सहकारीमा समन्वय र सुशासन

  
  प्रकाशित मितिः आइतवार, असार १२, २०६८       | 164 Views   ||

-[नारायणप्रसाद श्रेष्ठ]

सहकारीकर्मीहरुको कार्ययोजनाबाट उत्पादन र उत्पादकत्व वृद्धि बजारीकरण, कच्चा पदार्थको सहज आपूर्ति, सीप श्रम र पूँजीको उचित परिचालन, कृति क्षेत्रमा रहेको न्युन र स-साना प्रविधिलाई संगठित गरी, व्यवसायिक क्षमत बढाएर सामाजिक, आर्थिक, र सांस्कृतिक उत्थान गरी गरीबी निवारण गर्नको लागि, सहकारी संघ संस्थाको परिचालन कसरी गर्न पर्ला, सहकारी संस्थालाई आत्मनिर्भर हुने वातावरण कसरी श्रृजना गर्न सकिएला भन्ने विषयमा र सहकारी बचत तथा श्रण प्रवाको व्यावस्थापन, उपभोक्ता सहकारी संस्थाको स्वामित्व, कृषि स्वास्थ्य, शिक्षा, विद्युत, माहुरी पालन, पशुपंक्षी, मत्स्यपालन, दुग्ध उत्पादन, सूचना तथा सञ्चार, वन तथा वातावरण जस्ता संस्थाहरुको व्यवस्थापन र प्रवर्द्धनात्मक कसरी गराउँदा राष्ट्रिय विकासमा सहकारीको उल्लेखनीय योगदान बढ्न सक्छ भन्ने विषयमा छलफल केन्द्रीत गर्नु यो आलेखको उद्देश्य हो ।

क) सहकारी संस्थाले वाषिर्क लगानीबाट आफूले के कति परिमाणमा उत्पादन वृद्धि गर्न सक्षम भयो, श्रम र पूँजीको खर्चको आधारमा उत्पादनमा वृद्धि कति हुन गयो त्यहाँ आधुनिक औजार, सीप र तालिमको कति प्रयोग भयो, कृषि क्षेत्रमा यसबाट के कस्तो प्रभाव पर्न सक्यो यसतर्फ व्यापक छलफल हुनुपर्दछ ।
ख) स्थानीय श्रोत र साधनलाई बढी परिचालन गरी गाउँको उत्पादन शहर र शहरको रकम गाउँ लैजाने क्रममा आर्थिक तथा सामाजिक रुपान्तरण हुन सक्यो वा सकेन, कृषि तथा बचत नीतिअनुसार उत्पादनमुखी कार्य योजनामा कति लगानी भयो वा भएन, आर्थिक र प्राविधिकरुपले सीप हासिल गर्न विभिन्न तालिम, गोष्ठी, छलफल भए/भएनन् त्यसतर्फ पनि छलफल हुनु आवश्यक छ ।
ग) अहमवादी चिन्तनलाई परित्याग गरी सामुहिक जिम्मेवारी र सकारात्मक चिन्तन प्रवाह कति हुन सक्यो  र समाजलाई त्यसले कस्तो सन्देश दिन सामर्थ रहृयो यसतर्फ पनि छलफलको ध्यान केन्दि्रत हुनु जरुरी भइसकेको छ । यी माथिका विषयवस्तुतर्फ गम्भीर छलफल गर्दा सहकारी संस्थालाई प्राप्त अवसरको सदुपयोग कति हुन गयो हामीले प्राप्त अवसरलाई सदुपयोग गर्न कति सक्षम बन्यौँ त्यसतर्फ पनि समीक्षात्मक विचार विमर्श आवश्यक छ ।

– स्थानीय श्रोतसाधनलाई बढी परिचालन गरी कम पूँजीबाट उत्पादन वृद्धि गर्ने, व्यवसायलाई आधुनिकीकरण गरी कच्चा पदार्थको व्यवस्थापन र उपलब्ध उचित मूल्यमा गुणस्तरीय सामान र तोकिएको समयमा उपलब्ध हुने नयाँ सिजन र कार्ययोजनाअनुसार गरिने खेतीको लागि मल, बीउ, औजार सिचाईको व्यवस्था, बजार व्यवस्थापन तथा सम्भावना र अध्ययन गरेर व्यवसायको छनौट योजनाबद्ध कृषि उत्पादन बृद्धितर्फ आकर्षण बढाउन तालिम गोष्ठी र सीप अभिवृद्धि गर्न नितान्त आवश्यक छ ।
– भइरहेको पूर्वाधारबाट कसरी लाभान्वित हुने भन्ने खालको रणनीति अँगाल्नु, पूर्वाधारको विकाससँगै व्यवसायमा विविधिकरण गर्नु आजको आवश्यकता हो ।
– सर्वसाधारणको आवश्यकता र चाहनालाई बुझेर आˆनो उत्पादनमा परिमाजन गर्दै गुणस्तरीय र उचित मूल्यमा सामान उपलब्ध गराई ग्राहकलाई आफूले उत्पादन गरेको वस्तुप्रति आकषिर्त गराउनु र उत्प्रेरित गर्नु तथा संघ संस्थाको आर्थिक अवस्थालाई पनि क्रमशः सुदृढ गराउँदै लैजानु वर्तमानको आवश्यकता पनि हो ।
– विषयगत संघ संस्थालाई आर्थिक र प्राविधिक रुपले संगठित गर्न सके सहकारी संस्थालाई बजार खोजी गर्न, प्राविधिक सीप, हासिल गर्न तथा सरकारले उपलब्ध गराउने सुविधा प्राप्त गर्न सहयोग पुग्ने हुन्छ ।
– संस्थाको सञ्चालक समितिलाई बढी व्यवस्थित गर्न व्यवस्थापन तालिम गोष्ठी जरुरी रहन्छ ।
– सहकारी हाम्रो हो भन्ने भावनात्मक विकास गरी आर्थिक सुधार गर्न सकिने पशुपंक्षी पालनजस्ता कार्यक्रमलाई व्यवसायीकरण गरी जनचेतना अभिवृद्धि गराउनुपर्दछ । यसरी सहकारी संस्थामा देखिएका विविध अवसरहरुलाई आत्मसात गरी संस्थाबीच समन्वय कायम गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।

विभिन्न विषयगत सहकारी संस्थाको आ-आˆनै उद्देश्य हुन्छन् । तापनि उनीहरुको मुख्य उद्देश्य भनेको संस्थामा आवद्ध सरोकारवाला व्यक्तिको जीवनस्तर माथि उठाउनु रहेको हुन्छ । आर्थिक विपन्नतालाई उद्यमशील कार्ययोजनाको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउँदै सामाजिक र साँस्कृतिक धरोहरमा रहेको परिस्कृत कार्यतर्फ अग्रसर गराउने उसको उद्देश्य हुन्छ । यही उद्देश्य आपूर्ति गर्न संस्थाले विविध कार्ययोजना बनाएको हुन्छ । त्यसैले यसरी आफूले बनाएको कार्ययोजनालाई सार्थक रुप दिन सहमति र सहकार्य गर्नु नितान्त जरुरी हुन्छ । त्यसको लागि समय सापेक्ष संस्था-संस्थाबीच आपसी समन्वय हुन पनि त्यत्ति नै जरुरी हुन्छ । विभिन्न सहकारी संस्थामा देखिएको व्याज र ऋण नीतिमा देखिएको विविधतालाई एकरुपता कायम गरी संस्था हामी सबैको आवश्यकता परिपूर्ति गर्ने माध्यम बन्दछ भनि लागि पर्ने बेला भइसकेको छ । संस्थामा यदाकदा देखिने विविध विकृति र विसंगतिलाई सामुहिक प्रयासको माध्यमबाट समन्वयतात्मक कार्ययोजनाको माध्यमबाट हटाई आदर्श चिन्तन गरिनु नितान्त जरुरी छ । संस्थामा रहेको विश्वास र इमान्दारीतालाई पारदर्शीताको कसौटीमा निखार ल्याउनु र सामाजिक, आर्थिक रुपान्तरण गरी सरोकारवाला प्रत्येक नागरिकको जीवनस्तर माथि उठाउन लागि पर्नु संस्थाको जिम्मेवारी हो । त्यसैले अहिले हामीले निभाउनुपर्ने भूमिका र दायित्वबोध कसरी पूरा गर्दा आदर्श समाजको परिकल्पना साकार पार्न सकिन्छ, त्यसतर्फ गम्भीररुपले चिन्तन गर्नु आवश्यक छ ।

यसरी संस्थाबीच समन्वय कायम गरि हाम्रो उद्देश्य परिपूर्तिको लागि संस्थाभित्र सुशासनको प्रत्याभूति हुनेतर्फ पनि हाम्रो कार्य लक्ष्य निर्धारित हुनु जरुरी छ । जबसम्म सहकारी क्षेत्रमा भएका विकृति र विसंगति हटाउन स्वच्छ र पारदर्शी निर्णय प्रक्रियालगायतका व्यवस्थापन पक्ष दरिलो रहँदैन तबसम्म स्वच्छ वातावरणको सृजना हुन सक्दैन । जबसम्म स्वच्छ वातावरण हुँदैन, त्यहाँ सुशासन कायम रहेको मानिदैन । तसर्थ सुशासनबिना सहकारीको साख बचाउँछु भन्नु कोरा कल्पनामात्र हुन्छ । जहाँ स्वच्छ र दायित्वबोधको भावनाअनुरुप नीति नियमको परिधिभित्र रही उत्कृष्ट समाज निर्माणमा आफूले दिनुपर्ने योगदानलाई मुखरित गरी आदर्श समाजको परिकल्पनामा आधारित शासन प्रणाली, अधिकार र कर्तव्यको बोध हुन्छ, त्यहाँ सुशासन भएको ठहर्छ । तसर्थ संस्थाको आन्तरिक प्रशासनिक कार्यमा समुदायको हितअनुकूल कार्य विभाजन गरी चुस्त एवम् दुरुस्त र छर्लङ्ग हुने गरी कार्य योजनाको आधारमा पारदर्शीतामा आधारित कार्य गरिन्छ । त्यहाँ स्वतन्त्र अस्तित्वबोध भएको मानिन्छ र त्यहाँ नै सुशासनको प्रत्याभूति महशुस गरिन्छ । तसर्थ सबै संघ संस्थाले सहकारीको आदर्शलाई ख्याल राखी कार्य गर्नु नितान्त जरुरी छ ।

सुशासन, संस्थाभित्रको विकृति विसंगतिलाई हटाई हरेक कार्ययोजना सर्वसम्मत निर्णयको आधारमा कार्यान्वयन गरी नमूना सहकारी संस्था बनाउने उद्देश्यअनुरुप संस्था सञ्चालन गर्ने एउटा खाका हो । जसले कुन उद्देश्यले संस्था दर्ता भएको हो र यसले समाजलाई दिन खोजेको सकारात्मक चिन्तन के हो र यो कसरी सम्भव हुन्छ भन्ने बारेमा निश्चित मापदण्ड नियम कानुनको परिधिभित्र रही कार्य सञ्चालन गरिएको हुन्छ । सुशासनले यसको व्यवस्थापन पक्ष, निर्णय प्रक्रिया, संस्था र समाजसँगको सम्बन्ध र संस्थाको गतिविधिले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पारेको असर र समाजप्रतिको दायित्वबोध गराएको हुन्छ । सुशासन भन्नाले निर्धारित लक्ष्य पूरा गर्न र जनताप्रतिको उत्तरदायित्व बहन गर्ने जिम्मेवारीबोध गराउने अस्त्र हो भनेमा फरक पर्दैन । सुशासन अर्थात् विधिको शासनभित्र विशेषरुपले निम्न दृष्टिकोण समेटिएको हुन्छ ।

पारदर्शीता, उत्तरदायित्व, कानूनी राज्यको पालक, प्रजातान्त्रिक र सहमतीय आधारमा चल्ने रणनीति, प्रभावकारिता, सक्षमता, जवाफदेहिता, समावेशी एवम् श्रृजनशीलता, उद्देश्य परिपूर्तिको लागि सकारात्मक चिन्तनबाट गरिने कार्ययोजनाहरु । तसर्थ नेपालको सहकारी आन्दोलनलाई निरन्तरता दिन र सहकारीको स्थायी एवम् दिगो विकास गरि समाज र राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकास यसको सबै तहमा सहकारी क्षेत्रको भूमिका उठाउन शिक्षा, तालिम, आचारसंहिता कडाईका साथ पालन गर्दै यसको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसात गरी प्रोत्साहन र पुरस्कृत गर्ने, गलत गर्नेलाई कार्वाही गर्न सके जीवनस्तर सहीरुपमा रुपान्तरण गर्न सकिनेछ । सही सुशासनको प्रत्याभूति हुनेछ र त्यहाँ नै सहकारीमा समन्वय र सुशासनको अर्थ परिभाषित भई संस्था दिगो र दरिलो बन्दै जाने हुन्छ । त्यसैले हाम्रो पौरख हाम्रो गौरव भन्ने नारालाई सार्थकता दिई सहकारी संस्थाहरु राष्ट्रिय विकासको ग्रामीण तहको बलिया जग हो भन्ने मान्यतालाई सार्थकता दिन लागि पर्नुपरेको छ ।

(लेखक डिभिजन सहकारी कार्यालय दाङका प्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *