दाङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न संयुक्त व्यवसायिक प्यानलको वर्चश्व

  
  प्रकाशित मितिः बिहिबार, असार ९, २०६८       | 108 Views   ||

घोराही/आगामी तीन वर्षे कार्यकालका लागि शनिबार सम्पन्न दाङ उद्योग वाणिज्य संघको निर्वाचनबाट उद्योग उपाध्यक्ष र एक सदस्यबाहेक मधुसूदन वैद्यले नेतृत्व गरेको संयुक्त व्यवसायिक प्यानल विजयी भएको छ । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा मधुसूदन वैद्यले ४ सय ९५ मत ल्याई विजयी हुनुभएको छ भने उहाका निकटतम प्रतिद्वन्द्वी लोकतन्त्रवादी समूहका हुमाकान्त अधिकारीले ३ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उद्योग उपाध्यक्षमा लोकतन्त्रवादी समूहका मनोज बुढाथोकीले ५ सय ३ मत ल्याई संयुक्त व्यवसायी प्यानलका उपाध्यक्ष जीतबहादुर केसीलाई पराजित गर्नुभएको छ । केसीले ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका ओविन्द्र महराले ३ सय ४५ का विरुद्ध ५ सय ८ मत ल्याई यादव शाहलाई पराजित गर्नुभएको छ ।त्यस्तै संयुक्त प्यानलबाट विजयी हुने पदाधिकारीमा महासचिवमा हेमराज बन्जाडेले ४ सय ६५ मत ल्याउनुभएको छ । उहाका प्रतिद्वन्द्वी खड्कबहादुर बुढाथोकीले ३ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सचिवमा सुन्दर गौतमले ४ सय ६० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहााका प्रतिद्वन्द्वी दीपक सुवेदीले ३ सय ८३ मत ल्याउनु भएको छ । कोषाध्यक्ष पदमा देवीप्रसाद गुप्ताले ५ सय ४ मत प्राप्त गरी प्रतिद्वन्दी हर्कबहादुर खत्रीलाई पराजित गर्नुभएको छ । खत्रीले ३ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट सदस्यका उम्मेदवार नारायणप्रसाद भुसालले ५ सय १४ मत, दुर्गाबहादुर पन्थले ४ सय ४२ मत, गौरीशंकर श्रेष्ठले ४ सय ६१ मत, कुलदीप न्यौपानेले ४ सय २३ मत र उद्योग सदस्यमा कृष्ण अधिकारीले ४ सय ७२ मत ल्याई विजयी हुनुभएको छ । त्यस्तै लोकतन्त्रवादी समूहबाट सदस्य पदमा मञ्जु बज्राचार्यले ३ सय ९९ मत ल्याई विजयी हुनुभएको छ । उहाहरुका प्रतिद्वन्द्वी लोकतन्त्रवादी समूहका परशुराम शर्माले २ सय ४६ मत, शंकर शर्माले ३ सय १० मत, रेगबहादुर थापाले ३ सय ४०, सुनिल देवकोटाले २ सय ६१, र उद्योग सदस्य रत्नराम बन्जाराले २ सय ५ मत ल्याउनु भएको थियो । त्यसैगरी संयुक्त व्यावसायिक प्यानलका सदस्य विनोद पाण्डेले ३ सय ७८ ल्याई झिनो मतको अन्तरमा पराजित हुनुभएको थियो । कुल १ हजार १४ मतदातामध्ये बिहान ९ बजेदेखि ४ बजेसम्म भएको निर्वाचनमा जम्मा ८ सय ७२ मत खसेको थियो ।

दुई छुट्टाछुटै प्यानल गठन गरी चुनावी प्रतिष्पर्धामा उत्रिएका समूहमध्ये संयुक्त व्यवसायिक प्यानललाई एकीकृत माओवादी, एमाले र जनमोर्चाको समर्थन रहेको थियो भने लोकतन्त्रवादी समूहलाई कााग्रेसको समर्थन रहेको थियो । अध्यक्ष पदमा विजयी मधुसूदन बैद्य माओवादी पक्षधर मानिनुहुन्छ भने महासचिव हेमराज बन्जाडे एमाले समर्थक मानिनुहुन्छ । आर्थिक विकास, व्यवसायी सुरक्षा र औद्योगिक नारा दिएर चुनावी मैदानमा उत्रिएको संयुtm व्यवसायिक प्यानलबाट निर्वाचित अध्यक्ष मधुसूदन बैद्य एकदशक अघिदेखि दाङ उद्योग वाणिज्य संघको सदस्य, सचिव र महासचिव पदमा रहि व्यवसायीहरुको हक हितको पक्षमा काम गर्दै आउनुभएको छ ।

भूमे नाचमा रमाउँदै मगर समुदाय

मानसिंह विक/रोल्पा
विरबहादुर मल्ल/रुकुम

परम्परागत संस्कृतिको रुपमा मनाउँने गरिएको भूमेपर्व यसवर्ष पनि रोल्पा, रुकुम र दाङका मगरभाषी समुदायले धुमधामका साथ मनाएका छन् । असारमा भूमिको पूजा गरेपछि वषर्याममा प्राकृतिक प्रकोपबाट कुनै क्षति नहुने जनविश्वास ती समुदायमा रहँदै आएको छ । विविध कार्यक्रमका साथ एक महिनासम्म मनाइने भूमे पर्वलाई मगर समुदायहरुले सबैभन्दा ठुलो चाडका मान्दै आएका छन ।

मौलिक पहिचान बोकेको भनिएको भूमे पर्वलाई यस वर्ष पनि रोल्पाको उत्तरी भेग र रुकुमको पूर्वी भेगका मगर समुदायहरुले आफ्नै कला, पहिचान र संस्कृति झल्किने नाचगान गरी मनाएका छन । भुमे पूजामा त्यसक्षेत्रका समुदायले मौलिक  संस्कृति रक्षाको लागि मौलिक भेषभुषामा भूमे पूजा र नोकोबाङ्गे (भूमे) नाच नाच्ने गर्दछन् । पछिल्ला पिढीहरुमा मौलिक सस्कृति तथा परम्पराप्रति चिन्ता र चासो हराउन थालेको भन्दै आफ्नो संस्कृतिको संरक्षण, सम्वर्द्धन एवम् प्रचार प्रसार गर्ने उद्देश्यले यो पर्वलाई भव्य रुपमा हरेक बर्षको जेष्ठ १ गतेदेखि नाच शुरु गरी असारको पहिलो साता विधिवत रुपमा समापन गरिन्छ ।

यस पर्वमा प्रत्येक दिन साँझ एकै ठाउँमा जम्मा भएर थुप्रैले एकैसाथ नाचगान गरिरहेका हुन्छन् । नाच्दा महिलाहरुले गुन्नी, पटुका, पछ्यौरी, गादा र पुरुषहरुले चौबन्दी, राढीपाखीको पटुका, फेटा, गादा, ढाँका टोपी आदि लगाउने गर्दछन् ।भुमे पूजा नगरिएमा भुम्या देवता रिसाएर अनिष्ट हुने, बाली नाली उत्पादन नहुने, बाढी पहिरो जाने मगर समुदायमा परम्परागत मान्यता रहि आएको छ । भुम्या देवताको पुजा गरिएमा वनजंगल विनास नहुने, खेतीबारी राम्रो हुने र धनजनको क्षति नहुने उनीहरुमा जनविश्वास रहेको पाइन्छ । त्यसकारण मगर समुदायले बाजागाजा बजाएर धुमधामका साथ शुरु गरेको भुमे पर्वमा भुम्या देवतालाई भेडाको वली चढाएर यसको अन्त्य गरिने काँक्रीका स्थानीय भागीन्त बुढा मगरले बताउनुभयो ।

भुमे पर्वलाई अन्त्य गर्नुपूर्व अघिल्लो दिन लेकमा गएर पन्थी देवताको पुजा गर्नुका साथै लेकमा फुलेको फूल ल्याएर बलीलाई सिङ्गार्ने चलन पनि छ । पुरानो रितिरिवाजअनुसार भुम्या पुजा अर्थात् बलपुजा विधिवत् रुपमा समापन गरिएपनि नाचगान र मनोरञ्जनात्मक गतिविधि केही दिनसम्म चल्ने बलपुजा समिति खलंगाका गुरु राजकुमार पुनले बताउनुभयो । समापन हुनुअघि बलीलाई बाजागाजासहित बजार परिक्रमा गराएर बराहटाकुरामा गई बली चढाइएको थियो । पूर्वी रुकुमका मगर समुदायको बसोबास सदरमुकाम खलंगामा पनि भएकाले यहाँ बसोबास गर्ने यो समुदायका मान्छेले भुमे पर्वलाई मगर खामभाषी परम्परागतरुपमा खलंगामा नै मनाउदै आएका छन् ।

आज भूमे नाच समापन
दाङ/असार १ गतेदेखि शुरु गरिएको मगर समुदायको पुख्र्यौली नाचगान भूमे पर्वको आज आइतबार समापन गरिने भएको छ । नेपाल मगर संघ, दाङको आयोजनामा घोराही नयाँ बसपार्कमा आयोजित भूमे महोत्सवको आज समापन गरिने बताइएको छ । आफ्नो रीतिरिवाज, पुख्र्यौली संस्कार र परम्परामा आधारित भूमे नाचगान मगर समुदायले ऐतिहासिक तथा महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन् । उनीहरुले यस पर्वमा भूमिको पूजाआजा गर्दै सयौँको संख्यामा एकैसाथ नाच्ने, रमाइलो गर्ने गर्दछन् ।भूमे पर्वको अवसरमा मगर संघ दाङले गत असार १ गतेदेखि घोराहीमा भूमे महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा जिल्लामा छरिएर रहेका मगर समुदाय जम्मा भएर आजसम्म रमाइलो र सुख दुःख साटासाट गरेका थिए । यसैबीच नेपाल मगर संघ, दाङले आज दिउँसो २ बजे गरिने समापन कार्यक्रममा सहभागी भइदिन हुन सबैलाई आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *