माओवादी केन्द्रीय समिति बैठकले ख्याल गर्नुपर्ने कुराहरु

  
  प्रकाशित मितिः आइतवार, असार १९, २०६८       | 148 Views   ||

-[सविन पोख्रेल]

माओवादीभित्रको अन्तरसंघर्षले आज नेपाली राजनीतिलाई निकै तरङ्गति बनाएको छ । राजनीतिमा भइरहेको तरङ्गको पहिलो प्रभाव माओवादी पार्टीको आन्तरिक जीवन, यसका कार्यकर्ता, नेता, समर्थक र शुभचिन्तकहरुमा परेको छ । पार्टीभित्रको बहसको खास अन्तरवस्तुको चर्चा गर्ने र सही निष्कर्ष निकालेर पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्नेमा अनावश्यक बहुमत र अल्पमतको कुरालाई अगाडि तेस्र्याई एकले अर्कालाई हिलो छयाप्ने र अन्तरसंघर्षलाई शत्रुतापूर्ण बनाउने स्थितिको सृजना भएको छ । माओवादी पार्टीको आन्तरिक जीवनमा चर्किएको यो बहस अत्यन्तै गम्भीर र पार्टीको तत्कालीन कार्यनीतिसँग मात्र सम्बन्धित नभएर यसको रणनैतिक उद्देश्यसँग पनि जोडिएको छ । तसर्थ विषयको यो गाम्भिर्यतालाई बुझेर मात्र सही निष्कर्षमा पुग्न सकिन्छ ।

जस्तो कि बहसको खास अन्तरवस्तु के हो ? यस बारेमा सबैका आ-आफ्ना बुझाई हुन सक्छन् । तर मनोगत विश्लेषण र पूर्वाग्रहले ग्रसित दृष्टिकोण अपनाएर सही निष्कर्षमा पुग्न सकिदैन । तथ्यबाट सत्य पत्ता लगाउने दृष्टिकोणबाट हेर्दा हाम्रा अगाडि तत्कालको राजनीतिमा कुन वस्तु खडा छ ? यसले हाम्रो राजनैतिक जीवन र पार्टीको जीवनमा के प्रभाव पारिरहेको छ ? तथ्य यहाँबाट शुरु गर्दा सत्य पत्ता लगाउन सकिन्छ । अहिलेको राजनीतिक अन्तरवस्तु भनेको शान्ति र संविधान नै हो । शान्तिको अन्तरवस्तु सेना समायोजन हो भने संविधानको अन्तरवस्तु तत्कालको लागि संविधानको मस्यौदा निर्माण गर्ने हो । यी दुईवटा विषयहरु अहिले राजनीति, पार्टी जीवन र सबैतिर नेपाललाई करिब एक सय वर्षसम्मलाई प्रभाव पार्ने गरि निर्माण गरिने कुराहरु हुन् । सेना समायोजनको बारेमा माओवादी पार्टीभित्रको वहस यति धेरै किन चर्को छ त ? यसलाई स्वाभाविकरुपले बुझ्नुपर्छ । किनकि जनमुक्ति सेना नेपाली क्रान्तिको मेरुदण्ड हो । यसको सम्मानजनक समायोजनले मात्र नेपाली राजनीतिलाई स्थिर बनाउँछ र उत्पिडनमा पारिएका नेपाली जनताको भावनालाई सम्बोधन गर्छ । नेपाली सेनाको सापेक्ष पुनर्संरचनासमेत हुन सक्छ भने यसको विघटन र विसर्जनले त नेपाली क्रान्ति, नेपालको वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई नै गम्भीर धक्का लाग्ने र परिवर्तनको यो प्रक्रियालाई अरु कयौँ बर्षपछि धकेल्नेछ । यस्तो अत्यन्तै संवेदनशील विषयमा कुनै पनि रुप र बहानामा छलछाम गरेर जनमुक्ति सेनालाई जसरी पनि समायोजन गर्ने नाममा बिर्सजन गरियो भने एकीकृत माओवादी र यसका नेताहरुले नेपाली जनतालाई इतिहासमा धोका दिएको र दुश्मनका अगाडि आत्मसर्मपण गरेको ठहर्छ । तर्क र कुतर्कहरु त जति पनि गर्न सकिन्छ । तथ्यले सत्य सावित गरेनन् भने मिठो भाषणको कुनै औचित्य हुँदैन ।

अहिले चर्चा चलेको छ- जनमुक्ति सेनालाई नेपाली सेनाको एउटा महानिर्देशनालय मातहत राख्नु ठिक छ, यसमा छलफल त गर्न सकिन्छ । नेपाली सेनाको भावना समस्याको हल गरौँ न त भन्ने हुन सक्छ तर यसको काम हेर्दा जनमुक्ति सेनालाई निशस्त्रीकरण गर्ने योजना हो कि भन्ने गम्भीर आशंका रहेको छ । जस्तो लठ्ठी समाएर वनपालेको जिम्मा दिने, फ्याक्ट्रीको गेट खोल्ने र शहरको चौकीदारी गर्ने मात्रको जिम्माले इतिहासमा जनमुक्ति सेनाको नाम निशानसमेत मेटिने स्थिति बन्न सक्छ । संविधान नबन्दै सेना समायोजन गर्दा जनताको पक्षमा संविधान बन्ने कुराको ग्यारेन्टी के ? यस्तो गम्भीर विषयमा नेतृत्वलाई सुझाव दिनु कुनै अपराध होइन यो त पार्टीका जिम्मेवार कार्यकर्ता र नेताहरुको अनिवार्य कर्तव्य हो । पार्टीका नेताहरुलाई धेरै पुल्पुल्याइयो भने इतिहासमा धोका खाइन सक्छ ।  त्यसकारण आदर्श र सपनाको मूल्यमा नेताहरुलाई धाप दिइराख्नु केही जरुरी छैन । गलत काममा नेताहरुलाई खबरदारी गर्ने आँट र हिक्मत राख्न सक्नुपर्छ । जो मान्छे साहसी छ उसले नेताहरुका गलत क्रियाकलापको आलोचना गर्न सक्छ तर बिगि्रएको कुरालाई समेत ठीक छ भनेर कुर्तक गर्नु भनेको चाकडी, चाप्लुसीवाद र नवसामन्ती प्रवृत्ति नै हो । बरु यहाँनिर ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने माआले भनेजस्तै ‘गल्ती खोतल्नु र कमजोरीको आलोचना गर्नुमा हाम्रो नियत रोग उपचार गर्ने डाक्टरको जस्तै हनुपर्छ रोगीलाई मार्नु होइन, बचाउने हुनुपर्छ । सैद्धान्तिक र राजनीतिक रोगको उपचार गर्ने बेला हामी कठोर निर्दयी हुनुहुन्न, बरु रोगीलाई बचाउन उपचार गर्न थाल्नुपर्छ, जुन एकमात्र सही र प्रभावकारी तरिका हो ।’ परिर्वतनको यो प्रकृयामा हजारौ योद्धाहरु शहीद भए, हजारौँ योद्धाहहरु ज्यूँदा शहीदका रुपमा आफ्ना अङ्गहरु गुमाएर पार्टी र क्रान्तिका लागि भन्दै पीडाका दिन बिताइरहेका छन् ।  शहीदका बच्चाहरु बाआमाको आदर्शको मूल्य खोजिरहेका छन् । गरीब नेपाली जनता हिजो जनयुद्धको दौरानमा माओवादीले बाँडेका आशा र सपनाहरु कहिले पूरा हुन्छ भनेर हेरेर बसिरहेका छन् । विचार र राजनीतिक वहसहरु यी कुरासँग अभिन्नरुपले जोडिएका छन् । जनता, कार्यकर्ता र नेताहरुमा समेत पूरै अलमल, अकर्मण्यता र निराशाको स्थिति छ ।

जनमुक्ति सेनाको सम्मानजनक समायोजन हुने र यसलाई सीमा सुरक्षाजस्ता महत्वपूर्ण जिम्मा दिदा राष्ट्रलाई के घाटा हुन्छ ? यसमा माओवादी पार्टीका सबै नेताहरु एक ठाउँमा उभिदा विरोधीहरुको अडान कति कमजोर हुन्छ । अहिले शान्तिविरोधी कोही हुनै सक्दैन । कुरा के मात्र हो भने राष्ट्र र जनतालाई परिवर्तनको अनुभूति गराउने शान्ति वा तिनै भ्रष्ट दलालहरुको पक्षमा हुने शान्ति ? यदि साँच्चिकै माओवादी पनि कतै अलमलमा छ भने परिवर्तनसहितको शान्तिको पक्षमा दृढतापूर्वक अडिग रहन सक्नुपर्छ । भ्रष्ट, दलालहरुले साथ नदिएर केही फरक पर्दैन । मुल कुरा नेपाली जनताले साथ दिने र समर्थन गर्ने कुरा हो, यसमा पार्टीका सबै जिम्मेवार नेताहरु एक ठाउँमा उभिने साहस गर्नैपर्छ र पार्टीलाई टुट-फुट र विभाजन होइन एकताबद्ध पार्नुपर्छ । नेताहरुले सबै कार्यकर्ताको भावना र धारणा बुझेर निर्णयमा पुग्नु सही हुन्छ ।

संविधान कस्तो बन्ने भनेपछि सारमा जनपक्षीय संविधान बन्नुपर्छ । अन्यथा नेपालमा अहिलेसम्म कतिवटा संविधान बने र त्यसपछि के-के भयो त्यो सबैलाई थाहा छ । खाली संविधानको कुरा मात्र गर्ने हो भने त आखिर २०४७ सालमा पनि संविधान बनेकै थियो, अहिले अन्तरिम संविधान छँदैछ । मुल कुरा के हो भने संविधानसभाबाट बन्ने संविधानले सदियौंदेखि गरिबीको रेखामुनि बाँच्न विवश नेपाली जनताले सुखको श्वास फेर्ने अधिकार पाउँछन् कि पाउँदैनन् मुल प्रश्न यो हो । यी कुरालाई थाती राखेर बनाइएको संविधानलाई घोषणा भएको भोलिपल्टैबाट जलाउन शुरु गरियो भने त्यसको परिणाम देशले के पाउँछ ? यसै सन्दर्भमा चर्चा चल्ने गरेको छ संविधानमा जनयुद्धको भूमिकाको कुरा छोडौँ जनयुद्ध शब्द समेत नराख्ने कुरा हुँदैछ । जनमुक्ति सेनाको भूमिकाको कुरा छाडौँ जनमुक्ति सेना शब्दसम्म नराख्ने कुरा हुँदैछ । क्रन्तिकारी भूमिसुधारको कुरै छैन, संघीयता पूरै गोलमोटलमा छ, शासकीय स्वरुप संसदीय शिकार बन्ने खतरा बढेको छ र संविधानको पूरै सार हाइबे्रट बन्ने खतरा दिनप्रतिदिन बढ्दै गइराखेको छ । यस्तो विषयमा माओवादीभित्र बहस चल्नु स्वाभाविक छ । जनयुद्ध र जनमुक्ति सेनाको अवमूल्यन गर्ने गरि यदि संविधान बनेमा त्यसको कुनै औचित्य हुने छैन । हो, कयौँ राजनैतिक एजेण्डामा सहमति र सम्झौताहरु हुन सक्छन् र गर्नु पनि पर्छ तर सिद्धान्तमा सम्झौता हुन थाल्यो भने त्यो मौलिकता होइन विसर्जन नै हुन्छ । त्यसैले यो तथ्यलाई अलिकति अध्ययन गरेर निष्कर्ष निकाल्नु सही हुन्छ । पार्टीको आदर्श र जनताको जीवनसँग जोडिएका विषयमा हचुवाको भरमा निर्णय गर्ने अनि जिन्दगीभरि पछुताउनुभन्दा अहिले वहस गरेर केही फरक पर्दैन । आदर्श र मूल्य सकिसकेपछि त बहसको औचित्य नै हुँदैन । त्यसैले अहिले समय छँदै बहस गरेर पार्टीका नेताहरु एक ठाउँमा उभिनैपर्छ र जनताको भावना बुझ्नैपर्छ ।

अहिले माथि उल्लेखित विषयमा भइरहेको बहसलाई प्रभावित हुने गरि पार्टीमा टुटफुट र विभाजनका हल्लाहरु आइरहेका छन् । यसले सबैलाई चिन्तित तुल्याएकै छ । पार्टी क्रान्तिकारी भइराखोस् र एकताबद्ध भइराखोस् भन्ने आम कार्यकर्ताको चाहना हो । सिद्धान्त र राजनीतिको महत्वपूर्ण विषयको बहसमा कथित जडसुत्रवादीको आरोप लगाउनु, पार्टीको क्रान्तिकारी जीवनलाई भगवानवादमा विश्वास गर्नु, तर्क र तथ्यले पुष्टि गर्न नसकेपछि इतिहासको बखान गर्नु र भौतिकवादलाई होइन कथित द्वन्द्ववादको हवाला दिदै आदर्शवादी बन्ने समस्या एकातिर छ भने अर्कोतिर विसर्जनवादको कुरा गर्दै थाकिने र निरास बन्ने समस्या गम्भीर रुपमा अभिव्यक्त भएको छ । यस्तै पार्टीमा दुईलाइन संघर्ष चल्छ भनेर सबैले स्वीकार्ने तर विचारधारात्मक संघर्षलाई निषेधात्मक र शत्रुतापूर्ण बनाउने, आलोचना र सल्लाह सुझावलाई आत्मसात गर्नुको साटो प्रशंसा नगरिदिएवापत पूर्वाग्रहको शिकार बन्नुपर्ने, गुटगत भेला गर्न सबै तँछाडमछाड गर्दै कोहीभन्दा कोही कम नहुने तर पार्टीका औपचारिक बैठक र कमिटी प्रणालीलाई व्यवस्थित गर्ने प्रयाससमेत नगर्ने, बहसको विषयान्तर गर्ने र सार्वजनिक तरिकाद्वारा समेत एकले अर्कालाई खुइल्याउन लाग्ने यो एउटा क्रान्तिकारी पार्टीका लागि निकै दुःखको विषय हो ।

यी सबै समस्यालाई हल गर्न भन्दै माओवादीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । यसले सबैको ध्यान केन्द्रीत गरेको छ । पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तक पार्टी एकताको लागि चिन्ता गरिरहेका छन् । यस्तै माओवादी विरोधी शक्तिहरु माओवादी फुट्छ भनेर दिन गनेर बसिरहेका छन् । यी सबै कुराको एकमुष्ट जवाफ माओवादीको केन्दीय समितिले दिनुपर्छ । बहुमत र अल्पमतको कुरा होइन अब पार्टीमा निर्णायक एकताको पहल गरिनुपर्छ । पार्टीमा के गर्दा मजबुत एकता पैदा हुन्छ त्यही गर्नुपर्छ । पार्टीमा फुट र विभाजन हुने गरि कुनै निर्णय गरिनु हुँदैन । पार्टीमा फुट र विभाजन ल्याउने र माओवादी विरोधीहरु खुसी हुने गरि किन निर्णय गर्नुपर्‍यो ? खुसी त बरु पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र आम जनता हुनुपर्‍यो । माओवादी विराधीहरुको समर्थनले न त हिजो क्रान्ति भएको थियो न त अहिले नै हुनेवाला छ । त्यसैले विश्वास फेरि पनि आधारभूत वर्गकै गर्नुपर्छ । पार्टीको क्रान्तिकारी सिद्धान्तलाई तिलाञ्जली गर्ने गरि कुनै पनि निर्णय गरिनु हुँदैन । अहिले देशलाई एउटा शक्तिशाली एकताबद्ध एकीकृत माओवादी पार्टी चाहिएको छ । अहिलेको केन्द्रीय समितिले यही निर्णय गर्नुपर्दछ । अनि माओले भन्नुभएजस्तै- ‘एकताको इच्छालाई थालनीको रुपमा हेर्नु, आलोचना आत्मलोचना वा संघर्षको बाटोबाट अगाडि बढ्नु, सही र गलत छुट्याउनु अनि नयाँ आधारमा नयाँ ठाउँमा पुग्नु मुल रुपमा एकता-आलोचना र एकताको फर्मूलालाई आत्मसाथ गर्नु सही हुन्छ ।’ बरु सबैले एकपटक सोच्ने कि ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *