तरिका अपनाए, उनको अवसान भयो । कमरेड रविन्द्रले म नै छु भनेर आफूलाई प्रस्तुत गरे र उनी पनि पतन भए । अहिले पनि कुनै युवाले म नै छु भन्छ भने त्यो पतनकै दिशा पकडेको ठहर्छ । उत्तराधिकारी बन्नलाई टिको थाप्न उद्दत हुने होइन सामुहिक प्रयास टिमवर्क’मा जम्नुपर्दछ । समूहमा काम गर्दै जाँदा स्वभाविकरुपले एउटा नेता जन्मन्छ र त्यही प्रचण्डको उत्तराधिकारी हुन्छ । कमरेड किरणले यही प्रक्रियाबाट अगाडि आएका प्रचण्डलाई उत्तराधिकारी बनाउनुभएको हो । ‘टिमवर्क’ गरेर टिमको लिडर’ बन्न छाडेर टिका थाप्ने होडबाजीले पार्टी बन्न सक्दैन । अबको प्रचण्डको उत्तराधिकारी भनेको युवाहरुको सहकार्यको स्वभाविक लिडर नै हो । हाम्रो पार्टीले पार्टी निर्माणमा नयाँ गर्न खोजेको यहा हो ।

हामीले सेनामा पनि नयाँ गर्ने भनेका छौँ । नेपालको जनमुक्ति सेनालाई चिनियाँ जनमुक्ति सेनाको रुपमा मात्र परिभाषित गर्न सकिदैन । हामी अहिलेको विश्वमा मुख्य ३ कुराको ख्याल गर्नुपर्दछ । पहिलो बदलिदो विश्व र युद्ध प्रविधि । दोस्रो, विश्वमा विश्वयुद्ध नभएको अवस्थामा र तेस्रो, विश्वमा एउटा पनि समाजवादी मुलुक नभएको अवस्था । हामीले नेपाली जनमुक्ति सेनाको भूमिकालाई सुनिश्चित गर्नुपर्दछ- संयुक्त मोर्चा र जनतालाई सशस्त्र गर्ने दुवै ठाउँमा । हामी संयुक्त मोर्चालाई टेवा पुर्‍याउने गरी सेना समायोजनमा जाँदैछौँ र जनतालाई सशस्त्र पार्ने गरी जनतामा पुग्दैछौँ । यो नेपालमा सेनामा हामीले गर्न खोजेको नौलो र मौलिक प्रयोग हो । हाम्रो पार्टीले नेपालमा सेना निर्माणको प्रश्नलाई यसरी नै सोचेको छ ।

संयुक्त मोर्चालाई कसरी बुझ्ने भन्ने प्रश्न पनि जबर्जस्त रहेको छ । हामीले नेपालभित्र रहेका शक्तिसँग मात्र संयुक्त मोर्चा गरेर क्रान्ति पूरा गर्न सक्दछौँ भन्ने यदि कसैलाई लाग्दछ भने त्यो मनको लड्डु घ्यूसँग खानु बराबर हो । विश्व शक्ति राष्ट्रहरु कसैलाई सन्तुलनमा राख्नु र कसैलाई उपयोग गर्नु नै अहिलेको विश्वको साँचो अर्थको संयुक्त मोर्चा हुन्छ । हामीले अहिले देशभित्रका राष्ट्रवादीहरु (त्यो सेना, पुलिस, कर्मचारी र अन्य पार्टीभित्रका पनि) र नेपालको हित चाहने शक्तिराष्ट्रलाई साथ लिएर साम्राज्यवाद विस्तारवादलाई ठेगान लगाउनु नै अहिलेको संयुक्त मोर्चाको मूल मर्म हो । हामीले शान्ति र संविधानको मुद्दालाई यसै विषयमा केन्दि्रत गर्नु पर्दछ ।

अन्तमा, अहिले हाम्रो पार्टी निर्माणमा धैर्यतापूर्वक सबै प्रवृत्तिका युवा नेताहरु सहकार्यमा अगाडि बढ्नु पर्‍यो । दोस्रो, नेपाली जनमुक्ति सेनालाई नयाँ ढङ्गले संयुक्त मोर्चा र जनतामा विस्तार गर्नुपर्‍यो । र तेस्रो, संयुक्त मोर्चालाई फराकिलो ढङ्गले परिभाषित र प्रयोग गर्नुपर्‍यो । नेपाली क्रान्तिलाई कसैले रोक्न सक्दैन । नेपाली क्रान्तिको भविष्य उज्ज्वल छ । विश्वास गरि अघि बढौँ, नेपाली क्रान्ति कमरेड प्रचण्डकै नेतृत्वमा सफल हुनेछ । र, निरन्तर क्रान्तिको लागि हामी तम्तयार भएर बसौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *