पथभ्रष्ट हुँदै गरेका युवा मोर्चा

  
  प्रकाशित मितिः सोमवार, असार ६, २०६८       | 97 Views   ||

– [सुशील गौतम]

विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि मुलुकको एउटा प्रमुख राजनीतिक दलसँग आवद्ध युवाहरुले गरेको सांघातिक आक्रमणले राजनीतिक आवरणमा अझ विशेष गरेर राजनीतिक दलका युवा मोर्चामा संस्थागत हुँदै गइरहेको अपराधीकरणबारे पुनः एकपटक गम्भीर चासो र चिन्ताका साथ बहस प्रारम्भ भएको छ । कुनै राजनीतिक दलसँग आवद्धता भनेको सामाजिक, राजनीतिक अनुशासनको घेरामा स्वतः बाँधिने भएकाले व्यक्तिगत रुपमा गरिने अपराधिक कार्यमा समेत यो वा त्यो रुपमा सम्पूर्ण वा अंशमा सम्बन्धित संस्था जोडिन पुग्छ । चाहे उक्त अपराधमा संस्थागत रुपमा सम्बन्धित संस्थाको कुनै संलग्नता नहोस् । तथापी पत्रकार ढकालमाथि भएको उक्त आक्रमणलाई व्यक्तिगत ठान्ने हो भने पनि युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतका सार्वजनिक अभिव्यक्तिले त्यसलाई संस्थागत बनाउन पुगेको छ । र, बस्नेतको कृयाकलापले युवा संघलाई उक्त घटनाबाट पृथक राख्न होइन जोड्न नै मद्दत गरेको छ । किनकि केन्द्रीय अध्यक्ष बस्नेत र युवा संघको केन्द्रीय नेतृत्वले घटनाका आरोपीलाई संस्थागत गर्न गरेको अमर्यादित कृयाकलापले कसैले चाहे पनि नचाहे पनि एमालेको भातृ संगठन युवा संघ उक्त घटनामा तानिएको छ ।

अहिलेको प्रसङ्ग विराटनगरका पत्रकारको र त्यसमा युथफोर्सका जिम्मेवार व्यक्तिहरुको संलग्नताको भएपनि कुनै राजनीतिक दलनिकट युवा मोर्चाका अपराधिक कृयाकलापका दृष्टिले यो पहिलो घटना होइन न त अन्तिम घटना हुने आशा गर्न सकिन्छ । हाम्रो राजनीतिमा जुन मात्रामा अपराधिकरण बढीरहेको छ र मूल्यमा ह्रास आएको छ, त्यसलाई विश्लेषण गरि नसच्चाउँदासम्म समय, घटना, पात्र र परिवेश फेरिएपनि यस्ता अपराधिक घटना जारी नै रहने निश्चित छ ।

जोस जाँगर उत्साहका दृष्टिले युवाकाल उर्वरकाल हो । त्यसैले खासगरी तेश्रो विश्वका मुलुकहरुको  राजनीतिमा उनीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । परिवर्तनको त्यो उर्जावान् श्रोतलाई राजनीतिक दलहरुले आफ्ना राजनीतिक, सामाजिक, आर्थिक एजेण्डाहरु परिपूर्तिका लागि परिचालित गर्नु स्वभाविकमात्र होइन अनिवार्य छ । आजको युवा भोलि माथिल्लो तहको नेतृत्वमा पुग्ने भएकाले नेतृत्वको संकट टार्न उसलाई सफल र असल नागरिक एवम् सशक्त नेता बनाउन सैद्धान्तिक व्यवहारिक प्रशिक्षणका लागि पनि दलहरुले युवा मोर्चामार्फत् कृयाकलप अघि  बढाउँछन् । जसले युवाहरुमा आदर्श, मूल्यमान्यता स्थापित गर्न सकियोस र दलका नीति कार्यक्रम, कार्यनीति र रणनीति कार्यान्वयन गर्न बलियो आधार खडा होस् ।

हुन त सार्वजनिक सूचना वा परिदृश्य बाट धेरै प्रेरित हुन्छन् । त्यसैले समग्र मूल्याङ्कन गर्दा अँध्यारो बाटो बढी देखिने खतरा पनि हुन्छ । तथापी अत्यन्त गम्भीर र निष्पक्ष मूल्याङ्कन गर्ने हो भने हाम्रा युवा मोर्चाहरुमा राजनीतिक आदर्शबाट च्यूत हुने तर राजनीतिक आवरणमा अपराध गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढेको छ । हुन त यसका लागि युवाहरु वा राजनीतिक दलका युवा मोर्चालाई मात्र दोष दिन मिल्दैन । हाम्रो समग्र राजनीति र राजनीतिक नेतृत्वमा देखिएको स्खलनको प्रभाव उनीहरुमाथि परेको छ ।

बुर्जुवा राजनीति त्यसमा पनि तेस्रो विश्वको राजनीतिमा एम-२ को ठूलो प्रभाव हुन्छ । एम-२ अर्थात् मनी र मसल । हुन त जनताको साथ लिन सक्ने हो भने मनी र मसल दुवै असफल हुन्छन् भन्ने उदाहरण हाम्रै देशमा नभएका होइनन् । तथापी सत्ताले अधिकांश दल र नेतृत्वलाई भ्रष्ट बनाउने रहेछ । आर्थिक मात्र होइन वैचारिक भ्रष्टताले उनीहरु सत्ताको लागि मनी र मसललाई अपरिहार्य ठान्न थाल्छन् र त्यसको देखासिखी युवाहरुले गर्न थाल्छन् । अहिले युवाहरुमा देखिएको अपराधिकरण यसैको उत्पादन हो ।

आ-आˆनो पार्टीको युवा मोर्चा बलियो गराउने नाममा राजनीतिक आदर्श नाम मात्र पनि नभएका गुण्डा, लफङ्गा, कुण्डले, मुण्डले, ठग, फटाहा, तस्कर डनहरुलाई भित्राउने प्रवृत्तिले युवाहरुलाई मात्र होइन सिङ्गो राजनीतिलाई नै पथभ्रष्ट पारिरहेको छ । यस्ता अपराधिक कृयाकलाप भएकाहरु आफू रुपान्तरण हुने त के कुरा सिङ्गो युवा मोर्चा र सम्बन्धित दललाई समेत नकारात्मक रुपान्तरणतर्फ उन्मुख गराउँदै गर्दा जनपक्षीय राजनीतिलाई मनी र मसलको राजनीतिले विस्थापित गर्ने खतरा बढिरहेको छ ।

चाहे जुनसुकै राजनीतिक दलहरुले पनि यस्ता प्रवृत्तिलाई प्रोत्साहित गर्नु भनेको आˆनो घर जलाएर केही समयलाई न्यानो पार्नु मात्र हो । किनकि यी प्रवृत्तिलाई बढावा दिन अन्ततः आˆनै लागि आत्मघाती बाटो खोल्नु हो । आदर्श, मूल्यमान्यतालाई छाड्दै सिङ्गो राजनीतिलाई अपराधीकरण गर्नु हो । नबिसौ, अरुलाई टोक्न पालेको कुकुरले आफैलाई टोक्न सक्छ, आˆना विरोधीविरुद्ध गुण्डागर्दी गर्ने छोराले एकदिन आˆनै बाबुमाथि नै गुण्डागर्दी गर्न सक्छ । त्यसैले तत्कालीन निहित स्वार्थका लागि उपयोगको नीति भन्दै असामाजिक तत्वहरुलाई युवा मोर्चाहरुमा हुल्नु सम्बन्धित पार्टीकै दीर्घकालीन हितमा छैन । आदर्श र मूल्यसँग त त्यस्तो प्रवृत्तिले सम्पूर्ण रुपमा मेल खाँदैन भन्ने कुराको आत्मसमीक्षा गर्न जति ढिलो हुन्छ, त्यति राजनीतिको आवरणमा अपराधीकरण फैलिदै जानेछ । त्यसले एकातिर सम्पूर्ण राजनीतिप्रति नै आम जनताप्रति वितृष्णा उत्पन्न गराउने छ भने सम्पूर्ण समाजलाई अपराधीकरण गर्नेछ ।

हामी लामो सशस्त्र द्वन्द्वपछिको संकलमणकालमा छौँ । द्वन्द्वपछिको संक्रमणकालीन अवस्थामा राजनीतिक शक्तिहरु कमजोर हुँदा त्यसको स्थान राजनीतिक आवरणमा अपराधिकरण हुँदै समाजमा अपराधीहरुको ग्याङको प्रभुत्व बढ्दै गएको दर्जनौँ उदाहरणहरु विश्वव्यापी रुपमा छन् । अहिले स्थिति राजनीतिक दलहरुको नियन्त्रणबाट गुमि नसकेतापनि त्यस्तो परिस्थिति सिर्जना हुन असम्भव छैन भन्ने कुराप्रति ध्यान दिदै युवा मोर्चाहरुलाई पथभ्रष्ट हुनबाट बचाउनुको विकल्प छैन । त्यसको लागि शुद्धिकरण अभियान र जसलाई पनि युवा मोर्चा र दलमा हुल्ने आत्मघाती प्रवृत्ति तत्कालै त्याग्न जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *